काठमाडौँमा भइरहेको सडक विस्तार तथा निर्माणमा सहरी सडकको आधारभूत संरचनालाई बेवास्ता गरिएको भनेर आवाज उठिरहेको छ। सडक विस्तार र ट्राफिक जामको नाममा कालोपत्रेको क्षेत्रफल मात्र बढाउन लागिएको भनेर यस क्षेत्रका विज्ञहरूले भन्दै आएका छन् र यस्तो देखिन्छ पनि। काठमाडौँ उपत्यकामा सडकको लम्बाइ करिब १५ सय किमि छ भनिन्छ, तर काठमाडौँमा भएको सवारी साधनको लम्बाइ करिब २२ सय किमि रहेको अनुमान छ। त्यस्तै काठमाडौँमा सडकको क्षेत्रफल करिब करिब ६ प्रतिशत मात्र छ ।व्यवस्थित सहरका लागि सडकको क्षेत्रफल करिब १५ प्रतिशत आवश्यक पर्ने अध्ययनले देखाउँछ ।
के काठमाडौँमा निर्माण भएका र हुँदै गरेका सडक र अन्य संरचनाहरू ठीक छन् ? के हाम्रा सडकमा पैदल यात्रीलाई सहज छ त ? अहिले रिङरोडको मात्र धेरै कुरा उठिरहेको छ । काठमाडौँको करिब ५०० किमि दुई वा बढी लेनहरू भएको सडकमध्ये रिङरोड करिब २७किमि मात्र हो । त्यसैले समग्र काठमाडौँ उपत्यकाका सडकको बारेमा कुरा गर्नु सान्दर्भिक हुन्छ ।
काठमाडौँमा निर्माण भएका र हुँदै गरेका सडक संरचना ठीक छन् ? के हाम्रा सडकमा पैदल यात्री, साइकल यात्री, अपांगता भएकालाई ठाउँ छ ? सवारी साधन नघटाई कतिन्जेल चौडा पारिरहने ?
प्रस्तावित सहरी सडक मापदण्डले सहरी सडकलाई ६ प्रकारमा वर्गीकृत गरेको छ जसमा पथ, सडक, मार्ग, गल्ली, पदयात्री क्षेत्र र साइकल लेन।
पथअन्तर्गत रणनैतिक सडक खण्ड (जस्तै, माइतीघर—सूर्यविनायक जुन अरनिको राजमार्गअन्तर्गत पनि पर्छ) जुन सहरभित्र पर्छ र अन्य ४ वा सोभन्दा बढी लेन भएका सडक पर्छन्, जस्तै कान्तिपथ । यो बाटोको डिजाइन ८० किमिप्रतिघन्टाका लागि गरिने भए पनि सहरी क्षेत्रमा ४०—५० किमिप्रतिघन्टाका लागि मात्र अनुमति दिने उल्लेख छ । सडकलाई स्थानीय सडक (बाटो) वा उपयोगको हिसाबले वितरक सडक भन्न पनि सकिन्छ । प्रस्तावित सहरी सडक मापदण्डले अहिले भनिने गरेका सबै सडकहरूलाई कम्तीमा पनि निम्न स्तरको सडकमा उन्नयन गर्ने भनिएको छ । सडकको चौडाइ कम्तीमा पनि १६ मिटरको हुनुपर्ने भनिए पनि नयाँ सहरहरू यसको चौडाइ कम्तीमा पनि २० मिटर राखिनुपर्छ। यो सडक दुई लेनको हुनुपर्ने र सार्वजनिक यातायातलाई छुट्टै लेन राख्न सकिने भनिएको छ । यसमा कार, बसहरूलाई भन्दा पैदल र साइकल यात्रीलाई प्रमुख प्राथमिकतामा राखी सडकको दुवैतिर फुटपाथ राखिनुपर्ने भनिएको छ । काठमाडौँका सडकमा पैदाल यात्रीलाई प्राथमिकता दिइएको पाइँदैन । त्यस अनुसारको संरचना छँदै छैन । सडकको डिजाइन ६५ किमिप्रतिघन्टाका लागि गरिने भए पनि सहरी क्षेत्रमा ३० किमिप्रतिघन्टाका लागि मात्र अनुमति दिने उल्लेख छ। पथ र सडकहरूमा पैदलयात्री र साइकलको (यन्त्रविहीन यातायात) का लागि छुट्टै लेन (फुटपाथ) हुनुपर्ने उल्लेख छ। पथ र सडकको दुवैतिर कम्तीमा २.५ मिटरको फुटपाथ हुनुपर्ने भनिएको छ।
