७ वैशाख २०८१ शुक्रबार
अन्य

नेतृत्व लिँदै आमाहरू

–लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह कास्कीले तीन सयभन्दा बढी लागू पदार्थ प्रयोगकर्तालाई पक्राउ गरेर प्रहरीलाई बुझाइसकेको छ । तीमध्ये २५/३० जना जेलमै छन् ।
–सिद्ध–५ कास्कीको दर्शन आमा समूहले गाउँमा जुवातास खेल्न प्रतिबन्ध लगाएको छ । उसले विकास निर्माणका थुप्रै काम पनि गरेको छ ।
–कास्कीको याङ्जाकोटमा गैरी गाउँ आमा समूहले गरेको विकास निर्माण देखेर सबै दंग पर्छन् ।
–म्याग्दीको मिलीजुली आमा समूहले आफ्नो गाउँमा जाँडरक्सी पूर्णरूपमा बन्देज लगाएको छ । रक्सी खाएर होहल्ला गर्नेलाई तीन हजार रुपैयाँसम्म जरिवाना तिराउँछन् ।

यी चारवटा आमा समूह प्रतिनिधि मात्रै हुन् । ४ नं. प्रदेशका हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका आमा समूह लागू पदार्थ, जुवातास, जाँडरक्सी नियन्त्रणदेखि विकास निर्माणमा समर्पित छन् । विगत १३ वर्षदेखि कास्कीमा लागूऔषध नियन्त्रणका लागि अग्रणि बन्दै आएको छ लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह । ‘आफ्नै भाइछोरा कुलतमा फसेको देख्न सकेनौं,’ समूह अध्यक्ष शान्तादेवी गुरुङ भन्छिन्, ‘उनीहरूलाई सुधार्न अभियान चलाएका हौं ।’ 

सुरुमा पोखराको बगर र फूलबारीका ३ जना आमा मिलेर २०५९ सालमा लागू पदार्थ प्रयोगकर्तालाई समातेर प्रहरीलाई बुझाउँथे । उनीहरूसँग हातेमालो गर्न थुप्रै आमा इच्छुक भए । त्यसैले २०६१ कात्तिक १९ गते जिल्ला प्रशासनमा समूह दर्ता भयो । लागू पदार्थ प्रयोगकर्ता नशामा डुबेझैँ यो समूह पनि लागू पदार्थविरुद्धको अभियानमा चुर्लुम्म छ । अभियानले तीन सयभन्दा बढीलाई समातेर प्रहरीलाई बुझाएको सुनाउँछिन् समूहकी सचिव विष्णु गुरुङ । उनी भन्छिन्, ‘कति नयाँ र सिकारुलाई आफैँले पनि सुधार्यौं । कति जेल परेपछि सुध्रे्र, कति जेलमै छन् ।’ समातिएका मध्ये धेरै जसो लागू पदार्थ प्रयोगकर्ता थिए भने २०/३० जना बिक्रेता । 

माओवादी युद्ध चलिरहेका बेला पोखरा नजिकैको सराङकोटसम्म प्रहरी उक्लन सक्दैनथ्यो । त्यस्तो बेला आमाहरू आफैँ पुगेर लागूऔषध बिक्रेतालाई पक्रेर ल्याउँथे । यो अभियानमा लागेपछि जति सन्तोष मिलेको छ, त्यो भन्दा ठूलो जोखिम पनि छ । ‘तँ बुढीलाई बाहिर निस्केपछि घाँटी काट्छु भन्थे,’ समूहकी सदस्य दिलमाया गुरुङ भन्छिन्, ‘राम्रो काम गर्दा मरिन्छ भने बरु मर्न तयार ।’ समूहले सुधारेका कतिपय युवा इलम गर्न थालेका छन् भने कति विदेश पुगेका छन् । विदेशिएका युवाका आमाहरू ‘हाम्रो छोरालाई सपारिदिइस्’ भन्दै समूहमा आउँछन् । छोेराले पठाएको रकमबाट सहयोग गर्छन् । समूहसँग यो बाहेक आम्दानीको अर्को स्रोत छैन । 

