८ वैशाख २०८१ शनिबार
अन्य

घोडाहरू हिन्हिनाइरहेछन्

सहजै अनुमान गर्न सकिन्छ, मानिस र घोडाबीचको सम्बन्ध मानव–सभ्यताको आरम्भदेखि नै रहँदै आएको हो । सिकारी युगमा मानिसले हातहतियार बनाउन जानिसकेका थिए । भाला, धनुकाँडजस्ता हतियार त्यसबेला आत्मसुरक्षा र सिकारका लागि मनुष्यले बनाउन सिक्यो । त्यस युगको अन्त्यसम्म मानिस धेरै चिन्तनशील भइसकेको थियो र सम्भवतः सिकारी युगको अन्त्यसम्म घोडा चढ्न थालिसकेको थियो ।

यस जनावरलाई मानिसले क्रमशः आफ्नो हितका लागि साथमै राखेर पालनपोषण गर्न थाल्यो । पशुपालन युग सिकारी युगको अन्त्यसँगै सुरु भयो । त्यसक्रममा घोडा पनि पाल्न थालियो । पशुपालन र कृषियुग एकैसाथ सुरु भएको अनुमान समाज वैज्ञानिक वा समाजशास्त्रीले गरेका छन् । ईसापूर्व तीन हजार वर्ष पहिलेदेखि घरपालुवा जनावरका रूपमा घोडापालन सुरु भएको विश्वास पनि गरिएको छ । मानिसलाई कुनै हानि नपुर्याउने, छिटो–छरितो प्राणी भएको र कज्याएर काम लिन पनि सकिने भएकाले घोडा पाल्न सजिलो पनि भयो । मानिससँग चाँडै घुलमिल हुन सक्ने यसको व्यवहारबाट यसलाई स्थायी घरपालुवा जनावरका रूपमा पाल्न थालियो । मानिसले यसबाट पर्याप्त लाभ लिन थाल्यो ।

बलशाली, अहिंस्रक जनावर घोडा हजारौँ वर्षदेखि मानिसको सहयोगीका रूपमा रहँदै आएको छ । सामन्ती युगमा घोडा सम्पन्नताको प्रतीक बन्यो । अन्य सवारी साधनको आविष्कार भए पनि घोडालाई यातायातको साधनका रूपमा प्रयोग गर्न छाडिएको छैन । घोडाको परम्परागत सांस्कृतिक महत्व पनि उत्तिकै छ । विश्वका अनेकाँै मुलुकमा हुने कतिपय औपचारिक कार्यक्रममा राष्ट्रप्रमुखहरू वा विशिष्ट अतिथिहरू घोडाद्वारा तानिने बग्गीमा सवार हुन्छन् । नेपालमा पनि यस्तो परम्परा कायमै छ । घोडा सांस्कृतिक विशिष्टताको माध्यम बनेको छ।

पौराणिक साहित्यमा घोडाबारे पर्याप्त चर्चा गरिएको छ । शास्त्रहरूमा वर्णित युद्ध कथाहरूमा अश्वारोही सेनाको वर्णन गरिएको पाइन्छ । विशेषतः महाभारतमा वर्णित महासंग्राममा सहभागी प्रायः सबै प्रमुख वीरहरू अश्वारोही थिए । युद्धका महावीर धनुर्धारी अर्जुनको रथ स्वयं श्रीकृष्णले हाँकेका थिए । भागवत् गीतामा श्रीकृष्णले स्वयंलाई ‘घोडाहरूमा म उच्वैश्रवाः हुँ’ भनेका छन् । उच्वैश्रवाःलाई देवराज इन्द्रको वाहनका रूपमा लिइन्छ । पुराणमा उच्वैश्रवाः भनेको समुद्र मन्थनका क्रममा उत्पन्न घोडा मानिएको छ । यस्तै रामायणमा पनि घोडाको चर्चा गरिएको पाइन्छ।

घोडा मानिसका साथमा सधैँ सामाजिक प्राणीका रूपमा मानव समाजकै अभिन्न अंग बनेर सम्मान पाइरहेको छ । यसर्थ घोडालाई घरपालुवा जनावरमध्येको नायकका रूपमा लिन सकिन्छ । प्रतीकात्मक अर्थमा भने जहाँसुकै पनि घोडाहरू हिन्हिनाइरहेछन् ।

