६ चैत्र २०८० मंगलबार
विचार

नेपालमा कोरोनाको टनेला र ह्याट्रिक

कोरोना संक्रमितको संख्या नेपालमा चार सय ४४ पुगेको खबर बिहीबार बिहानै पाएँ । तासको खेल म्यारिज खेल्नेहरु एउटै अंकका तीन तासलाई टनेला भन्छन् । म्यारिजमा टनेला पाँचको माल हुन्छ । टनेलाको अल्टर माल काटियो भने त्यो टनेला तीसको माल बन्छ । अहिले नेपालमा कोरोना भाइरसले संक्रमितको सामान्य टनेला पारेको छ । सरकारले बुद्धि पुर्याउन सकेन भने यो टनेला तीसको माल बन्न कत्ति बेर लाग्दैन । अर्थात् कोरोना संक्रमण र त्यसबाट हुने मृत्युको तथ्यांक भयावह हुन सक्छ ।

बिहीबारको अर्को दुःखद खबर थियो, बुटवलस्थित एक अस्पतालमा उपचाररत कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्युको । गुल्मीका ती पुरुषमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो मृत्युसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । फुटबल खेलमा एउटै खेलाडीले गरेको तीन गोललाई ह्याट्रिक भनिन्छ । विश्वका अरु मुलुकमा मृत्युको वर्षा गराइरहेको कोरोना भाइरसले नेपालमा ह्याट्रिक गर्दै मृत्युको खेल अगाडि बढाइरहेको छ ।

कोरोनाले खेलिरहेको मृत्युको खेल बुझ्न नेपालमा यसको प्रवेशदेखि आजसम्मको अवस्थालाई सर्सर्ती खोतल्न मन लाग्यो । डायरी पल्टाएर टिपोट हेरें । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा २०७६ साल पुसको मध्यतिर कोरोना कहर सुरु हुँदा नेपालमा एक जना पनि संक्रमित थिएनन् । २०७६ साल माघ ९ गते नेपालमा कोरोना भाइरसको संक्रमण एक जना विद्यार्थीमा पाइयो । ती विद्यार्थी चीनबाट आफ्नो देश नेपाल आएका थिए । उनलाई आइसोलेसनमा राखियो । निको भएर घर फर्किए उनी । थप दुई महिनासम्म नेपालमा संक्रमित नै देखिएनन् । तर भारतमा कोरोना संक्रमण देखिएसँगै त्यहाँ बन्दाबन्दी लागु गरिएपछि नेपालमा पनि चैत ११ गतेबाट बन्दाबन्दी सुरु भयो ।

चीनबाट इटाली, फ्रान्स, बेलायत र अमेरिकालाई कोरोनाले आच्छुआच्छु पार्न थालेपछि पाकिस्तान, भारत र नेपालमा सँगसँगैजस्तो बन्दाबन्दी (लकडाउन) लागु गरियो । नेपालमा चैत ११ गते बन्दाबन्दी घोषणा गरिँदा कोरोना संक्रमितको संख्या जम्मा तीन थियो । तीन जना संक्रमितमध्ये चीनबाट नेपाल आएका एक जना विद्यार्थी उपचारपछि निको भएर घर फर्किइसकेका थिए भने बाँकी दुई जनाको काठमाडौंस्थित टेकु अस्पतालमा उपचार हुँदै थियो । चैत २० गतेसम्म कोरोना संक्रमण पुष्टि भएका ६ जना सबै विदेशबाट आएकाहरु थिए । चैत २२ गते सातौं संक्रमितमा स्थानीय स्तरमा संक्रमण भएको पाइयो । यससँगै कोरोना नेपालमा दोस्रो चरणमा प्रवेश ग¥यो ।

