१३ आश्विन २०७९ बिहीबार
अन्तर्वार्ता

‘समय खेर नफालि पोखरा बनाउन लगाउँछु’

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्। सानो पार्टी, कमजोर संगठन भएको धरातलबाट नेकपा एमालेको लालकिल्ला भत्काउँदै मेयरमा निर्वाचित आचार्यबाट पोखरेलीले धेरै अपेक्षा राखेका छन्।

जनसंख्या बढ्दै गएपछि, पानी, बत्ती, बाटो, रिङरोड, सिटी बसपार्क, प्रदेशस्तरीय टर्मिनल बसपार्क, पार्किङ, अटो भिलेजदेखि सुशासन कायम गर्नेसम्मका चुनौतीका चाङले भरिएको समयमा आचार्य मेयर बनेका छन्। उनै मेयर आचार्यसँग नागरिककर्मी सन्देश श्रेष्ठले गरेको कुराकानी:

तपाईंको जितको आधारचाहिँ के हो?

मेरो जितको आधार भनेकै मेरो स्पष्ट दृष्टिकोण हो। योजनासहितको दृष्टिकोण जनताले मन पराई दिनुभयो। अरू पार्टीमा पार्टीभित्र पार्टी अर्थात् गुटउपगुट थियो। तर, हाम्रो पार्टी मात्र एकढिक्का थियो यो अर्को आधार हो। जनताले आशा, भरोसा गरेको पात्र पनि म हो। मलाई उद्योगी, व्यवसायीको माया र सद्भाव थियो। किनकि म पहिलेदेखि नै व्यवसायी संघ, संगठनको नेतृत्व गरिसकेकाले त्यसको सञ्जाल राम्रै थियो।

चुनावी तयारी के थियो र जित सम्भव भयो?

धनराजको समस्या के हो? उसको कमजोरी के हो? उसलाई मान्छेले बुझे कि बुझेनन्? सुने कि सुनेनन्? सुन्दाखेरी पोजिटिभ्ली सुने कि नेगेटिभ्ली? त्यसपछि ३ वटा क्याटागोरी बनाएर टिनेजर, मिडल र एडल्टले धनराजलाई कसरी हेरे? हेरेका छैनन् भने उनीहरूलाई सुनाउने तरिका के के हुन्? उनीहरूलाई सम्बोधन गर्न सोसल मिडिया प्रयोग गरेर हुन्छ कि? पर्सनल म्यासेज गरेर हुन्छ कि? तत्तत् ठाउँका प्रबुद्ध व्यक्तिहरूसँग कुरा गरेर ‘एस हि इज सम्थिङ’ भन्ने बनाउन कसरी सकिन्छ? यो मान्छेले जिम्मेवारी पायो भन्ने पक्कै केही न केही गर्छ भन्ने बनाउन पहिलो चरणमा साइलेन्ट्ली अध्ययन गरें।

त्यो रिसर्चले मलाई चुनावमा उठियो भने जितिन्छ भन्ने सम्भावना देखायो। दोस्रो चरणमा टिकट पाउने रस्साकस्सी भयो। कांग्रेस नेताहरू डेलिगेसन नै जानुभयो तापनि म ढुक्क थिएँ कि टिकट मैले नै पाउँछु। किनभने मलाई मेरो नेता माधव नेपालले टिकट पाउनेमा ढुक्क हुन भन्नुभएको थियो। मलाई माधव नेपाल, झलनाथ खनालले हामी बिनागठबन्धन अगाडि बढ्न सक्दैनौं, त्यही भएर पोखरा हामीले नै पाउने भएकाले ढुक्क भएर तयारीमा लाग्नुस् भन्नुभएको थियो।

