७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन (अन्तर्वार्ता)

अमेरशकुमार सिंह नेपाली कांग्रेसका सांसद हुन्। भारतको जवाहरलाल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधी गरेका सिंह नेपाल भारत सम्वन्धमा विशेष चासो राख्छन्। सिंहसँग नेपाल भारत सम्वन्ध लगायतका विषयमा नागरिक फ्रन्टलाइनमा गरिएको कुराकानीको सम्पादित अंश ।

भारतीय विदेशमन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणलाई कसरी हेर्नुभएको छ?

काश्मीरको विषयलाई लिएर नेपाल भ्रमण हो जस्तो मलाई लाग्दैन। जोइन्ट कमिसनको मिटिङमा त्यो कुरा उठ्न सक्ला तर, नेपालले काश्मीरको विषयमा बोल्नु हुँदैन। नेपाल कुनै पनि किसिमले काश्मीरको विषयमा नजोडिएकाले त्यसबारे टिप्पणी गर्नु हुँदैन। त्यो भारतको आन्तरिक विषय हो।

सार्कको नेतृत्व गरेको हिसाबले नेपालले शान्तिपूर्ण डेमोक्र्याटिक ढंगले अघि बढ भन्न नि सक्दैन ?

कसरी भन्न सक्छ, दुई देशबीचको विषय त होइन नि। भारतको आन्तरिक विषयमा बोल्न मिल्दैन।

नेपालले पनि बिना कामको राष्ट्रवादको परिभाषामा नै गल्ती गर्‍यो। भारतलाई गाली गर्‍यो भने राष्ट्रबाद हुन्छ भन्ने ट्रेण्ड छ। भित्री र बाहरी बोली नै फरक छ विशेष गरी कम्युनिष्ट नेताहरुको। आफ्नो निजी स्वार्थ पूरा नहुँदाको एउटा बोली र पूरा हुँदाको अर्को बोली, त्यसैलाई राष्ट्र र जनतासँग जोडेर हेरिन्छ।

जयशंकर आउँदा द्विपक्षीय मामिलाका अरु मुद्दा के हुन् त ?

हुलाकी सडक, कोशी हाइड्याम, विगतका परियोजना, ड्राइपोर्ट, इपिजी रिपोर्टलगायतका विषय हुन सक्छन्।

भारतले नेपाललाई हेपेजस्तो लाग्छ कि लाग्दैन ?

ठूलो देशले सानो देशलाई हेप्छ। चाइनाले तिब्बत, अमेरिकाले क्युवालाई हेपेको हो कि होइन।

ठूलाले सानालाई हेप्न पाउँछन् त ?

यो ट्रेण्ड हो। तपाईंले ट्रेण्डलाई नकार्न सक्नुहुन्न नि। जस्तै यहीँ ठूला व्यापारीले साना व्यापारीलाई हेपेका छन् कि छैनन्।

हेप्यो भन्दैमा सानाले बोल्न सक्दैन ?

नेपालले पनि बिना कामको राष्ट्रवादको परिभाषामा नै गल्ती गर्‍यो। भारतलाई गाली गर्‍यो भने राष्ट्रबाद हुन्छ भन्ने ट्रेण्ड छ। भित्री र बाहरी बोली नै फरक छ विशेष गरी कम्युनिष्ट नेताहरुको। आफ्नो निजी स्वार्थ पूरा नहुँदाको एउटा बोली र पूरा हुँदाको अर्को बोली, त्यसैलाई राष्ट्र र जनतासँग जोडेर हेरिन्छ।

कांग्रेस र तराईकेन्द्रित पार्टी त झन् अछुतो छैनन् नि !

कांग्रेसले न कसैको चाकडी गर्ने न कसैलाई गाली गर्छ। विदेश नीति राष्ट्रको हुन्छ न कि कुनै दलको। त्यो त सबै दलको साझा हुन्छ, सबै दलको सहमति चाहिन्छ। अझै नेपालको विदेश नीतिको ड्राफ्ट तयार हुन सकेको छैन।

प्रधानमन्त्री ओलीको भारतसँगको सम्बन्ध दुईथरी छ कि साँच्चै राष्ट्रवादी हुनुहुन्छ उहाँ ?

उहाँ ‘रियल’ राष्ट्रवादी होइन। मेरै अगाडि कतिपटक भारतीय पक्षसँग कुरा गर्दा उहाँले म भारतको दोस्त हुँ, मलाई सरकार चलाउन दिन पर्‍यो भनेर भन्नु भएको छ। अहिलेसम्म नेपाल–भारत सम्बन्ध राम्रोसँग किन जान सकेन भने कहिल्यै पनि नेपाली जनता र राष्ट्रको विषयलाई प्राथमिकतामा राखिएन।

‘म त तपाइँकै हुँ हजुर’ भनेर बोल्छन् त नेताहरु ?

हो, मैले अहिलेकै प्रधानमन्त्रीकै बारेमा भन्दैछु। मेरै अगाडि भएका कुराहरुको त प्रमाण चाहिन्न नि। कहिल्यै पनि नेताहरुले राष्ट्र र जनताका विषयमा कुरा गर्दैनन्।

प्रचण्डजीको कस्तो छ ?

व्यक्ति–व्यक्तिका कुरा नगर्नुस्। सबै नेताहरु त्यस्तै छन्।

कांग्रेसलाई त बचाउनु भयो नि !

होइन, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाबाहेकका अरु नेताको स्थिति पनि त्यही हो। अहिलेका सबै दलका नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन। भारतीय प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीले भेट्ने भनेको औपचारिकता मात्रै हो। कामकाजी सम्बन्ध हाम्रो नेताहरुले बनाउन सकेनन्।

इन्डिपेन्डेन्ट डिप्लोमेटिक रिलेसन बढाउन काठमाडौं राम्रो हब मानिन्थ्यो, अहिले थिचिएको जस्तो देखिन्छ नि!

