बिब्ल्याँटेको कविता गहना ट्रेड सेन्टरबाट २२ तोला सुन र कविता मनी ट्रान्सफरका कर्मचारीको झोलाबाट ३ लाख ८३ हजार रुपैयाँ हराएको सूचनाका आधारमा प्रहरीले 'सर्च' सुरु गरेको थियो। सोमबार साँझ यस्तो सूचना आएपछि सई मनिष थापा नेतृत्वको प्रहरी टोलीले अधिकारीलाई त्यसैदिन 'अनुसन्धानका लागि' बिब्ल्याँटे बजारबाटै पक्राउ गरेको थियो। अधिकारीकै बयानका आधारमा प्रहरीले तामाङलाई बुधबार झापा बिर्तामोडबाट पक्राउ गरेको डिएसपी प्रकाश रानाभाटले बताए।
अधिकारी नै चोरी घटनाका 'मुख्य योजनाकार' रहेको र यसमा संलग्न अन्य केहीलाई पक्राउ गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। उदयले बोक्ने गर्ने गरेको 'मेड इन युएसए' लेखिएको एउटा पेस्तोल, त्यसमा प्रयोग हुने म्याग्जिन र ४ राउन्ड गोली पनि उनकै दाजुको घर (सोयाङ)बाट बरामद गरिएको डिएसपी रानाभाटले बताए।
तामाङको साथमा रहेको 'नेकपा माओवादी, केन्द्रीय कमिटी, बुद्धनगर' लेखिएको लेटरप्याड, नगदी रसिदसमेत प्रहरीले बरामद गरेको छ । रसिदहरूबाट उनले रकम उठाएको पनि पाइएको रानाभाटले बताए । पक्राउ तामाङले आफू पूर्वमाओवादी लडाकु रहेको र हतियार त्यसैबेलादेखि आफूसँग रहेको बताए । उनले अहिले आफू नेत्रविक्रम चन्द 'विप्लव' माओवादीमा रहेको पत्रकारहरूसँग बताए।
प्रहरीका अनुसार पक्राउहरूबाट जन्तर २ थान, माडबारी ५ थान, तिलहरी १ थान, औंठी ४ थान, जुली ३ जोर बरामद गरिएको छ । यस्तै, झुम्का १ जोर, पञ्चरत्न चुरा १ थान, पिँजडा १ थान, टप १ थान, काँचो सुनको टुक्रा १ थान, झुम्काको दाना ६ थान र मंगलसूत्रमा लगाउने सुनको दाना बरामद भएको छ । पेस्तोल, नगद र गहनासहित प्रहरीले पक्राउ दुवैलाई बुधबार साँझ सार्वजनिक गरेको छ ।
प्रकाशित: १९ फाल्गुन २०७२ ०८:४९ बुधबार




