५ असार २०८२ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘मधेसकेन्द्रित मोर्चा निर्वाचनसम्म पुग्छ भन्नेमै शंका छ’ (भिडियोसहित)

प्रतिनिधिसभा सदस्य सिके राउत जनमत पार्टीका अध्यक्ष हुन्। पहिलो निर्वाचनबाटै केन्द्रीय सरकारमा मन्त्री पठाउन सक्षम भए। यतिबेला मधेस सरकारको नेतृत्व उनकै दलले पाएको छ। पुल्चोक इन्जिनियरिङ कलेजदेखि बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका उनले अमेरिकामै कृत्रिम बौद्धिकता क्षेत्रमा काम थालिसकेका थिए। नेपालको अवस्थाले उनलाई राजनीतिमा ल्याएको हो र परिवर्तनका निम्ति उनी आफैं प्रयोगहरू गरिरहेका छन्। नागरिक फ्रन्टलाइनका लागि प्रधान सम्पादक गुणराज लुइँटेलसँग बुधबार लाइभ कुराकानीमा राउतले व्यक्त गरेका विचारको सम्पादित अंश:

नयाँ विकल्पका रूपमा आउनुभयो, जनताले पत्याए पनि। आगामी राजनीतिका लागि तपाईं अझै पनि आशावादी नै हुनुहुन्छ?

हामी आशावादी छौं। किनभने जनताले आशा र भरोसा गरेका छन्। त्यसकारण जतिसुकै वाधा–व्यवधान आए पनि हामी आशावादी नै हुनुपर्छ। र, आफ्नो पूरा ऊर्जा र शक्तिका साथ लाग्नुपर्छ भन्ने हाम्रो धारणा हो।

जनताले धेरै आशा गरेको तर पूरा गर्न सकिँदैन कि भन्ने महसुस भएको हो र?

त्यस्तो परिस्थिति छ, नभएको होइन। अप्ठ्याराहरू छन्। त्यसअनुसारको जनमत हामीले हासिल गरेका छैनौं। हामी निर्णायक भूमिकामा छैनौं। आशाहरू भविष्यमा पनि पूरा गर्न सकिन्छ भन्ने हो। आज १० वा २० प्रतिशत मात्रै पुरा होला तर आगामी दिनमा झन् सशक्त भएर झन् बढी जनमत प्राप्त गरेर आएर त्यो पुरा गर्न सक्छौं भन्ने विश्वास छ।

लामो रेसमा दौडिन्छौं भन्नेमा विश्वस्त हुनुहुन्छ?

हामी जिम्मेवारी निर्वाह गर्छौं। हाम्रो पिढीले जिम्मेवारी निर्वाह गर्नैपर्छ। हामी तीन वर्ष वा पाँच वर्षका लागि आएका होइनौं। हाम्रो पिढीले हामीलाई जिम्मेवारी बहन गर्न दिएको हो।

यो अवसर के कारणले आयो होला भन्ने लाग्छ तपाईंलाई? यसअगाडिका मान्छेले काम नगरेकाले हो कि तपाईंहरू बढी योग्य भएर हो?

यसअगाडिका मान्छेले काम गरेको भए पनि नयाँ पिढीले पनि गर्नैपर्ने हुन्छ। अगाडिको पिढीले गरे हामीले गर्न पर्दैन? हामीले राजनीति गर्नुपर्दैन? हामीले सरकार चलाउनु पर्दैन भन्ने हुँदैन। मेरो बुबाले घर चलाउनुभयो भन्दैमा मैले चलाउनु पर्दैन भन्नुभएन। मैले पनि घर चलाउनुपर्छ र मेरो पालोपछि मेरा छोराछोरीले पनि चलाउनुपर्ने हुन्छ। त्यस्तै राजनीतिमा पनि हो। हरेक पिढीले आफ्नो जिम्मेवारी निर्वाह गर्नैपर्छ।

राजनीति अप्ठेरो खेल रहेछ?

