१० चैत्र २०८१ आइतबार
image/svg+xml
विचार

एकताको महाकुम्भः नयाँ युगको बिहानी

पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ। एकताको भव्य महायज्ञ सम्पन्न भएको छ। जब कुनै राष्ट्रको सचेतना जागृत हुन्छ, जब त्यो शताब्दीऔं पुरानो अधीनताको मानसिकताको बन्धनबाट मुक्त हुन्छ, तब त्यसले नयाँ ऊर्जाको ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्छ। यसको परिणाम  २०८१ पुस २९ देखि प्रयागराजमा भएको एकताको महाकुम्भमा देखियो।

अयोध्यास्थित राम मन्दिरको प्राण–प्रतिष्ठाका क्रममा २०८० माघ ८ गते मैले देवभक्ति र देशभक्ति, दिव्यशक्ति र राष्ट्रप्रतिको समर्पणबारे कुरा गरेँ। प्रयागराजमा भएको महाकुम्भमा देव तथा देवी, सन्त, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र जीवनका सबै क्षेत्रका मानिस एकसाथ भेला भएका थिए। हामीले राष्ट्रको जागृत चेतना देख्ने मौका पायौं। यो एकताको महाकुम्भ थियो, जहाँ यस पवित्र अवसरका लागि एक सय ४० करोड भारतीयहरूको भावना एकै ठाउँमा र एकै समयमा सम्मिलित भएको थियो।

प्रयागराजको यस पवित्र क्षेत्रमा एकता, सद्भाव र प्रेमको पवित्र भूमि शृङ्गवेरपुर छ, जहाँ प्रभु श्रीराम र निषादराजको भेट भएको थियो। उहाँहरूको भेट भक्ति र सद्भावको स·मको प्रतीकका रूपमा मानिएको छ। प्रयागराजले आज पनि हामीलाई उही भावनाले प्रेरित गर्छ।

यी ४५ दिनमा मैले देशका कुनाकुनाबाट करोडौं मानिस संगममा आउँदै गरेको देखेँ। संगममा भावनाको लहर उठिरह्यो। प्रत्येक भक्त एउटै उद्देश्यसाथ आएका थिए– संगममा डुबुल्की मार्न। गंगा, यमुना र सरस्वतीको पवित्र स·मले प्रत्येक तीर्थयात्रीलाई उत्साह, ऊर्जा र आत्मविश्वासले भरिदियो।

प्रयागराजमा आयोजना भएको यो महाकुम्भ आधुनिक व्यवस्थापन पेसेवरहरू, योजना र नीति विज्ञहरूका लागि अध्ययनको विषय हो। संसारमा कतै पनि यस स्तरको समानान्तर वा उदाहरण छैन।

प्रयागराजस्थित नदीहरूको संगमस्थलको तटमा करोडौं मानिस कसरी भेला भए भनेर संसारले आश्चर्यचकित भएर हेर्‍यो। यी मानिसलाई कहिले जाने भन्नेबारे न त कुनै औपचारिक निमन्त्रणा नै थियो, न त पूर्वसूचना नै। तैपनि करोडौं मानिस आफ्नै इच्छाले महाकुम्भका लागि निस्किए र पवित्र जलमा डुबुल्की मारी आनन्द महसुस गरे।

पवित्र स्नानपछि अपार आनन्द र सन्तुष्टि फैलिएका ती अनुहारहरू म बिर्सन सक्दिनँ। महिला, वृद्धवृद्धा, हाम्रा दिव्या· दाजुभाइ–दिदीबहिनीहरू सबैले संगम पुग्ने अवसर पाए।

भारतका युवाहरूको उल्लेखनीय सहभागिता देखेर मलाई विशेष खुसी लाग्यो। महाकुम्भमा युवा पुस्ताको उपस्थितिले भारतका युवाहरू हाम्रो गौरवशाली संस्कृति र सम्पदाको संरक्षक हुनेछन् भन्ने महत्त्वपूर्ण सन्देश दिन्छ। उनीहरूले यसको संरक्षण गर्ने आफ्नो जिम्मेवारी बुझेका छन् र यसलाई अगाडि बढाउन प्रतिबद्ध रहेका छन्।

यस महाकुम्भका लागि प्रयागराजमा आइपुगेका मानिसहरूको संख्याले निस्सन्देह नयाँ रेकर्ड बनाएको छ। तर भौतिक रूपमा उपस्थित भएकाबाहेक प्रयागराज पुग्न नसकेका करोडौं मानिस पनि यस अवसरसँग भावनात्मक र गहिरो रूपमा जोडिएका थिए। तीर्थयात्रीहरूले फर्कंदा ल्याएको पवित्र जल करोडौं मानिसका लागि आध्यात्मिक आनन्दको स्रोत बन्यो। महाकुम्भबाट फर्केका धेरैलाई उनीहरूको गाउँमा सम्मानसाथ स्वागत गरियो र समाजले पनि सम्मान गर्‍यो।

