यी दुवै समाजमा त्यसताका मानिसको चेतना भाग्यवादी दर्शन र भौतिकवादी दर्शनबीचको चर्को प्रतिद्वन्द्विताबाट गुजि्ररहेको थियो। सामन्तवादलाई आधार बनाएर भाग्यवाद आफ्नो अस्तित्वका लािग संघर्ष गरिरहेको थियो भने भौतिकवाद विज्ञानलाई लक्ष्य बनाएर आफ्नो जीत स्थापित गर्नका लागि आक्रामक शैलीमा प्रस्तुत भइरहेको थियो। आफ्नो विजयका लागि भाग्यवादले नैतिकताका नाममा यथास्थितिको पक्षपोषण गरिरहेको थियो भने भौतिकवाद मानवीयताको स्थापनाका लागि नैतिक मूल्य र मान्यताका हरेक पक्षमाथि प्रहार गरिरहेको थियो। भौतिकवादले परिवर्तनका नाममा उग्रवादलाई प्रश्रय दिइरहेको थियो र भाग्यवादले परिवर्तनलाई बेदखल गर्ने पाखण्डहरूलाई मलजल गरिरहेको थियो।
यस लडाइँमा जित दोग्ला मानिस, दोग्ला विचारधारा र दोग्ला चरित्रको भइरहेको थियो भने सीमित छोटो समयमा त्यस पाखण्डले जन्माएका पीडा, अभाव र सिर्जना गरेका अराजकताले मानिसको जीवन खासगरी गरिब मानिसको जीवनलाई क्षतविक्षत् मात्र पारेको होइन, कहालीलाग्दो त्रासदि सिर्जना गरेका थिए। यी दोग्ला मानिस कस्ता थिए? तिनीहरूको चरित्रको विवरणले नेपाली वर्तमानमा संक्रमणकालीन राजनीतिक पात्रका रूपमा रहेका मानिस र तिनीहरूको प्रवृत्ति बुझ्न सजिलो हुन्छ।
उदारवाद र समाजवादका नाममा उत्रिएका तत्कालीन फ्रेञ्च तथा रसियन अगुवाहरू मूलतः अर्धबौद्धिक (स्युडो इन्टेलेक्च्ुयल) थिए। उनीहरू आफ्ना अस्तित्वका लागि परिवर्तनका पक्षमा खडा भएका थिए तर उनीहरूको अन्तर चाहना समाजको आधिपत्यका लागि आफ्नो स्वार्थ पुरा गरी समाजको अभिजात्य वर्गमा रूपान्तरण गर्नु थियो। समाजको आर्थिक विकास र सामाजिक रूपान्तरण उनीहरूका भाषणका शब्दमात्र थिए। बाहिर उनीहरू समाजवादी/उदारवादी देखिए पनि सारमा उनीहरू सामन्तवादी र यथास्थितिवादी थिए। राज्यको सत्ता कब्जा गर्नु र आफ्नो अधिन निर्माण गर्नु उनीहरूको मुख्य लक्ष्य थियो। यस प्रतिस्पर्धामा उनीहरू हिंसात्मक आन्दोलन गर्न पनि तयार थिए। राष्ट्र ध्वस्त भए पनि उनीहरू सत्ता प्राप्त गर्न चाहन्थे। उनीहरूमा कुनै विचारप्रति आस्था र स्नेह थिएन। केबल षडयन्त्रका लागि तयार गरिएका नारामात्र उनीहरूसँग थिए। नेपालको वर्तमान अवस्था यस्तै छ। भ्रष्ट मानिसहरू राजनीतिक दौडमा सबैभन्दा अगाडि छन्।