एकदम जटिलचाहिँ हो। किनभने मानव आफैं यसमा संलग्न हुन्छन्। यसमा विभिन्न चुनौती हुन्छन्। विभिन्न समस्या पनि हुन्छन्। मानव स्वभाव बुझ्नुपर्ने हुन्छ। मान्छेका महत्त्वाकांक्षा कसरी व्यवस्थापन गर्ने त्यो पनि सोच्नुपर्ने हुन्छ। त्यसकारण सधैंभरि जटिल हुन्छ। महाभारतकालमा पनि जटिल नै थियो। चाणक्यको कालमा पनि जटिल नै थियो। यो अहिले मात्रै होइन जहिले पनि जटिल नै थियो।

जटिलताका कुरा गर्दा तपाईंको पार्टीभित्र पनि केही अप्ठ्यारा देखिएका छन्?

देखिन्छ। स्वाभाविक रूपमा जुनसुकै पार्टीभित्र पनि देखिन्छ, यो स्वाभाविक प्रक्रिया हो। खासगरी पार्टी जतिजति बेला नयाँ चरणमा प्रवेश गर्छ, त्यतित्यति बेला समस्या देखिन्छ। हामीले पार्टीको घोषणा गरेका बेला पनि हलचल भएको थियो। किनभने त्यहाँ हामी नयाँ चरणमा प्रवेश गर्दै थियौं। यसबाट हाम्रा कार्यकर्ता परिचित थिएनन्। अगाडि के आयो भनेर डराए, शंका गरे। किनभने पूरा रोडम्याप त देखिँदैन त्यहाँबाट। त्यसकारण हरेक पटक पार्टी नयाँ चरणमा प्रवेश गरेपछि र राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेपछि त्यहाँ उथलपुथल हुन्छ।

अहिले के भयो भन्दा पार्टी पहिलोपटक जित हासिल गरेर सरकारमा समावेश भयो। त्यो चरणमा पुगेपछि पक्कै पनि निश्चित रूपमा वाधा–व्यवधान आउँछन्। त्यहाँ प्रतिस्पर्धा आउँछ। नेतृत्वको प्रतिस्पर्धा आउँछ, पदको प्रतिस्पर्धा आउँछ। पद पाएका र नपाएका बिच विवाद हुन्छ। जनमत पार्टीमा अहिले भएको त्यही हो।

पद वा प्राप्तिकै समस्या हो?

हो। यो प्रत्येक तहमा छ। मैले जसलाई मन्त्री बनाइदिएँ वा पार्टीले जसलाई मन्त्री बनाइदियो त्यसभित्र अर्काले म किन परिनँ भन्ने ठान्छ। मन्त्री भएर निस्केकाले पनि पाँच वर्षसम्म मन्त्री किन बनिराख्न सकिनँ भन्ने सोच्छ। मन्त्री नबनेकालाई म सांसद बनें, फलानो मन्त्री बन्यो, म किन बनिनँ भन्ने लाग्छ। जो सांसद पनि बनेको छैन उसका पनि गुनासा छन्। जो सचिवालयमा पदाधिकारी छ, उसलाई म पदाधिकारी बनेर पनि किन सांसद बनिनँ भन्ने गुनासो छ। यो हरेक स्तरमै हुन्छ। यसलाई म अन्यथा लिन्न। यो मानवीय स्वभाव हो। प्रतिस्पर्धालाई अन्यथा लिनु हुँदैन। महत्वाकांक्षालाई पनि अन्यथा लिनु हुँदैन। त्यसलाई व्यवस्थापन गर्दै हामीले जनता र देशको हितका लागि काम गर्न सक्नुपर्छ।

संघर्षकालमा पार्टीमा एकता बलियो हुने तर सत्तानजिक पुगेपछि आन्तरिक संघर्ष बढता किन हुने गर्छ?

यो स्वाभाविक प्रक्रिया हो। संघर्षमा आफूले योगदान पुर्‍याउनुपर्ने हुन्छ। आफ्नो ज्यानको जोखिम हुन्छ। धन सम्पत्ति गुम्ने खतरा हुन्छ। बालबालिकालाई अप्ठ्यारो पर्ने खतरा हुन्छ। त्यतिबेला प्रतिस्पर्धा गर्ने होइन त्यसमा त झन् मान्छे टाढाटाढा जान्छन्। खोजेर पनि जिम्मेवारी दिन खोज्नुभयो भने मान्छे भाग्छन्। त्यहाँ प्रतिस्पर्धा हुँदैन। लाभ हुनेबित्तिकै; संसदमा जानेबित्तिकै; सरकारमा जानेबित्तिकै त मारामार हुन्छ। जोचाहिँ योग्य नै हुँदैनन्, तिनले पनि खोज्छन्। हाम्रै पार्टीमा पनि जो सांसद पनि छैन उसले के भनिराखेको हुन्छ– मलाई ६ महिनाका लागि मात्रै भए पनि मन्त्री बनाइदिनुस्। त्यो प्रावधान संविधानको यो धारामा छ, मलाई मन्त्री बनाइदिनुस् भनेर मलाई हम्मेहम्मे पारिदिएको अनुभव छ।