पछिल्ला केही हप्तामा जे भयो, त्यो अभूतपूर्व रहेको छ र यसले आउने शताब्दीहरूका लागि पनि जग बसालेको छ। प्रयागराजमा कसैले कल्पना गरेभन्दा धेरै भक्तजन आइपुगे। प्रशासनले कुम्भको विगतको अनुभवका आधारमा उपस्थितिको अनुमान गरेको थियो।  यस एकताको महाकुम्भमा लगभग संयुक्त राज्य अमेरिकाको दोब्बर जनसंख्याले भाग लिए।

आध्यात्मिकताका विद्वान्हरूले करोडौं भारतीयको उत्साहजनक सहभागिताको विश्लेषण गरे भने उनीहरूले थाहा पाउनेछन् कि आफ्नो सम्पदामा गर्व गर्ने भारत अब नयाँ ऊर्जासाथ अगाडि बढिरहेको छ। मलाई विश्वास छ, यो नयाँ युगको बिहानी हो, जसले नयाँ भारतको भविष्य कोर्नेछ।

महाकुम्भले हजारौं वर्षदेखि भारतको राष्ट्रिय चेतनालाई बलियो बनाएको छ। प्रत्येक पूर्णकुम्भमा सन्त, विद्वान् र विचारकहरूको भेला हुने गथ्र्यो, जसले आफ्नो समयमा समाजको अवस्थाबारे विचार–विमर्श गर्थे। उनीहरूको चिन्तनले राष्ट्र र समाजलाई नयाँ दिशा प्रदान गर्थ्याे। प्रत्येक ६ वर्षमा हुने अर्धकुम्भमा यी विचारहरूको समीक्षा गरिन्थ्यो। एक सय ४४ वर्ष अवधिमा हुने १२ पूर्णकुम्भपछि प्रचलित समयसँगै अगाडि बढ्न अप्रचलित परम्पराहरू त्यागिए र नयाँ विचारहरू अँगालिए।

एक सय ४४ वर्षपछि भएको यस महाकुम्भमा हाम्रा सन्तहरूले भारतको विकास यात्राका लागि फेरि एक पटक हामीलाई नयाँ सन्देश दिएका छन्। त्यो सन्देश हो– विकसित भारत।

यस एकताको महाकुम्भमा हरेक तीर्थयात्री, चाहे धनी हुन् वा गरिब, युवा हुन् वा वृद्ध, गाउँ होस् वा सहर, भारत होस् वा विदेश, पूर्व होस् वा पश्चिम, उत्तर होस् वा दक्षिण, जात, धर्म र विचारधारा जस्तोसुकै भए पनि सबै एकसाथ आए। यो एक भारत श्रेष्ठ भारतको दृष्टिकोणको मूर्त रूप थियो, जसले करोडौं मानिसमा विश्वास भरेको थियो। अब हामी विकसित भारत निर्माणको लक्ष्यका लागि उही भावनामा एकसाथ आउनुपर्छ।

मलाई त्यो घटनाको सम्झना आउँछ, जतिबेला बालरूप श्रीकृष्णले आफ्नो मुखभित्रको सम्पूर्ण ब्रह्माण्डको झलक आफ्नी आमा यशोदालाई प्रकट गर्नुभएको थियो। त्यसैगरी यस महाकुम्भमा भारत र विश्वका जनताले भारतको सामूहिक शक्तिको विशाल सम्भावनाको साक्षात्कार गरेका छन्। अब हामी आत्मविश्वाससाथ अगाडि बढ्नुपर्छ र विकसित भारत निर्माणमा आफूलाई समर्पित गर्नुपर्छ।

पहिले भक्ति आन्दोलनका सन्तहरूले भारतभरि हाम्रो सामूहिक संकल्पको शक्ति पहिचान र प्रोत्साहन गरेका थिए। प्रत्येक महान् विचारक, स्वामी विवेकानन्ददेखि श्री अरविन्दसम्मले हामीलाई हाम्रो सामूहिक संकल्पको शक्तिको सम्झना गराए। महात्मा गान्धीले पनि स्वतन्त्रता आन्दोलनका क्रममा यसको अनुभव गरेका थिए।

स्वतन्त्रतापछि यो सामूहिक शक्तिलाई सही रूपमा पहिचान गरिएको भए र सबैको कल्याणलाई बढावा दिन प्रयोग गरिएको भए यो नयाँ स्वतन्त्र राष्ट्रका लागि एक महान् शक्ति बन्ने थियो। दुर्भाग्यवश यो पहिले नै गरिएन। तर अब विकसित भारतका लागि जनताको यो सामूहिक शक्ति एकसाथ आएको हेर्न पाउँदा म हर्षित छु।

