१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
विचार

यो देशका नेता सुध्रँदैनन्?

बाइराेडकाे बाटाेमा

राती ढिलो गरी घर फर्कंदै गर्दा अँध्यारोमा एउटा ठेलामा आगोका फिलुङ्गाहरू देखिए। त्यसलाई धकेल्दै एउटी नारी अगाडि बढिरहेकी थिइँन्। सायद दिनभरिको मेहनतपछि उनी सुस्ताउन चाहन्थिन्। उनीजस्तै राति काम गर्नेहरू फाट्टफुट्ट आइरहेका थिए। तिनै महिलासँग पोलेका मकै किनेर खाइरहेका थिए। सामान्य मानिसको जीवन चलाउन पनि यति धौधौ छ।

कालीकोटका एकजना युवा पनि भेटिए। तिनी पनि तिनै दुधेमकै खाएर भोक मार्न बसिरहेका थिए। अनलाइन अर्डरका सामान रातारात गरेर पुर्‍याउन उनी पनि व्यस्त हुँदा रहेछन्। आजकल राति पनि कैयन मोटरसाइकल ट्याक्सीवालाहरू पनि सडकछेउ धुम्धुम्ती बसिरहेका हुन्छन्। मोबाइलको स्क्रिनमा आउने यात्रुहरूको आदेश कुरेर बसेका हुन्छन्, तिनीहरू।

एक दृष्टिले काठमाडौं निकै व्यस्त भइसक्यो। महानगरको चरित्र यसमा पनि आइसकेको छ। पहिले–पहिलेजस्तो रात परेपछि कुनै सवारी नपाइने यो सहरमा मानिसले आत्तिनु पर्दैन। बिदाका दिनमा पनि सवारीको घुइँचो देखिन्छ। हुनुपर्ने पनि यही हो। सहर जति व्यस्त हुन्छन्, यहाँका मानिस त्यतिकै कमाउन सक्ने हुन्छन्।

प्रायः म कुनै न कुनै व्यक्तिलाई भेटिरहेको हुन्छु। ती उच्च पदस्थ व्यक्ति पनि हुन सक्छन् र सडकमा भेटिएका सामान्य मानिस पनि। सबैलाई म सोधिरहेको हुन्छु– देशको अवस्थाबारे तपाईं सन्तुष्ट हुनुहुन्छ? ती कोही पनि सन्तुष्ट छैनन्। सबैलाई यो मुलुक बन्दैन भन्ने निराशाबाहेक केही हुँदैन।

सडकमा भेटिनेभन्दा उच्च पदस्थ व्यक्ति अझ निराश देखिन्छन्। तिनीहरूमध्ये पनि केही सुधारका निम्ति काम गर्न सकिन्छ कि भन्नेमा हुन्छन् तर तिनीहरू पनि बिचौलियाको चलखेल देखेर र चाहिने नचाहिने काम भइरहेको अवस्थाले दिक्क हुन्छन्।

‘म यो मुलुक सुध्रिदैन भन्ने निष्कर्षमा पुगिसकेको छु,’ ती उच्च पदस्थ पदाधिकारीले भने। अहिले उनको नाम र कार्यालय खोल्न मिल्दैन। समयक्रममा यी विषय सार्वजनिक हुने नै छन्। अहिल्यै नै खोल्ने हो कैयन यस्ता सूचना र जानकारी अनुमानमै सीमित हुन्छन्।

उनी भन्दै थिए– हेर्नुहोस्, अचेल यो मुलुकमा घुस र कमिसन खाएको पैसा पनि यहाँ बस्दैन। सबै कारोबार बाहिर हुन्छ। प्रायः तिनका सन्तान बाहिरै छन्। तिनले बाहिरै रकम बुझ्छन्। त्यसैका आधारमा बल्ल काम हुन्छ।

