नरेन्द्रराज पौडेल
अन्योलको पात्र बनेर केही न्यासि्रएझैँ, कतै हराएझैँ, केही विचार, चिन्तनमा गहिरिएझैँ, मैले दुई–तीन दिनेखि परैबाट उनलाई देखिरहेछु त्यहाँ। त्यहाँ अर्थात् हाम्रो ब्रेकफास्ट लिने हलको पूर्वी झ्यालको एउटा सिटमा। सिटबाट हेर्दा परपरसम्म हरिया पहाड, बालीनालीले भरिएका गल्छी, गरा, फाँट देखिन्छन्।
नजिकै गएर उनले गलामा भिरेको परिचयपत्र हेरेपछि थाहा पाएँथेँ, उनी अर्थात् जारा कजारा। देश– अफगानिस्तान। हामीजस्तै कुनै तालिमको सहभागी रैछन भन्ने अनुमान भएथ्यो।
गोरो चौँडा पठानअनुहार। हुप्प गाला, फुकेका छाती अनि निला आँखा। छितरा दाँत। पछाडि खैरो मोटो कपाल लर्किएको बहाडिलो जिउडाल। स्कर्टशैलीको लेडिजसुटमा टिमिक्क कस्सिएको खाइलादो नारी व्यक्तित्व– गाढा निदको मध्यान्तरमा झलक्क कुनै स्वप्नपरी देखेजस्तो लाग्यो मलाई।
त्यतिखेर उनी पनि मेरो गलामा झुण्डिएको परिचयपत्र हेर्दै अनायास झस्किएकी थिइन्। चिन्ताग्रस्त अनुहार एकाएक प्रफुल्लझैँ भएथ्यो। हतारहतार केही सोच्दै, केही भन्न खोज्दै थिइन् स्मित हास्य। उनलाई त्यो सिटमा बस्दै आएकी देख्या पनि हो। पहिले दुई–चार दिन त म्यानेजर नै यिनै हुन् कि जस्तो पनि लागेथ्यो। बुझिहेर्दा बिस्तारै थाहा पाएथेँ– चार सदस्यीय वाङ शुक परिवारले ठेक्कामा चलाएको क्याफ्टेरिया रहेेछ त्यो। उनी पनि हामीजस्तै ग्राहकमात्र रहिछन्। त्यहाँ गएकै दिनदेखि आकलझुकल देखिरहेथेँ उनलाई। सधैँ सिरियस लाग्ने मान्छे किन मलाई देख्तै खुलेझैँ भइन् आज? कतै झुक्किएर परिचित साथी भेटेँ भन्ने त लागेन? आफ्नो देशभन्दा धेरै टाढा पर्ने महानगरको बसाइमा 'होम सिक' त भइनन् कतै? एक्लै त पक्कै छैनन् होला! अफगानहरूको हुलै देख्छु यताउता। यस्तैयस्तै प्रश्न खेलाउँदै खानपीनतिर लागेथेँ। नास्तापछि क्याफ्टेरियाको गेटबाट निस्कँदा अनायास मुन्टो फर्काएर हेर्न पुगेछु। नहेर्नु पर्थ्यो। गल्ती भयो कि? त्यतिबेर उनी पनि मतिरै प्रश्नवाचक दृष्टिले हेर्दै रहिछन्। पहिलो भेटमै बोलीहालुँजस्तो पनि लागेन। घरिघरि अनुहारको भाव फेरिँदा उनी बढी गम्भीर र केही अवसादग्रस्तजस्ती लाग्थिन्।