वेददेखि विवेकानन्दसम्म, प्राचीन शास्त्रदेखि आधुनिक उपग्रहसम्म भारतका महान् परम्पराहरूले यस राष्ट्रलाई आकार दिएका छन्। एक नागरिकका रूपमा म प्रार्थना गर्छु कि हामी हाम्रा पुर्खा र सन्तहरूको सम्झनाबाट नयाँ प्रेरणा लिन सकौं। यो एकताको महाकुम्भले हामीलाई नयाँ संकल्पहरू लिएर अगाडि बढ्न मद्दत गरोस्। आउनुहोस्, हामी एकतालाई हाम्रो मार्गदर्शक सिद्धान्त बनाऔं। राष्ट्रको सेवा नै ईश्वरको सेवा हो भन्ने बुझाइसाथ काम गरौं।

काशीमा मेरो चुनावी अभियानका क्रममा मैले भनेको थिएँ, ‘गंगा माताले मलाई बोलाउनुभएको छ।’ यो केवल भावना मात्र थिएन, हाम्रा पवित्र नदीहरूको स्वच्छताप्रति जिम्मेवारीको आह्वान पनि थियो। प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको संगममा उभिएर मेरो संकल्प अझ बलियो भयो। हाम्रा नदीहरूको स्वच्छता हाम्रो आफ्नै जीवनसँग गहिरो रूपमा जोडिएको छ। हाम्रा नदी चाहे ठुला हुन् वा साना, जीवनदाता आमाहरूका रूपमा मनाउनु हाम्रो जिम्मेवारी हो। यो महाकुम्भले हामीलाई हाम्रा नदीहरूको स्वच्छतातर्फ काम गरिरहन प्रेरित गरेको छ।

मलाई थाहा छ कि यति ठुलो कार्यक्रम आयोजना गर्नु सजिलो काम थिएन। हाम्रो भक्तिमा कुनै कमीकमजोरी भएको खण्डमा म गंगा माता, यमुना माता र सरस्वती मातासँग क्षमा माग्छु। मैले जनता जनार्दनलाई दिव्यताको अवतारका रूपमा देखेको छु। हाम्रो सेवामा कुनै कमीकमजोरी भएको भए म जनताबाट पनि क्षमा चाहन्छु।

करोडौं मानिस भक्तिभाव लिएर महाकुम्भमा आए। उनीहरूको सेवा गर्नु पनि त्यही भक्तिभावले पूरा गरिएको जिम्मेवारी थियो। म गर्वसाथ भन्न सक्छु कि उत्तर प्रदेशको संसद् सदस्यका रूपमा रहनुभएको योगीजीको नेतृत्वमा प्रशासन र जनताले यो एकताको महाकुम्भलाई सफल बनाउन मिलेर काम गरे।

चाहे त्यो राज्य होस् वा केन्द्र, त्यहाँ कुनै शासक वा प्रशासक थिएनन्, बरु सबैजना समर्पित सेवक थिए। सरसफाइ कर्मचारी, प्रहरी, डुंगा चालक, ड्राइभर, खाना खुवाउने मानिसहरू सबैले अथक परिश्रम गरे। धेरै असुविधाका बाबजुद प्रयागराजका जनताले खुला हृदयले तीर्थयात्रीलाई स्वागत गर्ने तरिका विशेष प्रेरणादायी थियो। म उनीहरू र उत्तर प्रदेशका जनताप्रति हार्दिक कृतज्ञता र प्रशंसा व्यक्त गर्छु। हाम्रो राष्ट्रको उज्ज्वल भविष्यप्रति मेरो सधैं अटल विश्वास रहेको छ। यो महाकुम्भको साक्षात्कार हुँदा मेरो विश्वास धेरै गुणा बलियो भएको छ।

एक सय ४० करोड भारतीयले एकताको महाकुम्भलाई विश्वव्यापी उत्सवमा परिणत गर्ने तरिका साँच्चै अद्भुत छ। हाम्रा जनताको समर्पण, भक्ति र प्रयासबाट प्रभावित भई म चाँडै नै १२ ज्योतिर्लिंगहरूमध्ये पहिलो श्री सोमनाथको भ्रमण गर्नेछु र यी सामूहिक राष्ट्रिय प्रयासहरूको फल उहाँलाई अर्पण गरी प्रत्येक भारतीयका लागि प्रार्थना गर्नेछु।

महाकुम्भको भौतिक रूप महाशिवरात्रिमा सफलतापूर्वक समापन भएको हुन सक्छ तर गंगाको शाश्वत् प्रवाहजस्तै महाकुम्भले जागृत गरेको आध्यात्मिक शक्ति, राष्ट्रिय चेतना र एकताले हामीलाई भावी पुस्तासम्म प्रेरणा दिइरहनेछ।

–लेखक भारतीय प्रधानमन्त्री हुन्।

प्रकाशित: १८ फाल्गुन २०८१ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App