१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

महिलालाई मात्र आएको लोकतन्त्र !

भर्खरै एउटा संस्थाले गरेको अध्ययनअनुसार विदेश जानेका ६० प्रतिशत श्रीमतीमा मानसिक स्वास्थ्य समस्या रहेको प्रतिवेदन प्रकाशित भएको छ । उक्त अध्ययनले निकालेको निष्कर्ष लगभग आम नेपाली समुदायमा देखापरेको अहिलेको गम्भीर समस्या हो। आज प्रायः हरेक परिवारको कोही न कोही सदस्य विदेश गएकै छ। भर्खर युवा अवस्थामा प्रवेश गरेको होस् वा वयस्क, पढ्न वा पैसा कमाउन विदेश जानुपर्ने कुरा संस्कारजस्तै बनेको छ। वैदेशिक रोजगारका लागि वर्षेनि पाँच लाखको हाराहारीमा विदेशिने युवाहरू प्रायः विवाहित हुन्छन्, त्यसमा पनि अधिकांश नवविवाहित हुन्छन्। यसरी विवाह लगत्तै श्रीमान्सँग अलग हुनुपर्दा धेरै महिलामा मानसिक समस्या देखिनु स्वाभाविक हो।

हाम्रो समाजमा श्रीमतीलाई सम्पत्ति सम्झने पुरुष मानसिकताले यति बलियोसँग जरा गाडेर बसेको छ कि आफू विदेशमा रहे पनि उसको मनले भने हर पल श्रीमतीको निगरानी गरिरहेको हुन्छ– कहाँ गइस्? कोसँग गइस्? के गर्दैछस् ? कोसँग बोल्दैछस् ? एकातिर जसलाई सबैभन्दा नजिकको ठानेर पराई घरमा भित्रियो उसैले छोडेर जाँदाको एक्लोपनले दिनदिनै खाइरहेको हुन्छ भने अर्कोतिर विदेशबाट श्रीमान्ले गर्ने निगरानीले अनावश्यक तनाव दिइरहेको हुन्छ। यसमाथि परिवार र समाजले पनि श्रीमान् विदेश गएकी महिलाको बारेमा अनावश्यक चासो र निगरानी गरिहेको हुन्छ । एक्लै कतै हिँड्नै नहुने । कसैसँग बोल्यो भने उसैसँग जोडेर चरित्रमाथि शंका गर्ने, अनेक लाञ्छना लगाउने गरिन्छ। त्यतिले नपुगेर विदेशमा रहेको श्रीमान्लाई उसको बारेमा कुरा लगाउने गरिन्छ । यसरी श्रीमान्बाट एक्लिएका महिला परिवार र समाजबाट पनि एक्लिन पुग्छन् । उनीहरूसँग न खुसी साट्ने कोही हुन्छन् न दुःख बाँड्ने कोही रहन्छन्। यसरी आफैँभित्र गुम्सिएर र उकुसमुकुस भएर तनावमा बाँच्नुपर्दा उनीहरूमा बिस्तारै मानसिक समस्या देखापर्न जान्छ र चरम निराशाले गाँज्दै गएपछि आत्महत्यासम्म गर्न पुग्छन्।

भर्खरै बिहे गरेका र बालबच्चा नभइसकेका महिलालाई भन्दा अझ बालबच्चा भएका महिलालाई मानसिक तनाव झन् धेरै हुन्छ। श्रीमान्को अनुपस्थितिमा आफूमा आइपरेको पारिवारिक जिम्मेवारी कामको बोझ, समाज र परिवारको निगरानी, एक्लै बालबच्चा हुर्काउनुपर्दाका समस्या, विदेशमा रहेको श्रीमान्ले गर्ने अनावश्यक निगरानी र शंकाले गर्दा थाहै नपाई उनीहरू मानसिक रोगी बन्न गइरहेका हुन्छन्। जसका कारण उनीहरूमा बढ्दै गएको निराशाले कतिपयलाई मृत्युको मुखसम्म पनि पु-याएको देखिन्छ।

श्रीमान् विदेशिएका महिलाहरू एकातिर आफूलाई समाजसमक्ष हरदम ‘फिट एन्ड फाइन’ देखाउनपर्ने मानसिकताबाट गुज्रिरहेका हुन्छन् भने अर्कोतिर सार्वजनिक जीवन जिउने क्रममा अनेक व्यक्ति र समुदायसँग नजिकिनुपर्ने हुन्छ। तर उनीहरू यसरी नजिकिएको तिनका परिवार र लोग्नेलाई पचिरहेको हुँदैन। जसले गर्दा ती महिलाहरूले हमेसा दुईथरी जीवन र दुईथरी मानसिकतामा बाँच्नु परिरहेको हुन्छ।

