१२ श्रावण २०८१ शनिबार
image/svg+xml
विचार

बाइरोडको बाटोमा हेलीमा हेलिँदा

प्रधानमन्त्री पुष्पकमल दाहाल गोरखा भ्रमणमा गएका बेला सेनाको हेलिकोप्टर अगाडि बसेर खिचेको पारिवारिक तस्बिरले गत साता सामाजिक सञ्जाललाई तरंगित तुल्याएको छ। आफैँले सार्वजनिक गरेको तस्बिरले आफैँलाई यति संकटमा पारेको सम्भवतः प्रधानमन्त्रीको सचिवालयले पहिलोपटक महसुस गरेको हुनुपर्छ।

चौतर्फी आलोचना भएपछि सचिवालयले यसमा स्पष्टीकरण दिएको छ। प्रधानमन्त्री गोरखामा तीनवटा कार्यक्रममा सहभागी हुने क्रममा आफ्नी नवविवाहित नातिनी र ज्वाइँलाई समेत भेटेर तस्बिर खिचेको स्पष्टीकरणमा उल्लेख छ। दाहालको सचिवालयका अनुसार जनतासँग प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर आउने क्रममा हेलिप्याडमै बिदाइ गर्दाको तस्बिर हो।

यसमा दुईटा पक्ष छन्–एक, प्रधानमन्त्रीले त्यहाँ पायक पर्ने गरी कार्यक्रम राखेका हुन सक्छन्। दुई, बाटोमा परेका बेला त्यति एक ठाउँ गइदिउँ न त भन्ने पनि पर्न सक्छ। सामान्यतः हेलिकोप्टर गाउँमा पुर्‍याउँदा त्यसको शान बेग्लै हुन्छ। प्रधानमन्त्री हेलिकोप्टरमा गाउँमा आएको कुरा वर्षौँसम्म स्मृतिमा रहन्छ।

वास्तवमा हेलिकोप्टर आफैँमा शानको सवारी हो। हुन त देशको भौगोलिक अवस्थाका कारण हेलिकोप्टर जहिल्यै आवश्यक हुन्छ। बिरामी हुँदा, मर्दापर्दा, जात्रा रमाइलो जहिल्यै हेलिकोप्टरको सवारीको महत्त्व छ। अझ पहाडतिर हेलीमा चढ्ने भनेपछि अलि स्तरोन्नति भएको अनुभूति पनि हुन्छ।

गत निर्वाचनका बेला नेपाली कांग्रेस सभापति पत्नी एवं नेतृ आरजू राणा देउवाको होलिकोप्टरसम्बन्धी एउटा भाषण निकै भाइरल रह्यो। आफूहरू हेलिकोप्टर चढेर आएको उल्लेख गर्दै उनले सगौरव यस्ता व्यक्तिलाई भोट दिन आग्रह गरेकी थिइन्। यस हिसाबले हेलिकोप्टरमा चढ्नु भनेको योग्यता र सक्षमताको विषयसमेत बन्न पुगेको हो। हेलिकोप्टर चढ्न नसक्नेलाई भोट दिनुको अर्थ नहुने भाव त्यसमा प्रकट थियो।

देशमा हेलिकोप्टर जहिल्यै विवादको विषय पनि बन्ने गरेको छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका निम्ति हेलिकोप्टर किन्ने विषय निकै दिनसम्म चर्चामा थियो।

राष्ट्रपतिका निम्ति एउटा हेलिकोप्टर पनि नछुट्याउने भन्ने कुरा थिएन तर विवाद हुँदै गएपछि यो यत्तिकै हराएर गएको हो। राष्ट्रपति वा प्रधानमन्त्रीको निवास बाहिर हेलिकोप्टर उभ्याउन पाउनु समृद्धिकै सूचक हुन पुग्छ।  

नेपाली सेनाको हेलिकोप्टर जहिल्यै चर्चामा हुन्छ। कतिपय बेलामा यसको दुरूपयोग भएको भनी आलोचनासमेत हुन्छ। जे/जस्तो परिस्थिति भए पनि हेलिकोप्टर चढ्नुलाई हाम्रो समाजले पनि एउटा स्तरका रूपमा लिन्छ । जब मानिसको स्तर बढ्दै जान्छ, उसले हेलिकोप्टर चढ्न थाल्छ। तर दुर्गम पहाडी क्षेत्र, जहाँ पर्यटकीय गतिविधि पनि छ, त्यहाँ भने हेलिकोप्टरको सवार सामान्य मानिन्छ।

