२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

गण्डीगाडमा नयाँ पुल बनेन, भएको पनि रहेन

अछाम र डोटी जिल्लाको सिमानास्थित गण्डीगाडमा सम्झौता भएको १६ महिना बितिसक्दा पनि मोटरेबल पुल निर्माणको काम अघि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा डोजरले ढुङ्गा खसालेर पुरानो झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाइदिएपछि स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ सोकट र डोटीको दिपायल सिलगढी नगरपालिका-८ जोड्ने गण्डीगाडमा ४० मिटर लामो पुल बनाउन ५ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

उक्त पुल निर्माणको जिम्मा एस एस एन एस सि पि सि एस-ए सि जेभी धनगढी-५ ले पाएको थियो। तर लामो समय बितिसक्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन।

उल्टै, मोटरेबल पुलका लागि पहुँचमार्ग बनाउने क्रममा डोजरले खसालेको ठूलो ढुङ्गाले खोलाको झोलुङ्गे पुल नै क्षतिग्रस्त बनाएको थियो। जसका कारण स्थानीय बासिन्दा अहिले सोही जीर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्न विवश छन्।

नयाँ पुल नबनेको र झोलुङ्गे पुलसमेत भत्किएका कारण बिरामीलाई उपचारका लागि लैजान र विद्यार्थीलाई विद्यालय पुग्न कठिन भएको स्थानीय ध्रुव साउदले बताए। ‘मोटरेबल पुल त परै जाओस्, भएको झोलुङ्गे पुलको अवस्था पनि ठीक छैन,’ उनले भने, ‘अछामबाट डोटीको दिपायल र सिलगढी पढ्न जाने विद्यार्थी दैनिक ज्यान दाउमा राखेर यही पुल तर्न बाध्य छन्।’

चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले आयोजना कार्यान्वयन गर्ने निकाय पूर्वाधार विकास कार्यालय साँफेबगरले लापरबाही गरेको आरोप लगाएका छन्। ‘पटकपटक ताकेता गर्दा पनि कार्यालयले कुनै चासो दिएको छैन,’ अध्यक्ष साउदले भने, "नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा पनि सम्बन्धित निकाय मौन बस्नु विडम्बना हो।’

यता, पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले भने रोकिएको निर्माण कार्य तत्काल अगाडि बढाउन निर्माण व्यवसायीलाई पत्राचार गरिसकिएको जानकारी दिएका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ २०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App