एक सिफ्टमा ५० जना अटाउने रेस्टुराँको हल हामी बसिआएको छात्राबासको सातौँ तलामा पर्दथ्यो। बिहान ७ देखि ९ बजेसम्म ब्रेकफास्ट चालु रहने सो हलभित्र हतारहतारमै खानपिन सकेर अरुलाई पालो दिनुपर्ने रहेछ। त्यसैले आउनेजानेको भीडमा उनीमात्र बाहिर टाढाटाढा हेरेर एक्लै लामो समय बसिरहेकी भेटिन्थिन्। सायद परोक्ष चिनाजानीको भोलिपल्ट हो क्यार, उनीभन्दा अलि परै बसेर नास्ता गर्दै थिएँ। मेरै छेउको सिट खाली हुन नपाउँदै हत्तपत्त आएर बस्दै परिचयको औपचारिक प्रस्ताव अघि सारेकी थिइन्। परिचयपछि एकअर्काप्रति कृतकृत्य हुनुको आपसी शिष्टाचार पूरा गरेथ्यौँ। 'नरेन्द्र तिम्रो देश पनि द्वन्द्वग्रस्त बन्दै गएको छ हगि?' एकछिन टोलाएर भनेकी थिइन्।
खासै नौलो प्रश्न नभएकोले मैले पनि चुपै लागेर समर्थन जनाएथेँ। हो–होइनको माथापच्चिसी गरिरहन त्यति मन लागेन।
'तिम्रो नि?' अनायास सोधेछु। 'चार दशक पुग्न लागिसक्यो हाम्रो देश आगाको भुंग्रोमा पिल्सिएको। जनसंख्या र उर्वराशक्ति क्षीण भएर विनाशको पनि उच्चतहमा पुगिसक्यो अब त,' भनिथिन्। मैले 'हो' जनाएपछि अरु प्रसंगका कुरा भएथे। 'नाइस मिटिङ। विल बि एगेन टुगेदर!' भेटको समापन मन्तव्य थियो।
विदेशी महिलाले किन यतिविधि चासो राखिन् मेरो देशमा चलेको माओवादी सिर्जित अशान्तिको दाबानलबारे? प्रश्न खेलाउँदै छुट्टिएथेँ त्यतिखेेर।
विकास प्रशासन, अत्याधुनिक सूचनाप्रणाली, ई–गभर्न्यान्स, आमसञ्चार, कृषि, उद्योगजस्ता विविध विषयको अध्ययन र अवलोकन गर्ने सिलसिलामा दक्षिण कोरिया पुगेको थिएँ म। एसिया प्रशान्त क्षेत्रका १५ देशका २५ जना सहभागी रहेको तालिमे समूह थियो हाम्रो। अफगानिस्तानबाट भने तालिबानी शासन समाप्त भएपछि राज्यको प्रशासकीय पुनःसंरचना, विधि निर्माण र सुरक्षासम्बन्धी अध्ययनका लागि ३० जना सरकारी अधिकृतको लामो तालिम चल्दैरहेछ। कार्यक्रममा जाराको गएकी रहिछन्।
घरी चिन्तनशील, घरी तनावयुक्तजस्ती देखिने जारा क्लासपछिको फुर्सदिलो समयमा नजानिँदो गरी मेरो नजिक बन्दै थिइन। ३० वर्षजतिकी तरुनी जारा आफ्नो गु्रप छाडेर म भएतिर आइरहँदा अलि अप्ठेरो मान्दै थिएँ मचाहिँ।
थोरै अध्ययन, धेरै घुमफिर। खासै गम्भीर प्रकारको थिएन हाम्रो शिक्षणप्रणाली। तर, जारा भने दिनभर कक्षाकार्यमै व्यस्त देखिन्थिन्, कहिलेकाहीँमात्र भ्रमणमा निस्किएकी हुन्थिन्।
एकदिन ब्रेकफास्ट खाइसकेर जुठा प्लेट सफा गर्ने काउन्टरभित्र फर्काउन खोज्दै थिएँ। जारा पर्खिएझैँ गरेर मेरो छेउको सिटमा बसेकी रहिछन्। बन्दा, पाउरोटी र कर्नफ्लेक्सका ससाना टुक्रा टेबुलमा झरेछन्। एक–दुई थोपा सुप पनि टल्किएको देखिन्थ्यो। म्यानेजरले ती टुक्राटाक्री जारातिर देखाउँदै भनेथे,' हेर्नोस् यी भद्र मान्छेको खाने तरिका! अलि ठीक भएन कि!'