लागू पदार्थ प्रयोगकर्तालाई सुधार्ने नाममा डलर कुम्ल्याउने संस्थाका अगाडि यो आमा समूह नमुना बनेको छ । लागू पदार्थ प्रयोगकर्ता र बिक्रेतालाई समात्न सुराकी गरेबापत पुरस्कार दिने सरकारी व्यवस्था छ । तर अहिलेसम्म यो समूहले त्यस्तो पुरस्कार पाएको छैन । बिहेमा नाचगान, मर्दापर्दा सहयोग र देउँसीभैलो खेलेर सहयोग जुटाउँदै आएका छन् उनीहरू । लागूऔषधसहित पक्राउ परे पनि धरौटीमा छुट्ने व्यवस्था आमाहरूलाई मन परेको छैन ।  ‘कसुरसहित पक्राउ परे पनि अभियुक्तले पूरै सजाय पाउँदैन, धरौटीमा छुट्छ,’ समूहकी अध्यक्ष शान्ता सोध्छिन्, ‘कसुर गरेकाले कानुनमा भएअनुसार पूरै सजाय भोग्नुपर्छ, रंगेहात पक्राउ परेकाले वकिल राख्नै पाउनुहुन्न ।’ 

कास्की र स्याङ्जाका गाउँ–गाउँबाट जनचेतना जगाइदिन उनीहरूले निम्तो पाउने गरेका छन् । यसरी आमाहरू कोही लागूऔषध नियन्त्रणमा लागेका छन् भने कोही विकास निर्माणमा । यस्तै विकास निर्माणमा लागेर कास्कीको पर्यटकीय याङ्जाकोटको गैरी गाउँ आमा समूह पनि नमुना बनेको छ । बाटोघाटो बनाउन होस् वा पाटीपौवा उनीहरू अघि सरिहाल्छन् । यो आमा समूह गजबको छ । सुन्दा अनौठो लाग्ला तर, उनीहरू सबै कुमारी हुन् । बिहे गरेर आमा नभए पनि सबैजना आमा समूहमा आबद्ध छन् । उमेरले बज्यै भइसकेका उनीहरूलाई गाउँघरमा सबैले आमाका रुपमा चिन्छन् । गाउँघरमा कुनै कार्यक्रम होस् वा गाउँको विकास । बाटोघाटो बनाउन होस् वा पाटीपौवा यी कुमारी आमाहरूविना अधुरै हुन्छ । कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट पुगेपछि यी कुमारी आमाहरूले गरेको विकास देखेर एकपटक सबै गम खान्छन् अनि एकछिन त अचम्मित हुन्छन् । 

त्यहाँ पुग्नेहरूले गाउँको विकास देखेपछि ‘आहा कस्तो विकसित गाउँ रहेछ’ भन्नै कर लाग्छ । गुरुङ गाउँ भएकोले युवाहरू कम हुनु स्वाभाविक हो । भएका पुरुषहरू पनि रोजगारका सिलसिलामा प्रदेशमा छन् । गाउँमा बचेका केही युवा पोखरा झरेपछि यहाँ भएका कुमारी आमाहरू गाउँको मुहार फेर्न कस्सिएका हुन् । उनीहरूले याङ्जाकोटलाई विकासको पूर्वाधारले पूर्ण नमुना गाउँ बनाउन सफल भएका छन् । गाउँमै बसेर गाउँ विकासमा लाग्दा उनीहरूले विवाह गर्ने झन्झट गरेनन् । सम्पन्न अनि लाहुरे परिवारमा जन्मिएका उनीहरूलाई नपुग्ने केही थिएन । दाजुभाइ, आफन्त, नातागोता कोही युके, कोही सिंगापुर, कोही हङकङ मात्रै होइन कोही भारतीय सेना पनि थिए । सपन्न परिवारमा हुर्के पनि उनीहरूलाई विवाह गर्ने, रमाइलो गर्ने अनि सुखसयल, मोजमस्ती गर्ने ध्यान भएन । 

