२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

गुम्दो जनसांख्यिक लाभांश

मुलकको जनसंख्याको उमेर संरचनामा आएको परिवर्तनले त्यो मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्ने क्षमता राख्छ भने त्यसलाई जनसांख्यिक लाभांशका नामले चिनिन्छ। यो उमेरको जनसंख्या समूहले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यस्तो जनसांख्यिक लाभांश कुनै पनि देशमा एउटा निश्चित अवधिसम्म मात्र रहन्छ। यस्तो अवस्थामा देशलाई आर्थिक उपलब्धि हासिल गर्नलाई अवसर प्रदान गर्ने भएकाले यसलाई ‘जनसांख्यिक अवसरको झ्याल’ पनि भनिन्छ। यो अवस्थामा लगानी र बचतका कारण आर्थिक वृद्धि द्रुत गतिमा बढ्ने सम्भावना रहन्छ।

कुनै पनि देशले यस अवस्थाको सही उपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

सन् १९६० को दशकमा जनसांख्यिक लाभांशको अवस्थामा सिंगापुर, कोरिया, थाइल्यान्ड, मलेसिया आदि देशले ठूलो आर्थिक प्रगति गरेका थिए। जनसांख्यिक लाभांशको समयमा सक्रिय जनसंख्या बढी भएकाले सो जनसंख्यालाई उपयोग गरी आर्थिक क्षेत्रमा विकास गर्न सकिने धेरैको विश्वास छ।

केही समयअघि सार्वजनिक राष्ट्रिय जनगणनाको अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। नतिजाअनुसार कुल जनसंख्याको ६१।९६ प्रतिशत जनसंख्या १५ देखि ५९ वर्ष उमेर समूहका छन् जो उत्पादनका लागि सक्रिय उमेर समूहका हुन। यो प्रतिशतको सक्रिय उमेरको जनसंख्या विगत सय वर्षभन्दा लामो राष्ट्रिय जनगणनाको अवधिमा सबैभन्दा धेरै प्रतिशत हो। गत २०६८ सालमा यो उमेर समूहका जनसंख्या ५६.९६ प्रतिशत मात्र थियो। योसँगै जोडिएको अर्को विषय नेपालको जनसंख्या वृद्धि दर आठ दशकयताकै न्यून देखिएको छ।

वार्षिक जनसंख्या वृद्धि दर अघिल्लो दशकको १.३५ प्रतिशतबाट घटेर ०.९२ मा प्रतिशतमा आएको छ। यसर्थ, नेपालले उपलब्ध जनसांख्यिक लाभांश र घट्दो जनसंख्या वृद्धि दरलाई अवसरका रूपमा अंगीकार गरेर अघि बढ्नुपर्ने धेरैको सुझाव छ। जनगणना सार्वजनिक गर्दाका बखत सरकारले समेत उपलब्ध जनसांख्यिक लाभांशलाई अवसरका रूपमा अंगीकार गर्दै अगाडि बढ्ने उद्घोष गरेको थियो।

तथापि, अहिलेसम्म यसको उपयोग कहाँ र कसरी गर्ने भन्ने कुनै कार्यक्रम तथा योजना सार्वजनिक गरिएको देखिँदैन। यसैकारण यो पटक पनि उपलब्ध जनसांख्यिक लाभांश खेर जाने त हैन भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ।

मुलुकको आर्थिक विकासका लागि आवश्यक पर्ने उत्पादनका साधनमध्ये सबैभन्दा महत्त्वपूर्ण साधनका रूपमा उक्त मुलुकको मानव संसाधनलाई लिने गरिन्छ। उत्पादनको एकमात्र सक्रिय साधन मानव संसाधनको अवस्थाले उक्त मुलुकको उत्पादनको मात्रा, उत्पादित वस्तुको गुणस्तर, उत्पादकत्व जस्ता आर्थिक पक्षमा गहिरो प्रभाव पार्ने गर्छ। उपलब्ध मानव संसाधनमा उत्पादनशील उमेरको मात्र बढी छ, साक्षरता दर, औषत आयुमा वृद्धि हुँदै गएको छ, मातृ मृत्युदर, शिशुमृत्युदर, जन्मदरमा कमी आएको छ भने त्यो मुलकको जनसंख्याले अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्ने क्षमता राख्छ।  

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गत आव २०७९/८० मा मात्र एक लाख १० हजार दुई सय १७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए। 

अहिले नेपालको जनसंख्याले यिनै गुण बोकेको राष्ट्रिय जनगणना, २०७८ ले देखाएको छ। नेपालको हालको जनसंख्या अवस्थालाई इतिहासको सबैभन्दा बढी भाग्यमानी अवस्थामा पनि भन्ने गरिएको छ। यो जनसंख्याको सही र उपयुक्त ठाउँमा उपयोग गरी राज्यले लाभ लिन सक्नुपर्ने हो। तथापि, राज्यका जिम्मेवार निकायहरूले यसप्रति चासो दिएको देखिँदैन।