तपाईंसँग पदको माग हुँदा कस्तो लाग्छ?

नरमाइलो लाग्छ। धैर्य गर्नुपर्छ। हाम्रो पार्टीले फेरि सबैलाई मौका दिएको छ। म आफैं मन्त्री बनेको छैन। अरूलाई मौका दिएर बसेको छु। म आफ्नै उदाहरण दिएर नेतृत्व दिइरहेको छु। आत्तिनु हुँदैन, म यत्रो वर्षदेखि गर्दछु, भन्छु यी सबै कुरा गरें तैपनि म मन्त्री बनिनँ त भनेर भन्छन्। तपाईंले त झन् प्रतीक्षा गर्नुपर्छ भनेर भन्छु।

अर्को कुरा प्राविधिक रूपमा ६ महिनाका लागि मन्त्री बनाउने कुरा रहे पनि हतपत कसैलाई मन्त्री बनाइदिनका लागि होइन। योचाहिँ आकस्मिक अवस्थाका लागि हो। देशलाई कुनै आपत्कालीन अवस्था आए वा कुनै विशेषज्ञको जरुरत परे त्यसका लागि हो यो। त्यो एक असाधारण अवस्थाका लागि हो। त्यसलाई दुरूपयोग गर्नु हुँदैन।

पछिल्लोपटक उपाध्यक्ष र कोषाध्यक्षलाई नै हटाइदिनुभयो, किन?

अतिरञ्जित तरिकाले मिडियामा आएको मैले पनि देखें। उहाँहरूलाई नै सोध्न चाहन्छु– कुनै मिडिया वा कुनै संस्थाको कोषाध्यक्ष वर्ष दुई वर्ष नै गायब भयो भने के गर्ने? अमेरिकामै सेटल भइदिनुभयो, कतारमै गएर सेटल भइदिनुभयो, तपाईंले हिसाब माग्दा हिसाबै दिइराख्नुभएको छैन भने के गर्ने? संस्थाको चल–अचल सम्पत्तिको विवरण माग्दा दिइराख्नुभएको छैन। विवरण आफ्नै श्रीमतीका नाममा चल–अचल सम्पत्ति राखिदिने। त्यो हस्तान्तरण गर्न नमानेपछि के अवस्था हुन्छ? अरू संस्थालाई पनि म सोध्न चाहन्छु– तपाईं के गर्नुहुन्थ्यो? हामीले दर्जनौंपटक उहाँलाई अनुरोध गर्‍यौं, तैपनि उहाँले मान्नुभएन। अन्ततः पार्टीले स्पष्टीकरण सोध्नुर्‍यो। पार्टीको सम्पत्ति भनेको त सार्वजनिक सम्पत्ति हो। देशकै सम्पत्ति हो त्यो। हामीले अन्यथा गर्न मिल्दैन। कसैले आफ्नो निजी रूपमा राखेको रहेछ भने त्यस आधारमा त्यसलाई पार्टीले सार्वजनिक गर्नैपर्ने हुन्छ।

अनुशासनको डन्डा चलाउँदै जानुहुन्छ?