बुढेसकाल लागेपछि गाउँ छाडेर सहर झर्न आफन्तले ठूलो दबाब दिए पनि याङ्जाकोटकी अगुवा समाजसेवी ६६ वर्षीया डिलकुमारी गुरुङलाई ऐसआराम र सुखको मोह रत्तिभर कुनै छैन । ‘सुख सयलको मोह भएको भए जवानीमै कति लाहुरे विवाहका लागि माग्न आए । म जान सक्थेँ’ गैरी गाउँ आमा समूहकी अध्यक्ष फरासिली डिलकुमारी भन्छिन्, ‘तर, घरजम गरेर बस्ने भनेपछि मलाई कहिल्यै ध्यान गएन, गाउँकै विकास गर्छु भनेर विवाह नगरी बसेकी हुँ ।’  घरजम गर्दा परिवार हुन्थे । छोराछोरी हुन्थे । नातागोता अनि इष्टमित्र मात्रै हैन पूरै घरव्यवहारको भार थेग्नुपथ्र्यो । यसो गर्दा समाजसेवामा मात्र लाग्न समय हुने कुरै भएन । अहिले उनीहरूलाई न घरव्यवहारको चिन्ता छ, न बालबच्चा स्याहार गर्न समय खर्च भएको छ । यही समय मलाई उनीहरूले गाउँको विकासमा लगाएका छन् । ब्रिटिस आर्मीमा भएका दाजुहरूले बिहे गर्नुपर्छ भनिरहनु हुन्थ्यो, त्यही प्रसङ्गमा डिलकुमारी घर छाडेर भागेकी थिइन् । पछि विवाह नगरिदिने शर्तमा उनी घर आएकी हुन् । ‘मलाई विवाह भन्ने कुरा मन पर्दै नपर्ने, तर दाजुहरूले कर गर्नुभो म भागेर अन्तै गएँ’ डिलकुमारी विगत सुनाउँदै भन्छिन्, ‘विवाह गरेको भए अहिलेजस्तो खुलेर समाजसेवा गर्न सक्ने कुरै हुन्थेन ।’ 

डिलकुमारीलाई अहिले गाउँकै विकासमा आफूलाई समर्पित गर्नुपर्छ भन्ने ध्याउन्न मात्रै छ । उनकै दिदी ७८ वर्षीया सनकुमारी गुरुङ पनि विवाह नगरी बसिन् । उनले बहिनी डिलकुमारीको हर कामलाई एकताका उपाध्यक्ष भएर सहयोग गरिन्, हाल उनी गैरी गाउँ आमा समूहकी सदस्य छिन् । पाँचमध्येका उनीहरूका तीन दिदीबहिनी भने विवाहपछि सहरतिर झरेका छन् । डिलकुमारीकै अगुवाइमा घरजम नगरी बसेका याङ्जाकोटका ५० भन्दा बढी महिलाले अहिले गाउँमा बाटोघाटो बनाउने, खानेपानी उपलब्ध गराउने, गाउँमा भएका सानातिना झैझगडा मिलाउने, जाँडरक्सी नियन्त्रण गर्ने काम गरेका छन् । त्यति मात्रै हैन मन्दिर, पाटीपौवा निर्माण, पुस्तकालय, वृक्षरोपण गर्नेदेखि आमा समूहले आ–आफ्नै घर निर्माण पनि गरेका छन् । उनीहरूले ढुंगाले छापेर बनाएको बाटो देखेपछि याङ्जाकोट  पुग्नेहरू दंग पर्छन् । अधिकांश गुरुङ जातिको बसोबास रहेको याङ्जाकोटमा धेरै युवा लाहुरे छन् । कतिपय पुरुष जागिरका लागि सहरतिर झरेकाले गाउँको अगुवाइ गर्ने काममा यी कुमारी आमाहरू र त्यहाँका महिला नै छन् । ‘जुन रूपमा गाउँको विकास भएको छ यो सबै यी आमाहरूको योगदान हो,’ स्थानीय समाजसेवी देवीजंग गुरुङ भन्छन्, ‘उनीहरू रातदिन गाउँलाई अझ विकसित र नमुना बनाउन लागिपरेका छन् ।’ 