जारा घरी त्यता घरी मेरो मुखतिर हेर्दै थिइन्। म त्यसै असमञ्जसमा परिरहेँ। जति होस् गर्दा पनि खानेकुराका टुक्राटुक्री टेबुलमा झारिहाल्छ। त्यहाँ त सधैँ स्मार्ट, स्पेसिफिक र प्रत्येक कुरामा चुस्तदुरुस्त बन्नुपर्ने रहेछ। अलि हेपाहा र लापरवाह आफ्नो बानीले कहिलेकाहीँ निन्याउरो मुख पार्नु पर्दोरहेछ। मैले गल्ती महसुस गर्दै आइन्दा त्यसो नहुने आश्वासन दिएथेँ म्यानेजरलाई। रेस्टुराँको सञ्चालन विधि र छिटोछरितोपन देख्तै छक्क परेथ्यौँ र कोरियनहरूको व्यवस्थापन कुशलता र जाँगरको प्रशंसामा मुखामुख गरेथ्यौँ। अनि भरे भेट्ने भन्दै आआफ्ना कक्षाकोठातिर लागेथ्यौँ।
बेलुकी खानापछि हाम्रो समूहका साथीहरू आआफ्नो रूचिअनुसार बाहिरी क्रियाकलापमा व्यस्त रहन्थे। होस्टेलभित्रै गाउने, नाच्ने र 'इन्डोर गेम'को पनि व्यवस्था रहेछ। मेरो भने खासै मौलिक रूचिको विषय केही थिएन। कतिबेर फिलिपिनो म्याडमहरूको गीत सुन्न संगीत कक्षतिर छिर्ने गर्थें। कहिले इरान, कम्बोडियाका साथीहरूको खेल हेर्न स्नुकर रुमतिर भित्रिन्थेँ। कहिले मेलसियन, भियतनामीको भीडन्त हेर्न टीटी रुमतिर जान्थेँ। गला राम्रो नभए पनि संगीतकक्षमा छिरेपछि यसो स्वर मिलाउँदै गाएझैँ अनि हल्लिएर नाचेझैँ पनि गरिदिन्थेँ!
एकदिन बेलुकीको खानापछि आफ्नो रुमतिर फर्किंदै थिएँ। रेस्टुराँको गेटैमा पर्खिएकी जाराले च्याप्प मेरो पाखुरा समातेर आफूसँगै कोठातर्फ डोर्याइन्। आज अलि उत्तेजित अलि विभ्रान्तजस्ती थिइन्। केही नबोली उनकै इसारामा खुरुखुरु कोठाभित्र पसँेथेँ।
एक सेट कुर्सी, टेबुल, टीभी, कम्प्युटर अनि ओछ्यानसहित सिंगल पलङ रहेको कोठामा कुर्सीमाथि टुसुक्क बसेको थिएँ। उनले अरु केही कुरै नगरी सुटकेसभित्रबाट ल्यापटप झिकिन् र चलाउँदै विभिन्नथरी भिडियो, टेप देखाउँदै मलाई सोध्दै गइन्। म नियालेर हेर्दै जानेजति बताउन पनि थालेँ।
'हेर यो के हो?'
'मान्छेको आँखा।'
'यो के हो?'
'कान।' ।”
'अनि यो के हो?'
'यो कुनै मान्छेको शीर हो, शरीरबाट छुट्याइको!'
