१० फाल्गुन २०८० बिहीबार
नागरिक खोज

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

क्याप्शन

काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै पर्‍यो,’ उनले भने।

त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा (नाम परिवर्तन) ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्।

यी दुवै युवक चाहेर पनि भेपको लतबाट मुक्त हुन सकेका छैनन्। ‘भेपले पनि चुरोटले जत्तिकै हानि गर्छ भन्ने थाहा छ, तर चाहेर पनि छाड्न सकिनँ,’ थापाले भने। थापा र शर्मा जस्तै भेप प्रयोग गर्ने युवाको संख्या ठुलो छ। काठमाडौं, पोखरा, विराटनगर, चितवन, बुटवललगायत मुलुकका ठूला सहरमा भेप प्रयोगगर्ता छन्। ठूला सहरमा भेपको थोक, खुद्रा र अनलाइन बिक्री हुन्छ।

सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ। ‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका एक अनलाइन बिक्रेताले भने। ती व्यापारीका अनुसार प्रत्यक्ष पसलमा किन्न आउनेभन्दा अनलाइनबाट माग गर्ने धेरै छन्। अनलाइनबाट भेपको कारोबार गर्न थालेको पाँच वर्षजति भएको ती व्यापारीले बताए। त्यस्तै ५ वर्षदेखि भेपको व्यापार गर्दै आएको ललितपुर पुलचोकस्थित अर्का व्यापारी भेपको माग बढ्दै गएको बताउँछन्। ‘माग पहिलादेखि नै उच्च छ,’ ती व्यापारीले भने। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा १ करोड १० लाख रुपैयाँभन्दा बढीको भेप आयात भएको छ। त्यस्तै आव २०७९/८० मा ४ लाख २६ हजार ३७२ थान भेप आयात भएको छ।

एक वर्षदेखि बजारमा नयाँ स्वादमा भेप आएको छ। अहिले प्रयोग गरेर सकिएपछि फाल्ने भेपको माग बढी हुने गरेको छ। फरक–फरक स्वादका कारण युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको विरानगरका एक बिक्रेताले भने। ती व्यापारीका अनुसार नयाँ स्वादमा आएको भेपको खुद्रा मूल्य बजारमा २ हजार पर्छ। दुई हजारमा बिक्री गर्दा ६ सय रुपैयाँ नाफा हुन्छ। बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महँगो पर्छ। पुनः प्रयोग गर्न मिल्ने डिभाइस पनि फरकफरक मूल्यमा बजारमा उललब्ध छन्। नेपालमा भेप चीन र अमेरिकाबाट आयात हुने गरेको बिक्रेता बताउँछन्। भेपको मूल्य डिभाइस र गुणस्तरअनुसार फरक फरक हुन्छ।

कतिपयले स्वादका लागि, कतिपयले चुरोटको लत छाड्न, कतिपयले चुरोटभन्दा कम हानिकारक हुन्छ भनेर भेपको प्रयोग गरेको व्यापारी बताउँछन्। सिभिल अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार कतिले साथीभाइबीचमा स्मार्ट देखिन पनि भेप प्रयोग गरेको देखिन्छ। ‘कतिले साथीभाइको बीचमा भेप र घर पुगेपछि चुरोट तान्ने गरेको पनि पाइन्छ,’ उनले भने।

भेप प्रयोगकर्ताका अनुसार दैनिक कतिपटक प्रयोग गरिन्छ भन्ने आधारमा खर्च निर्धारण हुन्छ। एक प्रयोगकर्ताका अनुसार मासिक खर्च प्रयोग तहअनुसार ३ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ। तर चुरोटको तुलनामा दसौं गुणा महँगो पर्ने प्रयोगकर्ता बताउँछन्। ‘दिनमा एक÷दुई पटक प्रयोग गर्नेको तुलनामा धेरै पटक प्रयोग गर्नेको खर्च धेरै हुन्छ। चुरोट खर्चको तुलनामा भेपको खर्च महँगो पर्छ’, पुलचोकका एक बिक्रेताले भने।

के हो भेप

विद्युतीय डिभाइसमा रिफिल राखेर बाफ तान्ने सिगरेटको अर्को स्वरुप हो भेप। चीनका फार्मेसिस्ट हनलिकले सन् २००४ मा पहिलो पटक भेप उत्पादन सुरु गरेका थिए। उनले आधुनिक चुरोटका रुपमा भेप उत्पादन गरेका हुन्। पछि गएर यसको उत्पादन अन्य देशमा पनि दु्रत रुपमा हुन थाल्यो। अहिले विश्वभरि इ–सिगरेट अर्थात् भेपको उत्पादन र प्रयोग दुवै बढेको छ।

