बालेन्द्र शाह नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सुरुवात गर्दै प्रधानमन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वमा बनेको सरकारमा लोकतान्त्रिक गणतन्त्र नेपालको कान्छो प्रधानमन्त्रीको पदभार ग्रहण गरे ।
फागुन २१ को निर्वाचनमा रास्वपाले १८२ सिट ल्यायो । यही जनादेशसँगै रास्वपाका बरिष्ठ नेता शाह नेतृत्वमा शक्तिशाली सरकार बन्यो ।
रास्वपाको यो उभारलाई सबैले धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । अधिकांशको टिप्पणी पुराना दलसँग जोडिएको असन्तुष्टि छ भने बालेन्द्र शाहको क्रेजले अर्को काम गरेको छ । जे भए पनि नयाँ गठित सरकारसँग आशा, अपेक्षा अधिक छ । चुनौतीकाबीच सत्ताको बागडोर सम्हालेको रास्वपा अब जनताबाट अनुमोदित हुन प्रत्येक पल अब्बल सावित हुनुपर्छ । त्यसका लागि बालेन नेतृत्वको टोलीले जनअपेक्षित काम गर्न जरुरी छ ।
रास्वपाको स्थापना र नेतृत्व संकट
रास्वपाको स्थापना रवि लामिछानेले २०७९ असार १७ मा गरेका थिए । टेलिभिजन पत्रकारिताबाट उदाएका लामिछानेले छोटो समयमै पार्टीलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जित्दै संसदको चौथो ठूलो दल बनेको थियो । त्यसपछि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । तर नागरिकता विवादले उनको राजनीतिक यात्रामा अवरुद्ध हुन पुगेको थियो ।
उनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७९ माघ १३ मा लामिछानेको नागरिकता कानुनी रूपमा कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो । तत्कालिन समयमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले यो फैसला गरेको थियो । फैसलापछि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । पछि उनले पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा गरे । अनि उपनिर्वाचनमा दोहोरिएर आए ।
पार्टीमा लामिछानेको अनुपस्थितिमा डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। पार्टीले भ्रष्टाचार आरोपमा ढाकाकुमार श्रेष्ठ लाई निष्कासन गर्दै बिन्ध्यवासिनी कंसाकारलाई सांसद बनाएको थियो । २०८० को उपनिर्वाचनमा रास्वपाले थप सिट हासिल गर्यो भने लामिछाने चितवन–२ बाट पुनः निर्वाचित भए । त्यसपछि पार्टी पुनः सरकारमा सहभागी भए पनि राजनीतिक समीकरण परिवर्तन हुदाँ रास्वपा सरकारबाट बाहिरियो ।
पार्टीभित्रका उत्तारचढाव
यसबीच मुकुल ढकाललाई पार्टीबाट निष्कासन गरिएको थियो भने इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
सहकारी ठगीको आरोपमा २०८० मा सभापति लामिछाने पक्राउ परेपछि डोलप्रसाद अर्यालले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। असार २०८१ मा कबिन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गरिदै पार्टीलाई सम्हालिएको थियो ।
तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सम्पति शुद्धीकरणको मुद्धामा जेल परेका रवि लामिछाने जेलबाट निस्किएपछि रास्वपाबाट पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले राजीनामा दिइन् भने सन्तोष परियारसमेत अन्य दलमा आबद्ध भए । पार्टीभित्र आन्तरिक विषयमा विमती भए पनि केही सदस्यबीच नेतृत्व र संगठनप्रति मतमतान्तर भए पनि पार्टीलाई एकढिक्का बनाउन र बजबुद राजनीति दल बनाउन रास्वपाभित्र नेताको उपस्थिति मजबुद रहेको पार्टी कोषाध्यक्ष लीमा अधिकारीको भनाइ छ ।