त्यही भएर म ढुक्क थिएँ टिकट पाउनेमा। त्यसपछि मैले ३३ वटै वडामा पार्टीको च्यानल र अन्य अनौपचारिक क्षेत्रको च्यानल प्रयोग गरेर स्थानीय इस्युहरू उठाउन सक्नेहरू कोको हुन् भनेर खाका तयार गर्ने र उनीहरूसँग छलफल, अन्तरक्रिया गर्दा उहाँहरू सबैको पोखरा बनाउनुपर्छ भन्ने सन्देश पाएँ।

त्यसपछि युवाहरूलाई सम्बोधन गर्न ३७ वटा फरक/फरक समूहसँग के भयो भने तपाईंहरू विदेश जानुहुन्न? भनेर छलफल गरें। तपाईंहरू के पढ्ने हो? के गर्दा तपाईंहरू स्वरोजगार र रोजगार प्राप्त गर्न सक्नुहुन्छ भनेर सोधेें। त्यसबाहेक थपिएका ३९ हजार मतदाताको दिल दिमागमा के छ? किनकि उहाँहरू पहिलोपटक चुनावमा भोट हाल्दै हुनुहुन्थ्यो। उहाँहरूलाई सम्बोधन गर्न जरुरी थियो र त्यसलाई मैले एड्रेस गर्न सकें र जित सम्भव भयो।  

ती मतदातालाई कसरी आकर्षित गर्नुभयो त?

मलाई यी मतदाता स्वतन्त्र उम्मेदवार गनेस पौडेलतर्फ डाइभर्ट हुन्छन् कि भन्ने डर थियो। तर, मैले उहाँले उठाएका एजेन्डा उहाँले उठाउनुभन्दा पहिल्यै उठाइसकेको थिएँ। त्यो कुरा मैले बुझाएँ। यो कुरा गर्न संगठित शक्ति चाहिन्छ। सडकमा बोलेर होइन, काम गर्ने ठाउँ चाहिन्छ। अहिलेको जमानामा हिँडेर त सबै ठाउँमा पुगिँदैन। त्यसका लागि भेहिकल चाहिन्छ।

त्यो भेहिकल भनेको अहिले दल नै हो र त्यसलाई विश्वास गर्नुको विकल्प छैन भन्ने बुझाएँ। यहाँभन्दा ठूलो राजनीतिक परिवर्तनको सम्भावना तत्काल छैन। त्यसैले दललाई विश्वास गर्नुस् भनेर आग्रह गरें। युवाहरूको दिल र दिमागमाचाहिँ के रहेछ त? यहाँ देश बन्छ भन्ने हामीले विश्वास दिनसक्ने हो भने उहाँहरू कोही पनि विदेश जान चाहनुहुन्न। हामी देश बनाउन सक्छौं। विकास गर्न सक्छौं। यहीँ रोजगारी सिर्जना गर्न सक्छौं भन्ने विश्वास जगाउन सक्ने र त्यसलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व खोजेका छन् उनीहरूले।

तपाईंले जित्नुको कारण एमालेभित्रको घातअन्तर्घात हो भन्ने हल्ला छ त?

कुनै पनि हालतमा होइन। यो चुनाव हारेपछि गरिएको फेस सेभिङको कुरा हो। प्रायोजित अडियो बनाएर गरिएको फन्डा मात्र हो। यसबीच एमालेका कोही पनि नेतासँग मेरो कुरा भएको छैन। अहिले मान्छे सचेत भइसकेका छन्। उनीहरू एजेन्डा हेर्छन्। उम्मेदवार हेर्छन्। भविष्य हेर्छन्।  

के विश्वासले उनीहरूले तपाईंलाई भोट हाले?

यसले केही गर्छ भनेर भोट हाले। भएका क्यान्डिडेटमध्ये योचाहिँ उपयुक्त छ भनेर भोट हालेका हुन्। 

तपाईं त अनटेस्टेड हो, कसरी विश्वास गरे?