मार्ग भनेको प्रवेश सडक हो । यसमा प्रमुख गरी स्थानीय यातायातलाई मात्र अनुमति दिइने र तोकिएको गतिमा चलाउनुपर्ने भन्ने हुन्छ । अरू कुनै सामान ओसार्ने सानासाना साधनलाई निश्चित समय तोकेर प्रवेश दिन सकिन्छ । यसमा मार्गको दुवैतिर कम्तीमा पनि १.५ मिटरको फुटपाथ चाहिन्छ ।कार तथा ट्याम्पु चल्ने भित्री सडक यसअन्तर्गत पर्छन् जसको चौडाइ ५.५—६ मिटर हुन्छ । यो बाटोको डिजाइन ४० किमिप्रतिघन्टाका लागि गरिने भए पनि सहरी क्षेत्रमा २० किमिप्रतिघन्टाका लागि मात्र अनुमति दिने उल्लेख छ।
गल्ली भन्नाले साँघुरो बाटो (चार मिटरभन्दा कम चौडाइ भएको) भन्ने बुझिन्छ । यो पूर्णतः यन्त्रविहीन यातायात (पैदल र साइकल) का लागि हो । स्थानीयहरूको मोटरसाइकल पनि सञ्चालन हुनसक्छ,सीमित गतिमा।
पदयात्रु क्षेत्र विशेष गरी पैदल यात्रीका लागि हो तर पनि सीमित गतिमा सहरी बस, ठेला, ह्विल चियर र आपतकालीन सेवाका साधन चल्न सक्छन् । अरू सवारी साधन रात्रिको समयमा मात्र चल्न पाउँछन्, अहिले ठमेल र असनलाई पदयात्री क्षेत्र घोषणा गरिएको छ । साइकल लेनमात्र साघुँरो गल्लीहरूमा बनाइन्छ । यसमा पनि सम्भव भएसम्म रातिको समयमा अरू सवारी साधन चल्छन् भने आपतकालीन साधनलाई रोकावट हुँदैन । मापदण्डमा के छ ?
साइकल लेन
यदि कुनै बाटोमा प्रतिघन्टा ४०० साइकल चल्छन् भने छुट्टै साइकल लेन बनाउनुपर्ने नत्र अरू सवारी साधनको लेनमै साइकल चल्न सक्ने भनिएको छ । यद्यपि उक्त बाटोमा प्रतिघन्टा २०० कारभन्दा बढी हुन नहुने छ । यदि बाटोमा प्रतिघन्टा १ हजार कार चल्छन् भने साइकल कम चल्ने (१०० साइकल प्रतिघन्टा) भए पनि छुट्टै साइकल लेन राख्ने भनिएको छ ।साइकल लेनको चौडाइ कम्तीमा १–२ मिटर हुन्छ, १ भन्दा बढी लेन आवश्यक परेमा १ मिटर प्रतिलेन थप्नुपर्छ । साइकल लेन सवारी चल्ने लेनभन्दा १ मिटर पर हुनुपर्छ।
फुटपाथ
१ मिनेटमा ३० जना पैदल यात्री आवतजावत गर्ने स्थानमा १.५ मिटर फुटपाथ हुनुपर्छ ।फुटपाथमा कुनै पनि अवरोध हुनु हुँदैन। रूख, पोल, बार, होर्डिङ बोर्ड जस्ता अवरोधलाई हटाउनु पर्छ । तर हाम्रो अधिकांश निर्माण सामग्री फुटपाथमै राखिन्छ र फुटपाथलाई पार्किङकारूपमा प्रयोग गरिन्छ । काठमाडौँको महाराजगञ्ज, कलंकी, कोटेश्वर, सातदोबाटोजस्ता धेरै क्षेत्रमा ४ मिटरसम्मको फुटपाथ आवश्यक पर्न सक्छ । यसका लागि अध्ययन हुनुपर्छ, कुन कुन स्थानमा दैनिक कति पैदल यात्री आवतजावत गर्छन् भनेर । तर हामीकहाँ यस्तो अध्ययन अति न्यून हुन्छ, अनुमानको भरमा काम गरिन्छ ।हामीले बनाएका फुटपाथ पनि नाम मात्रका छन्, जहाँ सहजसँग ह्विल चियरमा हिँड्न मिल्दैन ।