पौराणिक वा ऐतिहासिक कालका राजा–महाराजा आफूलाई राजाहरूका पनि राजा अर्थात् चक्रवर्ती महाराज कहलाइन अश्वमेध यज्ञ गर्थे भनिन्छ । विगतमा गरिएका महापाप कर्मको प्रायश्चित स्वरूप महाराजाहरू पापमुक्तिका लागि पनि अश्वमेध यज्ञ गर्थे भनिन्छ । घोडाको बलि दिन आयोजित यज्ञलाई अश्वमेध यज्ञ भनिन्थ्यो । अति दू्रतगामी शक्ति भएको वायुपंखी घोडाको वर्णन पनि पुराणमा पाइन्छ ।मानव सभ्यता र इतिहासको निर्माणमा घोडाले जति योगदान र समर्पण अरु कुनै जनावरले गरेको छैन । मानव रचित संग्रामहरूमा करोडौँ घोडाले सहादत प्राप्त गरे । सैनिक टुकडीहरू, फौजी एकाईहरू वा बटालियनहरूको निर्माण गर्दा पैदल, अश्वारोही, गजारोही आदिमा वर्गीकरण गरिन्थ्यो, सोहीअनुसार तालिम दिइन्थ्यो । माध्यमिककालीन युद्धहरूमा घोडचढी सैनिकहरूको भूमिका बढी नै रहन्थ्यो।

आजकल घोडाले युद्ध अभिप्रायले भन्दा परम्परागत सैनिक सवारीसाधनका रूपमा निरन्तरता पाइरहेको छ । सांस्कृतिक उत्सवहरूमा घोडचढी सैनिकहरू अश्वकला देखाउँछन् । नेपालमा घोडेजात्राको आयोजना बर्सेनि हुने गर्छ । तालिमप्राप्त अश्वारोही सैनिकहरू अनेकौँ अश्वकला प्रदर्शन गर्छन् । आमदर्शकका लागि अश्वकला प्रदर्शनी बडो रोमाञ्चकारी हुन्छ । घोडादौड एक रोमाञ्चक खेलका रूपमा संसारभरि खेलिन्छ ।काठमाडौंको टुँडिखेलमा जंगबहादुर, रणोद्विप सिंह, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर आदि राणा प्रधानमन्त्रीका घोडचढी सालिक छन् । त्यहाँ धीरशमशेर र पृथ्वी नारायण शाहका सालिक पनि छन् । ती सबै घोडायुक्त सालिक फ्रान्स वा बेलायतमा निर्मित हुन् भन्ने भनाइ छ ।

तिनीहरूमध्ये सुन्धारातिर राखिएको जंगबहादुर राणाको घोडचढी मुद्राको सालिक अति गतिशील र जीवन्त देखिन्छ । अत्यन्तै प्रतिभाशाली मूर्तिकारले निर्माण गरेका ती सालिक कलाशिल्पीका उत्कृष्ट नमुनाका रूपमा रहेका छन् । ती सालिकले राणाशासकको अभिमानपूर्ण सामन्ती शासन काललाई प्रतिकात्मक रूपले स्मरण गराइरहेका छन् । मानिसले घोडालाई शक्तिको प्रतीक आदिकालदेखि नै मान्दै आएको छ ।कतिपय मुलुकमा घोडाका मूर्ति बनाई तिनलाई सम्मानजनक रूपमा स्थापना गरिएको पनि पाइन्छ । जर्मनीको राजधानी बर्लिनस्थित ब्राडेनबर्ग गेटमा चारवटा घोडाका मूर्ति राखिएको छ । मूर्तिहरू असाध्यै कलात्मक छन् ।

घोडाका मूर्तिका साथमा सारथीस्वरूप विजयकी प्रतीक देवीको मूर्ति पनि राखिएको छ । घोडालाई देवीले हाँकेकी छन् । घोडाका मूर्ति यति सुन्दर छन् कि झट्ट हेर्दा ती दौडिहाल्लान् जस्ता देखिन्छन् । घोडालाई त्यहाँ वीरता र विजयी शक्तिका प्रतीकका रूपमा सम्मानजनक ढंगले गेटको शीर्ष भागमा राखिएको छ । अश्वारोही देवीले हाँकेका बग्गीयुक्त घोडा विजयी मुद्रामा छन् । ती घोडाको गतिशीलता अत्यन्त द्रूतगामी गोचर हुन्छ । जर्मनीको एकीकरणपूर्व ब्राडेनबर्ग गेट पूर्वी जर्मनीमा पर्दथ्यो । सन् १९८९ को एकीकरणपछि ब्राडेनबर्ग गेट र त्यहाँ स्थापित घोडाका सुन्दर मूर्ति एकीकृत जर्मनीका राष्ट्रिय सम्पदा बनेका छन् । त्यति सुन्दर अनि जीवन्त घोडाका स्मारक अन्यत्र हुन वा नहुन पनि सक्छन् । घोडाका मूर्ति सहितको ब्राडेनबर्ग गेटको निर्माण प्रसियन शासक कार्ल जी लङ्घान्सको शासनकाल (सन् १७९३) मा भएको इतिहास छ।

