२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

नेपाली र मैथिली भाषीबीचको सहअस्तिव

मलाई भरोसा छ, बड्का मान्छे बन्नु पर्दछ, मेरो घरको पजरामा बड्का गाछी छ, छोटकाले पुग्छ, मन खराब छ। यी वाक्यहरू हन् – नेपाली र मैथिली भाषीको समृद्ध जीवनशैलीको। यस्ता कैयौँ वाक्य प्रचलनमा रहेका छन्, जसले दुवै भाषाभाषीको सामाजिक, सांस्कृतिक र भाषिक सहअस्तित्वको चिनारीलाई स्थायित्व प्रदान गर्दै एक सूत्रमा आबद्ध गर्ने वातावरण निर्माण गरिहेको छ।

नेपाली र मैथिली भाषाभाषीले एकअर्काको संस्कृति र परम्परालाई स्वीकार गर्दै सामञ्जस्य र आपसी सद्भावपूर्ण सामाजिक जीवन व्यतित गरी संस्कृतिको अविभाज्य अङ्ग भइरहेका छन्। संस्कृति जिन्दगीको एउटा तरिका हो, जो शताब्दीयौँदेखि जम्मा भएर समाजमा व्याप्त रहन्छ भन्ने मान्यता अनुरूप यस भेगमा बसोबास गर्ने मिथिलाञ्चलमा दुवै भाषाभाषी एकअर्काबीच सांस्कृतिक र धार्मिक परम्पराहरूमा मात्र नभएर भाषामा पनि प्रभावित छन्।

मैथिली भाषीले आपसमा कुरा गर्दा नेपाली शब्दको पनि प्रयोग गर्ने गरेको पाइन्छ। मैथिली भाषामा बोल्दा ‘हमरा मालपोत जायके छै’ र नेपाली भाषामा बोल्दा ‘मेरो घरको पजरामा बड्का गाछी छ’लाई उदाहरणका रूपमा लिन सकिन्छ। त्यस्तै उखानमा मैथिली भाषामा ‘उँटके मुँहमे जीरा, कुप नआबए पथिकके पास, अपने नीक त आनो नीक’ र नेपालीमा ‘हात्तीको मुखमा जीरा, खोला आउँछ कि तिर्खा? आफू भलो त जगतै भलो’ जस्ता उखान मननयोग्य रहेको छ।

मिथिला र नेपाल उपत्यकाको सांस्कृतिक सम्बन्ध अत्यन्त प्राचीन रहेको छ। मुसलमानी आक्रमणको बेला मिथिलाको अनेक विद्वान परिवार आफ्नो एवं हस्तलिखित ग्रन्थको रक्षा तथा जीवन निर्वाहका लागि नेपालतर्फ प्रवेश गरेका थिए। मल्ल राजा जयस्थिति मल्लले सामाजिक वर्गीकरण र वर्णाश्रम धर्मलाई कायम गर्न मिथिलाका विभिन्न विद्वानसँग सहयोग लिएको पनि पाइन्छ।

मल्लकालमा राजाहरू स्वयं मैथिली साहित्य र परम्पराको विकासका लागि ठूलो योगदान पुर्याएको कुरा मल्ल राजाहरूले लेखेका नाटक, भक्ति गीत सङ्ग्रहहरूले प्रमाणित गरेका छन्। इतिहासहरुको अध्ययनबाट काठमाडौँ उपत्यकामा कर्णाट वंशका तीनपुस्ता राजाहरूले झण्डै नब्बे जति राज्य गरेको र सो अवधिमा काठमाडौँ उपत्यकाका तीनै राज्य–कान्तिपुर, ललितपुर र भक्तपुरमा मैथिली भाषाको प्रचार–प्रसार निकै भएको पाइन्छ।

कर्णाट वंशीय राजा हरसिंहदेव देव सङ्गीत कलाविद् थिए। उनी सन् १३२४ ई मा गयासुद्दिन तुगलकबाट पराजित भई जङ्गल हुँदै सेन्यवलसहित काठमाडौँ उपत्यका पुगेका थिए। पछि भक्तपुर क्षेत्रमा राज्य स्थापना गरेपछि त्यस क्षेत्रमा मैथिली भाषा र संस्कृतिले व्यापकत्व ग्रहण गरेको इतिहास पनि छ। लिच्छवी र मल्लकालसम्म मैथिली भाषाको राम्रो कदर भएको थियो। अहिले राजनीति, स्वार्थ, भ्रान्तिको सिकार भई उपेक्षितजस्तै देखिन्छ।