त्यहाँ रहेका महिलाले गैरीगाउँ, देउराली, छापाडाँडा र डाँडागाउँ आमा समूह गठन गरेका छन् । यी चारवटा आमा समूहमा झण्डै ९० जना जति संगठित छन् । उनीहरूले गाउँमा लाहुरे आएको बेला नाचगान गरेर, मेला पर्व, गाउँमा हुने छेवर, अर्घौमा नाचगान, चाडपर्वका बेला देउसी भैलो खेलेर पैसा जम्मा गर्छन् । नाचगानबाट उठेको रकम संकलन गरेर गाउँ विकासमा खर्चिन्छन् । कुनै बेला राम्रोसँग हिँड्न नमिल्ने गाउँटोल अहिले आमाहरूकै अगुवाइमा आकर्षक बनेको छ । यसअघि एक गाग्री पानी लिन घण्टांै लगाएर मुहानामा जाने समस्या पनि अन्त गरेका छन् उनीहरूले । एकवर्ष अघि टोउँकामोराङ खरबारीबाट पाँच लाखको लगानीमा उनीहरूले गाउँमा पानी पु-याएका छन् । 

एक वर्षअघि यिनै आमाहरूले गाउँमा कच्ची मोटरबाटो पु-याए । यसले सबैलाई सहरमा आउनजान सुविधा पुगेको  छ । गाउँमा बच्चा बिरामी हुँदाको समस्यालाई हटाउन उनीहरूले आफ्नै लगानीमा शिशु स्याहार केन्द्र बनाएका छन् । आफ्नै लगानीमा भवनसमेत निर्माण गरेका छन् उनीहरूले । उनीहरूले सञ्चालन गरेको मिलीजुली सहकारीले आर्थिक रूपले पिछडिएकालाई ठूलो राहत दिएको छ । मासिक ५० र १०० रुपैयाँ जम्मा गरेर बनाएको सहकारीमा अहिले १७ लाख रुपैयाँ छ । यही सहकारीबाट पाएको सहयोगले बाख्रापालन, भैंसीपालन, तरकारी खेती, कुखुरा पालन गरेर यहाँका विपन्न महिलाले आफ्नो गर्जो टारेका छन् ।

सहकारीले विपन्न महिलालाई आयआर्जनमा ठूलो सहयोगसमेत दिएको छ । ‘सहकारी भएपछि साहुलाई नमस्कार भन्दै ऋण माग्न परेन । उनीहरूलाई चर्को ब्याज तिर्न पनि परेन,’ स्थानीय कमला गुरुङ भन्छिन्, ‘आफ्नै सहकारीबाट भनेको समयमा सस्तो ब्याजमा पैसा झिक्यो, घरखर्च चलायो ।’  

अझ गाउँमा धेरै विकास गर्न बाँकी छ । यही अठोटका साथ विवाह नगरेका यी कुमारी आमाहरू चन्द्रमाया, तीर्थकुमारी, हिउँचुली, सुनकुमारी, हेमकुमारी, बुद्धिमाया, हिरामोती, तारादेवी, सरना र दुर्गामाया लागिपरेका छन् । यही भएर उनीहरू सबै त्याग गरेर गाउँका लागि काम गरेका छन् । उनीहरूले आफ्नै खल्तीको पैसा झिकेर समेत गाउँका लागि खर्चेका छन् । ‘विवाह गरेको भए कुन बिरानो ठाउँमा पुगिन्थ्यो, विवाह नगर्नाले अहिले गाउँमै बसेर समाजसेवा गर्न पाइएको  छ,’ विवाह नगर्दा घरबाट हप्की खाएकी ६५ वर्षीया चन्द्रमाया गुरुङ भन्छिन्, ‘त्यतिबेला हप्की खाए पनि अहिले त घरपरिवारको साथ छ ।’ उनकी एक बहिनी बेलायत र एकजना पोखरामा विवाह गरेर ऐशको जीवन बिताइरहेका छन् । उनलाई पनि गाउँ छाडेर सहरमा बस्न आफन्तले सधैं आग्रह गर्छन् तर गाउँमै बसेर विकासमा तल्लीन हुन जति मज्जा विवाह गर्नुमा छैन भन्ने लाग्छ उनलाई  । अब बाचुञ्जेल गाउँको विकासमा लाग्ने सुनाउँछिन् उनी । 

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिएको गाउँमा पर्यटक भित्र्याउने अभियानमा पनि योगदान छ उनीहरूको । गाउँमा आउने पाहुनाहरूको स्वागत सत्कारसँगै गाँसबासका लागिसमेत उनीहरूको अग्रसरता हुने गरेको छ । ‘समाजसेजा विवाहिता महिलाले गर्दैनन् भन्ने होइन । तर, अविवाहिता बसेर बन्धमुक्त भएर जति समाज सेवा गर्न सकिएको छ त्यति गर्न सकिँदैन,’ ५९ वर्षीया तीर्थकुमारी गुरुङ भन्छिन्, ‘एक्लो ज्यान जता लगे पनि भयो । जे काम गरे पनि भयो, कसैको बन्धनमा बस्नु पर्दैन ।’

