नेपालकै एक मात्र घुमन्ते समुदाय हो, राउटे। एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने र खेतीपाती नगर्ने राउटे समुदायका बारेमा आम मानिसका अनेकथरी धारणाहरू छन्।
हामीले राउटेको रीति, रिवाज, संस्कृति र जीवनशैलीका बारेमा बेला–बेलामा जानकारी दिने गरेका छौं। यो पटक हामी राउटेले नयाँ वर्षलाई कसरी मनाउँछन् भन्ने बारेमा जानकारी दिँदैछौं।
राउटे समुदायको नयाँ वर्ष पनि वैशाख एक गतेबाट सुरु हुन्छ। नयाँ वर्षलाई उनीहरु चार दिनसम्म मनाउँछन्। सुरुका तीन दिन दिउँसो बस्तीमा पुरुषहरू हुँदैनन्।

बिहान उज्यालो नहुँदै पाँच वर्षमाथिका पुरुषहरू सिकार खेल्न जानुपर्छ। उनीहरु रात परेपछि मात्रै बस्तीमा फर्किन पाउँछन्।
वृद्ध उमेरका र हिँड्न नसक्ने राउटे पुरुषहरूलाई बोकेर भएपनि बस्ती नदेखिने ठाउँमा लगेर राख्ने गरिन्छ। जहाँ महिला र बालिकाहरू जाँदैनन्। तीन दिनसम्म श्रीमान्–श्रीमतीबिच बोलचाल हुँदैन।
‘राति खाना खाँदा पनि इसाराको प्रयोग हुन्छ,’ मुखिया सूर्यनारायण शाहीले भने, ‘तीन दिन नबोल्यो भने वर्षभरी झगडा नहुने भएकाले यसो गरेका हौं।’
नयाँ वर्षमा सिकार (बाँदर) पर्यो भने वर्षभरी सिकार पाइन्छ भन्ने मान्यता राउटे समुदायमा छ। ‘नयाँ वर्षको सुरुमा सिकार पर्यो भने वर्षभरी सिकार पाइन्छ,’ मुखिया सूर्यनारायणले भने, ‘तीन दिन पाँच वर्षमाथिका सबै पुरुषहरू अनिवार्य शिकार जानुपर्ने नियम पुर्खादेखिकै हो।’
यो तीन दिन राउटेले मदिरा सेवन गर्दैनन्। ‘सिकार खेल्न जानुपर्ने भएकाले रक्सी (मदिरा) खान मिल्दैन,’ उनले भने, ‘खाएर गएपछि बाँदरलाई लखेट्न सकिँदैन।’
पुजारीकै घरमा हुन्छ बास
वैशाख १ गते राति पाँच वर्ष मुनिका बालबालिका र आमाहरू पुजारीको घरमा बास बस्नुपर्ने नियम राउटे समुदायमा छ। रातभर पुजारीले बालबालिकालाई मन्त्र गर्ने र विभिन्न विधिहरू सिकाउने गर्छन्।
यो नयाँ वर्षमा राउटे समुदाय दुई ठाउँमा बाँडिएका छन्। बराहतालमा रहेको राउटे बस्तीमा लालबहादुर शाही र वीरेन्द्रनगरमा रहेको राउटे बस्तीमा भक्तबहादुर शाही पुजारी छन्।
‘नयाँ वर्षको दिन बिहानै पाँच वर्षमुनिका बालबालिका भएको घरदेखि पुजारीको घरसम्म बाटोसमेत लिपपोत गर्ने र बालबालिका भएका घरमा लिपपोत गरेर खरले बार्ने गरिन्छ,’ उनले भने, ‘राति आमा र पाँच वर्षमुनिका बालबालिकाहरू पुजारीकोमा गएर बस्ने प्रचलन छ।’
पुजारीले बालबालिकाको लामो आयुको कामना गर्दै पूजा गर्छन् त्यो राति पुजारी आफैले खाना पकाएर बालबालिकाहरूलाई खुवाउँछन्।

राउटे समुदायमा पाँच वर्षमुनिका बालबालिकालाई गाडी चढाउने चलन छैन। नयाँ वर्षको राति पुजारीले पाँच वर्ष पुगिसकेका बालबालिकालाई गाडी चढ्नका लागि अनुमति प्रदान गर्छन्। पाँच वर्ष पूरा भएर १६ वर्ष पूरा नहुँदासम्म राउटे बालबालिकाले फल दिने रुख–बिरुवा काट्न पाउँदैनन्।
पाँच वर्षमुनिका छोराछोरी हुने आमा–बुवा समुदाय र बाह्य समुदायसँग पनि बोलचाल गर्दैनन्। ‘अरुसँग बोल्यो भने बच्चाको आयु घट्ने, सिकार खेल्न नसक्ने हुन्छ भन्ने मान्यता उनीहरुमा छ,’ राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले भने, ‘तीन दिन बस्तीमा पुरुष हुँदैनन्, पाँच वर्ष मुनिका आमाहरू पनि कसैसँग बोल्दैनन्।’
चौथो दिन होली
हामीहरू फागु पूर्णिमामा होली बनाउँछौँ। तर, राउटे समुदाय वैशाख ४ गते होली मनाउँछ। तीन दिनसम्म सिकार गरेपछि चौथो दिन एक–अर्कालाई रंग दल्ने र खानपिन गरेर रमाइलो गर्ने चलन राउटे समुदायमा छ।

चौथो दिनबाट श्रीमान्–श्रीमतीबिच र बाह्य समुदायसँग पनि बोलचाल सुरु हुन्छ। ‘एक–अर्कामा रंग दलेपछि बोलचाल खुल्छ,’ मुखिया वीरबहादुर शाहीले भने, ‘त्यसपछि खानपिन गर्ने र नाचगान गरेर होली मनाउने गछौं।’
प्रकाशित: ४ वैशाख २०८२ १६:५७ बिहीबार





-600x400.jpg)