२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
अर्थ

लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यात

यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्‌को पिक डिमान्ड एक हजार ८१३ मेगावाट पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे प्रणालीमा बिजुलीको आन्तरिक माग उच्च विन्दुमा पुगेको हो।

उक्त पिक समयमा नेपालको कुल विद्युत् उत्पादन दुई हजार ४००.३० मेगावाट रहेको थियो। आन्तरिक माग धानेर बचत भएको ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

यससँगै आन्तरिक खपत र निर्यातसहित प्रणालीको कुल उच्चतम भार दुई हजार ४००.३० मेगावाट पुगेको थियो।

लक्ष्मीपूजाको साँझ निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट सर्वाधिक एक हजार ५३६.५० मेगावाट बिजुली उत्पादन भएको छ।

यस्तै, प्राधिकरणका सहायक कम्पनीहरूबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो। यस अवधिमा भारतबाट बिजुली आयात गर्नु परेन भने तापीय आयोजनाहरूसमेत बन्द रहे।

काठमाडौं उपत्यकामा पनि विद्युत् खपत उल्लेख्य बढेको देखिएको छ। लक्ष्मीपूजाको समयमा उपत्यकाको उच्चतम माग ४८९.५० मेगावाट पुगेको थियो। पिक आवरमा विद्युत् प्रणालीको फ्रिक्वेन्सी ५०.१२० हर्ज रहेको र प्रणालीमा अवरोध पूर्णतः शून्य रहेको प्राधिकरणले बताएको छ।

विगत तीन वर्षको तथ्यांक हेर्दा लक्ष्मीपूजाका दिन मुलुकभर र काठमाडौं उपत्यकामा बिजुलीको माग निरन्तर उकालो लागेको देखिन्छ।

विसं ०८२ कात्तिक ३ गतेको लक्ष्मीपूजामा राष्ट्रिय माग एक हजार ७४५ मेगावाट र उपत्यकाको माग ४०२.४९ मेगावाट थियो। त्यतिबेला कुल उत्पादन दुई हजार ७६० मेगावाट हुँदा एक हजार १५ मेगावाट निर्यात गरिएको थियो।

त्यसअघि विसं ०८१ कात्तिक १५ गतेको लक्ष्मीपूजामा भने राष्ट्रिय माग एक हजार ६०२.२० मेगावाट र उपत्यकाको माग ३८०.५० मेगावाट रहेको थियो।

उक्त दिन कुल उत्पादन एक हजार ८५५ मेगावाट रहेकोमा २५२.९० मेगावाट विद्युत् निर्यात गरिएको प्राधिकरणको अभिलेखमा उल्लेख छ।

प्रकाशित: २२ कार्तिक २०८३ २१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App