गाउँमा विकास निर्माणको कामको नेतृत्व गरेका यी महिला एक दुई दिन काम विशेषले गाउँ छाडेर पस्दा उनीहरूलाई दिदीबहिनीले गाउँ बोलाउँछन् । यसरी विकासमा लागेका उनीहरूजस्तै महिला साँवा अक्षर नछिचोले पनि कुनै शिक्षित महिलाभन्दा कम छैनन् । गाउँमा अब एउटा अस्पताल खोल्ने योजना छ उनीहरूको । उनीहरूकै कारण गाउँ विकसित हुन थालेपछि सहर झरेकाहरू अहिले गाउँमा पुगेर उनीहरूलाई सहयोग गर्न थालेका छन् । ‘उनीहरूले हाम्रो गाउँलाई दिलो ज्यान दिएर लागेका छन्,’ मिलन युवा क्लबका अध्यक्ष बलबहादुर गुरुङ भन्छन्, ‘हामी युवाले पनि उनीहरूको अभियानमा काँधमा काँध मिलाएर सहयोग गरेका छौं ।’

उता म्याग्दी साविकको दोवा गाविस हाल दोबा गाउँपालिकाको मिलीजुली आमा समूह पनि नमुना बनेको छ । यो समूहका सदस्यहरू जाँड रक्सी नियन्त्रणमा लागेका छन् । मगर गाउँ दोवामा जाँड रक्सी खाएर होहल्ला गर्नेको जमातले हैरान बनाउँथ्यो । गाउँमा अशान्ति थियो । यसबाट दिक्क भएका महिलाको बुद्धि फि¥यो । उनीहरू गाउँपालिकाका सबै वडामा समूह गठन गरेर जाँड रक्सी बन्द अभियानमा लागे । जाँड रक्सीमा बन्देज लगाएको वर्ष दिनमै पूरै गाउँ परिवर्तन भएको छ । अचेल बाटोमा मातेर झगडा गर्नेहरू भेटिँदैनन् । परिवारमा शान्ति छाएको छ । ‘पहिले त यहाँ दिनमै झगडा हुन्थ्यो, जाँड रक्सी खाएर हल्ला गर्नेहरू हुन्थे’ मिलीजुली आमा समूहकी सदस्य देवकुमारी पुन भन्छिन्न्, ‘जाँड रक्सी बन्द गराएपछि आनन्द भयो ।’

जाँडरक्सी बन्द गरेर गाविस परिवर्तन भएकोमा आमाहरू दंग छन् । ‘हाम्रो गाविस यति धेरै सुध्रिन्छ भन्नेमा हामी थिएनौं, धेरै सुध्रिएका छन्,’ दोवा–४ मा रहेको हातेमालो आमा समूहकी कोषाध्यक्ष धनकुमारी पूर्जा भन्छिन्, ‘युवाहरू काममा लागेका छन् ।’ कोषाध्यक्ष पूर्जाले रक्सी खाने र बेच्नेलाई तीन हजार जरिवाना गर्ने निर्णय गरेपछि कसैले यस्तो काम नगरेको सुनाइन् । ‘मगर संस्कृतिमा रक्सी नभई हुन्न, त्यही भएर चाडपर्वमा छुट छ,’ दोवा–५ कि टौमाया पुनले भनिन्, ‘रक्सी बन्द भएपछि श्रीमान्–श्रीमतीबीच झगडा बन्द भएको छ ।’ उनीहरूले २०६७ माघ १५ गते समूहलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका छन् । समूहले गाउँ घरमा सफाइ अभियान पनि ल्याएको छ । घर–घरमा सुधारिएको चुह्लो राखेको छ । ‘राम्रो कामलाई हामीले पूर्णरूपमा सहयोग गरेका छौं । स्थानीय मनिबाराही युवा क्लबका अध्यक्ष कमल पुन भन्छन्, ‘आमाहरूले गर्दा युवा सुध्रिएका छन्, बाबा पार्टीले जाँड–रक्सी कन्ट्रोल गरेका छन् ।’