यो सूचना ती व्यक्तिले दिएका हुन्, जसले यस्ता विषयबारे निष्कर्षमा पुग्न सक्ने ल्याकत राख्छन्। त्यसो त विगतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैयन यस्ता व्यक्तिबारे छानबिन गरी विदेशमा रकम जम्मा गरेको पक्ष सार्वजनिक भइसकेकै छ। त्यसैले घुस र कमिसनको कारोबार विदेशमा हुन्छ भन्ने थाहा पाउन कुनै ‘रकेट विज्ञान’ आवश्यक पर्दैन। त्यसमा पनि सरकारले चाहने हो भने यस्तो रकम खोजी गरी कारबाही अगाडि बढाउन अन्तर्राष्ट्रिय साथ र सहयोग पाउन सक्छ।

नेपालमा भएका ठुलाठुला रकम कारोबारको जानकारी विदेशी सरकार र त्यहाँ क्रियाशील संस्थाले दिएको हामीलाई थाहै छ। नेपाल प्रहरीको सुडान मिसनका लागि हतियारलगायतका सामग्री किन्न २०६४ भदौमा गरेको सम्झौतासम्बद्ध अनियमितताको जानकारी पनि यस्तै विदेशी रकमबाटै सुरुमा पत्ता लागेको थियो। भैंसेपाटी शाखामा यसका नेपाली ठेकेदार शम्भु भारतीका नाममा रकम आएपछि हल्लीखल्ली भएको हो।

बैंकिङ कारोबारबाट हुने यस्ता रकमको सत्यतथ्य खोजी हुनासाथ यथार्थ सामुन्ने आउँछ। त्यसैगरी एकजना नेपाली व्यापारीको नाममा धमाधम रकम आउन थालेपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) ले सजग गराएपछि मात्र नेपालका संस्थाहरू सक्रिय भएका थिए।

वास्तवमा अन्यको जानकारीमा छैन भन्ने भए त्यो रकम उनका खातामा खुरुखुरु जान सक्थ्यो। गएको पनि हो। अन्तर्राष्ट्रिय नियामक संस्थाको जानकारीका कारण मात्र त्यो रोकिएको थियो। तर पछि त्यसलाई विभिन्न बहानामा अदालत आदिको सहयोगमा निकाल्ने काम भइसकेको छ।

आजको संसार एकअर्कासँग जोडिएको छ। त्यस्तो अवस्थामा कसैले कुनै पनि ठाउँमा लगेको शंकास्पद धनबारे जानकारी हुन्छ। तैपनि कतिपय अवस्थामा यस्ता प्रावधानलाई खुकुलो बनाएका कारण पनि कतिपय पहुँचवाला व्यक्तिले दुरूपयोग गर्ने गरेका छन्। त्यसैले नेपाल एफएटिएफको खैरो सूचीमा परेको हो भन्ने तथ्य यहाँ बिर्सन मिल्दैन।

यहाँ कुनै न कुनै रूपमा थाहा हुन सक्ने भएपछि अचेल सबैजसो विषयको कारोबार विदेशमै हुन्छ। त्यहींका बैंकमा यहाँका ठुला आयोजनाको ठेक्का आदि जम्मा हुन्छ। अलिकति ध्यान दिएर खोजमूलक अभियान चलाउने हो भने यस्तो रकम सहजै पत्ता लाग्न सक्छ। यसका लागि मित्र मुलुकहरूको समेत सहयोग लिन सकिन्छ तर यस्तो सहयोग लिने काम हुँदैन। बरु बेलाबेलामा यस्तै रकमका कारण कैयन उच्च पदस्थहरू आफूले नचाहेको काम गर्नुपर्ने अवस्थामा पुग्ने गरेका छन्।