घोडा सत्ता, शक्ति, दम्भ वा अहंकारजस्ता गुण वा दुर्गुणको प्रतीकका रूपमा प्रयोग भएको पाइन्छ । सत्तारूपी घोडामा चढेपछि सवार हतपती ओर्लनै जान्दैन । पिठ्युँमा काँठी कसेर दुवै आँखाका छेउमा सीधा मात्र देखिने गरी ढकनीले ढाकेपछि हातमा लगाम समात्दै मालिक वा सवारले घोडा कुदाउँछ । सिपालु सवारले आफ्नो अनुकूल हुने गरी घोडालाई कज्याएर राखेको वा कुदाएको हुन्छ । राम्ररी कुदाउन जानेन भने सवार लड्छ, घाइते हुन्छ । इतिहासमा सत्ताका घोडचढीहरू धेरै लडेका, घाइते भएका छन् । धेरै सत्तारूपी अश्वारोहीको जीवन नै जोखिममा पर्ने गरेको पनि पाइन्छ । नेपालमा पनि सत्ताका अश्वारोही कैयाँैले सत्ता गुमाएका छन् । कतिको जीवनलीलाकै अन्त्य भएको पनि छ ।

सत्तारूपी अश्वारोही प्रायः अन्धो हुन्छ । विश्वको राजनीतिक इतिहास मूलतः सत्तारोहणकै इतिहास हो । सत्ताशक्ति सर्व–शक्तिशाली घोडा सदृश छ । दीर्घकालीन रूपमा सत्ता शक्तिरूपी घोडामा चढ्न चाहनेको गर्जना सुन्न छाडिएको छैन । राज्यशक्तिमा तनावका कारण यही नै हुँदै आएको छ ।घोडा धनशक्तिको पनि प्रतीक हो । जसरी राजनीति धेरैका लागि नशा समान हुन्छ, उसरी नै धनप्राप्तिका लागि पनि मानिस प्रायः अतृप्त नै रहन्छ । धनको नशाले पनि मानिसलाई उसरी नै मताउँछ । धन भएपछि इच्छित भौतिक, सांसारिक सुख प्राप्त हुने विश्वास आम मानिसमा पाइन्छ । वास्तवमा धनरूपी घोडा पनि सवारको नियन्त्रणमा रहुन्जेल मात्र आफ्नो हुन्छ । जब धनरूपी घोडाले मानिसलाई नियन्त्रण गर्न थाल्छ, अनि उसको पतन सुरु हुन्छ।

अति भएपछि खति हुन्छ भनिन्छ । धनप्रतिको अति अभिमानले गर्दा बलि राजाको पतन भएको पौराणिक कथा छ, अति दाने वलिर्वद्ध, अति सर्वत्र वर्जयत् । धन संग्रहको अति महत्वाकांक्षाका कारण कैयौँ मानिसको बदनाम पनि भएको छ । धन शक्तिरूपी घोडाले कैयौँलाई निद्राहीन बनाएको छ । नेपालमा मात्रै होइन, संसारभरि नै राजनीतिक क्षेत्र भ्रष्टाचारका कारण बढी बदनाम भएको छ । राजनीतिका आदर्श र मूल्य–मान्यतालाई धनरूपी घोडाले आफ्ना टापमुनि कुल्चेको छ।

सांस्कृतिक वा आध्यात्मिक हिसाबले मानिसका काम, क्रोध, लोभ, मोह, अहंकार आदि दुर्गुणरूलाई घोडाका रूपमा व्याख्या गरिएको पाइन्छ । यस्ता दुर्गुणलाई बुद्धिरूपी लगामले कस्न सक्यो भने मात्र मानव जीवन सार्थक हुन्छ, व्यक्ति सही लक्ष्य वा गन्तव्यमा पुग्न सक्छ । इन्द्रीय पनि घोडा समान हुन् । इन्द्रियका वशमा प¥यो भने मानिस मतिभ्रष्ट भएर काम, क्रोध, लोभ, मोह आदिको फन्दामा पर्न सक्छ । भड्किएको बुद्धिले लगाम विनाको घोडाले झैँ जुनसुकै बेला पनि मानिसलाई दुर्भाग्यको गर्तमा जाकिदिन सक्छ । आजको भौतिक जगत इन्द्रियरूपी घोडाको वशमा परेर संस्कारहीन बन्दै गइरहेको छ ।

मानिसको जीवनलाई सुमार्गतर्फ लाग्न प्रेरित गर्न यस्ता व्याख्या अध्यात्म साहित्यमा पर्याप्त भएका छन् ।आदि कालदेखि नै मानिस वा देश सत्ता, शक्ति र धनरूपी घोडाको वशमा परेकै कारण युद्ध हुँदै आएका छन् । संसारमा अशान्ति र हिंसाको मूलकारण बनेका यिनै घोडाले गर्दा मानिस बुद्धि, विवेक र आत्मिक शक्तिमा कमजोर भएको धारणा आध्यात्मिक बुद्धिजीवी राख्ने गर्छन्।