यस्तै साविकको सिद्ध–५ हाल मादि गाउँपालिकामा पर्ने कास्कीको दर्शन आमा समूहले गाउँमा जुवातास खेल्न प्रतिबन्ध लगाएको छ । २०५८ सालमा स्थापना भएको समूहले पहिला–पहिला मन्दिर, बाटोघाटो, पाटीपौवा बनाउने र गाउँमा अप्ठ्यारा परेका महिलालाई सघाउने गथ्र्यो । गाउँमा जुवातास खेल्ने, जाँड रक्सी खाएर होहल्ला गर्ने विकृति बढेपछि आमाहरू कस्सिएर यसलाई निषेध गर्न लागेका हुन् । त्यसैले जुवातास बन्द छ । यही आमा समूहले नै केही समय अघि गाउँमा बिजुली ल्यायो । कुटानी–पिसानीको समस्या भइरहेका बेला ‘दर्शन लाइफ मिल’ सञ्चालनमा ल्याएको समूहकी सचिव जमुना ठकुरीले बताइन् । ‘विकासका काममा हामी सक्रिय भएर लाग्छौ,ं’ उनले भनिन्, ‘यसले हाम्रो गाउँ सुधारमा सहयोग पुगेको छ ।’ 

हरेक काममा अग्रणि कहलिएको छ, पोखराको जगदम्बा आमा समूह । कहिले सेती नहरको सफाइ त कहिले फेवाताल । कहिले गाँजा फडानी त कहिले लेकसाइडमा विकृति भयो भन्दै नियन्त्रणको प्रयास । लागू पदार्थ रोकथाम, ध्वनि प्रदूषण र जाँडरक्सी रोकथाममा पनि समूहले ख्याति कमाएको छ ।  ‘हामी जे सक्छौं त्यही गर्छौं,’ समूहकी अध्यक्ष दुर्गा पहारी भन्छिन्, ‘कहिले बहुविवाहबाट पीडितलाई सहयोग गर्छांै, कहिले पर्यटन प्रवद्र्धनका काम गर्छौं ।’ 

कुश्मादेखि उत्तर पूर्वमा अवस्थित घुरुंगा गाउँका आमाहरूले भूमे लघुउद्यम महिला समूह गठन गरी अल्लोको व्यावसायिक उत्पादन सुरु गरेका हुन् । घुरुंगाका महिला स्थानीयस्तरबाट उपलब्ध स्रोत र साधनबाट गाउँको कसरी मुहार फेर्न सकिन्छ भन्नेमा आफूहरूलाई केन्द्रित गरिरहेका छन् । ‘हामीले बनाएका अल्लो हेर्न सरकारका मान्छे नआएर के भयो त विदेशीहरूले हाम्रो कामलाई राम्रो मानेर अल्लोका उत्पादनहरू खरिद गरिरहेका छन्,’ ५७ वर्षीया भद्रकला पुन भन्छिन् । एउटा सानो गाउँ, जहाँ बाटो, पानीलगायतका अत्यावश्यक पूर्वाधारको पहँुच बाहिर रहेर पनि उनीहरू गाउँको विकासमा एकीकृत रूपमा लागिपरेका छन् । ग्रामीण तथा पहाडी उच्च भेगमा पाइने अल्लोको व्यावसायिक विकासका लागि नेपाल इनोभेसन टेक्नोलोजी एन्टरप्रिनरसीप सेन्टर पोखरा युनिभर्सिटीले अनुसन्धान र व्यवसाय विकासका कार्यलाई अगाडि बढाइरहेको छ  । सामूहिकरूपमा काम गर्नु, संस्थालाई सहज र सरलरूपमा सञ्चालन गर्नु तथा आर्थिक पारदर्शिताका कुरासमेत घुरुंगाली महिलाले सहजरूपमा सञ्चालन गरिरहेका छन् । यसको अलावा २÷३ घण्टाको उकालोे बाटो छिचोलेर अल्लो संकलन गर्नु र रातभरि पकाउनु तथा अन्य प्रशोधनका काम कम चुनौतीपूर्ण छैनन् । तर पनि यहाँका महिलाको जोस र कामप्रतिको लगाव तथा आर्थिक क्रियाकलापमा पहुँच मात्रै नभई समुदायको आर्थिक उन्नतिमा महिलाको नेतृत्वदायी भूमिकालाई उदाहरणको रूपमा लिन सकिन्छ । यसले लैंगिक सशक्तीकरण खास महिलाको उपस्थिति मात्रै नभएर नेतृत्वसमेत हो भन्ने कुरालाई उजागर गरेको छ ।

