coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोकिएन मानव बेचबिखन

इलामको पशुपतिनरस्थित नेपाल–भारत सीमा नाका । तस्बिर : भीम/नागरिक

पशुपतिनगर (इलाम) - पूर्वी नेपालको भारतीय सीमा नाका पशुपतिनगर वर्षाैंयता मानव बेचबिखनको ‘ट्रान्जिट’ बनिरहेको छ । पूर्वका अन्य नाकाभन्दा पशुपतिनगरबाट मानव बेचबिखन बढी हुने गरेपनि नियन्त्रणको प्रयास प्रभावकारी बन्न सकेको छैन।

खुला सीमाको फाइदा उठाएर वैदेशिक रोजगारी, आफन्त भेटघाटलगायतको बहाना बनाउँदै पशुपतिनगरबाट हरेक वर्ष मानव बेचबिखन मौलाइरहेको छ । इलाम मात्र नभई यो नाकाबाट ५२ जिल्लाका नर–नारीलाई अवैध ढंगले भारतलगायतका अन्य देश पु¥याउने गरिएको मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालले जनाएको छ । तर, वर्षाैंदेखि यो तथ्य बाहिर आइरहेपनि नियन्त्रणको प्रयास भने सफल हुन नसकेको हो । केही सरकारी र गैरसरकारी संघ–संस्थाले पीडितलाई उद्धार गर्ने गरेपनि पीडकहरू वर्षाैंदेखि उम्किरहेका छन्।

मानव बेचबिखन र जबर्जस्ती करणीलगायत मुद्दामा अधिकारकर्मी र नियमन गर्ने निकायलाई समेत धाकधम्की आउने गरेकाले पनि नियन्त्रणको प्रयास पूर्ण रूपमा सफल हुन सकिरहेको छैन । पीडितहरू आफैं पनि पीडकको दबाबले न्याय खोज्नबाट पछि हट्न बाध्य हुँदा पीडिक उम्किएको पाइएको छ । माइती नेपालका संयोजक होम ढकालले पशुपतिनगर नाका मानव तस्करीमा देशमै बढी प्रयोग हुने नाका दरिएको बताए । ‘पशुपतिनगरको मानव बेचबिखन तथ्यांकले जिल्लाकै बद्नाम गर्ने अवस्था आइसकेको छ,’ उनले भने, ‘नियन्त्रणको प्रयास बेलैमा सफल हुन नसके धेरै नेपाली युवा भारतका विभिन्न कोठरीमा जीवन बिताउन बाध्य हुनुपर्ने देखिएको छ।’

आर्थिक वर्ष २०७४÷०७५ मा पशुपतिनगर नाका भएर भारत लैजान लागिएका १ सय ९५ जनालाई घर फर्काइएको छ भने १८ जनाको उद्धार गरिएको छ । माइती नेपालका अनुसार यो वर्ष मानव हराएको भन्दै ६३ निवेदन परेका थिए । तीमध्ये २२ लाई फेला पारिएको छ । माइती नेपालका संयोजक होम ढकालले झापाको काँकडभिट्टा नाकामा यो वर्ष १ सय ६४ जनालाई भारत लैजानबाट रोकिएको जनाए । काँकडभिट्टामा १० जनाको उद्धार गरिएको थियो भने ८६ जना हराएको निवेदन परेकामा ३० जना फेला परेका थिए ।

जोगवनी नाकामा १ सय २० जना रोकिएका थिए भने ४ जनाको उद्धार गरिएको थियो । यो नाकामा ३५ जना हराएको निवेदन परेकामा १५ जना फेला परेको माइती नेपालले जनाएको छ । ‘भारतसँगको सीमा खुला रहेकाले युवक र युवतीहरूलाई नै भारततिर लैजान दलालहरू सफल हुँदैछन्,’ संयोजक ढकालले भने, ‘पुरुषहरूलाई मृगौला विक्री गराउन र महिलालाई होटलका कोठरीहरूमा लैजाने गरेको पाइएको छ ।’ इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटामात्र होइन, पश्चिमका धादिङ, सिन्धुपाल्चोक, कैलालीलगायत जिल्लाका मानिसलाई समेत यही नाकाबाट भारत कटाउने गरिएको उनले बताए । प्रहरीको सहयोगमा पीडितहरूलाई नाकाबाट फर्काउने र परिवारको जिम्मा लगाउने गरेको ढकालले बताए ।

ताप्लेजुङदेखि झापासम्म भारत जोडिएको भू–भाग पूर्वमा साढे ५२ किलोमिटर छ । यो भू–भाग सबै खुला रहेकाले पनि तस्करहरूलाई सजिलो भएको हो । सीमावर्ती क्षेत्रमा सयौं सडक र गोरेटाहरू रहेपनि सुरक्षा निकायको उपस्थिति हुन नसक्दा मानव बेचबिखनको संख्या बढेको हो । पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले नेपाल–भारत सीमाको एकदेखि अर्काे सीमास्तम्भबीचमा २ सय ५ वटासम्म गोरेटो रहेको बताए । ‘यी गोरेटोहरूबाट दिनहुँ कतिथोक भारत छिरिरहेको छ भन्ने कसले हेरेको छ ?’ उनले भने, ‘पूर्वमा ३ ठाउँमा मात्रै सुरक्षाको इकाई छ, ती इकाईले कति भू–भाग हेर्न भ्याउनू ?’ क्षेत्रीले सुरक्षाकर्मीको उपस्थिति बाक्लो नबनाएसम्म मानव बेचबिखन घट्न नसक्ने औंल्याए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पशुपतिनगरबाट भइरहेको मानव तस्करीको तथ्यांकले आफू झस्किएको बताए । ‘यति धेरै संख्यामा यहाँबाट अपराध भइरहेको तथ्यांकले सुरक्षा निकायलाई निकै गम्भीर बनाएको छ,’ उनले भने, ‘हामी मानव तस्करीलाई कुनै हालतमा क्षमा दिनेछैनौं, मानव तस्करीजस्तो जघन्य अपराधमा संलग्नलाई उम्काउन कसैको दबाब र प्रभावले काम गर्दैन ।’

एकै वर्षमा १ सय ९५ जनलाई बेचबिखनबाट बचाएर घर फर्काइएको तथ्यांक आएपनि ती घटनाका दोषी कसरी उम्किए भन्ने गम्भीर अनुसन्धानको विषय भएको उनले बताए । ‘यत्रो धेरै पीडित हुँदा पीडकलाई किन कारबाहीको दायरामा ल्याउन नसकिएको हो भन्ने अब अनुसन्धानको विषय बन्नुपर्छ,’ उनले भने । जिल्ला प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले मानव बेचबिखनको समस्या गम्भीर भएको भनिएपनि जिल्ला प्रहरी कार्यालयमा निवेदन चाहिँ ज्यादै कम संख्यामा मात्र आएको बताए । ‘समयमै प्रहरीमा सूचना आउन नसकेकाले पीडितले उम्किने मौका पाएको हुनसक्छ,’ उनले भने, ‘अब सुरक्षा निकायको उपस्थिति बढाउन पहल गर्नेछौं ।’   

मानव बेचबिखनको ग्राफ निकै माथि चढेपछि नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले मंगलबार पशुपतिनगरमा सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा पशुपतिनगर नाकाबाट मानव तस्करी रोक्न सबैले पहल गर्नुपर्ने सहभागीले बताएका थिए ।

प्रकाशित: २ श्रावण २०७५ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App