२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

स्थानीय उत्पादनको बजारीकरणका लागि बडिगाडमा स्थानीय उत्पादन मेला

बडिगाड स्थानीय उत्पादन मेला २०८३ मा बिक्रीका लागि राखिएको स्थानीय उत्पादनका वस्तुहरू। तस्बिर : संगम/नागरिक

बडिगाड गाउँपालिका-५ खौलारको पुरानो बजार रङ्गिएको छ। स्थानीय उद्यमीहरू आ-आफ्नो उत्पादनका सामानहरू बिक्री वितरणका लागि लिएर ग्राहकको पखाइमा बसेका छन्। बडिगाड गाउँपालिकाले आयोजना गरेको स्थानीय उत्पादन मेला २०८३ ले उत्पादक र उपभोक्तालाई आमने सामने हुने मौका मिलाएको छ।

बडिगाड गाउँपालिका-६ का जितबहादुर थापा आफूले उत्पादनका गरेको मौरीको मह लिएर बसेका छन्। थापा बहुउद्देश्यीय कृषि फर्म मार्फत मह उत्पादनमा लागेका थापालाई आफ्नो उत्पादनको बजारीकरण गर्ने यो सुनौलो मौका भएको छ।

उनी भन्छन्, ‘बडिगाड गाउँपालिकाले ७ दिने स्थानीय उत्पादन मेलाको आयोजना गरिदिएको छ, यही मौकामा हामीले आफ्ना उत्पादनका वस्तुहरू लिएर बिक्री गर्न पाएका छौं। यसबाट हाम्रो उत्पादनको प्रचार प्रसार पनि हुने गरेको छ,’ उनले भने। गाउँमै उत्पादन भएको अर्गानिक महको प्रचार प्रसार गरिरहेको उनी बताउँछन्। ‘मसँग सेरेना जातको सय घार जति मौरी छन्, वर्षमा साठी ७० घार मौरीसहित गोला बिक्री गर्ने गर्छु,’ उनले भने, ‘वर्षमा सात क्वीन्टल जति मह उत्पादन हुन्छ। त्यसलाई बिक्री गर्नका लागि यसले ठूलो सहयोग पुग्नेछ।’ 

महको माग राम्रो भएको प्रतिकिलो तेह्रसय रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताए। वर्षमा १५ लाखसम्मको कारोबार गर्ने थापाले वार्षिक आठ लाख रुपैयाँ जति मुनाफा गर्ने गरेको सुनाए। बडिगाड-७ मा दुना टपरी उद्योग सञ्चालन गरेकी रबिना थापालाई यो मेला आफ्नो उत्पादनको प्रचार गर्ने राम्रो अवसर भएको छ। गाउँमै वनमा खेरा गइरहेको सालको पातबाट दुनाटपरी उत्पादन गरेर बिक्री गर्दै आएकी उनको व्यापार सोचे जस्तो छैन।

‘त्यस्तो सोचे जस्तो व्यापार छैन, वातावरण प्रदूषणबाट जोगाउन पातको दुना टपरी प्रयोग गर्नुपर्छ भनेर प्रचार प्रसार गर्नका लागि यो राम्रो अवसर भएको छ,’ उनले भनिन्, ‘प्लाष्टिकसँग तुलना गरेर महङ्गो भन्नुहुन्छ।’ २०७८ सालमामा साढे तीन लाख रुपैयाँ खर्च गरेर सुरु गरेको उद्योगबाट वर्षमा डेढ दुई लाखसम्मको व्यापार हुन्छ। दुनाटपरी बढी बिक्री हुने लगनको बेला पूजापाठ हुने समयमा कर्मचारी राखेर दुनाटपरी बनाउँछिन्। ‘गाउँकै रानी वनमा रहेको सालको पात बटुलेर बनाउने हो, अलि धेरै माग हुँदा कर्मचारी राखेर बनाउँछु,’ उनले भनिन्, ‘अरुले बेला आफैले काम गर्ने हो। बिस्तारै राम्रो होला भन्ने अपेक्षा छ।’

उक्त मेला स्थलमा भेटिएकी मायाकुमारी केसीले ढाकाबाट उत्पादन भएका कपडाहरूको बिक्री वितरण गरिरहेकी छिन्। बडिगाड ढाका एण्ड बुटिक उद्योगबाट ६ जना महिलाले उत्पादन गरेका वस्तुको व्यापार गर्ने गरेकी छिन्। यो साझेदारीमा चलेको संस्था हो। ‘हाम्रो साझेदारीमा चलेको संस्था हो, ६ जना दिदीबहिनीले ढाकाबाट विभिन्न कपडाहरू उत्पादन गर्नुहुन्छ, उहाँहरूले उत्पादन गरेका सामानको मूल्यको ५० प्रतिशत उहाँहरूले पारिश्रमिकको रूपमा पाउनुहुन्छ,’ उनले भनिन्, ‘दैनिक खाजा खर्च ७५ रुपैयाँ प्रतिदिन दिने गरेका छौं।’

उक्त उद्योगमा रेशको साडीदेखि कुर्था, कोट, सल, व्याग, टोपी लगायतका वस्तुको उत्पादन हुने गरेको छ। अहिलेसम्म स्थानीय रूपमा नै बजारको व्यवस्थापन गर्दै आएको पछिल्लो समय अनलाइनबाट अर्डर आउन थालेको उनी बताउँछिन्। ‘अनलाइनबाट अर्डर आउने गरेको छ। हामीले अर्डर अनुसार उत्पादन गरेर पठाउने गरेका छौं,’ उनले भनिन्, ‘अब बिस्तारै राम्रो हुन्छ होला भन्ने आशा गरेका छौं।’ स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि बडिगाड स्थानीय उत्पादन मेला २०८३ आयोजना गरेको हो।

बडिगाड गाउँपालिकाको मुख्य आयोजना हेफर प्रोजेक्ट नेपाल, नेपाल गाजा डेभलपमेन्ट फाण्डेसन, जीप र दायित्व संस्थाको सहकार्यमा साता दिने स्थानीय उत्पादन मेला सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। ‘महिला बडिगाड उद्यमी आइकन छनोट गर्नका लागि विभिन्न चरणमा कार्यक्रमहरू सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘अहिले उत्कृष्ट १० को चरणमा प्रवेश गरेका छौं। स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सघाउने गरी हामीले यो कार्यक्रम अगाडि बढाएका हौं।’

गाउँपालिकाले स्थानीयको सटर भाडामा लिएर उद्यमीलाई आफ्नो उत्पादनको प्रवर्द्धन र बिक्री गर्नका लागि स्टल उपलब्ध गराएको छ। गाउँका उद्यमीहरूलाई बजारसँग जोड्न मेला महत्वपूर्ण हुने उनले बताइन्। अहिले पोषण सप्ताह पनि चलेका कारण स्थानीय कृषकले उत्पादन गरेका वस्तुहरू र स्थानीय अन्नबाट बनेको खानाहरूलाई पनि प्राथमिकताका साथ मेलामा राखिएको उनले जानकारी दिइन्। मेला जेठ ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ३ जेष्ठ २०८३ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App