विशेषगरी पर्यटकीय मौसममा कहिलेकाहीँ त्यहाँका सर्वसाधारणले समेत सित्तैमा हेलिकोप्टर चढिरहेका हुन्छन्। हेलिकोप्टर तल आउँदै गरेको हुन्छ। एउटा खाली सिटमा कुनै भाग्यमानीलाई पाइलटले हालेर ल्याइदिन्छन्। यति उदारता त सडकमा गुड्ने बसमा समेत देख्न पाइँदैन।

केहीअघि एउटा समूह हेलिकोप्टर लिएर खेल मैदानमै पुगेपछि रामधुलाइ खानेमा परेको थियो। एउटा समूह बसेर सुरापान गरिरहेका बेलामा अचानक खेल हेर्न जाने तयारी भयो। तिनले आफ्नो शक्ति प्रयोग गर्दै खेल मैदानमै हेलिकोप्टर बसाउन लगाएपछि कुटाइ खानु परेको थियो।

कतिपय अवस्थामा हेलिकोप्टर आवश्यकताको वस्तु बन्न पुग्छ। माधवकुमार नेपालले प्रधानमन्त्री भएका बेला एकजना महिलाको उद्धार गरेको समाचार निकै चर्चामा थियो। राष्ट्रपति रामचन्द्र पौडेलले पनि हालै जाजरकोटका भूकम्पपीडिलाई उद्धार गरे। प्रधानमन्त्री दाहालले समेत त्यसैगरी अनुगमनका क्रममा गएर फर्किँदा सुरक्षाकर्मीलाई त्यहीँ छाडेर उद्धार गरेका थिए। यसले उद्धार कार्यमा हेलिकोप्टरको आवश्यकता औंल्याउँछ।

त्यतिमात्र होइन, एअर एम्बुलेन्स राख्नुपर्ने विषय बेलाबेलामा उठे पनि त्यो अगाडि बढेको छैन। गोरखाका सांसद राजेन्द्र बजगाईँ पछिल्ला दिनमा हेलिकोप्टरबाट स्थानीय घाइतेको उद्धार गर्न निकै सक्रिय देखिन्छन्। तर उनले उद्धारका निम्ति बेलाबेलामा पहल गर्दा सुरक्षा जञ्जालको सामना गर्नुपर्ने गम्भीर अवस्था आउँछ। 

त्यो बेलामा उनी सामाजिक सञ्जालमा आक्रोश प्रकट गरिरहेका भेटिन्छन्। देशको भौगोलिक अवस्थाले मात्र होइन, प्रभावकारी स्वास्थ्य सेवाका कारण पनि घाइतेलाई राजधानी काठमाडौँ पुर्‍याउनैपर्ने अवस्था छ। त्यस्तो बेलामा हेलिकोप्टर भए निकै सजिलो पर्छ।

उडान आफैँमा रोमाञ्चक अनुभूति हो। सडकमा गुड्नेको भन्दा उड्नेको महत्त्व बढी हुन्छ। सडक दुर्घटनामा बर्सेनि ठूलो संख्यामा मानिसको मृत्यु हुन्छ। 

अप्रिल २०२२ र अप्रिल २०२३ को बीचमा नेपालमा मात्र २ हजार तीन सय २० जनाको मृत्यु भएको थियो। यत्रो ठूलो मृत्युका बारेमा कमै चर्चा हुन्छ। तर हवाईजहाज वा हेलिकोप्टर दुर्घटनामा परेर दुईजनाको मृत्यु हुँदा पनि त्यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार बन्छ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र गृहमन्त्री केपी शर्मा ओली रहेको हेलिकोप्टर २०५२ सालमा दुर्घटना भएको थियो। बहालवाला प्रधानमन्त्री र गृहमन्त्री दुर्घटनाबाट घाइते भएर पनि बाँच्न सफल भएका थिए। यो घटनालाई ओलीले आफैँ पनि एउटा मृत्युलाई जितेको क्षणका रूपमा चित्रण गर्ने गरेका छन्। 

हेलिकोप्टर दुर्घटनामा बहालवाला पर्यटन मन्त्री रवीन्द्र अधिकारीको त निधन हुन पुग्यो । यस्ता दुर्घटनामा मुलुकका कैयन उम्दा मानिस गुमाउनु परेको दुःखद सम्झना पनि हामीबीच छ ।  