अनुशासन सबैले पालन गर्नुपर्ने हुन्छ। ठूला पदाधिकारीले नै पालन गरेनन् भने अन्य सदस्यले कसरी पालन गर्छन्? किन पालन गर्छन्? सचिवालय सदस्य, राष्ट्रिय कोषाध्यक्ष, राष्ट्रिय उपाध्यक्षले नै अनुशासन पालन गरेनन् भने हामीले सदस्यलाई नै यो पालना गर्न कसरी अनुरोध गर्ने? पार्टीका लागि सबैभन्दा महत्वपूर्ण घटना भनेको निर्वाचन हो। जनमत पार्टीका लागि २०७९ हो। त्यो निर्वाचनमा उहाँ जनमत पार्टीका निम्ति एक भोट हाल्न आउनुभएन। जागिर गरेर पहाडमा बसिदिनुभयो। मैले अन्य कार्यकर्तालाई कसरी भोट दिनु भन्ने? अन्य मान्छेलाई कसरी प्रचारप्रसार गर्नू भन्ने? यो मात्रको अपराध पनि अक्षम्य हो। जनमत पार्टीलाई भोट हाल्नका लागि आउनुभए प्रचार–प्रसार त टाढाको कुरा भयो। यस्ता अनेकौं अपराध गर्नुभएको छ।

यो एउटा सिके राउतले गरेको होइन। त्यसभित्र विभिन्न अनुशासन समिति छन्। तिनले कारबाहीअगाडि विभिन्न स्पष्टीकरण सोध्छन्। कारबाहीपछि पनि प्रशस्त मौका दिइन्छ। त्यो संविधान, ऐन र विधानले पनि दिएको मौका हो। त्यसकारण कसैलाई स्पष्टीकरण सोध्दैमा तिनले छटपटिनु पनि पर्दैन, अन्यथा लिनु पनि हुँदैन। त्यहाँ सफाइ दिनुहोस्। सफाइ प्रमाणसहित जायज भयो भने त सपाइ पाइहालिन्छ।

तपाईंलाई त ‘मधेसका केपी ओली’ नै बनेको आरोप पनि लगाइने रहेछ, होइन?

नयाँ पार्टीलाई चल्न एकदम गाह्रो हुँदो रहेछ। ठुला पार्टी कांग्रेस र एमालेमा मान्छेहरू अनुशासित भएर बस्छन्। त्यहाँ कार्यकर्ताको राजनीतिक भविष्य हुन्छ। महाधिवेशन प्रतिनिधि बन्न मात्रै पनि १० वर्ष संघर्ष गरेर आएका हुन्छन्। यो फेरि चटक्कै छाडेर कांग्रेसका मान्छे एमालेमा र एमालेका मान्छे कांग्रेसमा जान पनि सक्दैनन्। विकल्प हुँदैन। त्यसकारण त्यहाँ अनुशासनमा बसेका हुन्छन्, तर अन्य ससाना पार्टीमा त्यस्तो हुँदैन। राजनीतिमा केही मान्छे लागेका पनि हुँदैनन्। हामीकहाँ टिकट नदिए कांग्रेस, एमाले र माओवादीमा गइहाल्छु भनेर अनुशासन नै पालना गर्दैनन्।

तपाईं गान्धीवादी हुनुहुन्छ, कसैलाई गाली वा कारबाही गर्दा कत्तिको अप्ठ्यारो महसुस हुन्छ?

मलाई गाह्रो पर्छ। जनमत पार्टीले केही गरे त्यहाँ सिके राउतले गर्‍यो भनिन्छ। पार्टी नयाँ भएर पनि होला। परिचय नै मेरो नामबाट भइदिँदा यस्तो देखिएको हो। तर म कहिल्यै पनि पार्टीभित्रको आर्थिक पाटो हेर्दिनँ।

कसैलाई गाली वा कारबाही पनि म आफैं गर्दिनँ। पार्टी संरचना पनि त्यही किसिमले बनाइएको छ। मलाई यस्ता कामबाट पहिल्यैदेखि पर बस्नुपर्ने थियो। मैले पदमा आउनका लागि पनि राजनीति गरेको होइन। मलाई सकेसम्म सेरिमोनियल राखिदिनुहोस् भन्ने सुरुदेखिकै चाहना थियो। जस्तो– गान्धीजी पनि सुरुमा केही समय पार्टी नेतृत्वमा बसे पनि पछि बस्नुभएन। त्यस्तै मेरो पनि चाहना हो। त्यसकारण कार्यकर्तासँग द्वन्द्व कम हुन्छ। कारबाहीमा परेका मान्छेको पनि भविष्यका बारेमा सोचिराखेको हुन्छु।

राजनीतिको फरक संस्कार निर्माण गर्छु भन्ने नै यहाँको उद्देश्य हो?