घरधन्दामा मात्र सीमित लेखनाथका आमाहरू विकास निर्माणमा नेतृत्व लिन थालेका छन् । सरकारी तहबाट समेत गर्न नसकिएका काम गरेर उनीहरू अहिले नमुना बन्दै छन् । रिठ्ठेपानीमा प्रगतिचोक र दुर्गाटोलमा क्रियाशील समूहले धेरै काम गरेको छ । अर्घोचोकदेखि रिठ्ठेपानी बाटो, स्कुल, सामूहिक भवनलगायतका काम आमाहरूकै नेतृत्वमा भएको हो । उनीहरूले एक करोड लगानीमा बहुउद्देस्यीय भवनसमेत बनाएका छन् । समूहले वैदेशिक रोजगारीमा गएका र जागिरेबाट सहयोग माग्छ । यस्ता काम गर्दा सामूहिक भावना बढेको दुर्गाटोल आमा समूहकी अध्यक्ष कन्या गुरुङले बताइन् । ‘अरूको भर पर्नु पर्दैन, दुःख–सुखमा सजिलो भएको छ,’ उनले भन्छिन् । उनीहरूले बनाएको भवनमा अधिकांश सामूहिक कार्य भोज, विवाहलगायतका कार्यक्रम हुन्छन् । एक सय २० बेडको पाहुना घरसमेत उनीहरूले बनाइसकेका छन् । ‘हामी सक्रिय भएपछि गाउ“मा अभाव भन्ने कुरै छैन,’ प्रगतिचोक आमा समूहकी अध्यक्ष बिन्दुकुमारी गुरुङ भन्छिन्, ‘आपतविपतमा परेका र गरिब, असहायलाई सहयोगसमेत गर्छौँ । बेगनास ताल महिला समूहले तालमा कमलको फूल ल्याएर रोप्ने, सातामा बजार सरसफाइ गर्ने काम गर्छ । चेतना फैलाउन आफूहरू लागेको समूहकी निवर्तमान अध्यक्ष शान्ति खनालले बताइन् । 

लमजुङको भुजुङस्थित आमा समूह पनि विकासमा सक्रिय छ । ‘आमा समूहविना कुनै काम गर्न मुस्किल पर्छ,’ समूहकी सदस्य आशकुमारी गुरुङ भन्छिन्, ‘आमाहरूको भूमिका बढिरहेको छ ।’ कास्की सिक्लेसको आमा समूह यस्तै सक्रिय छ । उसले लोप हुन लागेको संस्कृति घाटु बनाउनेदेखि गाउँ विकासमा उत्तिकै जमेर लागेको छ । यस्तै ताङतिङको आमा समूह पनि उत्तिकै सक्रिय छ । गाउँमै होम स्टेको प्रबन्धमा बेसी खट्ने आमा समूहले आम्दानीको स्रोत पनि पाएको छ । गाउँमा जाने पाहुनालाई सक्रिय बनाएर लाग्ने समूह पनि यही हो । उता ल्वाङ घलेलको आमा समूह पनि उत्तिकै सक्रिय छ । नेपालकै पहिलो होम स्टे गाउँ स्याङ्जाको सिरुबारीको बुद्ध आमा समूहले थुप्रै नमुना काम गरेको छ । कास्कीका सबै गाउँ आमासमूहयुक्त छन् । यसकै सिको गरेर प्रदेश नं. ४ का हरेक जिल्लाका हरेक गाउँका वडामा आमा समूह छन् । यो प्रदेशमा हुने हरेक काममा आमा समूह सक्रिय हुन्छन् । पोखरा लेखनाथ महानगरपालिकामा मात्रै झण्डै चार सय आमा समूह दर्ता भएका छन् । दर्ता नभएका आमा समूह उत्तिकै छन् । 

प्रकाशित: ३० जेष्ठ २०७५ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App