विश्व साहित्यमा नाटकको समृद्ध परम्परा छ। नाटक सिर्जन परम्परालाई पूर्वमा कालिदास, भवभूति, श्रीहर्ष तथा पश्चिममा एस्किलस, सोफोक्लिज, युरिपाइडिजजस्ता नाटककारहरूले उचाइँमा पुर्याएका थिए। यसै पृष्ठभूमिमा रहेर नेपाली नाटक पनि विकसित हुँदै आएको देखिन्छ। प्राचीन कालदेखि नै नेपाली राजा तथा प्रजामा नाटकप्रति मोह रहेको देखिन्छ।
नेपालमा विभिन्न चाडपर्वको अवसर पारेर मनोरञ्जनका लागि नाचगान, गीतको भाव प्रदर्शनमा देवीदेवताको वा कुनै विशिष्ट व्यक्तिको अनुकरण गरी नाच्ने र गाउने प्रचलन परापूर्वकालदेखि अहिलेसम्म छ। यिनै चलनहरू आजसम्म पनि लोकनाटकका रूपमा जीवित छन्। नेपालमा लेख्य नाटकको सुरुआत निकै पछि मात्र भयो। विभिन्न आरोह–अवरोहलाई पार गर्दै अघि बढेको नेपाली नाटक आजसम्म आइपुग्दा विकसित भएको पाइन्छ। समालोचक लक्ष्मीलोचना वैद्यकृत कृति ‘नेपाली नाटकको रूपरेखा’मा नेपाली नाटकसम्बन्धी यिनै कुरा समेटिएको छ।
यो कृति नेपाली नाटकको सगोल जानकारीमूलक कृतिका रूपमा प्रस्तुत भएको छ। यसलाई दुई खण्डमा विभाजित गरिएको छ। पहिलो खण्डमा नाटकको सिद्धान्त, नेपाली नाटकको विकासक्रम, उत्तरवर्ती चरणको नेपाली नाटकका मूल प्रवृत्तिहरू रहेका छन् भने दोस्रो खण्डमा विभिन्न नाटककारको परिचय तथा तिनका एक–एक नाट्यकृतिको चर्चा गरिएको छ।
नाटकको सैद्धान्तिक पक्षदेखि इतिहास तथा प्रवृत्तिहरूलाई एकै ठाउँमा समेट्ने प्रयास गरिएको छ।
यसले नेपाली नाटककको सुरुआती अवस्था र परिवर्तन हुँदै आएको वर्तमान अवस्था समेट्ने प्रयास गरेको छ। अनुसन्धानात्मकरूपमा लेखिएको प्रस्तुत कृतिमा नाटकसम्बन्धी तथ्यात्मक विवरण दिइएको छ। नाटकलाई चाहिने सैद्धान्तिक पक्षहरूको विस्तृतमा व्याख्या गरिएको हुनाले यसको अध्ययनपछि पाठकमा नाटकको विश्लेषण गर्न सक्ने क्षमता बढ्नेमा विश्वस्त हुन सकिन्छ। यसमा नेपाली नाटकको कालविभाजन पृष्ठभूमि, पूर्वआधुनिक तथा आधुनिक काल गरेर तीन खण्डमा गरिएको छ र त्यसैअनुसार विभिन्न कालखण्डमा प्रकाशित भइसकेका नाट्यकृतिको विवरण प्रस्तुत छ। ०७२ सालसम्म प्रकाशित नाट्यकृतिहरूको विवरण दिइएकाले यस क्षेत्रमा अनुसन्धान गर्न चाहनेका लागि यो कृतिले सहयोगीको भूमिका निभाएको छ।
२०३६ सालपछि नेपाली साहित्यमा उत्तरवर्ती चरणको सुरुआत भएको हो। नेपालको तत्कालीन राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक, शैक्षिक पृष्ठभूमिले नेपाली साहित्यमा उत्तरवर्ती चरणको सुरुआत गर्नमा मुख्य भूमिका खेलेको छ। सामाजिक यथार्थवाद, प्रयोगशीलता, प्रगतिवादी नाट्यचेतना, नारीवादी नाट्यचेतना, विकृति–विसंगतिप्रति व्यंग्य तथा विद्रोह, रंगमञ्चीय सचेतता लगायतका विभिन्न प्रवृत्तिहरू उत्तरवर्ती चरणका नेपाली नाटकहरूमा देखिएको छ। उत्तरवर्ती चरणका नेपाली नाटकमा देखिएका यी विभिन्न प्रवृत्तिहरूको व्याख्या तथा विश्लेषण समालोचक वैद्यले गरेका छन्।
यस कृतिको द्वितीय खण्डमा विभिन्न नाटककारको परिचय दिने क्रममा वैद्यले गोपालप्रसाद रिमालजस्ता पुराना पुस्तादेखि खेम थपलिया र पुष्प आचार्यजस्ता नयाँ पुस्ताका नाटककारलाई समेट्ने कोसिस गरेका छन्। यसबाट पुराना तथा नयाँ पुस्ताका नाटककारको बारेमा जानकारी मिल्ने देखिन्छ। विभिन्न नाटकहरूको विश्लेषण निश्चित विधिमा आधारित भएर गरिएको हुनाले विशेषगरी उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीहरूले नाटकको विश्लेषण सहजरूपमा गर्ने तरिकाको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।
भाषाशैलीगत सरलताले यस कृतिलाई जुनसुकै वर्गका पाठकले पनि सजिलै बुझ्न सकिन्छ। नाटकको सैद्धान्तिक पक्षदेखि इतिहास तथा प्रवृत्तिहरूलाई एकै ठाउँमा समेट्ने प्रयास गरिएकाले यस कृतिलाई नेपाली नाटकसम्बन्धी समुच्च जानकारी दिने कृतिका रूपमा लिन सकिन्छ। अनुसन्धानमा आधारित रहेर तयार पारिएको प्रस्तुत कृतिलाई नाटकबारे सैद्धान्तिक तथा प्रायोगिक सन्दर्भ समेटिएको उल्लेख्य कृतिको रूपमा लिन सकिन्छ। कृति भुँडीपुराण प्रकाशनले छापेको हो।
प्रकाशित: २२ मंसिर २०७५ ०५:४६ शनिबार