कोरोनाको संक्रमण अहिले नेपालमा समुदाय स्तरमै फैलिएर तेस्रो चरणमा पुगेको छ । यो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ गर्दा पनि संक्रमितलाई कहाँबाट कोरोना भाइरस स¥यो भन्ने पत्तो पाउन सकिँदैन । सबै केसमा संक्रमणको स्रोत नखुलेको भने होइन, केही केसमा संक्रमण कहाँबाट भयो भन्ने पत्तो लगाएर सम्बन्धित क्षेत्र सिल गर्ने काम सरकारले गरेको छ । सरकारले पिसिआर परीक्षणको दायरा बढाउने काम भने गर्न नसकेकै हो । जसरी सरकारले भारतसँगको खुला सिमानाबाट रातारात नेपाल प्रवेश गर्नेहरुलाई रोक्न सकेको थिएन । स्वदेश फर्कन चाहनेहरुलाई देशभित्र ल्याएर क्वारेन्टिनमा प्रभावकारी रुपमा राख्नबाट पनि सरकार चुकेकै हो । त्यसैले त आज देशभित्र कोरोना संक्रमण भयावह बन्ने अमूर्त तस्वीर देखा परेको छ ।

नेपालमा कोरोना संक्रमणको विस्तारलाई विश्लेषण गर्दा पछिल्ला तीस दिनको ग्राफ ह्वात्तै उकालो चढेको पाइन्छ । तीस दिनअघि वैशाख ९ गतेसम्म ४२ जनामा सीमित कोरोना संक्रमितको संख्या आज दस गुणाभन्दा अझ धेरै बढेको छ । त्यसअघि वैशाख ३ गतेसम्म १६ जना संक्रमित पाइएकोमा वैशाख ५ गतेसम्म संक्रमितको संख्या जम्मा ३० पुगेको थियो । बन्दाबन्दीको पहिलो महिना अर्थात् वैशाख ११ गतेसम्म नेपालभरि ४८ जना कोरोना संक्रमित थिए । बन्दाबन्दीको पचासौं दिन वैशाख ३० गते कोरोना भाइरसको संक्रमण एकै दिनमा ८३ जनामा देखा प¥यो । त्यस दिन थपिएका ८३ जनासहित कोरोना संक्रमितको कूल संख्या दुई सय १७ पुग्यो ।  

वैशाख १४ गते ५२ र २१ गते ७५ जना रहेको कूल संक्रमित संख्या २३ गते ८२ र २५ गते एक सय एक पुग्यो । वैशाख २७ गतेसम्म एक सय नौ जना रहेको संक्रमित संख्या २९ गते एक सय ३४, ३० गते दुई सय १७ र ३१ गते दुई सय ४३ पुग्यो । जेठको पहिलो दिन दुई सय ४९ रहेको संक्रमित संख्या जेठ २ गते दुई सय ६७ पुग्दा समुदाय स्तरमा फैलिइसकेको थियो । नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु जेठ ३ गते काभ्रेमा भयो । २९ वर्षीया सुत्केरीले कोरोना संक्रमणको कारण ज्यान गुमाउनु प¥यो । उनले जन्माएको बच्चा र परिवारका अन्य सदस्यमा भने कोरोना परीक्षणको नतीजा नेगेटिभ आएको छ ।

जेठ ४ गते संक्रमितको संख्या दुई सय ९५ पुगेसँगै मृतकको संख्या पनि बढ्यो । बाँकेको नरैनापुर क्वारेन्टिनमा बसेका २४ वर्षीय संक्रमित पुरुष कोरोनाको उपचार नपाई मरे । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको आँकडा अनुसार कोरोना संक्रमितको संख्या जेठ ५ गते तीन सय ७५, ६ गते चार सय दुई र ७ गते चार सय २७ पुग्यो । यो आलेख तयार पार्दापार्दै बिहीबार नौ जना संक्रमित थपिएपछि अहिले नेपालमा कोरोना संक्रमितको कूल संख्या चार सय ५३ पुगेको छ । यीमध्ये ४९ जना निको भएर घर फर्किसकेका छन् ।  