हो। राजनीतिक संस्कारको एउटा थिति बसालौं भनेर जित्नेबित्तिकै पनि मैले भनेको थिएँ। त्यहीअनुरूप अगाडि बढौं भन्ने मेरो मान्यता पनि हो।

आर्थिक पाटोकै मामिलामा त तपाईंतिर पनि प्रश्न उठेको छ?

आरोप लगाउने मान्छेलाई धेरै दोष दिन चाहन्न। उहाँहरूले नि त्यस्तो भन्नुभएको छैन। मिडियाले त्यसलाई घुमाइदियो। जनकपुरको घर पनि मेरै नाममा छ, इमाडोलको घर पनि मेरै नाममा छ भनेर लेखे। यो लेख्नुअगाडि त चेक गर्नुपर्थ्याे। त्यस्तो अभियोग लगाएको छ कि छैन। अभियोग नै लगाएको भए पनि उहाँहरूले लालपुर्जा चेक गर्नुपर्थ्याे। कानुनी रूपमा जुन कारबाही भएको छ, त्यो कारबाही हुनुको कारण नै त्यहीं छ कि त्यो दुइटै पार्टीको लेबीबाट मासिक रूपमा लागेका हुनाले निजी रूपमा राखिदिनुभएको हुनाले नै पार्टीले कारबाही अगाडि बढाएको हो। त्यो दुवै पूर्व कोषाध्यक्षज्यूका श्रीमतीका नाममा छ। मेरो नाममा हुने त कुरै भएन। हामीले नै उजुरी हालेर कानुनी प्रक्रिया अगाडि बढाएका छौं। यहाँ मिडियाले उल्टो देखाइदिए।

नेपालमा केही मान्छे राजनीतिमा कमाउन भनेर आएका छन्, तपाईं केका लागि राजनीतिमा आउनुभएको?

मैले त कमाइराखेकै थिएँ। क्याम्ब्रिजको ल्याबमा काम गर्थें। त्यसले एआईको फिल्डमा काम गथ्र्यो। त्यो पायोनियरिङ ल्याब हो। त्यसले विकास गरेको सफ्टवेयर नै पहिला माइक्रोसफ्टले किन्यो। अहिले गुगलमा गएर जति पनि एआईका काम भइरहेका छन्, त्यसको ठुलो योगदान छ। त्यो कलेजबाट निस्केका मेरा साथीहरू प्रायः सबै अर्बपति छन्। म पनि आफ्नो फिल्डमा रहिरहेको भए अहिलेसम्म सम्भवतः अर्बपति हुन्थें होला। त्यो लाइनमै थिएँ। सबै कुरा छँदै थियो।

मेरो पृष्ठभूमि पनि राजनीति होइन। म पदका लागि आएको पनि थिइनँ। मेरो स्वतन्त्रताको आन्दोलन थियो। आफ्नो सर्वस्व त्याग्ने, ज्यान दिने आन्दोलन थियो। त्यसका लागि आएको थिएँ। त्यो देखियो पनि। म १० वर्ष कस्तो जिन्दगी बाँचे त? नजरबन्दमा बसें। दर्जनौं पटक गिरफ्तारी भयो। कतिबेला मारिन्थें थाहा छैन। के हुन्थ्यो थाहा छैन। बालबालिकाको अवस्था के थियो त्यो पनि कुनै ठेगान छैन। त्यस्तो चरणबाट गुज्रेको मान्छे हुँ। पार्टी अहिले आएर बन्यो।

म राजनीतिबाट कुनै लाभ लिन आएको होइन। त्यो कुरा पार्टी बनेपछि पनि देखिन्छ। आंशिक रूपमै पनि मलाई पैसाको चाहना भएको भए म मन्त्री बन्थें होला। मैले त अरूलाई मौका दिएँ। एकपटक मात्रै होइन दुईपटक मौका दिएँ। सबैलाई आक्षेप नलगाऊँ किनभने त्यस्तो गरे राम्रा मान्छे राजनीतिमा आउन डराउँछन्। त्यसकारण आरोप र गाली गर्दा बचेर लगाउनुपर्ने छ।

तपाईंलाई बेकारमै राजनीतिमा आएछु भन्ने त हुँदैन?