'योचाहिँ मान्छेका गिँड हो। हातखुट्टा नभएको।'
“यी सबै मानवअंग जोडेर हेर त।'
मैले हेरेँ। एउटा सिंगो मान्छे! एउटा खाइलाग्दो जिउडालको होनहार युवा थियो।
'हो यिनै हुन् मेरा दाजु। आजभन्दा १२ वर्षअघि तालिबानी आतंककारीले अपहरण गरेर लगेका। अनि एकएक अंग काटेर हत्या गरेका। हत्यापछि उनीहरूले नै यो भिडियोटेप पठाएका थिए हामीलाई।'
स्लाइड हेर्दै सिन्धुलीका प्रेमनाथ र कुभिन्डेका कृष्णप्रसाद सम्भि्कएँ। दुवै खुट्टा गिँडेरे माओवादीले हत्या गरेका भद्र मान्छे थिए। ज्यामिरेका पत्रकार ज्ञानेन्द्र खड्काको रेटिएको ज्यान पनि आँखाअगाडि आयो। दैलेखका डेकेन्द्र खड्का पुरिएको जमिनमुनिबाट चित्कार गर्दै रहेझैँ लाग्यो। अर्को दृश्य देखाउँदै गइन्। स्लाइड चल्दै थियो आफ्नै रफ्तारमा।
आगोको दन्दनाउँदो ज्वालावरपर सयौँ मान्छे। गालीगलोज गर्दै हल्ला मच्चाउँदै थिए। चार–पाँच जना मुस्तण्ड युवा एउटी वयस्क महिलालाई हातखुट्टा समातेर आगाको ज्वालामा हुत्याउँदै थिए। महिला पनि बल्दाबल्दैको आगाबाट पाखातिर हुर्रिन्थिन्। किनाराका मान्छेहरू उनलाई समातेर आगोमा पुनः होम्दै थिए। एक–दुईपल्टको प्रयासपछि शरीरमा लगाएको कपडा दनदनी बल्न थाल्यो। कपाल डढेर धुवाँको मुस्लो छुट्यो। दन्किएको अग्निज्वालामा फालिएकी महिला उठ्नै नसकेर छटपटाउँदै थिइन्। केहीबेरमै छटपटी पनि बन्द भयो र शरीर हुर्हुरी बल्यो। म एकचित्त हेरिरहेको थिएँ। जारा भन्दै थिइन, 'हेर यी मेरी दिदी हुन्। जिउँदै जलाएर मृत्युको मुखमा धकेलिएकी। जलाउने अपराधी उनै तालिबान थिए, जसले दाजुको पनि हत्या गरेका थिए।'
मैले त्यतिबेर चितवनको टाँडीमा बसभित्र जिउँदै जलाइएकी बालीका काजोल खातुनलाई सम्भि्कएँ। अर्को त्यस्तै बीभत्स दृश्य देखाउँदै भनिथिन्– 'हेर यी मेरा पति हुन्। आतंककारीहरूले नै १० वर्षअघि घरमै आएर जिउँदै शरीरको छाला काडेर हत्या गरिएका।' अनि अर्को अलि वृद्धको दुवै हात आधा गिँडिएको चित्र देखाउँदै भनिथिन्– 'हेर यी मेरा पिता हुन्। उग्रवादीहरूले हातखुट्टा छिमलेर मार्न लाग्दा बहादुरीसाथ प्रतिकार गरेर बँचेका। पछि उनीहरूले घरमै आएर आक्रमण गर्दा बमले खाएका दुवै हात काट्नुपर्यो।' उनको परिवारको वीभत्स हत्या र अपांगताको दृश्य देख्तै म आफ्नै देशका कुनाकन्दरातिर हराउँदै गएछु। युद्धकालमा हत्या गरिएका थुप्रै सीडीओ, अनुसन्धान अधिकृत र प्रहरीका अंगभंग शरीर आँखाअगाडि घुम्न थाले। दिमाग रन्थनिँदै गयो। मनोदशा त्यतिकै खलबलिएझैँ भयो। 'पहिलो सांघातिक घटनापछि अर्को सुरक्षित ठाउँमा सर्नुपर्थ्यो नि त!' मैले जारालाई भनेथेँ।
