१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

‘आउँदो अक्टुवरदेखि पर्यटक आउन थाल्नेछन्’

दिपकराज जोशी, पूर्व सिइओ, नेपाल पर्यटन बोर्ड

कोभिड–१९ ले समग्र पर्यटन क्षेत्र थला परेको छ। अबका केही वर्ष मुलुकमा पर्यटकीय चहलपहल नहुने आशंकामा पर्यटनकर्मीमा निराशा छाएको छ। यही सन्दर्भमा पर्यटनलाई पुर्नजीवन दिन नेपालले गर्नुपर्ने तयारीका विषयमा कोरोनापछि पर्यटनलाई नयाँ ढंगमा सञ्चालन गर्न सुरु भएको विश्वव्यापी अभियान ‘रिबिल्डिङ डट ट्राभल’को कार्यदल सदस्य समेत रहेका नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दिपकराज जोशीसँग नागरिककर्मीद्वय अमृत भादगाउँलेपवन बराइलीले गरेको कुराकानीः  

कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्र उठ्न कति समय लाग्ला?  

विभिन्न देशको पछिल्लो अवस्था हेर्दा आउँदो अक्टुवरबाट पर्यटकीय क्षेत्र चलायमान हुने देखिन्छ। कोरोनाको औषधि छिट्टै आयो भने साधारण रूपमै अघि बढ्छ। आएन भने पनि केही सुरक्षित मापदण्ड अपनाएर पर्यटन अघि बढ्नेछ। अहिले एयरलाइन्स र होटल पनि यसरी नै अघि बढिरहेका छन्। हरेक देशले सुरक्षा मापदण्ड निकालिरहेका छन्। छिट्टै मास ट्राभलको संभावना त छैन तर, विजिनेस, पिल्ग्रिमेज र विशेष रुचिका पर्यटकको चहलपहल भने सुरु हुन सक्छ।  

भर्खरै नेपालले पनि पर्यटन व्यवसाय सञ्चालन मापदण्ड बनाएको छ। पर्यटनलाई पुनःजीवन दिन नेपालले तत्कालै केके काम गर्नुपर्छ?  

नेपालले संकटका बेलामा पनि ब्राण्ड भिजिविलिटी बढाइराख्नुपर्छ । कतिपय पर्यटक नेपालमै बसिरहेका छन्। आफ्नो देशभन्दा नेपाल सुरक्षित छ भनेरै उनीहरू यहाँ बसेका हुन्। यस्ता कुरालाई बाहिर स्रोत बजारका घुम्न इच्छुक मान्छेसँग पुग्ने गरी सूचनाप्रवाह गर्नुपर्छ। अर्काे कुरा, सुरक्षा कार्यविधि पालना गर्न पर्यटनको फ्रन्टलाइनमा काम गर्नेहरूलाई व्यापक तालीम दिइहाल्नुपर्छ। लकडाउनमै तालीम दिनुपर्छ किनभने भोलि नर्मल अवस्था हुँदा मानिसको व्यस्तता बढेर जान्छ। विदेशतिर यस्तो अभ्यास हुँदै आएको छ। त्यसैले सुरक्षा कार्यविधि लागु गराउन सरकार, निजी क्षेत्र र पर्यटकसँगै राखेर संयन्त्र बनाउनुपर्छ। र, यसको निरन्तर निगरानी राख्नुपर्छ। पर्यटकलाई म जाने गन्तव्य सुरक्षित छ भन्ने विश्वास दिलाउने काम गर्नु जरुरी छ।  

सबैभन्दा पहिला हामीले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ। यसका लागि पर्यटन बोर्डले सरोकारवालासँग मिलेर रणनीति बनाउनुपर्छ। यसमा निजी क्षेत्रको पनि उत्तिकै भूमिका हुन्छ।

यतिबेला पर्यटनको बोर्डको भूमिका कस्तो हुनुपर्छ?  

विश्व पर्यटनको अवस्थाबारे जानकारी राख्ने संस्था पर्यटन बोर्ड नै हो । ऊ नै यतिबेला सक्रिय हुनुपर्छ। अब नेपालले सबैभन्दा पहिला डोमेस्टिक र रिजनल मार्केटमा जोड दिनुपर्छ। हामीले भारत, बङ्गलादेश, श्रीलंकाका सरोकारवालासँग कुरा गर्दा नेपाल उत्तम विकल्प हुन सक्छ भनिरहेका छन्। त्यस्तै मध्यपूर्वका मुलुक, दक्षिण एसिया, चीन, जापान र कोरिया हाम्रो बजार हुन सक्छन्। धेरै टाढाका देशमा पछि मात्र पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।  

