नेपालमा आधुनिक सहकारी सुरु भएको ६८ वर्ष भएको छ। २०१३ चैत २० गते ६ महिलासहित ६० जना मिलेर प्रतिसदस्य रु. १० सदस्यता शुल्क तिरेर “बखानपुर सहकारी ऋण समिति” को नामले चितवनको शारदानगरमा नेपालको पहिलो आधुनिक सहकारी संस्था स्थापना गरेका थिए जसको सम्झनामा चैत २० लाई राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउने गरिन्छ।
सहकारी दिवस मनाउने प्रचलन अन्यत्र पनि छ। भारतमा त नोभेम्बर १४ देखि २० सम्म राष्ट्रिय सहकारी सप्ताह मनाउने गरिन्छ भने अमेरिकामा अक्टोबर महिनालाई सहकारी महिनाका रूपमा मनाइन्छ। अर्कोतर्फ जुलाइ महिनाको पहिलो शनिवारका दिन विश्भर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने चलन छ।
सहकारीले सामाजिक तथा आर्थिक विकासमा गरेको योगदानलाई मध्यनजर गरेर संयुक्त राष्ट्र संघले २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो भने १३ वर्ष नबित्दै संयुक्त राष्ट्र संघको आह्वानमा २०२५ लाई पुनः अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाइँदैछ। सहकारी दिवसका अवसरमा सहकारीले आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा खेलेको भूमिकाका बारेमा जागरुकता जगाउने र यसले दिगो विकासमा दिन सक्ने योगदानमाथि प्रकाश पार्ने गरिन्छ।
सहकारीको महत्त्व
सहकारीले विश्व अर्थतन्त्र र समाजमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ। अन्तर्राष्ट्रिय सहकारी गठबन्धनका अनुसार हाल विश्वभर ३० लाख जति सहकारी छन् जसका १.२ अर्ब सदस्य छन्। तिनीहरूले २८ करोड मानिसलाई रोजगारी दिएका छन् जुन विश्वको रोजगारी पाएका जनसंख्याको १० प्रतिशतको हाराहारीमा छ। यसैगरी विश्वका ३०० ठूला सहकारीले २ ट्रिलयन अमेरिकी डलर भन्दा बढीको आर्थिक कारोबार गरेको तथ्यले पनि सहकारीको आर्थिक महत्त्व छर्लंग्याउँछ।
नेपालमा २०७९/८० मा ३१,७१५ जति सहकारी रहेको अनुमान छ जसका सदस्यको संख्या करिब ७३ लाख छ, जसमध्ये ५६ प्रतिशत महिला छन्। सहकारीबाट ९३,००० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। सहकारीले रु. ९४ अर्ब सेयर पुँजी परिचालन गरेका थिए, रु. ४७८ अर्ब निक्षेप स्वीकार गरेका थिए र रु. ४२६ अर्ब ऋण प्रवाह गरेका थिए।
सहकारीबाट सदस्यहरूलाई विभिन्न प्रकारका आर्थिक लाभ प्राप्त हुन्छन्। उदाहरणका लागि सहकारीका माध्यमले सर्वसाधारणले अन्यथा उपयोग गर्न नसक्ने वस्तु तथा सेवामा पहँुच पाउँछन्। उपभोक्ताहरू आफूसँग भएको स–सानो पुँजी एकठ्ठा गरेर सहकारी गठन गर्छन, एक्लै उपभोक्ताको भन्दा सहकारीको मोलमोलाइ गर्ने शक्ति बढी हुँदा सहकारीले सस्तो मूल्यमा थोकमा सामान खरिद गर्दछन् र सदस्यहरूलाई सुपथ मूल्यमा बिक्री गर्दछन्।
यसरी सहकारीका माध्यमले बिक्री हुने वस्तुमा व्यापारीले बिक्री गर्ने वस्तुमा जस्तो मिसावट हुने, कम गुणस्तरको हुने र बिचौलियाको मोटो मुनाफाका कारणले मूल्य चर्को हुने खतरा हुँदैन।
