२३ असार २०७७ मंगलबार
विचार

संकटमा सम्झिने गाउँ र भोकको आगो

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको भयसँगै तीन महिनाअघि काठमाडौँ छाडेर बाहिरिनेहरूको लामै लर्को लाग्यो । त्यो लर्कोसँगै सुनसान भएको काठमाडौँको रौनक अझै फर्किएको छैन । मान्छे मान्छेसित डराएर गुप्तवास बसेको तीन महिनापछि भर्खर यहाँका सडकमा केही चहलपहल देखिन थालेको छ तर फाट्टफुट्ट खुलेका पसलमा सामान किन्न जाने कोही छैनन् । महँगो भाडामा लिएका सहरका सटर आज व्यवसायीका लागि घाँडो बनिरहेछन् । उता गाउँ भने यतिबेला हराभरा बन्दैछन् । सहर पसेकाहरूमात्र होइन, गरिबीको दलदलबाट निस्कन विदेश भासिएकाहरू पनि थुप्रो संख्यामा गाउँ फर्के ।  

संकटका बेला देश सम्झनु वा गाउँ सम्झेर फर्कनु भनेको दुःख परेका बेला आमाको आँचलमा लुटपुटिएर आँसु खसाल्नुजस्तै हो । साँच्चै भन्ने हो भने गाउँ र आमा उस्तै उस्तै हुन्, आफ्ना सन्तानलाई शीतल छहारी दिने । त्यसैले यी दुवैलाई उचित स्याहार गर्न सकेमा दुवै सुख/दुःखका छहारी बन्न सक्छन् । आशा गरौँं, संकटमा गाउँ सम्झेर जानेहरूले जर्जर बनेको गाउँको अनुहारलाई अवश्य नै हराभरा पार्नेछन् । यतिबेला सहर सुनसान छ र गाउँ भरिभराउ छ । पढ्न र कमाउन सहर पसेकाहरू सहरमा संकट आएपछि गाउँ फर्के । हप्तौँं पैदल हिँंडेरै भए पनि गाउँ पुग्न खोज्नेहरूको एउटै स्वर रह्यो– सहरमा खान पाइएन, त्यसैले गाउँ हिँडियो । मानौँं, गाउँमा भकारीका भकारी अन्न छ जो उनीहरूकै प्रतीक्षा गरिरहेछ । थियो होला, गाउँमा बचे÷खुचेको श्रमशक्तिले उब्जाएको धेरथोर अन्न । तर अचेल त गाउँमा पनि खेतबारी बाँझो राखेर सहरी खानेकुरा र विदेशबाट आयातित अन्न किनेर खाने परम्पराले सभ्याताको रूप लिएको छ ।  

यतिबेला गाउँघर सम्झेर जानेहरूले खाने भनेको पनि त्यही हो । गाउँका भकारीमा मंंसिरमा भरेको अन्न असार नपुग्दै खाली भइसक्छ । खासमा भन्ने हो भने अधिकांश गाउँघरको हालत चैतदेखि नै गहुँका बाला हेरेर दिन गन्नेखालको हुन्छ । यतिबेला गाउँ पस्नेहरूले गाउँघरलाई खासै सहयोग पु¥याउने अवस्था थिएन र छैन पनि । बरु अब खेतिपातीको मौसम सुरु भएको छ । यतिन्जेल बाँझिएर रहेका गाउँका खेतबारी, पाखा पखेरालाई स्याहारेर फेरि अन्नले भरिभराउ बनाउने अवसर आएको छ ।  

