७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रेस स्वतन्त्रताको लडाइँ स्थानीय

जैविक विविधता र मनमोहक समुद्र तटका लागि प्रसिद्ध फिलिपिन्सको पलावान प्रान्तमा हालै एक अनपेक्षित राजनीतिक घटना भयो। सन् २०११ मे ९ तारिखमा रेडियो कार्यक्रम प्रस्तोता गेरी ओर्टेगाको हत्याका लागि जिम्मेवार जोयल टि. रेसले गभर्नर पदका लागि उम्मेदवारी दिए।

उनले चुनाव जितेका भए ओर्टेगा परिवारको न्यायको चाहनामा तुषारापात हुने थियो। भाग्यवस उनले चुनाव हारे। ओर्टेगा हत्याको घटना अतिवादी प्रकृति भए तापनि यसप्रकारका घटना धेरैले सोचे भन्दा भन्दा बढी सामान्यरूपमा भइरहेका छन्।

रेस जस्ता क्षेत्रीय स्तरका शक्तिशाली समृद्ध वर्ग र उनीहरूलाई प्रश्रय दिने स्थानीय स्तरका शक्तिशाली राजनीतिक संरचनाले दण्डहीनतालाई प्रश्रय दिँदा पत्रकारलाई सबै भन्दा ठूलो खतरा सिर्जना हुने गरेको छ। सन् २००२ देखि २०११ सम्म पालावानको गभर्नर रहेका रेस आर्थिक अनियमिततामा संलग्न भएको तथ्यलाई ओर्टेगाले सार्वजनिक गरेपछि उनलाई गोली हानिएको थियो। गोली हान्ने टोलीका सम्पूर्ण सदस्यलाई तत्काल गिरफ्तार गरिएको थियो र उनीहरूले आफूहरू हत्यामा संलग्न रहेको स्वीकार गरेका थिए। तर ठोस प्रमाण हुँदाहुँदै पनि रेसलाई आरोपित गरिएन।

यो समग्र हत्याकाण्डमा मध्यस्थको भूमिकामा रहेका रोडोल्फो एडराडोले रेस घटनाका मास्टरमाइन्ड रहेको आरोप लगाएका थिए तर अभियोक्ता (पोसक्युटर) ले उपलब्ध प्रमाण पर्याप्त नभएको जिकिर गरेका थिए। हत्याको अघि र पछि एडराडोले रेसलाई पठाएको टेक्स्ट मेसेजलाई बलियो प्रमाण मान्न नसकिने तर्क अभियोक्ताको थियो। एउटा मेसेजमा ‘म फर्कनुअघिसम्म समस्या समाधान भैसक्ने आशा गरेको छु’ भन्ने लेखिएको थियो। अभियोक्ताले मेसेज पठाएको समय नमिलेको तर्क गरेका थिए। यो मुद्दा एक दशकभन्दा बढी समयसम्म जारी रह्यो।

हालै नियुक्त अभियोक्ताको एक टोलीले उक्त मेसेजलाई प्रमाणका रूपमा स्वीकार गरेपछि यो मुद्दा पुनः जीवित भएको छ। यो क्रममा रेस भियतनाम पलायन भैसकेका छन्। यो मुद्दामा दोस्रोे अभियोक्ताको टोली गठन गर्नु गैरकानुनी भएको एक पुनरावेदन अदालतले निर्णय गरे तापनि सन् २०१९ मा सोही अदालतको नयाँ बेन्चले यो मुद्दाको सुनुवाइ जारी रहनुपर्ने निर्णय गरेको छ। तर सन् २०२१ मा रेसको गिरफ्तारीका लागि जारी गरिएको वारेन्टलाई अस्थायी रूपमा हटाइएको थियो, जसका कारण उनले गभर्नर पदको उम्मेदवारीको खुला रूपमा प्रचारप्रसार गर्न पाएका थिए।