सबैभन्दा पहिला हामीले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ। यसका लागि पर्यटन बोर्डले सरोकारवालासँग मिलेर रणनीति बनाउनुपर्छ। यसमा निजी क्षेत्रको पनि उत्तिकै भूमिका हुन्छ। महामारीपछि पर्यटकले सुरक्षित विधि कसरी खोज्छन्। यसलाई कसरी बनाउने र कसरी सुरक्षित प्याकेज दिने भन्ने खालका चिजले महत्व राख्छ। साथै उनीहरूले कर्मचारीलाई निरन्तर तालीम व्यवस्था गर्नुपर्छ। नयाँ थपिएको प्रोटोकलले गर्दा अब आउने यात्रा अलिक बढी खर्चिलो हुन्छ। अर्थतन्त्र कमजोर भएका बेला आउने पर्यटकको खर्चलाई कसरी छरितो बनाउने भन्नेमा सरकारले व्यवसायीलाई अनुदान दिन पनि सक्छ। महामारीले पर्यटकको संख्या घटे पनि आकर्षण गर्न निजी क्षेत्र, पर्यटन बोर्ड र सरकारी क्षेत्रको जति धेरै समन्वय भयो उति छिटो परिणाम आउँछ।  

अब कुन ढंगले आन्तरिक पर्यटन प्रर्वद्धन गर्नु पर्ला?  

आन्तरिक पर्यटन बढाउन बजेटमै केही कुरा व्यवस्था गर्न सकिएको भए सहज हुनेथियो, त्यसो हुन सकेन। सरकारले सातामा दुई दिन बिदा वा घुम्न इच्छुक  कर्मचारीलाई निश्चित दिन ‘पेड होलिडे’को व्यवस्था गर्न सकेको भए राम्रो हुन्थ्यो।  अब ‘देश दर्शन’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ।

आन्तरिक पर्यटनले होटल तथा रेष्टुराँलाई राहात दिन्छ तर पर्वतीय पर्यटनमा लाग्ने साहसिक कम्पनीहरूले त्यति ठूलो राहत पाउँदैनन्। आन्तरिक पर्यटक दश लाख मात्र घुमे पनि तीनले दिनमा तीन हजार रुपैयाँ खर्च गरेर एक साता घुमे भने २० अरब रुपैयाँको कारोबार हुन्छ। सन् २०१९ को डाटा हेर्ने हो भने १३ लाख नेपाली विदेश घुम्न गएका छन्। राज्यले वैदेशिक मुद्रा सञ्चित बचाउन बाहिर जान नियन्त्रित गर्छ होला र त्यसैले उनीहरू पनि मुलुकभित्रै घुम्छन् होला। यसमा सबैलाई प्रोत्साहित गर्नुपर्छ। नेपालीहरू घुम्ने भनेको आर्थिक वर्ष परिर्वतन हुने बेला, दशैंतिहारको बिदा, नेपाली नयाँ वर्ष र अंग्रेजी नयाँ वर्षमा राम्रो प्याकेज ल्याएर उत्प्रेरित ग¥यो भने राम्रो हुन्छ।  

लकडाउन खुल्नेबित्तिकै आन्तरिक पर्यटनको चाप बढ्ने छ। यसले केही न केही राहत पक्कै दिनेछ।  

नेपाल भ्रमण वर्ष २०२० ले पर्यटकको संख्या दोब्बर गराउँछ भन्ने आशासहित पर्यटनमा लगानी बढाईरहेको अवस्था थियो । राज्यले पनि लगानी बढाउन आब्हान गरेको थियो। त्यो लगानी जोखिममा पर्दा राज्य पनि उदारताकासाथ बचाउन लागि पर्नुपर्छ।

पर्यटनबाट दक्ष जनशक्ति पलायन हुन सक्ने खतरा देखिएको छ। तिनलाई कसरी पेशामै टिकाइराख्न सकिन्छ? 

नेपाली पर्यटन क्षेत्र एउटा उत्साहका साथ अघि बढिरहेको थियो। नेपाल भ्रमण वर्ष २०२० ले पर्यटकको संख्या दोब्बर गराउँछ भन्ने आशासहित अन्य क्षेत्रमा व्यापार गरिहेका मान्छेले समेत पर्यटनमा लगानी बढाईरहेको अवस्था थियो । राज्यले पनि लगानी बढाउन आब्हान गरेको थियो। त्यो लगानी जोखिममा पर्दा राज्य पनि उदारताकासाथ बचाउन लागि पर्नुपर्छ। हामीले तीनचार वटा कुरामा मात्र छलफल गरेर अघि बढ्यौं भने जोगाउन सक्छौं।  

