२४ असार २०७७ बुधबार
अन्य

भोजमा हाकुपटासी

भोजभतेर तथा पार्टीमा जाँदा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने आमबुझाइ छ। तर, भक्तपुरका नेवारी समुदायका महिला भने यस मामलामा फरक छन्। उनीहरूमा भोजभतेर, सेमिनार, पार्टी वा अन्य कार्यक्रममा जाँदा यहाँ हाकुपटासी (कालो फरिया) लगाउने ट्रेन्ड चलेको छ। यसले नेवार समुदायको पहिचान झल्काउने उनीहरूको बुझाइ छ।

अहिले भोजको लागि विभिन्न डिजाइनका लुगा छन्– लेहेंगा, कुर्ता, सारी, पञ्जावी कुर्ता इत्यादि। तर, यहाँका महिला भोजमा सजिनका लागि वर्षमा कम्तीमा एक जोर हाकुपटासी किन्ने गर्छन्। यो किनेपछि भोजका लागि अन्य लुगा किन्न नपर्ने उनीहरू बताउँछन्।

यहाँका महिलाहरू प्रायःजसो भोजमा हाकुपटासी लगाउने गरेका छन्। सबैले एकै पहिरन लगाएपछि सबै समान भएको महसुस हुने उनीहरूको बुझाइ छ।

भक्तपुर, सूर्यविनायक बस्ने सुभद्रा सुजखु केही दिनअघि छोराको व्रतबन्धमा केटीहरूका लागि हाकुपटासी ड्रेस कोड बनाएको बताइन्। ‘हाकुपटासीमा सबै राम्रो देखिएका थिए,’ उनले सुनाइन्, ‘सबैले एउटै पहिरन लगाएपछि लुगा कहाँ÷कतिमा किनेको भन्ने जवाफ पनि दिनुपरेन।’

भक्तपुरमा कपडा पसल सञ्चालन गरिरहेकी शर्मिला कैटी अहिले जिल्लामा विदेशीभन्दा नेपाली कपडाको माग भएको बताउँछिन्। उनका अनुसार पहिले नेपाली कपडा बाध्यताले प्रयोग गरिन्थ्यो, जस्तै ः नेवारी समाजमा बच्चाको जन्मदिनमा। त्यो शरीरका लागि एकदम उपयुक्त हुन्छ भन्ने जनविश्वास थियो। अनि बूढी आमाहरू किन्न आउनुहुन्थ्यो। तर, अहिले यहाँका स्थानीय नै कपडा किन्न आउने गरेको उनले बताइन्।

उनी भन्छिन्, ‘केही वर्षअगाडि केटाकेटी विदेश जानका लागि कपडा सिलाउन तथा भाडामा लिन आउने गर्थे। तर, अहिले ट्रेन्ड बदलिएको छ। अहिले लुगा भाडामा लिनुको सट्टा आफूलाई मनपर्ने डिजाइनमा सिलाउने गरिएको पाइन्छ।’ हाकुपटासी अहिले सारीको रूपमा मात्र नभएर वान पिस, लेहेंगा, गाउन, टप्स, ब्लाउज कुर्ताहरूको रुपमा पनि लगाउने गरिएको उनी बताउँछिन्।
पहिले हाकुपटासीको एक साइबडमा मात्रै रातो बोडर हुने गथ्र्याे। तर, आजभोलि सारीजस्तै दुई ठाउँमा नै बोडर हुन्छ। यसमा सारीजस्तै बोडर राख्ने चलन एक वर्षअगाडि चलेको स्थानीय बताउँछन्।

व्यापारीका अनुसार अहिले नेपाली कपडाकै हाकुपटासी किन्ने धेरै छन्। त्यसैले कपडाको पनि माग बढेको उनीहरूको भनाइ छ। अहिले एकजोर हाकुपटासीको मूल्य एक हजार पाँच सयदेखि ६ हजार रूपैयाँसम्म पर्छ।

भक्तपुरकी आशामाया बासी (७१) चार वर्षको उमेरदेखि हाकुपटासी लगाउन थालेको बताउँछिन्। अहिले र पहिलाको हाकुपटासीमा फरक रहेको उनको बुझाइ छ। ‘पहिला आफैले तानमा बुनेको कपडाको हाकुपटासी लगाउथ्यौं। तर, अहिले कालो सारीमा रातो बोडर राखेर लगाइन्छ,’ उनी भन्छिन्। उनलाई अहिलेको हाकुपटासी देख्दा अचम्म लाग्छ। तर, उनी अहिलेको पुस्ताले नेवारी पहिरन लगाएकोमा खुसी छिन्। उनका अनुसार पहिले नेवारी समुदायका सबै महिला हाकुपटासी लगाउने गर्थे। त्यतिबेला कपडा बाहिरी देशबाट आयात हुँदैनथ्यो। आफूले लगाउने लुगा आफै बुन्ने गर्थे। भनिन्थ्यो– पहिला तानमा बुन्न नआउने महिला नै हुँदैनथे। बिहेका लागि केटी माग्न आउँदा तानमा कपडा बुन्न आउछ कि आउँदैन सोध्ने चलन थियो।

२० वर्षदेखि नेपाली कपडा बुन्दै आएकी भक्तपुरकी बुद्धलक्ष्मी कोजु यसको आम्दानीबाट खुसी छिन्। उनले कपडा बुनेको आम्दानीबाट छोरालाई कलेज तहसम्मको अध्ययन गराएकी छन्।

‘बिहेपछि घरधन्दाबाट बचेको समय उपयोग गर्नका लागि घरमै कपडा बुन्ने थालेँ,’ उनले सुनाइन्। बच्चाहरू ठूलो भएपछि कारखानामै गएर बुन्न थालेको उनी बताउँछिन्। यसकै आम्दानीले छोरालाई शिक्षादिक्षा दिन सकेको उनले सुनाइन्।
पछिल्लो समय युवायुवतीमा विदेशी लुगा किन्ने मोह बढेको छ। तर, पछिल्लो समय भने हाकुपटासी ट्रेन्डका कारण युवतीमा विदेशी लुगाको मोह घटेको देखिन्छ।

काठमाडौंमा भने हाकुपटासी भाडामा लिएर लगाउने ट्रेन्ड चलेको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App