विज्ञहरू भनिरहेछन्– विश्वव्यापी कोरोना महामारीका कारण निकट भविष्यमै विश्वमा निकै ठूलो खाद्य संकट आउनेछ । यो कुनै एक राष्ट्रको समस्या मात्र नभएर सारा विश्वको समस्या हुनेछ । कोरोनाका कारण विश्वका करोडौँं मानिसले एकातिर रोजगारी गुमाउने पक्कापक्की छ भने अर्कोतिर मानिसलाई लामो समयसम्म निष्क्रिय पार्दै घरभित्रै थन्क्याइदिएका कारण पनि खाद्यान्न तथा कृषि उत्पादनका कार्यहरू रोकिन जाँदा खाद्य संकट मानिसका लागि कोरोनापछिको अर्को ठूलो संकट बन्नेछ । यो कुनै एउटा देशको मात्र संकट नभएका कारणले पनि भविष्यमा खाद्यान्न उत्पादक र निर्यातक देशहरूले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने निश्चित छ । यस्तो अवस्थामा नेपालजस्ता खाद्यान्नमा परनिर्भर देशहरू भोकमरीको चपेटामा पर्नेछन् । नेपाललगायत तेस्रो विश्वका अधिकांश विपन्न देशहरूको अहिलेको अवस्था भनेको ऊर्जाशील जनशक्तिलाई विदेशमा निर्यात गर्नु र उनीहरूले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सबाट विदेशी उत्पादन नै आयात गरेर गुजारा गर्नु रहेको छ । तर कोरोनाले जर्जर बनाएको विश्व अर्थतन्त्रमा अब कुनै पनि रोजगारदाता राष्ट्रले आफ्ना नागरिकलाई बेरोजगार राखेर विदेशीलाई रोजगार दिन सक्ने छैनन् । अतः यसको अर्थ अबको अवस्था भनेको विदेशिएको श्रमशक्ति पुनः देश वा गाउँ फर्कनु नै हो । श्रम शक्तिको पुनरागमन देश वा गाउँका लागि सकारात्मक भए तापनि उनीहरूसँगै फर्केको खाली हात र खाने मुख पनि एउटा समस्याकै रूपमा देखिनेछ । रेमिट्यान्सले धानिएको सिङ्गै मुलुकको अवस्था अब पहिलेजस्तो नरहने पक्का छ । कोरोनाका कारण विदेशिएकाहरू देश फर्कने र सहर पसेकाहरू गाउँ फर्कने क्रमले देशको अर्थतन्त्रलाई नै खलबल्याइदिने पक्कापक्की छ ।

नजिकको छिमेकी भारतीय श्रम बजारमा छरिएर रहेको नेपाली श्रमशक्ति कोरोना महामारीका कारण नेपाल भित्रिइसकेको छ र अब खाडी तथा तेस्रो मुलुकमा रोजगारीका लागि गएका युवा पनि ती देशमा बेरोजगार बन्ने स्थिति आएपछि धमाधम स्वदेश फर्कँदै छन् । विदेशिएको युवशक्ति स्वदेश फर्कनु खुसीको कुरा भए तापनि यसले निकट भविष्यमै निम्त्याउने कैयौं समस्याको आकलन गर्नका लागि राज्यशक्तिले त्यति चासो लिएको जस्तो लाग्दैन । यसै त रोजगारमूलक व्यवसाय भन्दा राजनीतिको व्यवसाय फस्टाएको हाम्रो मुलुकलाई अहिले झन कोरोना महामारीले थला नै पारिदिएको छ । देशको अर्थतन्त्र तहसनहस भएको अहिलेको अवस्थामा विदेशबाट फर्किएका युवालाई देशभित्रै रोजगारी उपलब्ध गराउन त्यति सहज देखिंँदैन । तर पनि राज्यको अबको पहिलो प्राथमिकता भनेको नागरिकको गरिबीलाई सम्बोधन गर्नु र युवा शक्तिलाई देशभित्रै उचित कामको व्यवस्था गर्ने हुनुपर्छ ।  