म टेस्टेड हुँ। चुनावमा उम्मेदवार बनेर जित्दामात्रै टेस्टेड हुने हो? मानिसको व्यवहारको कुरा हुन्छ। बोलेका कुरा व्यवहारमा कत्तिको पूरा गर्छन् भन्ने कुरा हुन्छ। मैले त सामाजिक क्षेत्रमा थुप्रै काम गरेको छु। ३७ वर्षदेखि राजनीति गरिरहेको छु नि मैले। त्यसैले म टेस्टेड हुँ। दलको विकल्प खोज्ने मनसायमा छन् मतदाता? होइन, दलको विकल्प छैन। आजको दिनमा हामीले गणतन्त्र ल्याइसकेपछि योभन्दा ठूलो परिवर्तन तत्काल सम्भव छैन। त्यसैले नयाँको विकल्प खोज्ने भन्ने देख्दिनँ।

सबल अर्थतन्त्र निर्माणको नारा लगाउनुभयो तर योजना पनि छ कि नारा मात्रै हो?

यदि हामीले हाम्रो काम गर्ने शैली बदल्ने हो भने यो सम्भव छ। यो नारा मात्रै होइन।

पोखरा बनाउने त भन्नुभयो तर कसरी बनाउनुहुन्छ?

अब म सोसाइटीलाई महानगरसँग जोड्छु। महानगर अहिलेसम्म अन्तरिक्ष जस्तो भयो। कर्मचारी कहाँ छन्? कसले के गरिरहेको छ? कसरी काम गरिरहेको छ? कसैलाई मतलब भएन। जसकारण जनताले आफ्नो काम आफैंले गर्नेबाहेक धेरै अपेक्षा र विश्वास पनि गरेन महानगरबाट। तर अब महानगरलाई विश्वास योग्य बनाउँछौं। मिलेर काम गरौं भन्ने ‘वे’ बदल्न चाहन्छौं।

तपाईं आफ्नो पार्टीबाट एक्लो हुनुहुन्छ महानगरमा, काम गर्न सकिएला?

त्यस्तो होइन। मैले जुन घोषणा पत्र बनाएर आएको छु त्यही घोषणा पत्र बोकेर जनताकोमा गएका २४ जना वडाध्यक्ष हुनुहुन्छ। त्यसबाहेक अन्य बाँकी ९ जना वडाध्यक्ष जो एमालेबाट निर्वाचित भएका छन् ती पनि मेरै साथी हुन्। म इस्यु के हो? यसका सकारात्मक र नकारात्मक पक्ष के के हुन्? यो गर्दा जनताले के पाउँछन्? जानकारी दिएर काम गर्छु। राम्रो काम गर्दागर्दै विरोध भयो भने तपाईंका जनता रिसाउँछन् है भनेर ध्यानाकर्षण गर्छौं। र त्यसलाई पब्लिक गर्दिन्छु।

अल्पमतमा पर्दा काम गर्न अप्ठ्यारो हुँदैन?

अल्पमत र बहुमतले मलाई केही फरक पर्दैन। म हरेक निर्णय सर्वसम्मत गर्छु। म स्वार्थ नै राख्दिनँ नि। मैले नै स्वार्थ नराखेपछि कसैले मलाई केही गर्न सक्दैन। सर्वसम्मत भएन भने त बहुमतको विकल्प छ छँदै छ नि फेरि। म राजनीतिक इमानदारिता देखाउँछु ५ वर्ष। गठबन्धनप्रति बफादार रहन्छु। किनकि म गठबन्धकै मत पाएर निर्वाचित भएको हुँ। माथि गठबन्धन भत्कियो भने पनि यहाँ ५ वर्षसम्म गठबन्धनप्रति बफादार भएरै काम गर्छु।

पोखरालाई पर्यटनको राजधानी बनाउने पुरानै प्रस्ताव किन ल्याउनुभयो?  