उत्पादक कम्पनीहरु निकोटिनयुक्त र निकोटिनरहित दुवै खालको भेप बजारमा उपलब्ध भएको बताउँछन। देख्दा चुरोट जस्तो नदेखिए पनि काम भने चुरोटकै गर्ने र लत पनि उस्तै बस्ने भएकाले पनि यसलाई इ–सिगरेट भनिएको हो। यसले सिगरेटले भन्दा कम हानि गर्छ भन्ने मान्यता प्रयोगकर्तामा छ।

नेपालमा सन् २०१४ देखि भेप बिक्री हुन थालेको हो। यो हिसाबले नेपालमा भेप भित्रिएको एक दशक भएको छ। सन् २०१७ यता भने व्यापक रुपमा बजारमा बिक्रीवितरण भएको पाइन्छ। अस्टेलिया, भारतलगायत देशमा यसको बिक्रीवितरणमा प्रतिबन्ध लगाइए पनि नेपालमा यसतर्फ कसैको चासो देखिँदैन।

भेप पनि चुरोटजस्तै हानिकारक: चिकित्सक

चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन्। सिभिल अस्पतालका छातीरोेग विशेषज्ञ डा. विष्टका अनुसार भेपमा विभिन्न खालका हानिकारक रसायन समावेश हुन्छ। चुरोटमा निकोटिनसहित कार्बमनोअक्साइड रसायन हुन्छ। चुरोटमा निकोटिन ३ हजार मिलिग्राम हुन्छ, कार्बनमनोअक्साइड पनि हुन्छ। भेपमा निकोटिन चुरोटमाजत्तिकै हुने चिकित्सक बताउँछन्। भेपमा कार्बनमनोअक्साइडको मात्रा भने चुरोटको तुलनामा केही कम हुन्छ।

भेप प्रयोगकर्ताको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर देखिने चिकित्सक बताउँछन्। ‘आस्थामाका बिरामीले भेप तानेमा तत्कालै श्वास÷प्रश्वासमा समस्या आई दम बढ्छ,’ डा विष्ट भन्छन्। यस्ता बिरामी अस्पतालमा उपचारका लागि आइरहेको उनले बताए। लामो समय भेप प्रयोग गरेका मानिसमा मानिसमा दम र फोक्सोको क्यान्सरको जोखिम हुने उनी बताउँछन्। ‘भेपमा धेरैथरी हानिकारक रसायन हुन्छ, प्रयोग गरेको लामो समयपछि त्यसको असर फोक्सोमा देखिन्छ,’ उनले भने।

नर्भिक अस्पतालका छातीरोग विशेषज्ञ डा. सुरज गुप्ताको अनुभवमा भेप र चुरोट दुवै प्रयोगकर्ता स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आउँछन्। धेरैजसो फोक्सोमा समस्या भएपछि उपचारमा आउने गरेको जानकारी दिँदै डा. गुप्ता भेपले चुरोटको लत छुटाउने कुरा निराधार भएको बताउँछन्। ‘भेपले चुरोट छुटाउने हैन कि उल्टै लतमा पार्छ,’ उनले भने। निकोटिनबिनाका भनिने भेपमा पनि कुनै न कुनै किसिमको रसायन राखिने उनले बताए। उनका अनुसार भेप प्रयोगकर्ता धेरै युवा छन्। उपचार गराउन पुग्ने बिरामीका आधारमा उनले यस्तो बताएका हुन्।

भेपका अम्मलीमा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती दुख्नेजस्ता समस्या देखिएको डा. गुप्ताले बताए। सुर्तीजन्य पदार्थ कुनै पनि स्वरुपमा हानिकारक हुने भएकाले युवा या वृद्ध कसैले पनि प्रयोग गर्न नहुने उनको भनाइ छ। उनका अनुसार भेप परिवर्तित स्वरुपमा आएको निकोटिन अर्थात् चुरोटको अर्को रुप भएकाले यसले असर गर्दैन भन्नु गलत हो। भेपले युवाको स्वास्थ्य र पैसा दुवै बर्बाद पारेको हुँदा प्रतिबन्ध लगाउन उचित हुने चिकित्सक राय छ। ‘चुरोटमा प्रतिबन्ध लगाउने हल्ला छ, खर्चिलो र हानिकारक भेपमा पनि प्रतिबन्ध लगाए राम्रोे हुन्छ,’ गुप्ताले भने। डा. विष्ट सुरुमा फेसनका रुपमा भेप प्रयोग गर्ने र समयक्रमसँगै त्यसको अम्म्मली बन्ने संख्या बढ्दै गएकाले यसको बिक्रीवितरण र प्रयोगमा रोक लगाइनुपर्ने बताउँछन्।

प्रकाशित: ११ पुस २०८० १७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App