जवाफमा उनले भनेकी थिइन्, 'हो हुन त। बेलैमा सुरक्षित रहन राजधानी काबुलतिरै सर्नुपर्थ्यो। पहिले आफ्नो पुर्ख्यौली रमाइलो बस्ती, कन्दाहार छोड्न सकिएन। बाजेबराजुहरू त्यहीँ कृषि व्यवसाय गरेर बस्दै आएका थिए। पहाडी क्षेत्रमा ठूल्ठूला स्याउ र आलुका फार्म थिए। बेसीमा रेशम खेतीको परियोजना थियो। रेशमकीरालाई घाँस ओसार्ने खच्चडमात्रै सयौँ थिए। घोडा र कुकुरले स्याउफार्मको हेरचाह गर्थे। म सानैदेखि तिनै फार्ममा डुलेर हुर्किएकी। प्रवेशिका पास गरेपछि पाकिस्तानको कराँचीमा छात्राबासमा बसेर पढेकी। त्यहीँबाट समाजशास्त्रमा स्नातक गरेर अहिलेको परिवर्तित व्यवस्थापछि स्वदेश फर्किएर सरकारी काम गर्न लागेकी। म विदेशमा छँदै मेरो परिवारमा यी सबै घटना भए। परिस्थिति सुधि्रएला भन्दै जाँदा अहिले झन्झन् बिग्रिएर भयावह बन्न पुगेको छ। केही समयदेखि अपांग बाबाआमालाई लिएर राजधानी काबुलमा बसेकी छु। मलाई भर्खरमात्र सरकारी नोकरी मिलेको छ।' दुःखान्त घटनाहरूको स्लाइड हेर्दै जारासँग धेरै कुराकानी भएछन्। पत्तै नपाइ लामो समय बितेछ। 'जान्छु ल! मेरो संवेदना छ। धैर्य गर!' हिँड्न खोज्दै भनेथेँ। 'मलाई तिमी आफ्नै दाइजस्तो लाग्छ। मेरो कुनै आग्रहमा तिमी अन्यथा नसम्झ। मलाई माया गर ल,' उनी आँसु झारेर बिदा गर्दै भन्दै थिइन्। करिडोरमा निस्किएपछि आँखा तिर्मिराए। हिँड्न खुट्टै लागेनन्। भित्तो समातेर घसि्रँदै बल्लबल्ल आफ्नो कोठामा पुगेँ। तनक्क खुट्टा तानेर ओछ्यानमा पल्टिएँ। 'तिमी आफ्नै दाइजस्तो लाग्छ।' उनको दाइको टुक्राटुक्रामा छरिएको शरीरमा आफैलाई रूपान्तरित गर्दै जाँदा आफै त्यही पात्र बनेझैँ लाग्यो। त्यत्तिकै सन्त्रस्त बन्न पुगेछु। धेरैबेरसम्म छटपटिँदा पनि निद्रा आएन। अनिँदो आँखाले नेट खोल्न पुगेँ। आफ्नै देशका समाचारमाथि आँखा परे। २०६२ सालको जनआन्दोलन अन्तिम चरणमा पुग्दैरहेछ। बमबारुद, गोली, टायरको धुवाँ र आन्दोलनकारीको भीडले काठमान्डु सहर अस्तव्यस्त बनेछ। प्रहरीको गोली लागेर आजै दुईजना ठहरै भएछन्। समाचार हेर्दाहेर्दै बिहानीपख झुपुक्क आँखा लागेछन्।
हाम्रो तालिम अन्तिम चरणमा पुग्दैथियो। एकदिन विज्ञानपार्क र सामुदायिक पुस्तकालय निरीक्षण गराउन सबै सहभागीलाई ग्वाचन सहर लैजनने कार्यक्रम बनेछ। होस्टेलबाट निस्किएर अफगान र हाम्रो टोली छुट्टाछुट्टै बसमा बाटो लागेथ्यो। केही वर्षअघिमात्रै तयार भएको साइन्स पार्कमा पुगेर बस अडियो। जारा मलाई खोज्दै आएर छेउको सिटमा बसिथिन्। एकैछिनमा एकएक चस्मा लगाउन दिएपछि गाइडको तर्फबाट एनाउन्स भयो, 'अब हामी सृष्टिको आदिकालको संसारको यात्राका लागि शून्य अन्तरीक्षतिर जाँदैछौँ। आआफ्ना सिटबेल्ट राम्ररी बाँधेर बस्नु होला। गगल्स राम्ररी लगाउनु। नआत्तिनु, नडराउनु होला।'
नभन्दै हामी बसेको सिनेमा हल एकाएक रकेटमा परिणत भयो र एक–दुई–तीन गर्दै बिस्तारै जमिन छोडेर अन्तरीक्षतिर सुइँकियो। अलिबेरमै पृथ्वीलोकदेखि कता हो कता टाढाको निलो अन्तरीक्षमा पुगियो। भिन्नथरि आकारप्रकारका तारा, ग्रह खचाखच देखिने निलो आकाशमा उड्दाउड्दै कल्पनातीत ठाउँमा पुग्यौँ हामी , कहालिलाग्दो सीमाहीन र क्षितिजबिनाको महाआकाशमा उड्दै गरेको बेला दनदनी बलेको गोलो सूर्य टाढै देखियो। अनि हेर्दाहेर्दै