वैदेशिक रोजगारले एक्ल्याइएका महिलामा एक्लोपनका कारण उत्पन्न हुने तनावले यौन विचलन आउने र यसबाट परिवारसमेत तहसनहस हुनेदेखि बालबच्चा बेवारिस छोडेर अन्य पुरुषसँग सम्बन्ध गाँसेर भागिदिने समस्या पनि दिन परदिन विकराल रूपमा विकसित हुँदैछ । आज वैदेशिक रोजगारमा जानेका श्रीमतीहरूमध्ये केहीले श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको सम्पत्ति कुम्ल्याएर बालबच्चाको बिचल्ली पार्दै हिँड्नुका पछाडि एक्लोपन र परिवारबाट हुने उपेक्षा र आशंका पनि जिम्मेवार देखिन्छ। त्यसमाथि अझ अर्को जिम्मेवार पक्ष पनि छ त्यो के भने, आफू विदेशमा कमाउन जाने र श्रीमती र बालबच्चालाई परिवारबाट अलग गरी सहर बजारमा डेरा लिएर राखिदिने प्रवृत्तिका कारण सिर्जित फुर्सदिलो एक्लोपन र त्यसको फाइदा उठाउन खप्पिस एकप्रकारको जमातका कारण छँदाखाँदाको घर तहसनहस भइरहेका घटनाहरूले गर्दा श्रीमतीहरूमा मात्र होइन, वैदेशिक रोजगारमा गएका पुरुषहरू पनि त्यत्तिकै रूपमा मानसिक रोगको सिकार भइरहेको देखिन्छ।

कुनै पनि समस्या समाधानरहित पक्कै पनि छैनन् तर समाधानका उचित उपाय नअपनाउँदा आज अधिकांश नेपाली परिवार तथा समाज नै मानसिक रोगी बन्दै गइरहेको छ। आवश्यकताभन्दा बढी उच्चतम महत्वाकांक्षा पाल्ने र भौतिक सुखसुविधाको लालसाका कारण तिलस्मी सपना बोकेर विदेशिने प्रवृत्तिले दिनदिनै भत्किँदै गइरहेको नेपाली समाज र परिवारलाई जोगाउन र स्वस्थ मानसिकता तयार गर्नका लागि एकातिर युवाहरूको बहिर्गमन रोक्ने उपायको खोजी राज्यपक्षबाट खोजिनुपर्छ भने त्यसका लागि विज्ञहरू र सरोकारवालाहरूबाट राज्यलाई उचित र हरसम्भव उपाय र सुझाव दिनु जरुरी छ भने अर्कोतिर घर परिवारले पनि श्रीमान् विदेशिएका महिलाप्रति मायालु र आत्मीय व्यवहार गर्नुपर्छ । एक्लोपन नै मानसिक समस्याको प्रमुख जड हो। आपसी माया, प्रेम र आत्मीयताले जुनसुकै प्रकारको मानसिक समस्यालाई पनि निर्मूल पार्न सक्छ। यसैगरी प्रायः गरेर पति पत्नीबीच उत्पन्न हुने अनावश्यक शंकाले मानसिक तनाव बढाउने हुँदा आपसमा विश्वासको वातावरण बनाउन दुवै पक्षको व्यवहारले महत्वपूर्ण भूमिका खेल्छ र यसमा परिवार र समाजको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन जान्छ।

तुलनात्मक रूपले पुरुषमा भन्दा महिलामा मानसिक समस्या धेरै देखिनुमा वैदेशिक रोजगार मात्र जिम्मेवार छैन। वैदेशिक रोजगारमा जानेका श्रीमतीहरूमा मात्र होइन, सँगसँगै जीवन बिताइरहेका कैयौँ जोडीहरूमध्येका श्रीमतीहरूमा पनि मानसिक समस्या उत्तिकै देखिन्छ । अझ सार्वजनिक जीवनमा प्रवेश गरेका तथा कामकाजी महिलाहरूमा हुने मानसिक समस्या झनै जटिल छ । उनीहरू एकातिर आफूलाई समाजसमक्ष हरदम ‘फिट एन्ड फाइन’ देखाउनपर्ने मानसिकताबाट गुज्रिरहेका हुन्छन् भने अर्कोतिर सार्वजनिक जीवन जिउने क्रममा अनेक व्यक्ति र समुदायसँग नजिकिनुपर्ने हुन्छ । तर उनीहरू यसरी नजिकिएको तिनका परिवार र लोग्नेलाई पचिरहेको हुँदैन। जसले गर्दा ती महिलाहरूले हमेसा दुईथरी जीवन र दुईथरी मानसिकतामा बाँच्नु परिहेको हुन्छ। आफ्नो सार्वजनिक जीवनकै कारण लोग्ने र परिवारबाट हुने अनावश्यक शंका, निगरानी र उनीहरूले गर्ने हिंसाका कारण मानसिक रोगी बन्ने र आत्महत्यासम्म गर्ने अवस्थामा पुगेको देखिन्छ।