नेपाली भाषीले मैथिली शब्दको प्रयोग र मैथिली भाषीले नेपाली शब्द प्रयोग गरिरहेको अनेकौँ दृष्टान्त छ। जस्तो कि नेपाली र मैथिली भाषाभाषीले माझ, लागि, सुन, मारी, ओठ, मीत, बाँधी, फोका, भल, ठाम, तल, हाट, बेल, भिन, जतन, निहुरी, जीउ, लावा, मारीलगायतका शब्दहरू परस्परमा प्रयोग गरिरहेका छन्। सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा मैथिली र नेपाली भाषाभाषीबीच शब्दको निकटता देखिन्छ। वस्तुतः मैथिली भाषाले मैथिली भाषाभाषीलाई जातीय व्यक्तित्व र पहिचानमात्र प्रदान गरेको छैन, राष्ट्रकै साहित्य र संस्कृतिलाई समृद्ध तुल्याएको छ।

एकीकरणपछि उपत्यका र यस क्षेत्रका बीच सांस्कृतिक र धार्मिक निकटता कायम भयो। उपत्यका र अन्य पहाडी भेगबाट अनेक नेपाली भाषाभाषी यस क्षेत्रको समतल फाँटमा कृषिकर्म वा जागिरेका रूपमा बसाइँसराइका क्रममा आएर बसोबास गर्न थाले। हाल यस क्षेत्रमा मैथिली भाषाभाषी मात्र नभएर नेपाली भाषाभाषीको पनि आधिक्य रहेको छ। 

प्राचीनकालदेखि नै मिथिलामा वर्णाश्रम धर्म अस्तित्वमा रहेको देखिन्छ। देवी–देवताहरूमा शिवशक्ति तथा विष्णुलाई कालान्तरमा राम र सीता आदिलाई पनि  देवदेवीका स्वीकार गरेर पूजा गर्ने परम्परा पाइन्छ। धार्मिक परम्पराको प्रभावले नेपाली भाषाभाषीहरूमा शिवप्रति विशेष श्रद्धा रहेको र प्रत्येक वर्ष वैद्यनाथ धाममा जल चढाउने आस्था देखिन्छ। वेशभूषा र खानपानको सम्बन्धमा पनि मैथिली भाषाभाषीबाट यस क्षेत्रका नेपाली भाषाभाषीहरू प्रभावित छन्।

नेपाली भाषामा मैथिली भाषाको गहिरो छाप परेको पाइन्छ। मैथिली क्षेत्रका स्थान नाम, वनस्पति, खानपिन, रहनसहन र दैनिक व्यवहारमा प्रचलित स्थानीय उपकरण बुझाउनेजस्ता शब्दहरू नेपाली भाषामा आएका छन्। प्राचीनकालदेखि नै मैथिलहरूले नेपाली सभ्यता, संस्कृति, धर्म र दर्शनमा योगदान दिँदै आएका छन्। राष्ट्र विभिन्न जाति, धर्म र भाषभाषीहरूको सहअस्तित्व, सामञ्जस्य र ऐक्यबद्धतामा आधारित छ। यसले परम्परागत अटल अखण्डता, राष्ट्रियता र एकतालाई सबलता प्रदान गरेको देखिन्छ।

नेपाली साहित्यका मनोवैज्ञानिक प्रवर्तक विपी कोइरालाको कथाहरूमा पनि मैथिली भाषाका शब्दको प्रयोग गरिएको पाइन्छ। मनौती, तडका, पछवरिया धार, पुरवरिया धार, डाइन, रे छौडा, गे छौडी, मचान, खरिहान, ओरहाजस्ता शब्दको प्रयोग गरिएको छ। त्यस्तै पात्रहरूमा लेलहा, फगुनी, मुनरिया, बतहिया चमाइन, जमुनिया, किसना, सुवसियाजस्ता मैथिली भाषी पात्रको संयोजन र नामकरण गरेका छन्। कोइरालाले गाछ तर, दाँती लागब, कर्चीक टाटी खरजस्ता शब्दको प्रयोग गरेका छन्। नरेन्द्र  दाइ उपन्यासमा चैत हे सखी फूलल बेली, करत मधु गुजार हो, भवरा करत गुजार हो जस्ता मैथिली भाषाको लोकगीतलाई स्थान दिइएको छ।

यस प्रकारको क्रमले परस्परमा सामाजिकता ग्रहण गरेको फलस्वरुप यस भेगका स्थानीय पोशाक धोती र कमिज नेपाली भाषाभाषी समुदायमा लोकप्रिय रहेको र यसका साथै नेपाली भाषाभाषी महिलाले आफ्नो पारम्परिक पोशाक गुन्यू, साडी, चोलो र पटुका त्यागेर विशेष प्रकारले साडी र चोलो लगाउने चलन रहेको छ जुन यस भेगका मैथिली भाषाभाषी महिलाले लगाउने गरेको प्रभाव हो। घरमा आएका पाहुनालाई विभिन्न प्रकारका अचार, तरकारी र स्वादिष्ट भोजनद्वारा स्वागत गर्नु मैथिल समाजको विशेषता रहेको छ। मैथिल गृहिणी पाक कलामा ज्यादै दक्ष हुने र विभिन्न प्रकारका अचार, चटनी र तरकारीलाई तारेर अतिथिलाई स्वादिष्ट र रूचिकर भोजनद्वारा सत्कार गर्न सिपालु हुन्छन्। यसको प्रभाव स्वरूप यहाँका नेपाली भाषाभाषी परिवारमा पनि विभिन्न प्रकारका तरकारीलाई तारेर अतिथिलाई भोजन गराउने परम्परा रहेको देखिन्छ।