उतिबेरै गड्याम्मगड्याम्म, डङडङ आवाज गर्दै राता आगाका मुस्लामा पड्किएर विस्फोट भएको देखिन थाल्यो। बल्दै गरेको सूर्यको बाहिरी भाग टुक्राटुक्रामा विस्फोट भएर टाढाटाढा बेगले उछिट्टिन थाल्यो। हजारौँ टुक्रा दनदनी बल्दै र बेगले हुर्रिंदै उड्दै थिए। कुनै सेलाउँदै काला निस्तेज पहाड बन्दै पनि थिए। सेलाउनेमध्येकै एक टुक्रा पृथ्वीलोकको रूपमा परिणत हुँदै गयो र बिस्तारै पानी, समुद्र, वनस्पति, हिमाल, पहाड र जीवजिवात्मा देखापर्दै गए। हुँदाहुँदै अहिलेको अवस्थाको पृथ्वीसम्म आइपुग्यो। अन्तरीक्षमा उड्दा सुरुमा जारा निकै डराएकी थिइन्। मैले फोरडीको चस्मा झिकेर बेलाबेला आँखा चिम्लिन सिकाएथेँ। उनी एकछिन त्यसै गरेर फ्रेस भएपछि यात्राकै पारखी बनेकी थिइन्। दर्शकलाई पनि सहयात्री र सहभागी बनाउने फोरडी याने चौथो आयाम प्रविधिको फिल्म थियो त्यो।
सामसुङ कम्पनीले संसारकै ठूलो पानीजहाज बनाउँदैछ भन्ने तालिमकै क्रममा सुनेका थियौँ। नभन्दै एकदिन पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध समुद्री टापुको अवलोकन गराउन र कम्पनीको कारोबार देखाउन हामीलाई निम्ता आएछ। सोही सिलसिलामा एकदिन सोलदेखि उल्सानसम्मको लामो बसयात्रा पूरा गरेका थियौँ र बन्दरगाहनजिकैको होटेलमा बास बसेका थियौँ। भोलिपल्ट झिसमिसेमै मझ्यौलाखाले पानीजहाज चढेर सूर्योदयको दृश्य अवलोकन गर्न पूर्वको सिवुन टापुतिर लगिएका थियौँ। टाढा जापान सागरतिर एकाध ठूला मालबाहक जहाज धुम्रकेतुझैँ छालका लामा लहर र तरंग पछाडि छोड्दै चलेका देखिन्थे।
भूपरिवेष्ठित देशका नागरिक– जारा र म। पानीजहाजभित्रको एउटै क्याबिनमा सँगै बसेका थियौँ र वारपारविहीन त्यो उत्तरी पारावार(समुद्र)माथि तैरिँदै थियौँ। घरपरिवार अनि देशकालका अनन्त पीडा–दुःख भुलेर ऐकान्तिक अनिर्वचनीय शान्तिपान गर्दै समुद्रको अथाह भण्डार र सुन्दरताबारे गन्थन गर्दै आनन्द सागरमा डुबुल्की लगाइरहेका थियौँ।
करिब घन्टाभरको शयरपछि सिवुन टापुनजिकै पुगेर हाम्रो जहाजको गति थामियो र किनारको बन्दरगाहमा अडिएझैँ भयो। टापुको वरिपरि रिङ्दै गरेका सेता समुद्री छाल डरलाग्दो गर्जन गरेर उफ्रिँदै किनारको मोतीमय चट्टानमाथि मुक्का बजाउँदै थिए। फिँजैफिँजको सेतो पटुका कम्मरमा कस्दै गरेको टापुमाथि उदीयमान सूर्यका भास्वर किरण तरबर्रै झरेर म्वाइँ खान लागेका देखिए। बिस्तारै परिक्रमा गरिसकेर मनभरि प्राकृतिक छटाको अनिर्वचनीय दृश्य सजाउँदै पहिलेकै बाटो पक्रिएर जहाज फर्किएथ्यो। झण्डै तीन घन्टाको समुद्रीयात्रा सकेर किनारा लाग्दैमा मन कताकता हराएझैँ थियो। जहाजका सबै सहयात्री पाखामा उत्रिसकेछन्। हामी भने समुद्री दृश्य र आपसी अनुरागका मीठामसिना कुराको संसारमा त्यतिकै भुलेर धेरैबेर क्याबिनभित्रै टोलाइबसेछौँ। यस घटनाले अलि लज्जित पनि बनाएथ्यो हामीलाई। दिनभरि साथीहरूले मुखामुख गर्दै छड्के नजर मारेथे हामीमाथि !
