८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

'नमूना नगरपालिका बनाउने योजना छ'

रोल्पा नगरपालिका प्रमुख पुर्ण केसी

हालसम्मको कार्यकाललाई कसरी मुल्यांकन गर्नुभएको छ ?
संविधानतः हामीले अभ्यास गरिरहेको स्थानीय सरकारहरु नयाँ हुन। नयाँ संरचना भएकाले हामीले हाम्रो महत्वपुर्ण समयहरु स्थानीय तहलाई संस्थागत गर्नका लागि व्यतित गरेका छौ तथापी हाम्रो नगरपालिकाबाट हुने सेवा प्रवाहलाई पनि अगाडि बढाइरहेका छौ।

बजेट तथा कार्यक्रमको दृष्टिले हाम्रो कार्यकाल तेश्रो वर्ष पुरा भएको छ। योजना कार्यान्वयनको दृष्टिले भने हामीले दोश्रो वर्ष पुरा गरेका छौ। हाल सम्म सम्पादन गरेका कामहरु राम्रै भएको हाम्रो नगरसभाको निष्कर्ष रहेको छ। यसर्थ पनि अहिलेसम्मको कार्यकाल सफल भएको हाम्रो बुझाइ छ।

गौरवको योजनाकारुपमा के गर्नु भयो ?
रोल्पा नगरपालिकाले जनताको जीवनस्तरमा सुधार गर्नका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको छ। शिक्षा, कृषि, स्वास्थ्य, भौतिक पुर्वाधार, पर्यटन र लक्षित वर्गका विभिन्न आयोजनाहरुलाई अगाडि बढाइ रहेको छ। यस भित्रका केहि केहि बिशिष्ट कामहरुलाई गौरवका आयोजनाका रुपमा अगाडि बढाएको छ।

शिक्षाको क्षेत्रमा प्राविधिक विषयमा प्रत्येक वर्ष १ सय जनालाई छात्रवृति, कृषि तथा पशु क्षेत्रमा नमुना कृषि कार्यक्रम, पर्यटनका क्षेत्रमा भ्यु टावर तथा रक गार्डेन र युद्ध पर्यटनका लागि विविध संरचना र पुर्वाधारका क्षेत्रमा आन्तरिक र वाह्य, चक्रपथ आदि योजनालाई गौरवका योजनाका रुपमा अगाडि बढाइरहेका छौ।

अहिलेसम्म उल्लेख गर्न लायक कामहरु के के गर्नुभयो ?
अहिलेसम्म हामीले गरेका धेरै उल्लेखनीय कामहरुमा कृषि तथा पशुका क्षेत्रमा कृषि मेला प्रदर्शनी,कृषि हाटबजार निर्माण, बोयर जातका बोकाहरु बितरण, कृषि बीउ र औजारहरु वितरण, दुध विक्रिका लागि ट्याङ्कर खरिद, बिभिन्न तालिमहरु संचालन, स्वास्थ्यका क्षेत्रमा यसअघि संचालनमा रहेका स्वास्थ्य संस्थाहरु बााहेक ८ वटा शहरी स्वास्थ्य केन्द्रको स्थापना, सुत्केरीका लागि अप्रेशन सेवा, नयाँ सडकहरु निर्माण, विद्युतिकरण, छात्रवृत्ति कार्यक्रम, नगरपालिकासँग स्वरोजगार कार्यक्रम, रोल्पा गुराँस साहित्य मेला जस्ता राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रमहरु, जिल्ला स्तरीय खेलकुदहरु, रक गार्डेन स्थापना, टुँडिखेल हरित पार्क निर्माण, माडीचौर खेलमैदान स्तरिकरण, १० वटै वडाका पक्कि वडा भवनहरु निर्माण, महिला, दलित, जनजाति तथा लक्षित वर्गका विविध कार्यक्रमहरु, रोल्पा शहरी खानेपानी आयोजनाको नेतृत्व तथा समन्वय लगायत खानेपानी, फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्थापन, जनताहरुको सुविधाको लागि घर टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण, सिचाइ लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका छौ।

स्थानीय सरकारका अवसर र चुनौति के के रहेछन ?
स्थानीय सरकारका अवसर र चुनौति सापेक्षित नै छन्। पहिलो अभ्यास हुनुका हिसाबले यस समयका स्थानीय सरकारको अवसर भनेको पहिलो पटक स्थानीय स्तरबाट संविधानतः राजकिय अधिकार प्रयोग गर्ने अवसरनै मुख्य अवसर हो। स्थानीय सरकारहरुले जनतासँग प्रत्यक्ष हातेमालो गर्दै विकासमा अगाडि बढ्ने मौका पाउनु पनि हामीले अवसरका रुपमा लिएका छौं।  जनताले आफुसँगै सबैभन्दा निकटमा रहेको निकायबाट आफ्ना आधारभुत समस्याहरु समाधान गर्न पाउने अवस्थाले हामीलाई खुसीको महसुस भएको छ।

यस अवसरका वावजुद चुनौति पनि अनगिन्ति रहेका छन्। नगरपालिका तथा वडाहरुका प्रशाशकीय भवनहरुका व्यवस्थापन, कर्मचारी जनशक्तिको अभाव, कानुनहरुको अभाव, जनताहरुको विकास प्रतिको ठुला आकांक्षा र श्रोतको सीमितता, संघियताको मर्म विपरित संघ सरकार र प्रदेश सरकारबाट स्थानीय सरकारहरुका अधिकारहरुको संकुचन गर्ने प्रयास जस्ता चुनौतिहरु मुख्य चुनौतिका रुपमा रहेका छन्।

कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध कस्तो छ ? उनीहरुबाट सहयोग पाउनु भएको छ ?
जन प्रतिनिधिहरु र कर्मचारीहरु सबैको उद्देश्य जनताको सेवा गर्नु रहेकाले हाम्रो सम्बन्ध नराम्रो हुनुपर्ने कुनै कारण छ जस्तो लाग्दैन। हाम्रा जिम्मेवारीहरु पनि संविधान र कानुनले स्पष्टसँग व्याख्या गरेको छ। जनप्रतिनिधिले आफ्नो जिम्मेवारी र कर्मचारीले आफ्नो जिम्मेवारीप्रति आँफै प्रतिवद्ध भयौं भने सम्बन्धहरु सुदृढ हुन्छन्। जहाँसम्म हाम्रो नगरपालिकाको जनप्रतिनिधिहरु र कर्मचारीहरुको सम्बन्धको कुरा छ निकै राम्रो  छ। हामीले सबै कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेका छौं।

जनप्रतिनिधिर्ले सुशासन भंग गरेको आरोप लाग्न थालेको छ नि ?

हामी जनप्रतिनिधिहरु जनताको सेवा गर्नका लागि निर्वाचित भएका हौ। हाम्रो ध्यान जनताका सेवा सहज रुपमा कसरी गर्ने भन्ने हुन्छ। हामीले नगरपालिकाको विकास कसरी तीव्र रुपमा गर्ने भन्ने हुन्छ यो बाहेक हामीले अन्य गलत कुरा सोच्न पनि सक्दैनौ भने अब तपाई आफै भन्नुस हामीले कसरी सुशासनलाई गलत बाटोमा लैजाने भन्ने बारेमा सोच्न सक्छौ र। यो कुरा पनि हो कि हाम्रो नगरपालिकाको सन्दर्भमा हामी जनप्रतिनिधिले सुशासन भंग गरेको  आरोप खेप्नु परेको पनि छैन।

योजना र बजेटका सवालमा तपाई कै राजनीतिक कार्यकर्ताको बढी हालिमुहालीको आरोप छ नि ?
योजना र बजेट निर्माणका आफ्नै प्रक्रियाहरु छन्। कसैले चाहेर पनि व्यक्तिगत तथा संस्थागतरुपमा हालिमुहाली गर्न सक्ने अवस्था छैन। टोल र बस्ती स्तरबाटै वजेट निर्माणका लागि मागहरु संकलन हुन्छन्। सबै जनताका माग, आवस्यकता र भावनाहरु सम्बोधन हुने गरेर विभिन्न चरणमा छलफल, बहस तथा कार्यक्रम हुन्छन्।

विभिन्न विषयगत समितिहरुबाट योजनाहरु छनोट गर्दै नगरसभामा लगेर वजेट तथा कार्यक्रम पास गरिन्छ। यसर्थ हामीले प्रतिनिधित्व गरेको पार्टीको कार्यकर्ताहरुको मात्र हालिमुहाली भइरहेको छ भन्ने कुरा आरोप मात्र हो। हामीले त अझ वजेट तथा योजनाका सम्बन्धमा नगरसभा अगावै नगरपालिका तथा वडामा रहेका सवै राजनीतिक दलहरुसंग बसेर छलफल गर्ने गरेका छौ।

आफ्नो कामसंग आफै सन्तुष्ट हुनुहुन्छ ?
समग्रमा हामी जनप्रतिनिधिहरुले व्यतित गरेका यी २ वर्षलाई समिक्षा गर्ने हो भने हामी सन्तुष्ट नै छौ। नयाँ पद्धती, कानुनका अभाव, कर्मचारीहरुको अभाव, जनताहरुका उच्च आकाक्षाँ र आफ्नै कार्यालयहरुको अनिश्चितता आदि अवस्थाहरुका बाबजुद पनि हामीले केहि उल्लेखनिय कामहरु गरेका छाैं। यसर्थ पनि हामी सरदरमा सन्तुष्ट छौ।

अबका योजना के छन ?
हाम्रो जिल्ला एउटा ऐतिहासिक जिल्ला हो। यहिबाट देशको परिवर्तनको यात्रा शुरु भएको थियो। यस कारण पनि हामीले हाम्रो जिल्लाको एक मात्र रोल्पा नगरपालिकालाई  विशेष नगरपालिका बनाउनु पर्दछ भन्ने कुरामा हाम्रो नगरसभा एक मत छ।

भौगोलिक कठिनाइ तथा प्राय इन्डिकेटरमा पछि पारिएको हाम्रो जस्तो नगरपालिकाको विकास गर्ने काम गाह्रो काम त हो नै तर हामीले विकास निर्माणका सवै क्षेत्रमा एकै पटक शुरुवात गरेर सुखी नगरपालिका र सम्वृद्ध नगरपालिका बनाउने संकल्प गरेका छौ। यहि नमुना नगरपालिका बनाउने अभियान नै हाम्रो आगामी दिनको योजना हो।

प्रकाशित: ३१ भाद्र २०७६ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App