१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

यी दुई विषय, जसकारण सुमना राजीनामाको निर्णयसम्म पुगिन्

सुमना श्रेष्ठ (बायाँ) र रवि लामिछाने (दायाँ)।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट दिएको राजीनामा बाहिरियो। राजीनामा बिहिबार (आज)मात्रै बाहिरिए पनि उनले संवत् फेरिनु अगावै राजीनामा दिएकी थिइन्। 

पार्टी सभापति रवि लामिछानेसँगैको सल्लाहमा उनले राजीनामा बुझाइएकी थिइन्। उनले स्वीकृत गर्नसमेत भनेकी थिइन्। तर, लामिछाने चैत २२ गते पुन: थुनामा गए। यसपछि उनको राजीनामा यथावत् रह्यो। 

त्यसमा सुमनाले केही भनेकी पनि थिइनन्। तर, राजीनामाको विषय एकाएक आज बाहिरियो। स्वयम् सुमना पनि चकित भइन्। पार्टी सभापति लामिछाने थुनामा गएपछि स्वीकृत हुने वा बाहिरिनेबारे सोच्दा पनि नसोचेकी उनी एकाएक आज बाहिरिँदा चकित नै परिन्।

आज केन्द्रीय समिति बसेको छ। बैठकको ठीक अगाडि आफ्नो राजीनामा बाहिर्‍याएर पार्टीकै कतिपय नेताहरूले 'मिडिया ट्रायल' गर्न खोजेको आरोप सुमनाको छ। एकाएक आफ्नो राजीनामाको विषय बाहिर आउँदा आफू पनि अचम्ममा परेको उल्लेख गर्दै उनले नागरिकसँग भनिन्, 'मिडिया ट्रायल गर्न खोजियो। आज मात्रै केन्द्रीय समितिको बैठक बस्दै थियो। बैठक अगाडि बाहिर ल्याएर मिडिया ट्रायल नै गर्न खोजियो।'

उनले आफ्नो राजीनामा पत्रमा सोचेअनुरूप काम गर्न नसकेको उल्लेख गरेकी छन्। त्यसको कारण भने पार्टीपङ्क्ति र नेताहरूसँग खोज्नुपर्ने बताएकी छन्। सुमनाले मूलत: दुई कारण राजीनामा दिएको स्रोतहरू उल्लेख गर्छन्।

पहिलो, नामको मात्रै सहमहामन्त्री। यो कुरा सुमनाले आफ्नो राजीनामा पत्रमै पनि उल्लेख गरेकी छन्। 'पदाधिकारीसँग सल्लाह नगरी महत्त्वपूर्ण निर्णय पदाधिकारी भएर समेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारीक स्रोतबाट नभइ अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ,’ उनले भनेकी छन्।

सुमनाको राजीनामा पत्र। जहाँ, उनले आफूलाई पदाधिकारीसरह व्यवहार नगरिएको बताएकी छन्।

त्यसो त रास्वापाका एक नेता सुमनाले राख्ने गरेको कुनै पनि अजेन्डामा पार्टीमा छलफल नै नहुने बताउँछन्। ती नेताले नागरिकसँग भने, 'सुमना दिदीले राख्नुभएको कुनै पनि अजेन्डामा छलफल भएको थाहा छैन। उहाँले बोलाउनुभएको बैठकहरूमा कोही पनि उपस्थित हुँदैनथे।'

ती नेताका अनुसार सुमनाले आफूले काम गर्ने माहोल नभएकाले राजीनामा बुझाएकी हुन्। 'उहाँको काम गर्ने शैली आफ्नै छ। उहाँले नागरिकको तहमा भन्दा पनि पार्टीको माथिल्लो तहमा राम्रो काम गर्न सक्नुहुन्थ्यो। त्यो माहोल पार्टीमा भएन र आफ्नो पर्फमेन्स देखिएन। यसपछि उहाँ राजीनामा बुझाउन बाध्य हुनुभयो,' ती नेता भन्छन्।