एकदिन बेलुकी खानापछि थाइ म्याडम सुदेसाले संगीतहलमा निम्ता गरेकी थिइन्। अलि ढिलो गरेर गएथेँ। उनको जन्मदिनको खुसियालीमा कक्टेल पार्टी चल्दैरहेछ। जानेबित्तिकै हात समातेर नचाउन थालेथे साथीहरूले। केहीबेर नाचगान र मस्ती चलेको थियो।
'देश त्यस्त्ो द्वन्द्वमा फसेको छ। तिमी यहाँ नाचेर बस्छौ? गाएर बस्छौ?' एक्कासि हलभित्र पसेर जाराले भनिथिन्। एकछिन त हामी सबै जिल्ल पर्यौँ। केहीबेरपछि ओठे जवाफकै पारामा फिलिपिनो क्रिस्टिनाले भनिथिन्– 'देश उतै देशमै छ। हामी यहाँ छौँ।'
'जेजस्तो छ। देश त्यस्तै छोडिदिउँ। हामी यहाँ मस्ती गरौँ।' इन्डोनेसियन रुहाराको जवाफ थियो। 'बर्मा, फिलिपिन्स, पाकिस्तान, थाइल्यान्ड कहाँ छैन र द्वन्द्व? तिमीहरूको देशमा मात्रै हो र? यति टाढा आएर पनि उतैको कुरा?' कम्बोडियन करुना भन्दै थिइन्। चिनियाँ लि होङ र भियतनामी फु लिङ समर्थन गर्दै थिए।
बर्थडे टि्रपले एकसरो सबैलाई छोइसकेछ क्यार! मदपानसँगै सबै म्याडम नाचगानमा मस्त थिए। मैले निकै कर गरेपछि थोरै वाइन लिन राजी भइन् जारा।
अरुको भन्दा हाम्रो तालिम अलि पहिल्यै सकिएकोले त्यस दिन फुर्सद थियो। बेलुकी जारा र म हाङ रिभरको किनारामा पर्ने एकान्तको पार्कक्षेत्र घुम्न गएथ्यौँ। भोलिपल्टैदेखि छुट्टिनुको अवसादले हामी दुवैलाई नरमाइलो महसुस भइरहेको थियो। तर, चित्त बुझाउनुको विकल्प थिएन। गफ र भलाकुसारीमा दुवै राम्ररी खुल्दै गयौँ अनि आफ्नो देश फर्किएपछि नियमित सम्पर्कमा बस्ने र आलोपालो आउजाउ गर्ने प्रतिज्ञा भएथे। केही गम्भीर कुरा अनि केही फाल्तु गफगाफमा पनि निकैबेर बहकिएछौँ त्यस दिन। बाहिरै खाना खाएर ढिलोगरी होस्टेल फर्किएथ्यौँ। 'बमबारीले ध्वस्तप्रायः भएको तोराबोराको गुफा हो यो। यहाँ प्राचीन सभ्यताका थुपै्र अवशेष भेटिन्छन्। यो क्षेत्रमा प्राकृतिक खनिज पदार्थ पनि थुप्रै छ,' जारा मेरो हात समातेर डुलाउँदै भन्दैथिइन्। 'बन्दीपुरजस्तो लाग्छ नि त मलाई! विशालटारमाथिको गुफा होइन र? तलतिर निलो मर्स्याङ्दी बगेजस्तो देख्छु,' म भन्दै थिएँ। 'यो सुवर्ण उपत्यका हो, प्राचीन स्मारक र अभिलेखहरूको भण्डार,' जारा गृहयुद्धले जर्जर भएको अर्को पुरानो सहरमा डुलाउँदै भन्दै थिइन्। 'होइन यो त पाटनदरबारक्षेत्रजस्तो छ– पुराना मन्दिर, पाटीपौवा र अभिलेखहरूले भरिएको,' म भन्दो रहेछु। 'जता गए पनि नेपालमात्रै देख्छौ। तिमी अतिराष्ट्रवादको भ्रममा छौ,' जारा अलि च्याँठिएको पाराले भन्दै थिइन्। म चुप लागेर सुन्दै थिएँ।
