११ आश्विन २०७९ मंगलबार
विचार

नेतृत्वमा समुदायहरू

केही महिनाअघि म कर्णाली प्रदेशका मुगु र जुम्ला जिल्ला पुगेकी थिएँ। स्थलगत भ्रमणको अन्त्यमा मेरो भेट दुर्गम समुदायका महिला तथा पुरुष किसानसँग भयो। हामी उनीहरूसँग साझेदारी गर्दै आइरहेका थियौँ। सानो परिवर्तनले पनि उनीहरूको कृषि उत्पादन र आयमा उल्लेखनीय वृद्धि भएको रहेछ। गोलो घेरामा बसेर उनीहरूले मलाई आफूले सिकेका कुराहरूबारे बताए। आफ्नै सानो तरकारी बारीमा समेत सङ्घर्ष गरिरहेकी मैले उनीहरूलाई मेरा लागि केही सल्लाह छ कि भनेर सोधेँ। एउटी वृद्ध महिलाले मलाई गहकिलो सुझाव दिँदै आफ्नै जमिन हुनुको महत्वबारे बताइन्, कति दूरी राखेर बिउ रोप्नुपर्छ भन्ने बताइन् र विभिन्न प्रकारका मलका फाइदाबारे बताइन्।

अघिल्लो दिन हामीले अर्कै तर उत्तिकै दुर्गम समुदायका मानिससँग भटेका थियौँ। त्यहाँका घर र बालीमा बाढीले क्षति पुर्‍याएको थियो वा नष्ट गरेको थियो। उनीहरूका सामान्य तर सुन्दर घरमा जाँदा कष्टपूर्ण हिउँदभर खाद्य भौचरबाट उनीहरूलाई कसरी मद्दत भएछ भन्ने कुरा मैले सुनेँ। कुराकानीका क्रममा एउटी वृद्ध महिला भक्कानिएपछि हामीले थाहा पायौँ– परिवारमा उनको कोही रहेनछ, उनी एकल महिला रहिछन् र उनले पाएको एक मात्र सहयोग यही भौचर रहेछ र यसले उनलाई बाँच्न सघाएछ। उनीहरूले मलाई आफूले बनाएको सिँचाइ कुलो देखाए। पानीले जमिनमा सोसिएर आफ्नो घरलाई क्षति नगरोस् र बालीनालीका लागि अति जरुरी पानी खेतमा लैजान सकियोस् भनी उनीहरूले सिँचाइ कुलो बनाएका रहेछन्। साथै उनीहरूले खोलाको नजिक रहेका घरलाई अर्को पटकको भारी वर्षादले क्षति नगरोस् भनेर निर्माण गरेका सुरक्षा तटबन्ध पनि मलाई देखाए।

यी हिमाली समुदायहरू नेपालकै दुर्गम समुदायमा पर्छन्। यहाँका बासिन्दा अति सीमान्तकृत समुदायका सबैभन्दा पछाडि परेका र अवसरबाट वञ्चित भएका मानिसमा पर्दछन्। उनीहरू असमान वृद्धि, सामाजिक तथा सांस्कृतिक लाञ्छना र अहिले आएर जलवायु परिवर्तनका प्रभावको बढ्दो जोखिममा परेका छन्। उनीहरू नेपालको जनसंख्याको बहुमतमा पर्दैनन्। तर उनीहरूले विश्वभर उल्लेखनीय संख्यामा रहेका ती मानिसको प्रतिनिधित्व गर्छन् जसलाई पछाडि छाडिएको छ वा जो असमानरूपमा गरिबी, प्राकृतिक तथा मानवसिर्जित विपद् र खाद्य असुरक्षाको भारी बोकिरहेका छन्।

दशकौँदेखि हामी विकास र समावेशी वृद्धिका कुरा गर्दै आएका छौँ। क्षमता अभिवृद्धि र दिगोपनका कुरा गर्दै आएका छौँ। सशक्तीकरण र समताका कुरा गर्दै आएका छौँ। जन्मँदा आफूसँगै ल्याएको मर्यादा र अधिकारमाथि पुनः दाबी गर्न धेरै देशमा धेरै मानिस लडेका छन् तर आफ्नो लिङ्ग, नश्ल, जातीयता, जात, धर्म, लैङ्गिक रुझानको दुर्घटनाका कारण वा आफू जन्मिएको स्थान र समुदायका कारण उनीहरूले सशक्त हस्तक्षेप गर्न सकेका छैनन्।