महानगरले त पहिल्यै भनेको थियो। प्रदेश सरकारले त निर्णय गरेरै पठायो। तर, कार्यान्वयन भएन। यसअघि बोल्यौं र छाडिदियौं तर अब नछोड्ने गरी निरन्तर फलोअप गरेर कार्यान्वयन गर्नेगरी लागेका हौं। यो २ महिनाभित्रमा संघ सरकारको क्याबिनेटले निर्णय गर्छ।

यो भयो भने हुन्छचाहिँ के?  

यो भने एउटा पर्यटनको फ्रेमवर्क तयार हुन्छ। जस्तो हामी कल्चरको राजधानी काठमाडौंलाई भन्न सक्छौं। प्राकृतिक हिसाबले यति धेरै समृद्ध भएको पोखरा छ। हुन त अरू सम्भावना पनि प्रशस्तै छन्। तर, पर्यटनको अथाह सम्भावना छ। पर्यटकीय केन्द्र हो यो। त्यसैले यसलाई पर्यटनको राजधानी बनाइयो भने संघ, प्रदेश सबैको प्राथमिकतामा पर्छ पोखरा।

पर्यटनमा के गर्ने भन्ने आयो भने सबैभन्दा पहिले पोखरालाई सोच्ने बनाउँछ। देशभर पोखरा पर्यटकीय राजधानी हो एकपटक जसरी पनि जानुपर्छ भन्ने सन्देश जान्छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पनि बनिसक्यो। अब घुम्न आउने पर्यटक चढेको प्लेन काठमाडौंमा किन ल्यान्ड गर्नुपर्‍यो। सिधै पोखरा ल्याए भइगो त, भन्ने हुनसक्छ।

फेवातालको मापदण्डबारे चाहिँ तपाईंको धारणा के हो?

यसबारे हामी राम्रोसँग छलफल गरेर निष्कर्षमा पुग्छौं। अघिल्लो महानगरको बोर्डले गरेको निर्णय निर्णयचाहिँ माइन्युट भएको छैन भन्ने सुनेको छु। माइन्युट भइसकेको हो भने त यो अविछिन्न उत्तराधिकारी संस्था हो। अघिल्लोले गरेका निर्णय बदर गर्ने मेरो नियत छैन। योभन्दा अगाडिका सबै राम्रा कामको हामी ओन गर्छौं। सुरु भएका कामलाई पनि निरन्तरता दिन्छौं।

मेयर भएपछि अरूले गरेको तर आफूचाहिँ गर्दिनँ भन्ने केहि छ?

म भ्रष्टाचार गर्दिनँ। म सिस्टम बसालेर भ्रष्टाचार नगर्ने वातावरण बनाउँछु। सुशासनको प्रत्याभूति दिलाउँछौं।

ब्युरोक्रेसी हाबी हुने देशमा कर्मचारीले काम गर्न देलान्?

हाम्रोमा ओभर स्टाफिङ छ। कार्यालय साँघुरो छ। जसकारण कर्मचारीले काम गर्न पाएका छैनन्। उहाँहरूलाई हामी राम्रोसँग काम गर्ने वातावरण दिन्छौं। राइट पर्सन इज द राइट प्लेस कार्यान्वयन गर्छु। सबैलाई काम दिन्छौं। गरेनन् भने प्रक्रियामा जान्छौं।

अरूलेजस्तै तपाईं पनि प्रमुख अतिथि बन्ने, भाषण गर्नमै धेरै समय फाल्ने त होइन होला नि?

होइन, म त्यसरी समय खेर फाल्दिनँ। यो समय म पूरै पोखरा बनाउन लगाउँछु। सबै ठाउँमा जान्न भन्ने पनि होइन। पब्लिक इस्युसँग सम्बन्धित, सरोकारका विषय भएका ठाउँमा मात्र जान्छु। सकेसम्म प्रमुख अतिथि बन्दिनँ। प्रमुख अतिथि बनेंभने पूरै समय बस्छु। म आफैं उदाहरणीय बन्न कोशिस गर्छु।

निर्वाचन आयोगको चाहिँ किन आलोचना गर्नुभयो?