जेन जी आन्दोलनपछि अन्तरिम सरकारले निर्वाचनको मिति फागुन २१ घोषणा गरेसँगै १४ मंसिर २०८२ मा विवेकशील साझा पार्टी रास्वपामा समाहित भयो । कुलमान अध्यक्ष रहेको ‘उज्यालो नेपाल पार्टी’ सँग एकताको प्रयास भए पनि सफल हुन सकेन । रास्वपाले आफूलाई मध्यमार्गी दलका रूपमा प्रस्तुत गर्दै संवैधानिक समाजवाद, आर्थिक उदारवाद र सुशासनलाई प्राथमिकतामा राखेर निर्वाचनमा होमियो ।
पार्टी भित्रको उत्तारचढाव तथा सभापति लामिछानेमाथि प्रतिशोधको राजनीति भएको आरोप रास्वपाले लगायो । सभापति लामिछानेले नै आफूमाथिको व्यवहारप्रति आजित भएर २०७९ माघ २० मा लेखे, ‘अब मलाई भन्न, गर्न वा लेख्न बाँकी केही भए भनिहाल्नुहोस्। मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यू होइन।’
ठिक त्यसैगरी उनी अभिमन्यु भइरहन सकेनन् र यस निर्वाचनमा करिब बहुमतसँगै सरकार गठन गरेको छ।
करिब तीन वर्षको छोटो अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको राजनीतिक उचाइलाई लिएर यतिबेला व्यापक बहस सुरु भएको छ । रास्वपाको उदयलाई जनआक्रोश, वैकल्पिक शक्तिको खोज र नयाँ नेतृत्वप्रतिको विश्वासको संयुक्त परिणामका रूपमा व्याख्या गरेका छन् ।

रास्वपाकी कोषाध्यक्ष अधिकारीका अनुसार पार्टीको सफलता आकस्मिक नभएर विगत लामो समयदेखि जनतामा रहेको असन्तुष्टिको परिणाम हो । विगतमा लामो विरासत बोकेका राजनीतिक दलले जनतामा आशा जगाउन नसक्नु, देशमा सम्भावनाको आधार देखाउन नसक्नु तथा सुशासनको प्रत्याभूति देखाउने आधार तयार नगर्नु नै रास्वपा उदयको आधार भएको अधिकारीको भनाइ छ ।
उनले भनिन्, ‘वर्षौँदेखि पुराना दलहरूले गरेका भ्रष्टाचार, कुशासन र अराजकताविरुद्ध जनतामा ठूलो असन्तुष्टि थियो। नागरिकहरू परिवर्तन चाहिरहेका थिए र त्यो परिवर्तनको नेतृत्व गर्ने व्यक्तिको खोजीमा जनता थिए।’
रवि लामिछानेले सञ्चार माध्यममार्फत नागरिकका समस्या उठाउँदै जनस्तरमा गहिरो प्रभाव बनाएको र पीडित नागरिकको पक्षमा उभिँदै एउटा विश्वास निर्माण गरेको कारण उक्त विश्वासले नागरिकहरू भावनात्मक रूपमा रास्वपासँग जोडिएको उनी बताउँछिन् ।
रास्वपा गठनका बेला संगठन कमजोर भए पनि जनविश्वास बलियो रहेको उनले बताइन्। ‘हामीसँग संरचना थिएन, तर अघिल्लो निर्वाचनमा २१ सिट जित्नु भनेको पुराना दलप्रतिको आक्रोश र लामिछानेप्रतिको विश्वासको प्रतिफल थियो, रास्वपाको यात्रामा चुनौतीहरू पनि कम थिएनन्,’ उनले भनिन् ।
नागरिकता विवादपछि सर्वोच्च अदालतको फैसलाले लामिछाने पदमुक्त हुँदा पार्टी सरकारबाट बाहिरिनुपरेको थियो । त्यसपछि सहकारी ठगी आरोप, नेताहरूको बहिर्गमन र आन्तरिक असन्तुलनले पार्टीलाई दबाबमा राख्दा पनि पार्टीमा आन्तरिक आत्माबलले काम गरेको बताउँछिन् ।
अधिकारी भन्छिन्, ‘एक–डेढ वर्ष सभापति जेलमा रहँदा पनि केही नेताहरू खम्बा बनेर पार्टी जोगाए। हामी विभाजित भएनौं, बरु नयाँ मानिसहरू जोड्दै अघि बढ्यौं । जेन्जी आन्दोलन पछि वैकल्पिक शक्तिहरूबीचको एकता प्रयासले पार्टीलाई थप बलियो बनायो ।’