आधुनिक साहित्यमा कलम चलाउने कैयौँ स्रष्टा, साधकले पनि घोडाबारे वा घोडालाई प्रतीक बनाएर साहित्य सिर्जना गरेका छन् ।
नेपाली वीरताको इतिहासलाई स्मरण गर्दै राष्ट्रकवि माधव घिमिरेले लेखेका छन् :‘हाम्रा घोडा दगुर्लान् कटकटकटका टापले कट्कटाई,हाम्रा जोडा दगुर्लान् चमचम खुकुरी हातले चम्चमाई ।’(राष्ट्रिय झन्डा)यी कविता पंक्तिमा कविले घोडालाई नेपाल राष्ट्रका निर्माता वीर नेपालीको वीरत्वका सहयात्रीका रूपमा सम्मान गरेका छन् ।नेपाली साहित्यकारहरूले घोडासम्बन्धी अनेक बालकथा बालकविता पनि लेख्दै आएका छन् :

‘घोडा गयो तर्की, म आएँ फर्की,घोडा गयो तिरैतिर, मैले खाएँ खिरैखिर ।’यो बाल्यकालमा पढिएको पनि हो ।सुप्रसिद्ध राजनेता एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले ‘कर्णेलको घोडा’ शीर्षक कथामा तत्कालीन सामाजिक परिवेशमा अनमेल विवाहका कारण पारिवारिक जीवनमा उत्पन्न हुन सक्ने मनोवैज्ञानिक उत्पीडनलाई उधिनेका छन् । उक्त कथामा घोडालाई मानव पात्रको रागात्मक मनोभाव अभिव्यक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ।

प्रसिद्ध कलाकार शशि शाहद्वारा सिर्जित शृंखलाबद्ध अश्वचित्रहरू आध्यात्मिकता र यथार्थवादी कलाशिल्पीका बेजोड नमुना मानिन्छन् । अरु कलाकारले पनि घोडालाई प्रतीक बनाएर कला रचना गरेका छन् ।अन्तर्राष्ट्रिय जगत्का कैयाैं साहित्यकारले पनि घोडाका विषयमा प्रशस्त रचना गरेका छन् । रुसी कथाकार लेभ तोल्स्तोईद्वारा लिखित प्रसिद्ध ‘खोल्स्तोमेर’ (घोडाको नाम) शीर्षक कथामा घोडाको मनोविज्ञान एवं आत्मकथाबारे अति रोचक एवं मार्मिक ढंगमा वर्णन गरिएको छ।

घोडा सामान्य जनावर भए पनि मानव जीवनका लागि एक महत्वपूर्ण सहयात्रीका रूपमा आदिकालदेखि नै रहँदै आएको छ । यसले मानव सभ्यताको इतिहासमा अन्य कुनै पनि घरपालुवा जनावरले भन्दा बढी योगदान पुर्याएको छ । भौगोलिक रूपमा देशहरूको निर्माण वा राज्य विजय गर्ने क्रममा भएका ऐतिहासिक युद्धहरू घोडाको सहयोगविना सम्पन्न भएनन् । यातायात तथा सामान ढुवानी कार्यमा, वर्तमान समयमा घोडाको प्रयोजनमा कमी आएको भए पनि त्यसमा घोडाको उपयोगिता भने हराएको छैन । सांस्कृतिक रूपमा घोडाको उपयोग सम्मानजनक ढंगमा हुँदै आएको छ ।

घोडापालन व्यवसाय पनि संसारभरि चलिरहेको छ । लेखक, साहित्यकार वा वाङ्मय क्षेत्रका विद्वान्ले आफ्ना भावना, विचारलाई अभिव्यक्ति दिन ‘घोडा’ शब्दलाई उपमा, प्रतीकका रूपमा वा आलंकारिक ढंगमा प्रयोग गरे पनि, वा यस शब्दको कतै नकारात्मक अर्थबोध हुने हिसाबले प्रयोग भए पनि यथार्थमा घोडाको उपयोगिता सधैँ सकारात्मक काममै हुँदै आएको पाइन्छ । घोडा मानिसका साथमा सधैँ सामाजिक प्राणीका रूपमा मानव समाजकै अभिन्न अंग बनेर सम्मान पाइरहेको छ । यसर्थ घोडालाई घरपालुवा जनावरमध्येको नायकका रूपमा लिन सकिन्छ । प्रतीकात्मक अर्थमा भने जहाँसुकै पनि घोडाहरू हिन्हिनाइरहेछन् ।

प्रकाशित: २६ जेष्ठ २०७५ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App