२०७९ सालको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको शानदार सफलतापछि समाजिक सञ्जालमा नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता पार्टीहरूलाई अब सच्चिने कि सक्किने हो भनेर खिसीटिउरी गर्ने तथा अर्थपूर्ण कडा प्रहार गर्ने कार्य भैरहेका छन्। कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।
आमनागरिक मात्र होइन, तत्तत् पार्टीका कतिपय कार्यकर्ता तथा युवा नेताहरूले समेत यस्तै आशय व्यक्त गरेका छन्। कांग्रेस नेता शेखर कोइराला तथा गगन थापा समूहले यही मौकामा जोडतोडका साथ पार्टी रूपन्तरणको मुद्दा उठाउँदै आएका छन् भने देउवा समूह भने मौन छ। मानौं, देउवा नेतृत्वको कुनै गल्ती तथा कमजोरी छैन, उनीभन्दा सक्षम नेता कांग्रेसमा अर्को छैन।
देउवा, ओली तथा प्रचण्डहरू यस विषयमा मौन भए पनि माधव नेपालले भने अब पनि हामी सच्चिएनौं भने ठूलो मूल्य चुकाउनुपर्छ भनेका छन्। तर यो उनको ओठे गफ मात्र हो। त्यो किनभने स्वयं उनी नै प्रधानमन्त्रीको आशमा र्याल काढेर ढुकेका छन्। देउवा, ओली, प्रचण्ड तथा माधव जस्ता पटक पटक मन्त्री तथा प्रधानमन्त्री भएका कोही पनि नेता सच्चिनेवाला छैनन्। सच्चिन आवश्यक पनि ठान्दैनन्। देउवा पाँच–पाँच पटक प्रधानमन्त्री हुँदासमेत सच्चिएनन् भने अब कहिल्यै सच्चिएलान् ?
कुनै पनि व्यक्तिले कार्य गर्दा आफ्नो गल्ती तथा कमी कमजोरी देख्यो भने पो सच्चिन्छ वा सच्चिने प्रयास गर्छ। मैले जे गरेको छु, ठीक गरेको छु, मभन्दा सक्षम व्यक्ति अर्को को छ भन्ने अहं छ भने व्यक्ति सच्चिने कुरै भएन। मनोविज्ञानको एक गहन विषय के हो भने प्रायः व्यक्तिले आफैं बनाएको अंहकारको पहाड आफैं भत्काउने साहस नै गर्दैन। यस्ता व्यक्तिमा के भ्रम हुन्छ कि यही अहं नै उसको सम्पत्ति हो। तर वास्तविकता भने के हो भने अंहकारको त्यो पहाड नभत्काएसम्म कसैले सच्चिने कल्पना नगरे पनि हुन्छ। सच्चिनुपर्ने व्यक्ति नसच्चिएसम्म सफलताको शिखरमा झण्डा गाड्न सक्ने सवालै भएन।
समस्याको जड भनेको नै अंहकार हो। यही अंहकारका कारण नै ठूलाठूला नेता, पार्टी तथा साम्राज्यहरू गल्र्यामगुर्लुम ढलेका छन्। श्रीमद्भगवत् गीतामा श्रीकृष्णले दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आसुरी सम्पदा भनेका छन्। यिनै दुर्गुणहरूले मानिसलाई अधोगतितिर लान्छ, मानिसको विनाश गर्छ भनेका छन्।
मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार विन्ती गरेकी थिइन्। तर रावणले ठाडै अस्वीकार गरे। रावणमा विश्व विजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैनन्। रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो। रावणको पतन भयो।
कृष्णले धृतराष्ट्रको दरबारमा दुर्योधनको उपस्थितिमा पाण्डवको तर्फबाट सन्धिको प्रस्ताव राखेका थिए। पाण्डवलाई पाँच गाउँ दिने हो भने युद्ध रोकिन्छ भनेका थिए। तर अहंकारी दुर्योधनले कृष्णको प्रस्ताव ठाडै अस्वीकार गरे। नतिजा महाभारत युद्ध भयो। कौरवको विनाश भयो।
अहंकार यस्तो नकारात्मक मानवीय भावना हो जसका कारण मानिसले आफूलाई जीवनको हरक्षेत्रमा उत्कृष्ट मान्न थाल्छन्। अरूलाई निचो देखाउने प्रयास गर्छन् र अरूलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्छन्। केही उचाइमा पुगेपछि उसको अहंकार झनै बढ्छ। अनि मदोन्मत्त हुन्छन्। अहंकारको मातमा मानिसले अरूको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैनन्। अंहकारकै कारण मानिसले पाप गर्छन्, अपराध गर्छन्। अहंकार कारण नै जीवनमा दुःखद घटनाहरू पैदा हुन्छन्। अहंको कारण नै मानिसको पतन हुन्छ। त्यसबेला उसलाई साथ दिने कोही हुँदैनन्। यसरी नै मानिसको व्यक्तित्व नष्ट हुन्छ। अनेक मानसिक समस्या पनि यही अहंकारका कारण नै पैदा हुन्छन्।
सबैले बुझ्नुपर्ने कुरा के हो भने यस संसारका हरेक व्यक्ति चाहे शारीरिकरूपमा कति नै कमजोर तथा मानसिकरूपमा कति नै खराब किन नहोस्, उसमा कुनै न कुनै गुण अवश्य हुन्छ भने मानिस जति नै शक्तिशाली वा असल किन नहोस् उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ। भनिएको नै छ, गुण नभएका राक्षस हुँदैनन्, अवगुण नभएका देउता हुँदैनन्। त्यसैले अहंले मदोन्मत्त भएर कसैले कसैलाई अवमूल्यन गर्नुहुँदैन।
अहंकारको जन्म आत्मप्रशांसाको बिजबाट पैदा हुन्छ। स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ। तर यो एक झुटो सत्य हो। त्यो किनभने जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो, जो मानिसले आफैँ निर्माण गरेको हुन्छ। वास्तवमा अहं मानिसको छायाँ जस्तै हो। जस्तो कि शरीर छ भने छायाँ पनि हुन्छ। छायाँ न राम्रो हुन्छ न नराम्रो। सूर्य माथि भयो भने छायाँ सानो हुन्छ, सूर्य ढल्दै जाँदा छायाँ अग्लो हुन्छ। यसरी हेर्दा अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भड्काउँछ।
प्रकाशित: १८ जेष्ठ २०८१ ०७:०७ शुक्रबार