सडक पार
जेब्रा क्रसिङसँगै पैदल यात्रीले थिच्न मिल्ने ट्राफिक लाइट पनि राख्नुपर्छ । जेब्रा क्रसिङ हुँदैमा सुरक्षित हुन्छ भन्ने होइन । जेब्रा क्रसिङ कतिकतिको फरकमा राख्ने भन्ने त्यस्तो यकिन विधि र सूत्र छैन तर बाटोको किसिम, पैदल यात्रुको चाप र व्यवहार र वरपरको बस्तीको अवस्थालाई हेरेर कतिकतिमा ट्राफिक लाइट भएको जेब्रा क्रसिङ राख्ने भन्ने तय गरिन्छ र गर्नुपर्छ । अहिले संसारमा आकाशेपुलहरू हटाएर सडकबाटै सडक पार गर्ने चलन आएको छ । सामान्यतया मान्छेको हिँडाइको गति ५ किमिप्रतिघन्टा मानिन्छ (प्रतिमिनेट करिब ८५ मिटर) । पथ र सडक जस्ता ठूलो बाटोमा बाटो पार गर्न २–३ मिनेट हिँड्नु सामान्य हो त्यस हिसाबले ५०० मिटरमा जेब्रा क्रसिङ राख्दा पनि त्यति अनुपयुक्त देखिँदैन ।
कम सवारी चल्ने सडक तथा मार्ग जस्ता बाटोमा नजिक नजिक २००—५०० मिटरको फरकमा जेब्रा क्रसिङ राख्न सकिन्छ । यसका लागि पनि पैदल यात्रुको चाप र व्यवहार र वरपरको बजारको अध्ययन गर्नुपर्ने हुन्छ । काठमाडौँमै पनि नयाँ सडकमा नजिक नजिक ट्राफिक लाइटसहितको जेब्र क्रसिङ चाहिन्छ । सामान्यतया विद्यालयको अगाडि, ठूलो ठूलो मल तथा फिल्म हलको अगाडि, भीडहुने मन्दिरको अगाडिको सडकहरूमा नजिक नजिक जेब्राक्रसिङ चाहिन्छ । यसका लागि केही अध्ययन हुनैपर्छ। तर यहाँविनाअध्ययन यस्ता संरचना निर्माण गरिन्छ।
आकाशे पुल र सुरुङ
विशेषगरी पथ र सडक (एक्स्प्रेस र फ्रि वे) जस्ता धेरै सवारी साधन चल्ने बाटोमा जेब्रा क्रसिङबाट बाटो काट्दा सवारी साधनको गतिमा धेरै नै असर पर्ने देखियो भने वा एउटा जेब्रा क्रसिङ वा चोकमा १५ सेकेन्ड सवारी साधन रोकिँदा अर्को जेब्रा क्रसिङ वा चोकमा फेरि रोकिनुपर्ने अवस्था छ भने आकाशे पुल तथा जमिन मुनिबाट बाटो पार गर्न मिल्ने संरचना निर्माण गरिन्छ । आकाशे पुल तथा भूमिगत बाटोहरू पनि पैदल यात्रीको चापलाई ध्यानमा राखेर बनाउनुपर्छ । यस्तो नहोस् कि बालकुमारीको यात्री लगनखेलको बस चढ्न कि त कोटेश्वर वा सातदोबाटो जान नपरोस् ।यद्यपि अहिले संसारमा आकाशेपुलहरू हटाएर सडकबाटै सडक पार गर्ने चलन आएको छ।
त्यस्तै अशक्त र अपाङ्गहरूले आकाशे पुल तथा सुरुङबाट बाटो काट्ने संरचना बनाउन हाम्रो जस्तो खुला ठाउँ कम भएको ठाउँमा सहज छैन । त्यसैले अशक्त र अपाङ्गहरूका लागि सडकबाटै बाटो काट्न सहज हुन्छ ।दृष्टिविहीनका लागि त हाम्रा सडक र फुटपाथ कालसरह छन् ।
(लेखकद्वय सिभिल इन्जिनियर हुन्)
प्रकाशित: २७ फाल्गुन २०७४ ०२:५५ आइतबार