यसैबीच ओर्टेगा परिवार, उनीहरूका वकिल र सोलिसिटरको कार्यालयले रेयजको तत्काल गिरफ्तारी गर्न सर्वाेच्च अदालतलाई औपचारिकरूपमा अनुरोध गरेका छन्। यो अभियानलाई विश्वका स्वतन्त्र पत्रकारितका लागि पैरवी गर्दै आएका कैयन् संघसंस्थाले समर्थन जनाएका छन्।

रेसलाई तत्काल दण्डित नगर्दा यसले फिलिपिन्सको प्रेस स्वतन्त्रतामा असर पार्ने देखिन्छ। रिपोर्टस विद्आउट बोर्डस नामक संस्थाका अनुसार फिलिपिन्स प्रेस फ्रिडम सूचकांकमा विश्वमा १४७औँ स्थानमा पर्छ। पत्रकारको सुरक्षा मात्र होइन, पत्रकार हत्याको मुद्दामा फिलिपिन्समा दण्डहीनताको अवस्था छ।

पत्रकारको अधिकारका लागि आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्टले फिलिपिन्समा जुनियर मार्काेस राष्ट्रपति भएपछि चिन्ता व्यक्त गरेको छ।

कमजोर संस्थागत संरचना भएका तथा भर्खर प्रजातन्त्रिक यात्रा थालेका राष्ट्रका क्षेत्रीय तथा स्थानीय स्तरका नेतृत्वले राष्ट्रिय तानाशाहले कल्पना गर्नेभन्दा बढी निरंकुशता लादेका छन्। खास वर्गसँगको लेनदेन र संरक्षणले उनीहरूलाई चुनाव जित्न सहज बनेको छ भने कतिपय अवस्थामा सार्वजनिक सम्पत्तिको दुरूपयोग हुने गरेको छ।

फिलिपिन्समा यसप्रकारका घटना कैयन् दशकदेखि दोहोरिने गरेका छन्। सेबु प्रान्तमा ओस्मेना परिवार यसप्रकारको वंशीय आधिपत्य कायम गर्न सफल छ। तर, यस्ता घटना अन्य देशमा पनि भैरहेका छन्। मेक्सिकोको रिभुलुसनरी पार्टीले त्यहाँको भेराक्रुज प्रान्तमा विगत एक शताब्दीदेखि शासन गर्दै आएको छ। सन् २०१० देखि सन् २०१६ सम्म गभर्नर पद सम्हालेको उक्त पार्टीका नेता ह्याभियर दुरातेले लाखौँ अमेरिकी डलर बराबरको आर्थिक अनियमितता गरेको आरोप छ।

यस्तो पृष्ठभूमिमा फिलिपिन्सका पत्रकार ओर्टेगाले न्याय पाउनुपर्ने विषयलाई प्रजातन्त्रका लागि अन्तिम आशाका रूपमा हेरिएको छ। स्थानीय स्तरका निरंकुश नेतृत्वले आफ्नो छविको ख्याल गर्ने गर्छन् र उनीहरूको छवि बिग्रिएमा केन्द्र सरकारले हस्तक्षेप गर्न सक्छ। मेक्सिकोको क्विन्तना रु प्रान्तका पूर्वस्टेट गभर्नरले प्रतिष्ठित म्यागाजिनको नक्कली भर्सन प्रकाशन मार्फत आफूअनुकूल समाचार प्रवाह गरेर आफ्नो छवि कायम राख्न तथा विरोधी आवाजलाई निस्तेज गर्ने धृष्टता गरेका थिए। यस्ता कुलिन वर्गको स्वार्थका लागि पत्रकारको हत्याले पत्रकारिताविरुद्धको दमनलाई निरन्तरता दिइरहेको छ।

