२३ भाद्र २०८१ आइतबार
image/svg+xml
विचार

गाउँमा सायद पहिरो गयो कि !

विकट भौगोलिक संरचनाका कारण नेपालजस्तो मुलुकमा बाटो अथवा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिन्छ। गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्‍याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।

गाउँलाई सडक सञ्जालले जोड्ने काममा सबैभन्दा अगाडि आउने साधनको नाम हो डोजर। गाउँमा कतै डोजर पुगेको छ भने त्यहाँ बाटो खनिँदैछ अथवा सडक बन्दैछ भनेर बुझ्दा हुने भएको छ। किनभने गाउँमा डोजर पुग्नु भनेको त्यहाँ बाटो अथवा सडक बन्नु हो र सडक बन्नु भनेको गाउँमा विकास पुग्नु हो भन्ने मान्यता स्थापित भएको छ।

साँच्चै भन्ने हो भने अहिले डोजरलाई विकासको बिम्बकै रूपमा हेर्न थालिएको छ। त्यसैले अरू सबै कुरालाई थाँती राखेर पनि स्थानीय जनप्रतिनिधिहरूले गाउँमा डोजर पुर्‍याउने कामलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन्। साँच्चै भन्ने हो भने अहिले गाउँगाउँमा डोजर पुर्‍याउने प्रतिस्पर्धा नै चलेको छ।

हिजोका दिनमा गाउँ विकासको पर्खाइमा थियो। गाउँको विकासका लागि मुख्य आधार मानिएको सडक सञ्जाल निर्माणका लागि गाउँमा डोजर पुर्‍याउनुपर्ने आवश्यकता नै थियो। डोजरकै माध्यमबाट गाउँगाउँमा सडक बनेको सत्य हो। सडक बनेपछि मात्रै गाउँको विकासको बाटो खुलेको हो। सडकसँगसँगै गाउँमा अरू धेरैथोक पुगेको हो। शिक्षा, सञ्चार, स्वास्थ्य, बजार आदिको सेवा र सुविधा सडककै कारण सहज भएको हो।

गाउँगाउँमा डोजर पुगेपछि विकासमात्रै भएको छैन, विनास पनि सुरु भएको छ। अध्ययनै नगरी अथवा वातावरणीय प्रभावसम्बन्धमा कुनै मूल्यांकन नै नगरी गाउँका खेत, बारी र पहाडका कुनाकन्दरामा डोजर चलाउँदा सडक त बनेको छ, सँगसँगै स्थानीय वातावरणमा दूरगामी नकारात्मक असर पनि परेको छ। कुनै व्यवस्थित र दीर्घकालीन योजना र वातावरणीय प्रभाव मूल्यांकन नै नगरी डोजर चलाएर जथाभावी खनिएका सडकहरूले गाउँलाई सहरसम्मको सडक सञ्जालमा त जोडिदिएको छ, वातावरणीय समस्या पनि निम्त्याएको छ र गाउँमा विकाससँगसँगै विनास पनि गरेको छ। विकाससँगसँगै विनास पनि आउँदा विकाससँग रमाएका जनता विनाससँग त्रसित भएर बाँच्न बाध्य भएका छन्। विकासको नाउँमा वातावरणीय तथा सामाजिक र सांस्कृतिक विनास गरेर मानिसलाई नै विस्थापित हुन बाध्य पारेपछि त्यस्तो विकास किन, केका लागि र कसका लागि भन्ने प्रश्न उठ्न थालेका छन्।

जनताको विकासप्रतिको तीव्र आकांक्षालाई भोटसँग साट्न पल्केका राजनीतिक पार्टीका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूले छिट्टै गाउँमा विकास पुगेको भ्रम छर्नका लागि गाउँगाउँसम्म डोजर पुर्‍याउने प्रतिस्पर्धा गरिरहेका छन्। गाउँमा सडक खन्दै पुगेको डोजरलाई देखेर विकासको कल्पना गर्ने जनताले त्यही हतारको विकासले निम्त्याउने विनासको कल्पना भने गरेका छैनन्। जथाभावी सडक खन्दा त्यहाँको गाउँमा पानीको मुहान सुक्ने, बर्खाको भेलसँगै मलिलो माटो बग्ने र पहिरो खस्ने समस्या जताततै देखिएका छन्। बिनायोजना अव्यवस्थित रूपमा सडक खन्दाको परिणामका रूपमा पहिराको समस्या देखिएको छ। बेलाबेलामा आइरहने भूकम्पले भित्रभित्रै कमजोर पारेको जमिनमा डोजर चलाउँदा त्यो जमिन झनै कमजोर भएर बर्खाको बेला पहिरो खस्ने समस्याले स्थानीय वासिन्दालाई त्रसित र भयभीत पारेको छ।

गाउँका जनतामा गाउँको विकास छिटो होस् भन्ने आकांक्षा छ र आतुरता पनि छ। जनताको आकांक्षा छिटो पूरा गर्न जनप्रतिनिधिहरू पनि आतुर छन्। परिणामतः तोक र आदेशका भरमा डोजर गाउँगाउँ पुर्‍याइएका छन्। विकासका आकांक्षी जनतालाई तत्काल खुसी पार्ने प्रयास भएका छन्। आवश्यकताको पहिचान र वातावरणीय प्रभाव मूल्यांकन नै नगरी चाहिने नचाहिने सबै ठाउँमा सडक खन्दा त्यो सडकले दिगो अर्थ–सामाजिक लाभ दिन सक्दैन, बरु प्राकृतिक प्रकोपको समस्यालाई थप चर्काएको छ।

यो वर्ष औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ। बढी वर्षा हुँदा पहिराको जोखिम पनि बढी नै हुन्छ। यस्तै जोखिमले गर्दा मानवीय र भौतिक क्षति पनि बढ्ने गर्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने पूर्वानुमान गरेको छ। साथै मनसुनकै क्रममा विपद्बाट करिब १८ लाख मानिस र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुनसक्ने अनुमान पनि गरिएको छ।

यसरी मनसुनको समयमा अत्यधिक वर्षाको कारण बाढी र पहिराको समस्या बढ्ने गरेकामा जथाभावी गरिएको डोजरे विकासले त्यस्तो समस्यालाई थप चर्काएको छ। बिनायोजना र बिनाअध्ययन जथाभावी बाटो अथवा सडक खन्दाको परिणामको रूपमा गाउँगाउँमा पहिराको समस्या निकै बढेको छ। हिजो गाउँमा सडक आयो र सडकसँगै सबै थोक आयो भनेर रमाएका जनता अहिले बर्खा लाग्यो कि पहिरोमा पुरिएर मरिने हो कि भन्ने चिन्ताले ग्रस्त छन्।

अनि गाउँबाट सहरमा आई बस्नेहरूलाई चाहिँ गायक दीप श्रेष्ठले गाएको गीतमा झैं ‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि’ भन्ने लाग्छ। गाउँमा बस्ने र गाउँबाट सहरमा आई बस्नेलाई पनि पहिरोमा सारा सपनाहरू पुरिन्छन् कि भन्ने चिन्ता छ र भय छ। त्यसैले अहिले प्रतिस्पर्धाकै रूपमा देखिएको डोजरे विकासलाई व्यवस्थित गर्नु अति आवश्यक भइसकेको छ।

प्रकाशित: २ श्रावण २०८१ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App