हालै मैले आफ्नो सरकार र संस्था अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को तर्फबाट नेपाल सरकारसँग ६५ करोड ९० लाख अमेरिकी डलरको नयाँ पञ्चवर्षीय साझेदारी सम्झौतामा हस्ताक्षर गरेँ। सम्झौता स्वास्थ्य, शिक्षा, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, आर्थिक वृद्धि, नागरिक समाज र सुशासनका क्षेत्रप्रतिको निरन्तर सहयोगमा केन्द्रित छ। त्यो भयो यसको ‘के’ पक्ष। यसको ‘कसरी’ पक्ष अझ महत्वपूर्ण छ। संघीयताप्रतिको हाम्रो समर्थन, उत्थानशीलतामा हाम्रो ध्यान र समावेशीकरणप्रतिको हाम्रो प्रतिबद्धता यस सम्झौताको केन्द्रमा छ। यस सम्झौतामार्फत हामी आफ्ना कार्यक्रममा नवप्रवर्तनशील र लचिलो हुन, स्थानीय प्रणालीहरूलाई बुझ्न र तिनबाट लाभ लिन र हामी जुन समुदायहरूसँग काम गर्छौँ तिनका प्राथमिकता, सबल पक्ष र लक्ष्यहरूलाई सन्तुलनमा राख्न र तिनीहरू नै नेतृत्वमा छन् भन्ने कुरा सुनिश्चित गर्न प्रतिबद्ध छौँ। नेपालका सबै नागरिक सहभागी बन्न सकून् र जनता अब पछाडि नछुटून् भन्ने कुरा सुनिश्चित गर्न सकियोस् भनी हामी सीमान्तकृत समूहहरूले ऐतिहासिकरूपमा भोग्दै आएको प्रणालीगत विभेद र बहिष्करणलाई परास्त गर्ने उपायहरू खोज्न पनि प्रतिबद्ध छौँ।

मानव भएको नाताले र विश्व समुदायका सदस्यका रूपमा एक अर्कालाई खाँचो परेका बेला सहयोग गर्नु र एक अर्कालाई आफ्नो पूर्ण सम्भावना हासिल गर्न सघाउनु हाम्रो उद्देश्य र कर्तव्य हो।

गत महिना नेपाल सरकारको आग्रहमा अमेरिकी सरकारले नेपाली बालबालिकालाई सुरक्षित र स्वस्थ रहन मद्दत गर्न फाइजरका बालखोपहरू वितरण गर्न थाल्यो। नेपाल सरकार र हाम्रा विकास साझेदारहरूसँग सहकार्य गर्दै हामी यहाँका बालबालिका र शरणार्थी समुदायसमेत गरी झन्डै सबै नेपाली जनताका लागि कोभिड–१९ खोप प्रदान गर्न सक्षम भएका छौँ। वास्तविक समावेशीकरण भनेको यस्तो हुन्छ। जहाँ देशबासीले आफ्नो लिङ्ग, उमेर, नश्ल, जात, जातीयता जेसुकै भए तापनि वा अति दुर्गमलगायत आफू बसोबास गर्ने समुदाय जस्तोसुकै भए तापनि आफूलाई आवश्यक पर्ने सेवा स्वच्छ, समतामूलक र मर्यादापूर्णरूपमा प्राप्त गर्छन्। समता, समावेशीकरण, मर्यादा नै त्यो ध्येय हो जसलाई हासिल गर्न हामी प्रयासरत छौँ किनभने यो सम्भव छ।

सबैलाई फस्टाउनका लागि अवसर मिलोस् भन्ने हेतुले अमेरिकी सरकार हाम्रो कामका लागि विविधता, समता, समावेशीकरण र पहुँचसँग सम्बन्धित प्राथमिकताहरू निर्माण गर्न प्रतिबद्ध छ। अन्त्यमा, म युएसएआइडीका प्रशासक सामन्था पावरसँग सहमत हुँदै उहाँको भनाइ यहाँ उल्लेख गर्न चाहन्छु– कट्टरता, लैङ्गिक विभेद र संरचनागत नश्लवादलाई सम्बोधन गर्ने र व्यक्तिगत मर्यादालाई समर्थन गर्ने जिम्मेवारी हामी सबैको हो। यो हाम्रा मूल्यहरूमध्ये एक मात्र होइन, यो हाम्रो ध्येय हो – हातमा हात मिलाउँदै मानिसहरूलाई उनीहरू जहाँ छन् त्यहीँ भेट्नु र अरूलाई समानरूपमा व्यवहार गर्नु।

(नेपाल निर्देशक– युएसएआइडी)

प्रकाशित: २ भाद्र २०७९ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App