राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएको विषय एकाएक बाहिरिएपछि सांसद सुमना श्रेष्ठ आफै आश्चर्यचकित बनेकी छन्।
पार्टी निकटस्रोतका अनुसार अहिले एकाएक राजीनामाको प्रसंग सञ्चारमाध्यममा आएपछि सुमना चकित बनेकी हुन्।
‘पार्टीलाई प्रभावकारी बनाउन र पार्टीमा जोडिन आउने सबैलाई नेतृत्वसम्म पुग्ने बाटो बनाउन एक व्यक्ति एक पदको धारणासहित पार्टीभित्र उहाँले पहिल्यैदेखि बोल्दै आउनुभएको थियो,’ निकटस्रोतले भन्यो, ‘पछिल्लो समय पार्टी सभापति (रवि लामिछाने) जिम्मेवारीमा फर्केपछि उहाँले सोही प्रस्तावसहित राजीनामा दिनुभएको थियो।’
यो कुरा चैत १८ गतेको हो। त्यही दिन सुमनाले राजीनामासहित सभापति लामिछानेसँग एक्लै कुराकानी गरेकी थिइन। ‘सभापतिज्युले त्यसलाई सकारात्मक लिनुभयो। तर, अहिले नै राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै उपयुक्त समयमा यसबारे छलफल गरी सार्वजनिक गर्ने भन्नुभएको थियो,’ स्रोतले भन्यो।
स्रोतका अनुसार रविले त्यो बेला एक्लै सुमना मात्रै भन्दापनि सबै व्यक्तिका हकमा ‘एक व्यक्ति, एक पद’ को प्रणाली लागु गर्नेगरी निर्णय लिँदा सकारात्मक सन्देश जाने भनेका थिए।
स्रोतले भन्यो, ‘त्यसपछि उहाँ (रवि) ले राजीनामाको विषयमा मिडियामा पनि नबोल्नुस्, अहिले राजीनामा दिँदा सभापतिविरुद्ध दियो भन्ने सन्देश पनि जानसक्छ। त्यसैले उपयुक्त समयमा तपाईंको प्रस्ताव पार्टीको नीतिमा समेटौँला भन्ने थियो।’
त्यसपछि त्यो विषय सुमनाले तत्कालका लागि छाडेकी थिइन्। तर एकाएक बिहीबार बिहानदेखि सुमनाले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि उनी आफै चकित बनेकी हुन्।
‘यसमा कसैको कुनै षडयन्त्र हो कि भन्ने उहाँलाई लागेको छ। दुई हप्ताअघि त्यस्तो सकारात्मक ढंगले टुंग्याइएको विषय अहिले किन र कोबाट उछालिँदै छ ? उसको पछाडिको उद्देश्य के हो ? भन्नेमा उहाँको चिन्ता पनि छ,’ निकटस्रोतले भन्यो।
यसविषयमा बिहीबार बस्ने केन्द्रीय समिति बैठकमै खुलस्त कुरा राख्ने तयारी सुमनाले गरेकी छन्। ‘यस्तो किसिमको स-सानो कुरामा अनेक षड्यन्त्र गर्ने, अपारदर्शी चाल चल्ने किसिमले पार्टी र देश चल्न सक्दैन भन्ने उहाँको चिन्ता छ,’ स्रोत भन्छ।
प्रकाशित: ४ वैशाख २०८२ १६:१६ बिहीबार