यथार्थ र वस्तुनिष्ठ सूचनाको अभावमा स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन। यो प्रसंगमा महत्वपूर्ण पक्ष के हो भने राष्ट्रिय स्तरका सहरमा मात्र प्रजातन्त्रको चर्चा गरेर हुँदैन, प्रादेशिक स्तरका स्थानीय तानशाहले पनि निरंकुशतालाई क्रूर हिसाबले जारी राखेका हुन्छन्।

दुराते शासनकालमा मेक्सिकोको भाराक्रुज प्रान्तमा मात्र १८ पत्रकारको हत्या गरिएको थियो र यी अधिकांश घटनामा सम्पूर्ण रूपमा दण्डहीनता हावी थियो। सरकारी वकिलले यातना दिएको झुटो अभियोगमा पत्रकार रेजिना मार्टिनेज पेरेजको हत्या गरेको स्वीकार गर्न एक यौनकर्मीलाई बाध्य पारेको समाचार सार्वजनिक भएको छ।

यस्तो अवस्थामा कार्यकारी तथा न्यायिक निकाय अन्यन्त कमजोर रहनु आश्चर्यको विषय बन्ने गरेको छैन। त्यसो नभएको भए स्थानीय तहमा यस्ता निरंकुशताको जन्म हुने थिएन। फिलिपिन्सको ओर्टेगा मुद्दामा न्यायालयमा घूसखोरी भएको शंका व्यापक छ। पत्रकारको कसरी र कसले हत्या गर्‍यो भन्ने एकिन गर्न जति कठिन छ, त्यति नै स्थानीय शासकले कुन ध्येयले त्यसो गरे भन्ने पत्ता लगाउन पनि उत्तिकै कठिन छ।

यस्तो अवस्थामा छानबिन गर्न स्वतन्त्र अभियोजनकर्ता निकाय गठन गर्न सकिन्छ। यस्ता निकायले पत्रकारविरुद्ध गरिने अपराधसम्बन्धी संयुक्त राष्ट्र संघीय निर्देशिकाको परिपालन भए/नभएको अनुगमन गर्न सक्छन्। तर यस्तो कारबाही अगाडि बढाउन केन्द्रीय सरकारको राजनीतिक इच्छाशक्ति आवश्यक हुन्छ।

यसैगरी दण्डहीनतालाई सम्बोधन गर्न निरूपण नभएका मुद्दाको अनुसन्धान तथा छिनोफानो गर्न आवश्यक छ। फ्रि प्रेस अनलिमिटेड, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र रिपोर्टस विद्आउद बोर्डर्सको संयुक्त प्रयासमा थालिएको ‘अ सेफर वर्ल्ड फर  टुथ’ ले यस प्रकारको पुराना मुद्दाको सुनुवाइ तथा छिनोफानोका लागि पहल गरिरहेको छ। प्राप्त नयाँ प्रमाणले कुनै पनि मुद्दा पुनर्जीवित हुन सक्छन्। उदाहरणका लागि पाकिस्तानको एक घटनालाई लिन सकिन्छ। पाकिस्तानी पत्रकार जुबाइर मुजाहिद हत्याको विषयलाई परिवारजन र वकिलको प्रयासका कारण सिन्ध प्रान्तको उच्च अदालतको पुनर्जीवित गरेको छ।

यसरी सरसर्ती हेर्दा स्वतन्त्र पत्रकारितालाई आक्रमण गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारो तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चर्चा बढी हुने गरेको छ। तर यत्रतत्र पत्रकारले बेहोर्नुपर्ने जोखिमले के देखाउँछ भने स्थानीय स्तरमा प्रजातन्त्र र प्रेस स्वतन्त्रताको लडाइँको विषय पनि उत्तिकै महत्वपूर्ण छ।

(लेखक जोस मिडास बार्टम्यान ए सेफ फर द ट्रुट एट फ्रि प्रेस अनलिमिटेडका अनुसन्धान संयोजक हुन। प्रोजेक्ट सिण्डिकेटबाट।)

प्रकाशित: ९ जेष्ठ २०७९ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App