मैथिल समाजमा विभिन्न प्रकारका ठठ्यौली परम्परा पनि छ। भिनाजु र साला, देवर र भाउजु, साली र भिनाजुबीच ठठ्ठा र ख्याल गर्ने चलन छ र यो चलन यहाँका नेपाली भाषाभाषीमा पनि रहेको पाइन्छ। विवाह तथा चाडपर्वका अवसरमा मैथिली भाषाभाषी महिलामा मेहदीले हात खुट्टा सिङ्गार्ने चलन लोकप्रिय रहेको छ भने यो चलन नेपाली भाषाभाषीहरूमा पनि उत्तिकै लोकप्रिय रहेको बताइन्छ।

यस्तै विभिन्न संस्कारअन्तर्गत चुडाकर्म, यज्ञोपवित, विवाह आदिमा दुवै भाषाभाषीमा मातृका पूजा गर्ने चलनसमेत रहेको छ। नवरात्रिका अवसरमा आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुवै समुदायमा नवदुर्गाको व्रत घटस्थापना गरेर नियमित पूजा गर्ने र दुर्गा सप्तशतीको पाठ गर्ने चलन पनि छ। विजयादशमीका दिन मातापिता तथा मान्यजनबाट जमरासहितको टीका ग्रहण गर्ने दुवै समुदायमा चलन रहेको पाइन्छ। साथै दीपावली दुवै समुदायले समानले मनाउने परम्परा रहेको छ। 

भाइटीकाका दिन  दिदीबहिनीहरूले व्रत लिएर दाजुभाइको दीर्घायुका लागि निधारमा टीका लगाइदिने परम्परा पनि दुवै समुदायमा पाइन्छ। यस अवसरमा  एकअर्काको परम्परालाई स्वीकार गर्दै मैथिली भाषाभाषी परिवारमा पनि सेल र नेपाली भाषाभाषी परिवारमा समेत अनरसाजस्ता पकवान बनाउने चलन पनि रहेको छ। छठ मनाउने परम्परा विशुद्धरूपले मैथिल समाजमा प्रचलित भए पनि नेपाली भाषाभाषीहरूले यस क्षेत्रमा बसोबास गर्न थालेपछि यसबाट प्रभावित भएर छठ मनाउन थालेका छन्।

नेपाली भाषाभाषी विवाहित महिलाहरूमा पोते लगाउने परम्परा ज्यादै लोकप्रिय रहेको छ। यो परम्परा हाल मैथिली भाषाभाषी महिलाले पनि स्वीकार गरेको देखिन्छ, जुन यस भेगमा नेपाली भाषाभाषी परम्पराको प्रभाव प्रस्ट हुन्छ। यसका अतिरिक्त अन्य अनेकौं यस्ता परम्परा र पर्व छन् जुन मैथिली र नेपाली भाषाभाषीहरूमा समानरूपले लोकप्रिय रहेको र दुवै समुदायले संयुक्तरूपमा मनाउने गरेको पनि पाइन्छ। उपत्यकाका नेवार कन्याहरूको पुरूषसँंगको विवाहभन्दा पहिले बेलसँग विवाह गर्ने चलन छ भने यहाँका मैथिल ब्राह्मण र कायस्थ कन्याहरूको पनि पुरूषसँगको विवाहभन्दा पहिले आँप र महुवाको रूखसँग विवाह गर्ने चलन रहेको छ।

त्यस्तै माघी पर्व, तीज, फागु, श्रीपञ्चमी, शिवरात्रि, चौरचन, जुडशीतल रामनवमी, विवाहपञ्चमी, रक्षाबन्धनजस्ता पर्वले दुवै भाषाभाषीका परिवारले मनाउने गरेको घनिष्टतालाई पुष्टि गरिहेको छ। मैथिलको विवाहमा स्वयम्बरको परम्परा लोकप्रिय हुँदै गएको छ, जसलाई नेपाली भाषाभाषीकै प्रभाव मानिएको छ। यी तथ्यहरूले राष्ट्र भन्नु नै जनसमूहको एक परिधि हो, राष्ट्रियता राष्ट्रमा बस्ने जनताको एकीकृत भावनालाई उजागर गर्दछ। विभिन्न भाषाभाषीको उत्थान, कला संस्कृतिको मान्यता एवं साहित्यिक अभिवृद्धिमा योगदान दिएर बटुलिएका भावनात्मक सहयोगले राष्ट्रियताको मूल्य र मान्यतालाई सुदृढ बनाएको देखिएको छ। रासस

 

(हिमांशु चौधरी, लेखक पत्रकार तथा मैथिली साहित्यका जानकार)

प्रकाशित: २९ भाद्र २०८० ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App