ऋणको मर्कामा परेकालाई व्याज घटाइदिने वा अन्य केही सहुलियत व्यवस्था गरेर र थप केही ऋणका लागि थोरै व्याजमा दिने व्यवस्था गरिदिने। होटल व्यवसायी बढी मारमा छन्। सबैको आम्दानी घटेको छ यसलाई योगदानमा आधारित मोडल बनायौं भने राहत थपिन्छ। कर्मचारी वा मजदूरका विषयमा केही अंश राज्यले र रोजगारदाताले व्यहोर्ने र अहिले अवस्थालाई बुझेर रोजगारीमा भएका मान्छेले सम्झौता गरेमा त्यो राम्रो मोडल हुन्छ। धेरै ठाउँमा यस्तै मोडल अपनाइएको छ। यस्तो बेला नयाँ व्यवसाय सुरुवात गर्दा धेरै तालीम दिनुपर्छ। यस्ता तालीमले पनि कर्मचारीमा उत्साह बढाउँछ। यसले नयाँ जागिरका लागि म दक्ष छु र पर्यटन क्षेत्रमा सहजता आउन थाल्यो भन्ने उनीहरूमा आशा जाग्छ। नेतृत्व गर्ने निकायहरू अघि बढे भने खुम्चिएको अर्थतन्त्रलाई छिटोभन्दा छिटो उकास्न सकिन्छ।  

हाम्रोमा पर्यटन क्षेत्रको रणनीति बनाउन ढिलाइ भएकै हो?  

पक्कै पनि रणनीति बनाउने काममा ढिलाई भएको छ। किनभने सेफ्टी प्रोटोकल  एकपटक बनाएर फाइनल हुने कुरा होइन। केही समयअघि नै प्रोटोकल ल्याएर तालिम व्यवस्था मिलाएको भए झनै राम्रो हुन्थ्यो। वेरोजगार भएका मजदूरहरूलाई सफाइ र मर्मतमा प्रयोग गरेर रोजगार सिर्जना गर्ने भनिएको थियो। त्यो अझै लागु भएको छैन। अर्काे कुरा संकटका बेलामा हामीलाई सहयोग गरी आएका संस्थासँग निरन्तर सम्पर्कमा रहिरहनुपर्छ। यसमा अघि बढ्यौं भने सहज हुन्छ।  

नयाँ पर्यटन ऐनको मस्यौदामा ट्राभल एजेन्सी र केही व्यवसायीले विमति जनाएका छन्। यसलाई सम्बोधन गर्नैपर्छ। आजको दुनियाँ डिजिटल युगमा प्रवेश गर्दैछ। डिजिटल मञ्चमा पनि हामीले अभ्यास गर्नुपर्छ। ऐनमा त्यो कुरा कम देखेको छु।

पर्यटन ऐनको मस्यौदामा केकस्ता कुरा सुधार गर्नुपर्ने देख्नु भएको छ?  

यो पर्यटन ऐनको मस्यौदा बनाउने समय होइन। कोभिड–१९ को संकट कता पुग्छ भन्न सकिन्न। नयाँ पर्यटन ऐनको मस्यौदामा ट्राभल एजेन्सी र केही व्यवसायीले विमति जनाएका छन्। यसलाई सम्बोधन गर्नैपर्छ। आजको दुनियाँ डिजिटल युगमा प्रवेश गर्दैछ। डिजिटल मञ्चमा पनि हामीले अभ्यास गर्नुपर्छ। ऐनमा त्यो कुरा कम देखेको छु। अर्काे नवीनता र सिर्जनशीलतालाई बढावा दिन उत्साहित गर्ने काम विगतदेखि नै कम भएको छ। त्यता पनि ध्यान दिनुपर्छ। त्यस्तै पर्यटनमा चाहिनेभन्दा बढी संस्था हुँदा प्रभावकारी काम नभएकाले पुनः संरचना गर्न आँट गर्नुपर्छ ।    

अन्त्यमा, पर्यटनकर्मीलाई तपाइँको सन्देश ? 

हाम्रो देशमा पर्यटनको ७० वर्ष लामो इतिहास छ। पक्कै पनि संसारभर नै पर्यटकको संख्या घट्नेछ तर त्यही संख्यामा हामी कसरी जान्छौं र कस्तो सन्देश लिएर जान्छौं भन्ने कुराले प्रभाव पार्छ। त्यसका लागि हामी आजै सचेत हुनुपर्छ।  सहज र सक्रिय लाग्यौं भने हामीले बढी फाइदा लिन सक्छौं। हाम्रो नेचर बेस गन्तव्य भएकाले हामीलाई रिभाइभ गर्न सजिलो हुन्छ।  

प्रकाशित: ११ असार २०७७ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App