एकदम हुन्छ। खासगरी पार्टीगत राजनीतिमा आएपछि धेरै हुन्छ। पहिला त हुँदैनथ्यो। अहिले आएर एकदमै हुन्छ। कस्तो ठाउँमा हात हालेछु भन्ने लाग्छ। यति दिक्दारी हुन्छ कि म केका लागि आएँ भन्ने पनि हुन्छ। यतिसम्म आरोप लगाइ दिन्छन् कि सिकेले पन्ध्र लाख लिएर फलानोलाई सांसद बनायो। हामीले यति पारदर्शी तरिकाले काम गरेका छौं कि कसैले लेभी दिएको भए पनि त्यो त पार्टीलाई दिएको हो। त्यसको हरहिसाब हुन्छ। कहाँ खर्च भएको छ भन्ने देखिराखेको छ। अर्थको कुनै पनि कुरा ममार्फत हुँदैन। म हातै हाल्दिनँ। कसैलाई देऊ भन्दा पनि भन्दिनँ। त्यो केन्द्रीय समितिको निर्णयअनुसार पालना हुने हो। त्यति हुँदाहुँदै पनि अनेक आरोप लगाउँदा एकदम वाक्क लाग्छ। कसका लागि, किन आएजस्तो लाग्छ। किन यो झेलिरहेको छु जस्तो लाग्छ। काठमाडौंमा बस्दा बढी त्यस्तो हुन्छ।

गाउँतिर आफ्नो खुट्टामा चप्पल पनि हुँदैन मेरो झन्डा लिएर दौडिरहेका हुन्छन्। फोटो लिएर दौडिरहेका हुन्छन्। त्यो गिटीमाथि दौडिँदा कति चोट लाग्यो होला! ज्येष्ठ नागरिकहरूले आशीर्वाद दिइरहेका हुन्छन्। केही गर्नुपर्‍यो भनिरहेका हुन्छन्। असहाय र दलितहरूका कोही बोलिदिने हुँदैनन्। जसका कुरा सिडिओ कार्यालयमा सुनिँदा पनि सुनिँदैन, तिनीहरू मतिर आशाका नजरले हेरिरहेका हुन्छन्। त्यो देखेर कसरी छाडौं भन्ने लाग्छ।

नागरिक उन्मुक्तिसँगको एकीकरण प्रक्रिया कहाँ पुग्यो?

यो जनताको चाहना हो। यसमा मैले कुनै पहल लिएको छैन। यो मामिलामा म चुपचाप घरमा बस्ने मान्छे हो। तपाईं मेरो पार्टीमा आउनुहोस् भनेर म कसैलाई अनुरोध पनि गर्दिनँ। म यस्तो गर्ने मान्छे होइन। त्यसकारण अलिकति कुरा पनि काटिन्छ। सिके राउत घमन्डी हो भन्ने पनि छन्।

जनताले भरोसा पूर्वतिर ममाथि गरिरहेका छन्। पश्चिमतिर रेसमजीमाथि धेरै गरिरहेका छन्। कुरा मात्रै चल्दा मैदानमा दुवै पक्षका जनता एकदमै उत्साहित छन्। त्यसले हामीमाथि पनि दबाब सिर्जना भएको छ। हामीले गर्न नसके हामीलाई नै जनताले के भन्ने हुन्। त्यो दबाब हामीले महसुस गरेका छौं। त्यसकारण यो जनताका आकांक्षाबाट एकता हुन लागेको हो। त्यसमा विलम्ब भइरहेको छैन। प्रक्रियामा छ। सम्भवतः यो वैशाख १७ गते हामी घोषणा गर्छौं।

मधेसका अन्य दलसँग कार्यगत एकता गर्न सकिने कुनै अवस्था छ?