राजनीतिक समूह यति धेरै थिए, गनेर थाहा पाउन सम्भव थिएन। कुनै चिनिएका दुई जना नेता एउटै राजनीतिक संगठनमा बस्न सक्तैनथे। एक अर्कालाई मार्न पनि उनीहरू तयार थिए। अराजकता परिवर्तन र सत्ता दुवै कुरा प्राप्त गर्ने साधन बनाइएको थियो। यस प्रवृत्तिले आमजनतामा चरम निरासा पैदा गर्दै थियो भने राजनीतिक क्षेत्रमा झन् झन् विभाजन र पाखण्ड बढेको थियो। युवाहरूलाई निरन्तर हिंसातर्फ उक्साइएको थियो भने राजनीतिका कथित यथास्थितिवादी नेताहरूमा राजनीतिक संगठनभित्र चरम गुटबन्दी थियो र कुनै एकले कुनै अर्कोलाई समाप्त पार्न जुनसुकै हतकण्डा प्रयोग गर्न उनीहरू तयार थिए। राजनीतिक दलका नेताहरू कुनै नियम पालना गर्दैनथे।
बौद्धिक वर्ग फयोदोर दोस्तोभएस्कीले उनको कृति 'अण्डरग्राउण्ड' मा भजेजस्तै तीन किसिमका थिए। कुसाग्र बौद्धिक, जसले समाजलाई सकुशल परिवर्तनको बाटो दिन सक्थे, उनीहरू चेतनालाई 'बिमारी' ठान्थे। उनीहरूको चेतनाले पाखण्ड चिन्थ्यो र निराशालाई जन्म दिन्थ्यो। उनीहरूको कुनै भूमिका थिएन। चलाक बौद्धिकहरू, जो चाकरीद्वारा सबै किसिमका लाभ हासिल गर्न सफल थिए, उनीहरू राज्यको कर्मचारीतन्त्र, न्याय व्यवस्था, सामाजिक संस्थाको नियन्त्रण गर्न सफल थिए। उनीहरू राज्यका ती अंगलाई आफ्नो विर्ता ठान्थे र त्यहाँ सक्षम, योग्य र नेतृत्व दिन सक्ने मानिसको प्रवेश रोक्न जुनसुकै किसिमका खेल खेल्न तयार हुन्थे। अर्काथरी सामान्य बौद्धिक थिए, जो जीवनका सबै लालसा बेवास्ता गर्दै खाना खान्थे, सुत्थे, सन्तान जन्माउँथे र मर्थे।
त्यस विभत्सताबाट युरोप बाहिर आउन लामो समय लाग्यो। धेरै पुस्ताले निरीह र त्रासदिपूर्ण जीवन बाँच्नुपर्यो । त्यही त्रासदिपूर्ण सामाजिक यथार्थता अहिले नेपालमा पनि छ। नेपाली राजनीतिभित्र सत्ताको प्रतिस्पर्धा अत्यन्त पाखण्डपूर्ण छ। कारण के हो? आफ्नो क्षमता र योग्यताद्वारा, सिर्जनात्मक ढंगबाट आफ्नो जीवनको समृद्धि निर्माण गर्न नसक्ने मानिसको बाहुल्यता राजनीतिक पार्टीमा व्यापक छ। राजनीतिलाई छाडेर उसले गर्न सक्ने अरु कुरा छैन, त्यसैले जीवनको सुखद् वैभवका लागि उसले राजनीति प्रयोग गर्नैपर्छ। तर राजनीतिक दलभित्र विचारधाराको स्पष्टता, समाज परिवर्तनका एजेण्डा र विकासका मौलिक ढाँचाको आधारमा ऊ प्रतिस्पर्धा गर्न सक्तैन किनभने ऊसँग प्रतिस्पर्धाका लागि कुनै कुरा छैनन्। त्यसैले अस्तित्वमा रहन उसले छलकपट र गुटबन्दी गर्नुपर्छ। उसले आफ्नो गुटलाई दह्रो बनाउन जस्तासुकै मानिसको सहयेाग लिनुपर्छ। अहिले नेपाली राजनीतिको अवस्था हेर्दा सबै छर्लङ्ग हुन्छ। सबै किसिमका विशाक्त प्रतिफलहरू राजनीतिक दलभित्रका गुटबन्दीहरूबाट जन्मिएका छन्। कुनै संस्था यस्ता गुटबन्दीका प्रभावबाट मुक्त छैनन्।