सार्वजनिक जीवनमा, अझ राजनीतिमा लागेका महिलाले केकस्ता शारीरिक र मानसिक समस्या भोग्न बाध्य छन् वा रहेछन् त भन्ने कुराको जल्दोबल्दो उदाहरणका रूपमा भर्खरै मात्र सार्वजनिक भएको ललितपुरको गोदाबरी नगरपालिकाकी उपमेयरले श्रीमान्बाट भोगेको शारीरिक र मानसिक हिंसा र उनले विगत २६ वर्षदेखि भोग्दै आएको मानसिक तनाव अनि त्यसको लगत्तै स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाकी मेयरले पारिवारिक तनावकै कारण मानसिक समस्या झेल्दै अन्ततः पोखराको फेवातालमा हामफालेर गरेको आत्महत्याको प्रयास हेरे पुग्छ । यी त भर्खर सार्वजनिक भएका प्रतिनिधि उदाहरण मात्रै हुन्। पुरुषसरह राजनीतिमा लागेर केही गर्छु भन्ने आँट गरेका अनगन्ती महिलाले यस्ता समस्या भोगिरहेका छन् । अपवाद बाहेकका उनीहरूले आफ्नो पहिचान बनाउने यात्रामा परिवार र पतिको आवश्यक सहयोग र हौसला नपाउँदा या त सार्वजनिक जीवन तथा राजनीति नै छोड्नुपर्ने या त परिवारबाट अलग्गिनुपर्ने अवस्था झेलिरहेका हुन्छन् । यसले गर्दा उनीहरू मानसिक तनावको सिकार भइरहेका हुन्छन् । यतिमात्र होइन, महिलालाई हेर्ने पुरुष मानसिकता (चाहे लोग्नेले हेर्ने दृष्टिकोण होस् चाहे परिवार र समाजले हेर्ने दृष्टिकोण)का कारण आम महिलाले कुनै न कुनै रूपको मानसिक तनाव झेल्न बाध्य छन्।

यहीँनिर एउटा प्रसंग जोड्न मन लाग्यो । यही वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको रात्रिभोज कार्यक्रममा एकजना नाम चलेका कानुन व्यवसायीले एकजना महिला अधिकारकर्मीसँग भन्दै गरेको कुरा मेरो कानमा प-यो, ‘साँचो अर्थमा लोकतन्त्र त तपाईंहरूलाई आएको छ नि ! अहिले त न्याय जति महिलाकै पोल्टामा छ । न्यायाधीशहरूले झ्यालबाट बाहिर हेरेर फैसला गर्छन् । इजलास बाहिर महिलाको पक्षमा नाराबाजी भएको छ भने फैसला महिलाकै पक्षमा हुन्छ । त्यतिमात्र होइन, श्रीमतीले आत्महत्या गरी भने पनि माइतीले उजुरी गर्नासाथ् लोग्ने र परिवार जेल पर्छन् । लोकतन्त्रको यो भन्दा ठूलो उपलब्धि के खोज्नुहुन्छ?’

के साँच्ची नै उनले भनेजस्तै न्यायाधीशहरूले महिलाका मुद्दा फैसला गर्दा नारा जुलुसलाई प्राथमिकता दिन्छन् होला त ? फेरि नाराबाजी गरेकै भरमा कति महिलाले न्याय पाएका होलान्? यसबारे छुट्टै बहसको पाटो बन्ला । यहाँनिर प्रश्न के हो भने, महिलाले किन आत्महत्या गरेर आफ्नै जीवनलाई समाप्त पार्छन् ? रहरले हो या परिवारलाई फसाउन ? या जीवन जिउनै कठिन भएर? महिलाहरूबाट भएका आत्महत्याका घटनाहरूलाई हेर्दा अधिकांश अत्महत्या लोग्ने र परिवारबाट हुने शारीरिक र मानसिक हिंसाका कारण भएका देखिन्छन् । अनि हिंसा गरेर आत्महत्या गर्न बाध्य पार्नेविरुद्ध उजुरी गर्ने कि नगर्ने ? कानुनको नजरमा ऊ दोषी हुन्छ कि हुँदैन? छोरा नपाएको निहुँमा वा दाइजो नल्याएको निहुँमा लोग्ने र परिवार मिलेर अनेकन् मानसिक र शारीरिक यातना दिँदै आफ्नी छोरी चेलीको हत्या हुँदा अथवा यही कारण उसले आत्महत्या गर्दा माइती चूप लागेर बस्नुपर्छ भन्ने कस्तो सोच हो ती कानुन व्यवसायीको ! अनि न्याय र अन्यायको बहस गर्ने वकिलहरूको यस्तो सोच रहँदासम्म अन्यायमा परेर न्यायको ढोका ढकढक्याउन पुगेका कति महिलाले न्याय पाउलान्?

प्रकाशित: २६ वैशाख २०७५ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App