नेपालको विदेश नीतिका लागि जुन अभ्यास हुनुपथ्र्यो, त्यो भएन। कर्मकाण्डी मात्रै भयो। विदेश नीतिमा नेपालको हितका विषय के के हुन्, त्यसको विषयमा कुन लेभलमा कुरा गर्न सकिन्छ, त्यसको विषयले प्राथमिकता पाउनुपथ्र्यो।

डिपेन्डेन्सी बढ्यो, हामीकहाँ आमसहमति भएन, हाम्रा कन्सर्न यी हुन् भनेर संस्थागत रुपबाट इन्स्टिच्युस्नल मेमोरीसहित नेपालले बढाउन सकेन हो ?

हामीकहाँ इन्स्टिच्युस्नल मेमोरी नै छैन।

तर, इपिजी बनाएर सरकार गरेँ त भनेर भन्दैछ त !

त्यो एकतर्फी छ। मैलै इपिजी रिपोर्ट पढेको छु। बोर्डरमा बस्ने मान्छे कोही पनि त्यसको सदस्य थिएनन्। जुम्लाको समस्या काठमाडौंमा बसेर बताउनु भनेको गलत हो। इपिजीमा एउटै माइन्डसेटको मान्छे राखियो। चारै जना भारत र मधेसीप्रति होस्टाइल थिए। रिपोर्ट निकै बायसनेस छ।

त्यो रिपोर्ट मोदीजीले समय नदिएर बुझ्नुभएको छैन भन्ने छ नि!

मोदीजी वा ओलीजीको कुरा म जान्दिनँ। मलाई के थाहा छ भने त्यो रिपोर्ट कार्यान्वयन हुन सक्दैन, व्यवहारिक पनि छैन। भारतले पनि बिहारका मान्छेलाई सोध्नुपर्छ र नेपालले पनि सीमा क्षेत्रमा बस्ने मानिसलाई सोध्नुपर्छ।

तपाईंले इपिजी रिपोर्ट चाँहि कसरी पढ्नु पाउनुभयो ?

इपिजी रिपोर्ट ड्राफ्ट बनाउने मान्छे आकाश वा मंगल ग्रहको त होइन नि। हाम्रो साथीभाइ हुनुहुन्छ।

त्यसो भए इपिजी रिपोर्ट ‘लिक’ भइसकेको छ ?

लिक भइसकेको छ नि। त्यो त सञ्चारमाध्यममै आधाभन्दा बढी कुरा आइसकेको छ। भेसबहादुर थापाकै अन्तर्वार्तामा धेरै कुरा आएको छ। दुवैतर्फबाट लिक भएको छ। नेपालको तर्फबाट अलि धेरै लिक भएको हो। त्यसमा के छ, वर्षौंदेखिको ओपन बोर्डरलाई रेगुलेट गर्ने, त्यसमा सहमति नभएपछि स्मार्ट बोर्डर राख्ने सहमति भएको छ।

भारतले रिपोर्ट बुझेकै छैन, लट्काइदिनकै लागि नबुझेको त होला नि !

हामी नेपाली नागरिक। त्यो रिपोर्ट हामी नै स्वीकार गर्दैनौं।

हुनुपर्ने चाँहि के ?

त्यहाँ हाम्रो परम्परादेखि मान्छेको आवतजावत फ्री छ। त्यहाँ कुनै आइडीकार्ड चाहिँदैन। तर, इपिजीका अनुसार अब बोर्डर फिक्स हुन्छ।

यो नेपालले मागेको हो कि भारतको चाहना हो ?

नेपालले मागेको हो।

फ्लो रोक्दा नेपालकै हितमा देखिन्छ त ?

मधेसी नेपाली होइन। त्यसको हित हेर्नुपर्दैन।

बेहित के हुने भो ?

त्यहाँ बजार गर्न जान्छ। पढ्न, मामाघर जान सकिन्छ।

त्यसका लागि केही प्रावधान राख्न सकिन्छ नि त!

इपिजीमा त्यो राखिएको छैन।

छिमेकी दुई देशसँग (भारत र चीन) को सम्बन्धलाई नेपालले कसरी ब्यालेन्स गर्न सक्छ ?

नेपालले आफ्नो इन्स्ट्रेस्ट तय गर्नुपर्छ। नेपालको विदेश नीति राष्ट्र, जनताको हितमा हुने गरी निर्धारण गर्नुपर्छ। हामी उत्तरपट्टि ढल्केर नेपालको इन्स्ट्रेस्ट फुलफिल गर्न सक्दैनौं। किन भने ‘मेनलाइन’ हामीसँग जोडिएको छैन। भाषा, व्यापार, आर्थिक, शिक्षाका हिसाबले पनि गाह्रो छ।

चीनको बिआरआई र अमेरिकाको इन्डो प्यासेफिकबारे के भन्नुहुन्छ ?

 नेपाल बिआरआई र इन्डो प्यासेफिक दुवैमा जानु हुँदैन। जानु भनेको फस्नु हो।

अनि इन्डिपिन्डेन्ट भएर बस्न सकिन्छ त ?

इन्डिपिन्डेन्ट बस्न सकिन्छ नि। यी दुवैबिना नेपालले आफ्नो इन्ट्रेस्ट पूरा गर्न सक्थ्यो। तर, यो सरकार दुवैमा फसेर नेपाली जनता र राष्ट्रलाई फसाएको छ।

अब नतिजा के हुन्छ त ?

नेपाल भूमरीमा फसिसक्यो। यो भूमरीबाट कि निस्कन्छ नत्र अझै फस्दै जान्छ।

 

प्रकाशित: ३० श्रावण २०७६ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App