यसैगरी कृषक, कारिगर, तथा साना व्यवसायीहरू आपसमा मिलेर स्रोत जम्मा गरेर सहकारी गठन गर्छन्, आफ्नो वस्तु उत्पादन गर्न आवश्यक सामग्रीहरू एकमुष्ट ठूलो मात्रामा सस्तोमा खरिद गर्छन् जसले गर्दा तिनीहरूले कम लागतमा वस्तु उत्पादन गर्न सक्छन् र त्यसलाई संगठित रूपमा बजारीकरण गरेर उचित मूल्यमा आफ्ना ग्राहकलाई बिक्री गर्न सक्छन्।
कतिपय अवस्थामा सदस्यहरूले सहकारीलाई सित्तैमा सेवा दिने वा अन्यत्रको भन्दा कम ज्यला वा तलवमा काम गर्ने हुँदा र बिचौलियका जस्तो उच्च मुनाफा नलिने हुँदा सहकारीबाट आपूर्ति हुने वस्तु तथा सेवा सस्तो हुने संभावना हुन्छ।
सहकारीको महत्त्व आर्थिक लाभमा मात्र सीमित हँुदैन। तिनीहरू लोकतान्त्रिक शासन पद्धति, सामाजिक जिम्मेवारी र दिगो विकासका संवाहक पनि हुन्। उदाहरणका लागि सहकारीमा सदस्यले लगाएको पुँजीका आधारमा नभै “एक सदस्य एक मत” हुने भएकाले सहकारीको लोकतान्त्रिक रूपमा नियन्त्रण हुन्छ। सहकारीमा सबै सदस्यको आवाज समान हुन्छ। यसले साझा जिम्मेवारीको भावना बढाउँछ र सदस्यहरूलाई सहकारीमा सक्रियरूपमा सरिक हुन प्रेरित गर्दछ। यस्तो समावेशिताले सामाजिक सम्बन्ध बलियो बनाउँछ र पारस्परिक सहयोगको संस्कृति बढाउँछ।
सहकारीमा अन्य व्यवसायमा जस्तो अस्वस्थ किसिमले प्रतिस्पर्धा हुँदैन। सहकारीको “सहकारी–सहकारीबिच पारस्परिक सहयोग” को सिद्धान्तअनुसार सहकारीले मिलेर काम गरेमा सदस्यहरूलाई प्रभावकारी रूपमा सेवा प्रदान गर्नुका साथै सहकारी आन्दोलनलाई सशक्त बनाउन सकिन्छ। यसैले सहकारी एकअर्कालाई सहयोग गर्दछन् र आपसमा स्वस्थ सम्बन्ध कायम राख्छन्।
सहकारी अन्य प्रकारका निजी व्यवसायमा जस्तो लगानीकर्ताको मुनाफा अत्यधिक गर्ने भन्दा पनि सदस्य र समुदायको हितलाई बढी महत्त्व दिन्छन्। तिनीहरू निजी क्षेत्रका कम्पनीहरूले सामाजिक कर्पोरेट उत्तरदायित्वअन्तर्गत आफ्नो मुनाफाको निश्चित प्रतिशत परोपकारी कार्यका लागि छु्ट्याउने प्रचलन भन्दा एक कदम अगाडि हुन्छन्। सहकारी जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष, सहकारी प्रवद्र्धन कोष जस्ता विभिन्न कोष खडा गर्दछन् जुन सहकारीको विस्तार गर्न, संकटका बेला वित्तीय कठिनाइ टार्न र सामुदायिक विकास गर्न प्रयोग गरिन्छन्।
सहकारीले सदस्यहरूलाई सेयर पुँजीको १५ प्रतिशत भन्दा बढी सेयर लाभांश वितरण गर्दैनन्। सहकारीमा कसैको एकाधिपत्य कायम नहोस् भन्नका लागि एक सदस्यले कुल सेयरको २० प्रतिशत भन्दा बढी सेयर खरिद गर्न पाउँदैन। अर्कोतर्फ मुनाफा कमाउने संभावना नभएका वा कम संभावना भएका विकट तथा ग्रामीण क्षेत्रमा मुनाफाखोरी निजी क्षेत्र लगानी गर्न चाहँदैन भने ती क्ष्रेत्रमा सहकारी सञ्चालित भै रोजगारी सिर्जना गर्दछन्, सेवा प्रदान गर्छन्, सामाजिक पुँजी निर्माण गर्छन् र पिछडिएका र विपन्न समूहलाई मद्दत गर्छन्।
आर्थिक असमानता विश्वव्यापी रूपमा चुनौतीपूर्ण बन्दै गएको वर्तमान घडीमा सहकारी आयको असमान वितरण कम गरेर सामाजिक न्याय कायम गर्न सहयोगी हुन्छन्। उदाहरणका लागि अमेरिकी कम्पनीहरूमा सिइओको तलब र औसत कामदारको तलबको अनुपात औसतमा ३२०ः१ हुने गरेकामा यस्तो अनुपात सहकारीमा सामान्यतया २ः१ देखि ४ः१ बीच हुने गरेको छ।
प्रकाशित: २० चैत्र २०८१ ०५:४० बुधबार