हेलिकोप्टर वा हवाईजहाज चढेका मानिसले प्रायः तिनीसँग आफ्नो तस्बिर खिचेर सार्वजनिक गरेको देखिन्छ। बस चढेर हिँडेका कमैले यसलाई गर्वको अनुभूति गर्छन्। पञ्चायतका बेला चेलीबेटी बेचबिखनमा संलग्न एक महिला हेलिकोप्टर चढेर गाउँ गएको कथा सुन्ने गरिन्थ्यो। त्यो बेला हेलिकोप्टर लिएर गाउँ जाँदाको शान कति ठूलो थियो होला ? अनुमान मात्र गर्न सकिन्छ।

हेलिकोप्टर कुनै पनि दुर्गम ठाउँमा पुग्दा पनि त्यहाँ सुरक्षा गर्न प्रहरी तैनाथ हुन्छन्। बस वा ट्रक गाउँमा पुग्दा त्यसको खासै महत्त्व हुँदैन। ती त्यसै बाटोमा हुन्छन्। 

माओवादी ‘जनयुद्ध’ का क्रममा हेलिकोप्टर यसको एउटा अभिन्न अंग थियो। सुरक्षा निकायले उडाएको हेलिकोप्टरभन्दा बिलमा देखाइएको उडान संख्या ठूलो थियो। त्यसलाई आय आर्जनको माध्यम बनाउने एउटा वर्ग मुलुकमा त्यतिबेला उदाएको हो।

हामी आफैँ पनि ‘जनयुद्ध’ को खबर लिन दुर्गम ठाउँमा हेलिकोप्टर चढेर गएका थियौँ। हेलिकोप्टरबाट त्यहाँका ताजा दृश्य ल्याएर पाठकमा पस्किने काम हुँदा त्यो बेला अनौठो अनुभूति हुन्थ्यो। 

माओवादी गतिविधि नियन्त्रणका निम्ति सरकारले पनि सुरक्षा फौजलाई निरन्तर हेलिकोप्टरमा उडाउँथ्यो। त्यो अवस्थाबाट माओवादी जानकार थियो। माओवादीलाई यो सुविधा प्राप्त थिएन तैपनि केही व्यक्तिले यो सुविधा तिनलाई पनि उपलब्ध गराउने गरेको चर्चा पछि हुने गरेको थियो। केही व्यक्तिले सुरक्षा फौज र माओवादी फौज दुबैलाई यस्तो सुविधामा भेदभाव गर्ने गरेका थिएनन्।

जे कुरा सजिलै प्राप्त हुँदैन, त्यसको महत्त्व बढी हुन्छ। हेलिकोप्टर सजिलै चढ्न पाइने कुरा हुँदैन। त्यही भएर प्रधानमन्त्री दाहाल चढेको हेलिकोप्टर गाउँमा पुग्दा त्यसको तस्बिर बन्नु स्वाभाविक हो। त्यसमा पनि प्रधानमन्त्री आफैँले तस्बिर खिच्न चाहेपछि त्यो संग्रहणीय मात्र नबनेर वितरण गर्न पनि चाखलाग्दो भएको हो। 

दाहालको सचिवालयले यसको यति धेरै चर्चा हुन्छ भन्ने थाहा पाएको भए स्वाभाविकरूपमा यो सार्वजनिक हुने थिएन। त्यसो त देशभरि प्रधानमन्त्री चढेको हेलिकोप्टर कहाँकहाँ पुग्छ कतिलाई जानकारी हुन्छ र ? तर प्रधानमन्त्री जो भए पनि हेलिकोप्टरमा निकै उड्ने गरेको सुन्नु स्वाभाविक हो। त्यो बेलामा हेलिकोप्टर मात्र उड्दैन राष्ट्रिय ढुकुटी पनि हुरुरु उडिरहेको हुन्छ।  

यसकारण पनि हेलिकोप्टरको सवारी अझै हाम्रो जस्तो देशमा महत्त्वको गतिविधि हो। हेलिकोप्टर चढेको देखेर स्वाभाविकरूपमा जिज्ञासा मात्र हुँदैन इर्ष्या पनि पैदा हुन्छ। प्रधानमन्त्री दाहाल हेलिकोप्टरमा हेलिएकै कारण आलोचित भएका हुन्। सबै मानिसको पहुँचमा हेलिकोप्टर पुगेका दिन यस्तो आलोचना कम हुन जान्छ।

प्रकाशित: १५ पुस २०८० ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App