सुरुमा निर्वाचन आयोगले महानगरमा उम्मेदवार नभएको ठाउँमा निर्वाचन चिह्न राखिँदैन भन्यो। हामीले त्यहीअनुसार प्रचार गर्‍यौं। तर पछि निर्वाचन आयोगले निर्वाचन चिह्न राखेर धोका दियो। यो इन्टेनसनल्ली भयो। पहिले पब्लिक्ली भनेर पछि किन निर्णय फेर्‍यो? यदि सकिँदैन थियो भने त यति ठूलो संस्थालाई पहिल्यै थाहा हुनु पर्दैन? यो त केटाकेटी खेलेजस्तो त होइन नि। अब आइन्दा अरूअरू चुनावमा यस्तो नहोस्।  

तपाईं व्यापारीचाहिँ कसरी हुनुभयो?

एउटा त २०५४ सालमा पार्टी फुटेपछि राजनीतिप्रति वितृष्णा जाग्यो। राजनीतिमा अपराधीकरण बढ्यो। सत्तामा जसरी पनि जानैपर्ने, सत्तामा पुगेपछि छाड्दै नछाड्ने। यसले राजनीति पेसा भयो कि भन्ने लाग्यो। राजनीति पेसा हुनुहुँदैन यो त नितान्त समाजसेवा हो।

अर्को कुरा भनेकोचाहिँ मदन भण्डारीले दासढुंगा हत्याकाण्डअघि पोखरामा भएको आफ्नो अन्तिम भाषण हिजोको तरिकाले हुँदैन। अब तपाईं जहाँ हुनुहुन्छ। जुन पेसामा हुनुहुन्छ त्यसमा उत्कृष्टता हासिल गर्नुस्। त्यसको पार्टीले मूल्यांकन गर्छ भन्नुभयो। त्यसले मलाई छोयो र मलाई यु–टर्न गरायो। त्यसपछि ध्येय राजनीतिभन्दा व्यवसाय र सामाजिक क्षेत्रमा केन्द्रित गरेँ।  

मूल पार्टी एमाले छाडेर नेकपा एसमाचाहिँ किन लाग्नुभयो तपाईं?

म आठौं महाधिवेशनबाटै माधव नेपालको पक्षमा उभिएँ। २०५४ मा एमाले फुटेर वामदेव गौतमको नेतृत्वमा माले बनाउँदा त्यता भए पनि एमालेको आठौं महाधिवेशनदेखि म माधव नेपालको पक्षमा थिएँ। एमाले र माओवादीको एकता पछि नेकपा हुँदाताका केपी शर्मा ओलीजीले संसद् विघटन गर्नुभयो। एकपटक होइन, दुईदुई पटक संसद् विघटन भएपछि प्रतिगमन भयो भन्ने लाग्यो। त्यसको विरोध मैले पोखराबाट गरें।

आन्दोलनताका मलाई तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये एक अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मलाई पोखरा गएर आन्दोलनको नेतृत्व गर्नुस् भन्नुभो। भूगोल बुझेको, जनताले पत्याएको, व्यवस्थापकीय क्षमता देखेर उहाँहरूले मलाई त्यो जिम्मेवारी दिनुभएको थियो। त्यसलाई निर्वाह गर्न म पोखरा आएँ। त्यसपछि यहाँ समानान्तर समिति हुँदै विद्रोह गरेर नयाँ पार्टी बनाउँदासम्म पनि नेतृत्व गर्ने अवसर प्राप्त भयो।  

पोखराका गौरवका आयोजनाचाहिँ कुनकुन अगाडि बढाउनुहुन्छ?