हुन सकेन पर्याप्त परीक्षण

कोरोना भाइरस (कोभिड–१९) बाट यतिबेला विश्व आक्रान्त छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वले युद्धस्तरमा रोकथाम र उपचारका प्रयास गरेको छ । नेपालमा भने शंकास्पद व्यक्तिहरुको पर्याप्त मात्रामा कोरोना परीक्षण नै हुन सकेको छैन । जति परीक्षणमा ढिलाइ हुन्छ, त्यति नै संक्रमण बढ्ने खतरा रहन्छ । कोभिड–१९ विरुद्ध औषधि र खोपको आविष्कार नभइसकेको हुँदा यसको संक्रमण रोकथाम र संक्रमितको प्रभावकारी हेरचाह नै अहिलेको समस्याको विकल्प हुन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितको थुकको छिटा (ड्रप्लेट्स) को माध्यमबाट सर्ने गरेको पाइएको छ । यो भाइरस हावामा धेरैबेर टिक्न नसक्ने भएकोले कुनै वस्तुमा टाँसिएर बस्ने र ती वस्तुमा छुँदा हाम्रो हातमा आई त्यो हात हामीले मुख, नाक वा अनुहारमा पु¥याउँदा शरीरभित्र पुग्छ ।

चिकित्सकहरुका अनुसार, शरीरभित्र प्रवेश गरेको कोरोना भाइरस फोक्सोमा पुगेर त्यहाँ आफ्नो संख्या वृद्धि गर्छ । यसले फोक्सोका कोषलाई नष्ट गरेर गम्भीर प्रकारको निमोनिया गराउँछ, जसको कारण संक्रमितको मृत्युसम्म हुन पुग्छ ।

कसरी बच्ने संक्रमणबाट ?

कोरोना भाइरसबाट बच्ने एक मात्र उपाय भनेको यो भाइरसलाई आफ्नो शरीरभित्र प्रवेश गर्न नदिनु नै हो । यसका लागि हरेक व्यक्तिले आफूलाई भीडभाडबाट अलग राख्नुपर्छ । आफूलाई घरभित्रै सीमित गरेर सेल्फ आइसोलेसनमा बस्नुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । त्यसका लागि कुनै वस्तु छोएपछि साबुनपानीले हात धुने, स्यानीटाइजरले हातलाई किटाणुमुक्त गर्ने, अनुहारमा हात नपुर्याउने गर्नुपर्छ । भाइरसप्रतिरोधी (एन ३५) मास्क सहजै उपलब्ध नहुने भएकोले अनुहारमा हात पुग्न नपाओस् र रुघाखोकी लागेको बेला थुकका छिटा अरुको शरीरमा जान नपाओस् भनी सकेसम्म सर्जिकल मास्क नभए पनि साधारण कपडाको मास्क लगाउँदा कुनै हानि हुँदैन । मास्क नलगाएको अवस्थामा हाछ्युँ आएमा वा खोकी लागेमा कुहिनोलाई मुखमा जोडेर हाछ्युँ गर्नु पर्छ ।

बारम्बार हातलाई साबुनपानीले धोएर वा स्यानीटाइजरको प्रयोग गरेर किटाणुरहित बनाउनु र त्यो हातलाई मुख, नाक वा अनुहारका अन्य भागमा नलैजानु नै कोरोना भाइरस संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो । कोरोना भाइरसको संक्रमणबाट जोगिने प्रयत्न गर्दागर्दै पनि यसको चपेटामा परियो भने पनि आत्तिनु भने हुँदैन । कोरोना भाइरस सामान्य रुघाखोकी लगाउने भाइरसजस्तै हो । औषधि र खोपको अभावमा हामी यो भाइरसको संक्रमणसँग डराउनु परेको हो ।

कोरोना भाइरसबाट संक्रमित हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि शरीरको रोग प्रतिरोधी क्षमता बढाउने खालका खानेकुराको सेवनले कोरोनाविरुद्धको लडाइँमा साथ दिन सक्छ । विशेष भिटामिन र प्रोटिन प्राप्त हुने खानेकुराले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । यसका लागि शाकाहार र मांसाहार दुवै उत्तम हुन्छ । मांसाहारीलाई मात्रै कोरोना भाइरसको संक्रमण हुने र शाकाहारीलाई नहुने भन्ने होइन ।

प्रकाशित: ९ जेष्ठ २०७७ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App