१ वैशाख २०८२ सोमबार
image/svg+xml १२:४७ अपराह्न
अर्थ

ललितपुर र भक्तपुरमा मात्रै बढ्यो जग्गाको मूल्य

विगत एक वर्ष यता देशभरिमा ललितपुर र भक्तपुरमा मात्र जग्गाको मूल्य बढेको पाइएको छ। अन्य जिल्लाहरूमा भने जग्गाको मूल्य बढेको पाइएन। धेरैजसो जिल्लामा जग्गाको मूल्य स्थिर छ। कुनैकुनै जिल्लामा घटेको पनि पाइएको छ । मूल्य नबढे पनि सबैभन्दा बढी जग्गाको कारोबार भने झापामा भएको पाइएको छ भने सबैभन्दा कम कारोबार मनाङ, डोल्पा र हुम्लामा भएको देखिएको छ।

भूमि व्यवस्थापन विभागका प्रवक्ता वेदप्रसाद अर्यालका अनुसार हाल देशभरि सञ्चालनमा रहेको एक सय ३४ वटा मालपोत कार्यालयमध्ये गत साउनदेखि फागुन महिनासम्म संकलन भएको राजस्वको आधारमा विभागका प्राविधिक कर्मचारीहरूले गरेको विश्लेषणमा ललितपुर र भक्तपुरमा मात्रै जग्गाको मूल्य बढेको पाइएको हो। अन्य जिल्लामा भने कारोबार बढे पनि मूल्य बढेको देखिएन।

‘राजस्व संकलनको आधारमा हेर्दा सबैभन्दा बढी राजस्व काठमाडौंबाट उठेको देखिन्छ। काठमाडौंमा तुलनात्मक रूपमा अन्य जिल्लाभन्दा मूल्य बढी भएका घर र जग्गाको कारोबार हुने भएकाले स्वाभाविक रूपमा काठमाडौंमा राजस्व बढी उठ्छ’ अर्यालले भने, ‘तर जग्गाको मूल्य बढेको विषयमा भने ललितपुर र भक्तपुरलाई मान्न सकिन्छ। यी दुई जिल्लामा ठूला प्लटिङमा मूल्य बढेको देखिएन तर साना साना टुक्रा जग्गामा मूल्य बढेको देखियो।’

ललितपुर र भक्तपुरमा केही थोरै अनुपातमा मूल्य बढेको उनको विश्लेषण छ। ललितपुर र भक्तपुरमा स–साना टुक्रा जग्गा किन्ने प्रवृत्तिले ती दुई जिल्लामा मूल्य बढेको हुन सक्ने अर्यालले बताए।

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि फागुनसम्म सबैभन्दा बढी ललितपुरको लगनखेल मालपोत कार्यालयबाट राजस्व उठेको छ। ललितपुरमा दुई वटा मालपोत कार्यालय छन् । लगनखेलबाट दुई अर्ब ६५ करोड ३४ हजार ७९ रूपैयाँ उठेको छ भने ललितपुरकै गोटीखोलाबाट ३९ लाख २० हजार ६ सय ५३ रूपैयाँ उठेको छ।

काठमाडौंमा ६ वटा मालपोत कार्यालय सञ्चालनमा छन्। जसमध्ये डिल्लीबजारबाट एक अर्ब ९७ करोड २७ लाख ६९ हजार पाँच सय नौ, कलकींबाट एक अर्ब ८१ करोड ७३ लाख नौ हजार पाँच सय नौ, चाबहिलबाट एक अर्ब ७९ करोड ९३ लाख ४५ हजार सात सय ६२, साँखुबाट ६६ करोड ६८ लाख ५३ हजार ६ सय ३७, मनमैजुबाट ५७ करोड ६२ लाख ४६ हजार ६ सय ५१ तथा टोखाबाट ४७ करोड ५२ लाख ३१ हजार पाँच सय २६ रूपैयाँ राजस्व उठेको छ।

सबैभन्दा कम राजस्व गोरखाको सिर्दिबास मालपोत कार्यालयमा उठेको छ। सिर्दिबासमा पछिल्लो आठ महिनामा सात लाख २९ हजार आठ सय ७९ रूपैयाँ मात्र उठेको छ तर गोरखाकै गोरखा मालपोत कार्यालयबाट ५४ करोड ७७ लाख ६ हजार चार सय ३० रूपैयाँ उठेको छ।

मालपोत कार्यालय खोटाङ र मालपोत कार्यालय डोल्पामा पनि निकै कम राजस्व उठेको छ। खोटाङबाट नौ लाख ८४ हजार दुई सय ८७ तथा डोल्पाबाट तीन लाख ८५ हजार चार हजार नौ सय ८४ रूपैयाँ उठेको छ।

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि फागुन महिनासम्म सबैभन्दा बढी कारोबार झद्रपुर झापा मालपोत कार्यालयमा भएको पाइएको छ। उक्त मालपोत कार्यालयमा पछिल्लो आठ महिनामा ५१ हजार आठ सय ३२ वटा कारोबार भएको छ। दोस्रोमा सुनसरीको इनरुवा मालपोत कार्यालयमा भएको छ।

उक्त मालपोत कार्यालयमा ३२ हजार सात सय २२ वटा कारोबार भएको छ। यसैगरी तेस्रोमा मोरङको बेलवारीमा भएको छ। उक्त मालपोत कार्यालयमा २८ हजार आठ सय ३८ वटा कारोबार भएको छ। लगनखेल ललितपुर र भक्तपुर मालपोत कार्यालयमा भने पछिल्लो आठ महिनामा २३ हजार सात सय ५९ र २४ हजार २९ वटा भएको देखिएको छ। अन्य जिल्लाबाट बसाइ सराइ गरेर आउने प्रवृत्तिले झापामा जग्गाको कारोबार बढेको हुन सक्ने अनुमान विभागका प्राविधिक कर्मचारीहरूले गरेका छन्।

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा मनाङ, डोल्पा र हुम्लामा भएको पाइएको छ। पछिल्लो आठ महिनामा मनाङमा एक सय १२, डोल्पामा दुई सय ६० र हुम्लामा तीन सय ११ वटा मात्र कारोबार भएको पाइएको छ।

भूमि व्यवस्थापन विभागका अनुसार यतिबेला देशभरि जग्गाधनीको संख्या एक करोड १४ लाख ६७ हजार तीन सय ८२ छ। जसमा पुरुष जग्गाधनी ६९ लाख ८३ हजार आठ सय ५१ छन्। यो भनेको ६१ प्रतिशत हो।

यसैगरी महिला जग्गाधानीको संख्या ४४ लाख ८३ हजार पाँच सय ३१ छ। यो भनेको ३९ प्रतिशत हो। विभागको तथ्यांक अनु्सार देशभरि तीन करोड २८ लाख ४७ हजार ६ सय ३२ कित्ता जग्गा छन्। जसमध्ये पुरुषका नाममा दुई करोड २० लाख २४ हजार एक सय ७० र महिलाका नाममा ९७ लाख ६१ हजार सात सय ९५ कित्ता छन्।

प्रकाशित: २४ चैत्र २०८१ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App