११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

'गाडी रोक सुनिनस्!'

गएको शुकबार (भदौ २३ गते) कोटेश्वरस्थित ट्राफिक चौकीमा सवारी नियम उल्लंघन गरेबापत दुई सय रूपियाँ जरिवाना बुझाएर आएँ। बिहीबार नयाँ बानेश्वरमा मोबाइलमा कुरा गर्दै गाडी चलाउँदा मलाई एक जना ट्राफिक प्रहरी पत्रे्कका थिए। आफ्नै गल्ती भएकाले प्रतिवाद गर्ने प्रश्नै भएन। उनलाई खुरुक्क लाइसेन्स दिएँ। पटेल थरका ती युवकले नम्रतापूर्वक लाइसेन्स मागेर अफ्नो व्यावसायिकता र कर्तव्यनिष्ठाको परिचय दिएका थिए।

मलाई उनको व्यवहारप्रति कुनै गुनासो रहेन। तर, तिनै ट्राफिक प्रहरीको अर्को ब्यवहारले मेरो मन दुख्यो। उनले कार हाक्दै गरेको मलाई - 'सर! तपाईँको लाइसेन्स' भन्दै शिष्टतापूर्वक संवोधन गरेका थिए। तर, मेरैे पछाडि आएकोे विक्रम टेम्पोका चालकलाई भने उनले हकारे- 'ए! रोक्, सुनिनन् तैँले'। टेम्पो चालक र म दुवै जना कसुरदार थियौँ तर उनले व्यवहार भने बेग्लाबेग्लै गरे।
मैले आजसम्म सार्वजनिक सवारीका चालकलाई ट्राफिक प्रहरीबाट सम्मानजनक संवोधन सुनेको छैन । त्यसैले ती पटेलको संवोधनले मलाई नराम्रो लागे पनि आश्चर्य भने लागेन । हामी जस्तो समाज र वर्गीय विभेदको परिवेशमा हुर्केका छौँ त्यो व्यवहार त्यसैको प्रतिविम्ब थियो। ट्राफिक प्रहरी पटेल अपवाद होइनन्। अचम्म चाहिँ के हो भने हाम्रा ट्राफिकहरू आफ्नै वर्गका अरू व्यक्तिलाई सम्मानजनक व्यवहार गर्दैनन्। सार्वजनिक सवारीका चालकलाई त्यसरी संवोधन गर्नेहरू ट्राफिक प्रहरीको जागिरमा नभएका भए त्यही पेसामा हुनसक्थे जसलाई उनीहरू हेप्छन्। सार्वजनिक सवारीका एकाध चालक उद्दण्ड हुनसक्छन्। तिनले नियम मिच्नुलाई नै पौरख ठान्दा पनि हुन्। तर, वर्दी लगाएका ऐन नियमको रखबारी गर्ने जिम्मा भएकाहरूले उनीहरूलाई मानवोचित व्यवहार गर्न नहुने त कुनै कारण छैन! ट्राफिकले कुनै संझौताबिना नियमबमोजिम दोषीबाठ जरिवाना असुल गर्न सक्नुपर्छ। गम्भीर कसुरमा मुद्दै चलाउनुपर्छ। हामीमध्येको आर्थिक र समाजिक अवस्था केही फरक हुनसक्छ तर कानुनका दृष्टिमा सबै समान छौँ। सामन्तवादको प्रतीक राजतन्त्रको समूल अन्त्य गरेर नयाँ नेपाल बनाउन तम्सेका हामीले अबको समाजमा कानुनका अगाडि सबै समान हुनेछन् भन्ने हेक्का राख्नुपर्छ। संयोगवश, सर्वहाराकै नेता प्रधानमन्त्री भएको अहिलेको नेपालमा सर्वहारा वर्गले नै सम्मानजनक स्थान नपाए कहिले पाउने?