पोखरा महानगरपालिकाले ११ वटा गौरवका आयोजना पहिचान गरेको छ। हाम्रो गौरवको आयोजनामा पहिलो कुरा त हामी ‘सिम्बोल अफ पोखरा’ बनाउँदै छौं। यो प्रमुख गौरवको आयोजना हो। यो पोखराको पहिचान झल्किने गरी बनाउँछौं। जहाँ पुगेपछि पोखरा सबै नघुमिकन पोखराको विशेषता थाहा पाउन सकियोस्।

त्यस्तै, हामी वर्षौंदेखिको पोखरेलीको सपना सिटी बसपार्क पृथ्वीचोकमा बनाउँदै छौं। प्रदेशस्तरीय टर्मिनल बसपार्क पनि गौरवको आयोजना हो। यो पोखरा–२७ मा बनाउँछौं। रिङरोड पनि गौरवको आयोजना हो। यसको सम्भाव्यता अध्ययन गर्छौं। फेवा–बेगनास कनेक्टिङ रोड निर्माण गर्छौं। मुस्ताङ चोकबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने कनेक्टिङ रोड, महानगरका सबै वडामा विशेषज्ञ डाक्टरसहितको हेल्थ सेन्टर स्थापना पनि गौरवको आयोजना हो।

त्यस्तै महानगरको आफ्नै प्रशासकीय भवन निर्माण तथा महानगरका सबै वडाको वडा कार्यालय निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ। पोखराको गौरवको रूपमा रहेको रत्न मन्दिर, हिमागृह र शान्ति वनबाटिकालाई व्यवस्थित गर्ने र सर्वसाधारणका लागि खुला गर्छौं। ल्यान्डफिल साइड निर्माण गर्ने, प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्नेदेखि पोखरामा ठूलठूला पार्क निर्माण गर्ने पनि हाम्रो योजना छ।

काम गर्ने त भनियो तर कसरी गर्ने हो त्यो पनि भन्दिनुस् न। यी गर्नैपर्ने कुरा हुन्। यसको कार्यान्वयन गर्ने सन्दर्भमा हामी प्रदेश र संघ सरकारसँग सहकार्य गर्छौं। महानगरले सक्ने कुराहरू महानगर आफैंले गर्छ। त्यसमा एक वर्षीय, बहुवर्षीय गरेर काम गर्छौं। त्यसपछि हामी प्रदेश र संघ सरकारसँग सहकार्य गरेर बाँकी गर्छौं। त्यसबाहेक ठूला आयोजनाहरू भने हामी पब्लिक, प्राइभेट पार्टनरसिप गरेर गर्छौं।

कहिलेसम्ममा सक्ने हो त यी आयोजना?  

हामी तत्काल सक्ने काम सुरु गरिहाल्छौं। एक वर्षभित्र सबै आयोजनाहरूको काम सुरु गर्छौं। कुनैको निर्माण नै सुरु हुन्छ भने कुनैचाहिँ सम्भाव्यता अध्ययन, डिपिआर निर्माणलगायत काम गर्छौं। यसबीचमा स्रोतको सुनिश्चितता गर्ने, अनुदान, ऋण लगानीलगायतको खोजी गर्छौं। हामी ५ वर्षभित्रमा रिङरोडबाहेक सबै आयोजना सम्पन्न गर्ने हाम्रो लक्ष्य छ। रिङरोडचाहिँ धेरै समय लाग्ने र ठूलो खर्च हुने भएकाले यसको काम सुरु हुने तर सम्पन्न हुन केही समय बढी लाग्ने हुनसक्छ।

चुनाव खर्चिलो भयो भन्छन्। तपाईंको आफ्नैचाहिँ कति खर्च भयो चुनावमा?

सामूहिक चुनाव लडिने भएकाले एउटैलाई भार धेरै पर्दैन। मेयर, उपमेयर, वडाध्यक्षदेखि वडा सदस्यसमेत गरेर महानगरमा १ सय ६७ जना उम्मेदवार भएकाले खासै धेरै खर्च व्यक्तिगत रूपमा भएन।

प्रकाशित: १५ जेष्ठ २०७९ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App