११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङद्वारा १६ जनालाई जिल्ला कमिटीमा मनोनीत, आफूखुसी कार्यक्रम गर्न प्रतिबन्ध गर्ने निर्णय

नेकपा (एमाले) ताप्लेजुङको चौथो पूर्ण बैठकले समायोजनबाट आएका एकसहित १६ जनालाई जिल्ला कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ।

कार्यवाहक अध्यक्ष समेत रहेका जिल्ला कमिटीका उपाध्यक्ष एवं आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)का अनुसार मनोनीत हुनेहरूमा दिवस लिवाङ, केदारजङ्ग चोङवाङ, रुपेन्द्र वनेम, सूर्यमान यक्सो, सूर्यप्रकाश आङवुहाङ, लालुमाया सार्की, राजेश प्याकुरेल, कमल लिम्बू, याम अन्छङ्वो, बिक्रम मेन्याङ्वो, चन्द्र यवागु, जीवनकुमार हेल्लोक, जर्नादन खतिवडा, डिल्ली मादेन, लालकाजी वनेम र सन्त बराईली रहेका छन्।

बराईली नेकपा एस परित्याग गरी एमालेमा समाहित भएका थिए। एमाले जिल्ला कमिटीको बैठकले पार्टी केन्द्र र प्रदेशका नेताहरू आफूखुसी कार्यक्रम बनाएर हिँड्ने गरेकोमा त्यसो नगर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ। मातहतका कमिटी र जिल्ला कमिटीलाई जानकारी नगराई आफूखुसी कार्यक्रम बनाएर नहिँड्न समेत सम्बन्धितलाई निर्देशन दिने निर्णय एमाले ताप्लेजुङले गरेको छ।

बैठकले जिल्ला कमिटी सदस्यहरूलाई जनही १ सय, जिल्ला सचिवालय सदस्यहरूलाई २ सय र पदाधिकारीलाई ५ सय रुपैयाँ लेवी तोक्ने निर्णय समेत गरेको छ। बैठकले तीन पटकसम्म जिल्ला कमिटी बैठकमा उपस्थित नभएका सदस्यहरूलाई आफ्नो कामप्रति जिम्मेवार भएर नलागेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ।

२०८२ सालको पार्टी सदस्यता नवीकरण वैशाख महिनाभरिमा अनिवार्य गरिसक्ने समेत बैठकले निर्णय गरेको छ। बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन पार्टीको जिल्ला कमिटीमा विगतमा आबद्ध भएका ७५ वर्ष नाघेका अग्रज जेष्ठ नेताहरूलाई दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गर्ने भएको छ भने वैशाख ११ गते हुने युवा महोत्सवमा ताप्लेजुङ जिल्लाका प्रत्येक वडाबाट कम्तीमा २ जनाको प्रतिनिधित्व हुने गरी प्रतिनिधि पठाउने निर्णय गरेको छ।

प्रकाशित: ५ वैशाख २०८२ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App