ट्राफिक प्रहरीको व्यवहारमा पनि राष्ट्र वा समाजको ऐना देखिने केही आचारणमा पर्छ। स्वदेश रहँदा वा विदेशमा पुग्दा सवारी चालक, अध्यागमनका कर्मचारी र ट्राफिक प्रहरीहरूको सम्पर्कमा सबैभन्दा पहिले पुगिन्छ। हुन त विकसित मुलुकमा ट्राफिक ब्यवस्थापन खासै ठूलो चुनौतीको विषय होइन तर विकासोन्मुख मुलुकमा भने कार्यालय जाँदा हाकिम र घर फर्कँदा पत्नीको मुख देख्नु अगावै ट्राफिक प्रहरीको सम्पर्कमा पर्नसकिन्छ। यसरी कसैको दिन बन्नु र बिग्रनुमा चाबौटामा उभिएका ती चलायमान जवानको राम्रो र नराम्रो दुवै भूमिका हुनसक्छ।
विकासोन्मुख मुलुकमा ट्राफिक व्यवस्थापन चुनौतीको विषय हो। धुँवा, धुलोको माझमा रहेर टन्टलापुर घाममा सेकिएर अनि झरीमा बिरालो झै रूझेर सवारी व्यवस्थापन गर्नु निकै कठिन काम हो। त्यसमाथि पनि, ट्राफिक प्रहरीलाई हेप्दै नियम उल्लंघन गर्न गर्व गर्नेलाई कानुनको दायरामा ल्याउनु अर्को तनावयुक्त काम हो। त्यसैले ट्राफिक प्रहरीहरू तनावमा हुन सक्छन्। यही तनाव मत्थर गर्न पनि संयमित र शिष्ट व्यवहार आवश्यक हुन्छ। धेरै मुलुकमा ट्राफिक प्रहरीका निम्ति तनावको सामना गर्ने उपचार विधि (थेरापी) ध्यान, संगीत, मनोरञ्जनको व्यवस्था गरिएको हुन्छ। नेपाल प्रहरीले पनि यस विधिको अवलम्वन गरेको हुनसक्छ।
पछिल्ला केही महिना यता काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार देखिन थालेको छ। ट्राफिकले छड्के र आकस्मिक जाँच नियमितजस्तै गर्दैआएका छन्। नियम उल्लंघन गर्नेहरू हिजोआज बिरलै उम्कन्छन्। यसरी जरिवानाबाट उठ्ने राजस्वको परिमाणमा उल्लेख्य वृध्दि भएको छ। यी सब सकारात्मक परिणामका जस ट्राफिक परिवार र त्यसको नेतृत्वलाई दिनुपर्छ।
सात समुद्रपारी अध्ययनमा रहँदा फुटपाथमा हिँडेका बेला एक जना संयमहीन सवारी चालकको दुष्कर्मको परिणामस्वरूप खुट्टा भाच्नु परेको चोट मैले भोगेको छु। छ महिनासम्म बैसाकीको टेको टेक्दाको पीडा मलाई थाहा छ! सवारी भन्ने वस्तु नै त्यस्तो हो, जहाँ एकजनाको लापरवाहीको सिकार सयौँ निर्दोष व्यक्तिहरू हुन पुग्छन्।
नेपालको सुधारोन्मुख ट्राफिक क्षेत्रमा अझै धेरै गर्न बाक्की छ। त्यस प्रयासमा समाजका सबै तह र तप्काले सघाउनुपर्छ। उदाहरणका लागि किशोरवयकालाई मोटरसाइकल चलाउन अभिभावक र शिक्षकहरूले हतोत्साहित गर्नुपर्छ। ट्राफिक डिभाइडरहरूको उचित व्यवस्थापन हुनुपर्छ। अँध्याराका बेला त्यस्ता डिभाइडरहरू दुर्घटनाका कारक बनेका छन्। लामा रुटमा क्षमताभन्दा बढी यात्रु सवार हुनु, तीव्र गति र मादक पदार्थ सेवन दुर्घटनाका मुख्य कारणहरू हुन्। तर, अहिलेको ट्राफिक प्रहरीका लागि यस्ता विषय उति ठूलो चुनौती होइन। र, अर्को महत्वपूर्ण सुधारको पक्ष चाहिँ नेतृत्व तहका अधिकारीले मातहतलाई पनि शिष्ट र सभ्य बनाउन सक्नु हो। बर्दीधारीको प्रतिष्ठा र आत्मसम्मान जति धेरै हुन्छ त्यति नै बर्दीबिनाका नागरिकको पनि हुन्छ।

प्रकाशित: २७ भाद्र २०६८ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App