हाम्रो मुलुकको पछिल्लो दशकको सबैभन्दा पीडादायी पक्ष भनेको यहाँका सबैजसो पहुँचवाला व्यक्तिहरू आफ्नो फाइदाका निम्ति बढ्ता सक्रिय छन्। कुनै पनि काम गर्दा आफ्नो फाइदा यहाँ पहिलो शर्त हुन्छ। एक, आयोजनाहरूलाई सकेसम्म लम्ब्याएर त्यसबाट लाभ लिने प्रवृत्ति छ। दुई, आयोजनालाई चाहिनेभन्दा महँगो बनाएर त्यसबाट पनि लाभ लिने गरेको देखिन्छ। यसरी सबैजसो ठुला आयोजनाबाट नेपाल लुटिएको छ। नेपालीले अन्योलपूर्ण अवस्थामा रहनुपरेको छ।

पहुँचवाला व्यक्तिहरू सबै आफ्नो लाभका निम्ति लागेको देख्ने संवैधानिक निकायदेखि मन्त्रालयसम्मका उच्च पदाधिकारीहरू आश्चर्यचकित हुन्छन्। कि आफूले पनि त्यसैगरी काम गर्नुपर्‍यो? होइन भने यो स्थितिबाट कसरी जोगिने भन्ने पनि समस्या छ। प्रायः सबैजसो संवैधानिक निकाय, अदालत, संसद्देखि सरकारसम्म विभिन्न रूपमा केही नेताको कब्जामा परेको देखिएको छ। यस्ता नेताहरूको ध्यान जसरी होस् कमाइ गर्ने भन्नेमा छ। यो पक्षलाई नबुझ्ने मानिस छैनन्। सबैले यो अवस्था महसुस गरेका छन् तर यसको सुधारको गुञ्जायस भने छैन।

सरकारकै उच्च तहका व्यक्तिहरू अहिलेको प्रणालीबाट अगाडि बढ्न सकिँदैन भन्ने निष्कर्षमा पुग्नु आफैंमा विडम्वनापूर्ण अवस्था हो। यो स्थितिमा देश अगाडि बढ्न सक्दैन भन्ने पनि सबैलाई लागिरहेको छ। विकास निर्माणको अवस्थाका दृष्टिले आशावादी हुने ठाउँ कमै छ। भएका विकास निर्माणबाट पनि देशले उपलब्धि हासिल गर्न सक्दैन। त्यसलाई मुलुकको आर्थिक उपार्जनसँग जोडिएको छैन। एकाध नेतालाई लागेको जस्तो विकास गरेर देश कहीं पुग्दैन। बरु यसले अनाहकमा देशको ऋण मात्र बढाउँछ। केही वर्षमै ऋणको भार बढेर १४ खर्ब एक अर्ब रूपैयाँ पुगिसकेको छ। यही हिसाबले ऋणको भार बढ्दै जाँदा बर्सेनि साँवा–ब्याजको मात्र भुक्तानीका लागि हाम्रो पुँजीगत खर्च भनेर छुट्याइएको भन्दा बढी रकम चाहिएपछि अपेक्षाअनुसारको विकासको काम कसरी हुन्छ?

सामान्य मानिसको जीवन भने कष्टकर बनिरहेको छ। देशभित्रै उद्योगधन्दा छैनन्। तिनले विदेश जानुपरेको छ। देशमा दैनिक मेहनत गर्ने मानिसको अवस्था कहिले उक्सिने हो थाहा छैन तर केही बिचौलिया, नेता र उच्च पदस्थका लागि यो सुनको लंका हो। उपलब्धि नै उपलब्धि छन्। यस्तो अवस्थाबाट निस्किन ती राती–राती ठेलामा मकै पोलेर परिवार पाल्न खोज्ने, पठाओ वा यस्तै अन्य एपमा आधारित सवारी यात्रु ओसार्ने, दैनिक मेहनत गर्ने मानिसको जीवनमा सुधार आउन निकै कठिन छ। हामीभन्दा तल रहेका मुलुक आज हामीले नै उछिन्न कठिन हुन्छ कि भन्ने ठाउँमा पुगेका छन्। देश पछि परेकोमा चिन्ता गर्ने नेता कहिले आउलान्?  

प्रकाशित: २५ श्रावण २०८२ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %