२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

यो संविधान अझै ५० वर्षसम्म संशोधन आवश्यक छैन: प्रधानमन्त्री बालेन

रास्वपाका बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संविधान संशोधनको आवश्यकता नरहेको बताएका छत् । उनले यो संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  

एक राजनीतिक भेटवार्ताका क्रममा उनले सरकार र रास्वपालाई संविधान संशोधनको आवश्यकता नै नरहेको बताएका हुन् ।  

सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले अन्य दलको चाहनालाई पूरा गर्नमात्र संविधान संशोधनको विषयलाई अघि बढाएको बताएका हुन् ।  

वार्तामा सहभागी एक नेताले प्रधानमन्त्री शाहको अभिव्यक्ति उदृत गर्दै भने, ‘सरकार र रास्वपालाई संविधान संशोधन चाहिएकै छैन। अन्य दलहरूले लामो समयदेखि संविधान संशोधनको कुरा उठाइरहेकाले सरकारले प्रक्रिया अघि बढाएको मात्र हो। यो संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता छैन।’

प्रधानमन्त्री शाहको भनाइप्रति प्रतिक्रिया दिँदै बैठकमा सहभागी ती नेताले भने, ‘सायद संविधान संशोधन नहुने देखेर नै एमालेसहितका दलहरूले कार्यदलबाट आफ्ना प्रतिनिधि फिर्ता लिएका हुन्। प्रधानमन्त्री आफैं संविधान संशोधनप्रति सकारात्मक नदेखिएपछि यो कार्यदलको औचित्य के रहन्छ भन्ने प्रश्न उठेको छ।’

संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमत नजिक रहेको रास्वपा तथा उसैको नेतृत्वमा रहेको वर्तमान सरकार प्रमुखको यस्तो अभिव्यक्तिपछि संविधान संशोधनको बहसलाई फेरि एकपटक केवल राजनीतिक स्टन्टका रूपमा मात्र हेरिन थालेको छ।

प्रकाशित: २१ श्रावण २०८३ २०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App