यस्तैयस्तै अनेकौँ दृश्य र वस्तुका सुन्दर संयोजन शृंखलामा हाम्रा दृष्टि पोखिँदै र छरिँदै गए। दृष्टिसँगै हामी पनि छरिँदै–पोखिँदै गएथ्यौँ।
निकै बेरपछि नसोचेको अर्कै दृश्य देखा पर्न थाल्यो। हामीले विचरण गर्दैगरेको सुन्दरबस्ती एकाएक साँघुरिदै र उजाडिँदै गयो। अनि धमिलिँदै घामजूनको प्रकाश नछिर्ने अँध्यारो गुफामा परिणत भयो। कलिलो साँझ कालरात्रिको आवरणमा छिप्पिँदै गयो अनि गाढा अन्धकार बनेर हामी दुवैलाई एउटै कालो काम्लामा बेरबार पार्दै गम्लङ्ङ अँचेट्यो। बेलाबेला बिजुली चम्किएझैँ गर्दा गुफाका छेउभित्ताहरूमा काला सर्प, बिच्छी, गँड्यौला, जुकाहरू देखा पर्न थाले। चिल, गिद्धहरू पहराभित्र यताउता उड्दै हाम्रा टाउकामाथि चुच्चो उज्याउने र ठुङ्ने प्रयास गर्न थाले। गड्याम्म, डम्मडम्मको शक्तिशाली विस्फोटनको आवाज गरेर पहरो थर्कियो। हामी आत्तिएर हड्बडाउँदै हतारहतार बाहिरिन खोज्दैथियौँ। गुफाको मूलढोका नै बन्द भएछ। कतै जाने ठाउँ देखिएन। अँध्यारो सुरुङभित्र निसास्सिएका हामी नारी–पुरुष एकले अर्कोलाई गम्लङ्ङ छाँद हालेर बल्लतल्ल चिच्याउँदै र भन्दैथियौँ– 'ए बम हान्नेहरू हो! हाम्रो बाटो खोल। हामीलाई यो अँध्यारो गुफाभित्र बन्द नगर!'
बलैले केही समय चिच्याइरहेका थियौँ हामी। अनि बोल्ने ऊर्जा सकिँदै गएपछि त्यही अँध्यारो गुफाभित्र आवाजविहीन बन्न पुगेछौँ। मुटुको धड्कन अनियन्त्रित बनिरहेको थियो। तालु छड्किँदै र कञ्चट चड्किँदै रहेछ। पसिनाले लथपथ भएछु। हातखुट्टा थरथर कामिरहेका। सास फेर्न साह्रै गाह्रो भएछ। आफ्नै हालतदेखि निसास्सिदैँ एक्कासि बिउँझिदा पो थाहा पाएथेँ– योचाहिँ मैले देखेको नराम्रो सपना रहेछ।
बत्ती बालेर छेउभित्ता दृष्टि दौडाएँ– छात्राबास उही र कोठा पनि उही थियो। उही ओछ्यानको तल–माथि नियालेर हेरेँ, तर त्यहाँ जारा थिइनन्!
प्रकाशित: २९ श्रावण २०७३ ०५:१७ शनिबार