विशेषगरी बालेन्द्र शाहको आगमनले पार्टीलाई राष्ट्रिय स्तरमा अझ मजबुत बनाएको उनको भनाइ छ । ‘बालेनजस्तो व्यक्तित्वले मधेसदेखि हिमालसम्म नागरिकलाई जोड्ने काम गर्यो र आज रास्वपाको उचाई झनै चुलिएको छ,’ उनले भनिन् ।

राजनीतिक विश्लेषक डा. पिताम्बर भण्डारी रास्वपाको उदय परम्परागत विचार धाराभन्दा फरक प्रवृत्तिको परिणाम रहेको बताउँछन् । विगतमा राजनीतिक दलहरू विचारधारामा आधारित भएपनि अहिले राष्ट्रवादी पहिचान र ‘हामी’ भन्ने भावनाले राजनीतिक आधार तयार गरेको बताउँछन् ।
उनका अनुसार पार्टीमा ‘स्वतन्त्र’ भन्ने नामले नै विभिन्न असन्तुष्ट समूहलाई एकीकृत गर्न सहयोग गरेको बताउन्छन् । उनी भन्छन्, ‘यो दल संगठनभन्दा बढी व्यक्तित्व केन्द्रित देखिन्छ । स्थानीय तहको लोकप्रिय नेतृत्वलाई राष्ट्रिय राजनीतिमा प्रोजेक्ट गर्दा यस्तो उचाईमा पुगेको हो ।’
रास्वपाको सफलता दलीय संरचना भन्दा बढी व्यक्तित्वको प्रभावसँग जोडिएको भण्डारीको भनाइ छ । ‘जब दलभन्दा व्यक्ति हावी हुन्छ, तब परिणाम पनि त्यही अनुसार आउँछ । यहाँ बालेन्द्र शाह जस्तो व्यक्तित्वलाई प्रोजेक्ट गरियो, जसले व्यापक जनसमर्थन तान्यो र उचाईमा पुग्यो,’ उनले भने । तर यही जनसमर्थनलाई संस्थागत बनाउने चुनौती रहेको उनको भनाइ छ ।

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडाले रास्वपाको उदयलाई स्वाभाविक राजनीतिक प्रक्रिया रहेको बताएका छन्। ‘पुराना दलहरूको भ्रष्टाचार, कुशासन र अहंकारका कारण जनविश्वास गुमाउँदा रास्वपाले एकल बहुमत प्राप्त गरेको हो, यस्तो अवस्थामा नयाँ शक्तिको उदय हुनु स्वाभाविक हो,’ उनले भने ।
साथै पछिल्लो समय डिजिटल युगले राजनीतिलाई विस्तार गरेको समेत उनको भनाइ छ । अहिलेको युगमा सूचना प्रवाह तीव्र भएकाले नयाँ दल छिटो स्थापित हुन सकेको खतिवडाको भनाइ छ ।
‘पहिले बैलगाडाको युग थियो, अहिले डिजिटल युग छ। सामाजिक सञ्जालले सन्देश छिटो फैलाउँछ, त्यसैले राजनीतिक उकालो पनि छिटो हुन्छ ,’ एल्गोरिदमको प्रभावबारे उनले थपे, ‘एल्गोरिदमले होइन, जनताले कन्टेन्टलाई अगाडि बढाएका हुन्। जनताले विश्वास गरेपछि मात्रै त्यो फैलिन्छ र यो राजनीतिक सफलता प्राप्त हुन्छ,’ उनले भने ।
वैकल्पिक राजनीतिक धारका समर्थक मिलन पाण्डेले रास्वपाको सफलता जनताको डेलिभरीको अपेक्षासँग जोडिएको बताउँछन् । यो जनमतसँगै अब जनताले विचारभन्दा परिणाम खोज्ने हुदाँ मतअनुसार दलले काम गरेर देखाउन पर्ने चुनौती रहेको बताउँछन् ।
‘नागरिकले नयाँ शक्तिमा ‘रिस्क’ लिएर लगानी गरेका छन्। यो विश्वास हो, अब त्यसको परिणाम दिनुपर्नेछ,’ उनले भने । रास्वपाले पाएको जनादेश ऐतिहासिक भए पनि यसको स्थायित्व सरकारको कार्य सम्पादनमा निर्भर रहने उनको भनाइ छ।
‘संख्यात्मक रुपमा बहुमत भए पनि राजनीतिक संस्कार, सुशासन र संस्थागत विकास नै मुख्य परीक्षा हो, अब बालेन्द्र शाह नेतृत्वको सरकारले चुनावी प्रतिबद्धता कार्यान्वयन गर्दै जनविश्वास कायम राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न नै रास्वपाको राजनीतिक दिशालाई निर्धारण गर्ने प्रमुख आधार बन्ने छ’ पाण्डेले भने ।
प्रकाशित: १३ चैत्र २०८२ २०:१५ शुक्रबार