यसको विपरित राज्यले विभिन्न मुलुकसँग श्रम सम्झौता गर्दै देशका दक्ष र क्षमतावान जनशक्तिलाई विदेशिने वातावरण सिर्जना गरेको देखिन्छ। आफ्ना युवालाई उपयुक्तरूपमा अध्ययन, रोजगारलगायतका अवसर तथा वातावरण प्रदान गर्न नसक्दा मुलुक दिनानुदिन प्रतिभा पलायनको सिकार हुनु परिरहेको छ।

अहिले मुलुकबाट दैनिक सरदर दुई हजारभन्दा बढी सक्रिय जनशक्ति अध्ययन तथा कामको खोजीमा भन्दै विदेशिने गरेका छन्। शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गत आव २०७९/८० मा मात्र एक लाख १० हजार दुई सय १७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए। यसैगरी वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या सात लाख ७१ हजारभन्दा बढी रहेको जनाएको छ।  

यसरी वार्षिक नौ लाखभन्दा बढी युवा औपचारिकरूपमै देश छाडेर गएका छन्। वैधानिक बाटो मात्र नभई अवैधानिकरूपले समेत दैनिक सयौँ नेपाली विदेशिएका समाचार प्रकाशित भएका छन्। नक्कली भुटानी शरणार्थी, अवैधरूपमा मेक्सिको हुँदै अमेरिका छिर्न खोजेका युवा, रसियाली सेनामा भर्ती भएका नेपाली युवा आदि यसलाई पुष्टि गर्ने पछिल्ला उदाहरण बनेका छन्। यता मुलुकको नेतृत्व गरेका राजनीतिक दलका नेता भने सत्ता र पदको लुछाचुँडीमै व्यस्त देखिएका छन्। युवालाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भनेर कुनै बहस चलेको देखिँदैन।

कुनै पनि मुलुकको आर्थिक, सामाजिक एवम् राजनीतिक प्रगतिमा उक्त मुलुकमा अवस्थित जनसांख्यिकीय संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। त्यसमाथि आधाभन्दा बढी जनशक्ति उत्पादनशील उमेर समूहका भएको मुलुकले द्रुत गतिमा प्रगति हासिल गर्ने सक्ने प्रबल सम्भावना बोकेको हुन्छ। 

अहिले देखिएको बौद्धिक पलायनको समस्यालाई तत्काल रोक्ने नीति सरकारबाट आउनुपर्ने आवश्यकता देखिन्छ किनकि मुलुकको समृद्धिको पथमा बौद्धिक व्यक्तित्वहरूले गहन भूमिका खेल्न सक्नेछन्।

नेपालको अहिलेको जनसांख्यिकीय संरचनाले मुलुकको आर्थिक एवम् सामाजिक विकासमा फड्को मार्न सक्ने सामथ्र्य राख्न सक्ने देखिन्छ। यस्तो अवसर अबका दिनहरूमा फेरि आउँछ भन्न सकिँदैन। यो अवसर केही दशकसम्म मात्र रहन्छ र पुनः यो अवसर प्राप्त गर्न सयौँ वर्ष पर्खिनुपर्ने हुन्छ। तसर्थ, यसबाट उचित प्रतिफल प्राप्त गर्नका लागि सर्वप्रथम मानव पुँजी विकासका लागि शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार जस्ता सामाजिक र भौतिक पूर्वाधारहरूमा लगानी बढाउनुपर्ने आवश्यकता देखिन्छ।  

कृषि, औद्योगिक तथा सेवा क्षेत्रको विकास गरी काम गर्न सक्ने जनसंख्यालाई अधिकतम उपयोग गरी आर्थिक लाभ लिन सक्नुपर्ने विज्ञहरूको सुझाव छ। यो उमेर समूहको उत्पादनशील जनसंख्याबाट अधिकतम लाभ लिन सके मात्रै बाँकी जनसंख्याको आर्थिक–सामाजिक हितमा आवश्यक प्रबन्ध गर्न सहज र सरल हुने देखिन्छ। यसैगरी मुलुकमा अहिले देखिएको बौद्धिक पलायनको समस्यालाई तत्काल रोक्ने नीति सरकारबाट आउनुपर्ने आवश्यकता देखिन्छ किनकि मुलुकको समृद्धिको पथमा बौद्धिक व्यक्तित्वहरूले गहन भूमिका खेल्न सक्नेछन्। उत्पादनको सक्रिय साधनका रूपमा परिचित उपलब्ध जनशक्तिलाई तुलनात्मक लाभका उत्पादनमूलक क्रियाकलापमा संग्लग्न गराएर अहिलेको जनसांख्यिकीय संरचनाबाट राज्यले उचित लाभ लिन सक्नुपर्छ।  

– भट्टराई अर्थशास्त्रका अध्यापक हुन्। 

प्रकाशित: ९ पुस २०८० ००:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App