जब राजनीति फाइदाको व्यवसाय बन्छ, अनेकखालका मानिसको आकर्षण राजनीतिप्रति हुन्छ। अर्थात् व्यवसाय, उत्पादन, उद्योग होइन, राजनीति मूल धन्दा हुनजान्छ। हेरौं, नेपालमा उद्योगपति, वकिल, चिकित्सक, इन्जिनियर, पत्रकार र विद्यार्थीको मूल धन्दा राजनीति भएको छ र यसैकारण हरेक व्यक्ति राजनीतिक दलको निर्माण गर्न चाहन्छ। हिन्दु धर्मका समर्थकहरूको राजनीतिक दल छ। बौद्धिक धर्मवादीहरूको पनि राजनीतिक दल छ। क्रिश्चियन धर्मावलम्बीहरूको पनि राजनीतिक दल छ। यी सयौं राजनीतिक दलका खास नियत छन्। ती नियत राष्ट्रियताको संरक्षण होइन। समाजको सकारात्मक परिवर्तन गर्नु पनि होइन। राष्ट्रका आर्थिक विकास गर्नु पनि होइन। यी कुनै न कुनै विदेशी शक्ति, धार्मिक आस्था, संगठन र व्यापारिक उद्देश्यसँग जोडिएका छन्। उनीहरूका नेता आफ्नो हितका लागि राष्ट्रमाथि जुनसुकै घात गर्न तयार छन्। उनीहरू गैरसरकारी संस्थाका नाममा व्यापार गर्छन्। गैरसरकारी संस्थाको रकमबाट राजनीतिक पद प्राप्त गर्छन्। यस्तै अनेक घटना हुन्छन्।
यी सबै पाखण्डका कारण राष्ट्रिय राजनीतिमा भूमिका भएका ठूला दलभित्रको गुटबन्दी हो। त्यस गुटबन्दीको कारण राजनीतिक सत्ताको लोभ हो। त्यो लोभको कारण उसका लागि अरु क्षेत्रमा प्रतिस्पर्धा गर्ने क्षमता र योग्यता अभाव हो। त्यो अभावको जन्म हिजो ऊ लोकतन्त्रका लागि राजनीतिमा होमिएबाट राष्ट्रले उसको योगदानलाई कदर गर्दै बाँच्न सक्ने स्रोत नदिएबाट भएको छ। जबसम्म उसलाई त्यो अवसर दिइँदैन, उसले राजनीतिभित्र आफ्नो विकृत संलग्नतालाई निरन्तरता दिन छोड्दैन। अतः आमनागरिकले उसलाई राजनीतिबाट बिदा गर्न दुईवटा कार्य गर्नैपर्छ- (क) अब राजनीतिमा पढे/लेखेका पोख्त राजनीति विचारबाट निर्देशित सामाजिक रूपान्तरण र आर्थिक विकासका अवधारणामा स्पष्टता भएका इमानदार युवालाई अगाडि बढ्ने अवसर दिनुपर्छ र (ख) पुरानालाई राज्यको कोषबाट निवृत्तिभरण दिएर बिदा गर्नुपर्छ। देशका इमानदार अहिलेसम्म निरासावादको बिरामी अनुभूति गर्ने प्रखर बौद्धिक र युवाहरूले राजनीतिमा संलग्नता दिनुपर्ने अवस्था आएको छ। राज्यले राजनीतिक दललाई अनुदान दिनुपर्छ र उद्यमीहरूले चन्दा दिन बन्द गर्नुपर्छ। अन्यथा नेपालमा निर्वाचन र निर्वाचनबाट निर्माण गर्ने सरकारबाट धरै आशा गर्नुको कुनै अर्थ छैन।
प्रकाशित: ६ वैशाख २०७० ००:२८ शुक्रबार