अब के गर्ने त ?
देशमा ३० वर्षसम्म पञ्चायतले शासन ग-यो । व्यवस्था निरंकुश भयो, यसले देश र जनताको भलो गर्न सकेन भन्दै नेपाली जनता ज्यानको बाजी लगाएर क्रान्तिमा होमिए । अन्ततः ३० वर्षे पञ्चायती व्यवस्था फालेर लोकतन्त्र स्थापना गरियो । आज मुलुकमा लोकतन्त्र आएको पनि ३० वर्ष नै पुग्यो तर जनताले चाहेजस्तो देशको कायापलट लोकतन्त्रले पनि गर्न सकेन । यसबीच शासकहरूको जीवनशैलीमा भने कायापलट नै भयो तर जनताको जीवनस्तर भने जस्ताको तस्तै रह्यो । यसबीच फेरि अर्को क्रान्ति भयो । क्रान्तिका अगुवाहरूले जनताकै दुहाइ दिन थाले, देश विकासको दुहाइ दिन थाले र फेरि पनि हजारौँं नागरिकले परिवर्तनका लागि ज्यानको आहुति दिए र गणतन्त्र आयो । तर गणतन्त्रले पनि न देशको आर्थिक विकास नै गर्न सक्यो न त नागरिकको जीवनस्तर उकास्न सक्यो । बरु उकासियो त केवल क्रान्तिका अगुवा र अनगिन्ति शासकहरूको जीवन । हजारौंँ सहिदको बलिदानीसँगै फुटपाथबाट सिंहदरबार, बालुवाटार र शीतलनिवास छिरेकाहरूले सत्ताको स्वाद पाउन थालेदेखि नै देशको ऊर्जाशील जनशक्तिलाई विदेशमा निर्यात गर्ने नीति मात्रै बनाए ।  

परिवर्तनका संवाहक युवा शक्तिलाई जतिसक्दो बाहिर पठाउने र उनीहरूले विदेशमा बगाएको पसिनाबाट आर्जित रेमिटेन्सले अर्थतन्त्र धानेको धाक लगाएर मस्त निदाउनेबाहेक गणतन्त्रका महारथिहरूले केही गर्न सकेनन् । देशभित्र न उद्योगधन्दा खुले न त कृषिकै विकास भयो । बरु गाउँ खाली हुँदै जाँदा गाउँका खेतबारी पनि बाँझिदै गए । सहरका र तराईका फाँटमा कंक्रिटका खेती हुन थाले । विकासका आयोजना धेरै कागजमा सीमित भए भने केहीको न्वारानसम्म भयो । विकास बजेट भ्रष्ट ठेकेदार र दलालहरूको हातमा पुग्यो । शासकहरूलाई देश विकासको चिन्ता भन्दा सत्ता टिकाउने चिन्ता नै ठूलो भइराखेको अहिलेको अवस्थामा अब पनि राज्यले नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक औद्योगिक र कृषिमुखी अर्थतन्त्रतिर ध्यान नदिने हो भने निकट भविष्यमै बेरोजगार भएर विदेशबाट फर्कँदै गरेका लाखौँं युवा शक्तिको आक्रोशको ज्वाला थेग्न कुनै पनि राजनीतिक मसिहाहरूलाई ‘महाभारत’ हुने पक्का छ ।  

त्यसैले समयमै देशलाई भोकमरीको खाडलमा पर्नबाट जोगाउन र बेरोजगार युवा आक्रोशलाई शान्त पार्नका लागि देशमा कसरी रोजगारी सिर्जना गर्ने भन्नेतिर ध्यान दिई त्यहीअनुसारको नीति निर्माण गर्दै बजेटको सही प्रयोग गरि यथाशीघ्र कार्यान्वयनको दिशा समात्नु जरुरी छ । साथै आधुनिक कृषि प्रणाली लागु गर्दै कृषिमा राज्यको लगानी र जनशक्तिको उचित प्रयोग गरी देशको सक्रिय जनशक्तिलाई कृषितिर आकर्षित गर्दै उत्पादनमुखी अर्थतन्त्रको विकास गर्नुमा नै नागरिक र शासक दुबैको भलो छ । नत्र भोकको आगो झनै खतरनाक हुन्छ र त्यो आगोले नागरिकका झुपडीमा मात्र होइन, शासकका कुर्सीलाई पनि खरानी बनाउन बेर लाग्दैन । अब भने यो अवस्था नरहन पनि सक्छ । गाउँको मात्र होइन, रेमिट्यान्सले धानिएको सिङ्गै मुलुकको अवस्था अब पहिलेजस्तो नरहने पक्का छ । कोरोनाका कारण विदेशिएकाहरू देश फर्कने र सहर पसेकाहरू गाउँ फर्कने क्रमले देशको अर्थतन्त्र नै खलबल्याइदिने पक्कापक्की छ ।

प्रकाशित: १५ असार २०७७ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App