ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सार्वजनिक शिक्षाको सुधारका लागि समस्याको जड पत्ता लगाउन ‘मूल कारण सर्वेक्षण तथा विश्लेषण’ गरेको छ। पालिकाले ४० वटै विद्यालयमा पुगेर मुख्य समस्याहरू पहिचान गरेको छ र समाधानका लागि सरोकारवालासँग एकीकृत छलफल सुरु गरेको छ।
पालिकाका सूचना अधिकारी जय रिजालका अनुसार फक्ताङलुङमा ९ मावि, १४ आधारभूत (कक्षा १–८) र १७ प्राथमिक (कक्षा १–३ र १–५) विद्यालय छन्। हिमालयन डेभलपमेन्ट फाउन्डेसन अष्ट्रेलिया (एचडिएफए) को सहयोगमा पालिकाले विद्यालयका समस्या पहिचान गरेको हो। गाउँ कार्यपालिका सदस्य मिङमाडण्डु शेर्पाले भौतिक पूर्वाधार, शैक्षिक सामग्री, सिकाइ सहजीकरण र अभिभावक सचेतनालाई आधार बनाएर समस्या पत्ता लगाइएको बताए।
यी समस्याको समाधानमा कसको के भूमिका हुने भन्ने निर्क्योल गरी व्यवस्थापन गर्ने अभियान पालिकाले चलाएको उनले जानकारी दिए। गाउँ शिक्षा समिति अध्यक्षसमेत रहेका पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले सार्वजनिक शिक्षा सुधारका लागि पहिले अवरोधक पक्ष पत्ता लगाएर क्रमशः सम्बोधन गर्नुपर्ने भएकाले यो अभियान थालिएको बताए। मूल कारण सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन तयार भएको छ र त्यसमाथि एकीकृत छलफल सुरु भएको छ। छलफलपछि अन्तिम प्रतिवेदनका आधारमा समस्या समाधानका योजना र रणनीति बनाइने उनले बताए।
शेर्पाले सर्वेक्षणमा देखिएका समस्याको प्रभावकारी समाधान कसले गर्न सक्छ भन्ने निक्र्योल हुने बताए। ‘पहिले गुणस्तरीय र प्रभावकारी शैक्षिक वातावरणका लागि के चाहिन्छ भन्ने पत्ता लागेको छ,’ उनले भने, ‘अब ती आवश्यकता पूरा गर्न कसको के भूमिका हुन्छ भन्ने योजना र रणनीति बनाउँछौं।’ यो योजनाबाट नतिजा लिन पालिकाले सम्बन्धित पक्षलाई केन्द्रित गर्ने उनको भनाइ छ।
शैक्षिक क्रियाकलापमा असर परेको देखिएपछि फक्ताङलुङले विद्यालयमा कम्तिमा दुई शैक्षिक सत्र पूरा नगरी शिक्षकलाई अन्तरपालिका वा अन्तरजिल्ला सरुवा गर्न रोक लगाएको छ। पालिकाको शिक्षा ऐनमा यो व्यवस्था छ। दुई सत्र पूरा गरेकाले पनि शैक्षिक सत्रको सुरु वा अन्त्यमा मात्र सरुवाका लागि आवेदन दिन सक्ने नियम छ। पढाइमा असर, विषयगत शिक्षकको अभाव जस्ता समस्या देखिएपछि यो निर्णय लिइएको अध्यक्ष लिम्बूले बताए।
प्रकाशित: २४ चैत्र २०८१ ०८:२९ आइतबार