त्यसो त सुमनाले आफ्नो राजीनामा पत्रमै पनि यस्तो गुनासो गरेकी छन्। प्रकृति लम्साल प्रकरणमा संसद्‌मा पार्टीले स्ट्यान्ड लिनुपर्ने बताएकी थिइन्। तर, पार्टीले त्यसमा साथ नदिएको उनले उल्लेख गरेकी छन्। स्मरणीय छ, त्यसबेला उनले संसद् बहिष्कारसमेत गरेकी थिइन्।

दोस्रो, पार्टी सभापति रवि लामिछानेसँगको सम्बन्ध। पार्टी सभापति लामिछानेसँगको सम्बन्ध त्यतिबेलै बिग्रिएको थियो, जतिबेला लामिछाने पक्राउ परे। लामिछाने गत २०८१ कात्तिक २ गते पार्टी मुख्यालय वनस्थली च:मतिबाट पक्राउ परेका थिए। पक्राउ परेलगत्तै उनलाई पोखरा लगियो।

यसपछि रास्वपा नेताहरूले पोखराकेन्द्रित प्रदर्शनको आह्वान गरे। त्यसबेला सुमनासहित केही नेताहरू प्रदर्शन गर्न हुन्न भन्ने पक्षमा थिए। तर,अरु नेताहरूले प्रदर्शन गर्ने निर्णय लिए र प्रदर्शनमा समेत जुटे।

२/३ दिन प्रदर्शन राम्रै चल्यो तर, त्यसपछि त्यो प्रदर्शन टिक्न सकेन। त्यो गर्नु हुँदैन भन्ने सुमनाको पर्फमेन्स स्वभावैले कमजोर देखियो। यसपछि उनीमाथि सभापति लामिछानेले नै प्रश्न उठाए।

त्यसयता सुमना-लामिछानेबीचको सम्बन्ध सुधार हुन सकेको थिएन। सुमनाले लामिछानेका बारेमा बोल्नसमेत छाडेकी थिइन्। बुधबार (हिजो) मात्रै नागरिक फ्रन्टलाइनमा उनले लामिछानेबारे बोल्दै मानिनन्।

यहाँको पार्टी सभापति रवि लामिछाने अहिले थुनामा हुनुहुन्छ, यसमा के अन्याय भएको छ भन्ने लाग्छ तपाईंलाई ? भन्ने जिज्ञासामा उनी स्कीप भइन्।

'यो न्यायपालिकामा गएको विषय छ। मेरो विचारमा यसमा धेरै टीका टिप्पणी गर्नु राम्रो हुँदैन होला। मैले रिक्वइस्ट गरे यसमा प्रवेश नगरौँ,' उनले भनेकी थिइन्। 

त्यसो त पछिल्लो समय लामिछाने निकटका नेताहरूले सुमनालाई 'काम बिना पद रोकेर नबस्न' भनेर विभिन्न सन्दर्भमा भन्ने गरेको बताउँछन् एक नेता। 'उहाँ शिक्षामन्त्री हुँदा सहमहामन्त्री पद छाड्न भनेर केही नेताहरूले भन्नुभएको थियो। तर, त्यसबेला यो विषय बाहिर आएन तर, उहाँमाथि एक खाले दबाब थियो,' ती नेता भन्छन्।

त्यसो त यसअघि पार्टी कार्यालयमै शम्भू सुस्केरालगायतका नेताहरूले धर्ना दिएका थिए। उनीहरूले 'कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ नरोक' भनेर नारासमेत लगाएका थिए। त्यसबेला सुमनाले यो नारा कोविरुद्ध हो भनेर सोधेकी थिइन्। 

ती नेताका अनुसार त्यो धर्ना कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीको निर्देशनमा भएको थियो र त्यो सुमना लक्षित नै थियो। 

यो पनि पढ्नुहोस्

एकाएक कहाँबाट बाहिरियो ‘राजीनामा’ ? : सुमना आफै चकित !

 

प्रकाशित: ४ वैशाख २०८२ १६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App