अहिले हामीले मोर्चाबन्दी गरेका छौं। त्यसमा मधेसका लगभग सबै दल छन्। मोर्चाबन्दी गरेर भए पनि अगाडि बढौं भनेर हो। कमसेकम पनि संविधान संशोधन हुन्छ त्यसका लागि साझा अजेन्डा के हुन्छ त्यो लिएर संघर्ष गरौं भनेर त्यहाँ गएको हो। यो निर्वाचन प्रयोजनका लागि मोर्चाबन्दी भएको होइन। तर विस्तारै यसलाई निर्वाचन प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने हुँदै गएको छ।

यसमा सकारात्मक र नकारात्मक दुवै कुरा छन्। नयाँ पार्टीले यो रसायनलाई राम्रो मानिरहेका छैनन्। तपाईंले पुरानै पार्टीसँग मिल्ने भए तपाईंलाई किन भोट दिने भनेर मैदानमा सर्वसाधारण गुनासो गर्छन्। त्यसलाई हामीले सम्बोधन गर्न सक्नुपर्छ। पुरानो पार्टी भए पनि त्यसमा नयाँ पात्रलाई मौका दिन सक्नुपर्छ नि। उहाँहरूले त्यो सुधार गर्नुपर्‍यो। होइन भने निर्वाचनसम्म नै पुग्ला भन्नेमा मलाई शंका लागेको छ।

तपाईंसँग मधेसका अन्य दलले चुनौती महसुस गर्नुहुन्छ?

त्यसलाई म अन्यथा मान्दिनँ। चुनौती महसुस त पक्कै पनि गरेको हो। त्यो आक्रोश त जहिले पनि ग्राउन्डमै देखिन्छ, माथि पनि देखिन्छ। स्वाभाविक र अस्वाभाविक जे माने पनि त्यो राजनीतिमा हुन्छ नै। त्यसलाई अस्वाभाविक मान्दिनँ म। दुई पार्टी जोडिएपछि मधेसमा स्वाभाविक रूपमा हामी ठुलो पार्टी बन्छौं। उहाँहरू त पक्कै पनि चाहनुहुन्न होला सिकेको पार्टी ठुलो होस् भन्न त। चुनौती महसुस गर्नु स्वाभाविक नै हो।

सरकारलाई समर्थन गरिरहँदा तपाईंका मतदाता खुसी छन्?

हामीले समर्थन गरे पनि सरकारमा सहभागी छैनौं, त्यो खुसीको पाटो हो। लिन पनि खोजेका छैनौं। पाएका पनि छैनौं। मधेसमा हामी एक्लै छौं। त्यसकारण चुनौतीपूर्ण छ। त्यसलाई कसरी सफल बनाउने त्यसमै ध्यान दिएका छौं। म धन्यवाद पनि दिन चाहन्छु। मधेसमा जनमत पार्टीसँग जम्मा १३ वटा सिट मात्रै थियो। कांगेस र एमालेकै धेरै सिट छन्। यद्यपि हामीलाई नेतृत्वको मौका दिनुभएको छ। त्यसका लागि हामी घटक दललाई धन्यवाद दिन चाहन्छौं। सहकार्यको अपेक्षा गर्छु।

शान्तिपूर्ण राजनीतिमा आउन केपी शर्मा ओलीले सहयोग गर्नुभएको थियो, त्यसकै गुण तिरिराख्नुभएको हो?

त्यो त प्रक्रिया हो। अरूको सरकार भए पनि हुन्थ्यो। त्यो त पदको कुरा हो। हामीले प्रधानमन्त्रीसँग सम्झौता गरेका हौं, पार्टीसँग गरेको होइन। तैपनि उहाँले पहल गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। अहिले पनि मधेस सरकार बनाउनमा उहाँको ठुलो योगदान छ। कांगेसको पनि ठुलो योगदान छ। त्यो योगदान बिर्सनु हुँदैन। माधव नेपाललाई पनि बिर्सन मिल्दैन। उहाँको पनि योगदान छ। भलै उहाँ अहिले हाम्रो गठबन्धनमा हुनुहुन्न। अन्तिम समयमा उहाँले समर्थन नदिएको भए यो हाम्रो सरकार बन्ने थिएन।

यो सरकार संविधान संशोधनको मुख्य उद्देश्य लिएर बनेको भनिए पनि तत्काल केही होलाजस्तो छैन। त्यसकारण तपाईंलाई उद्वेलित गराएको त छैन?

यसमा सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। संशोधन मात्रै धेरै ठुलो कुरा होइन। कुन विषयमा संशोधन गर्ने भन्ने कुरा ठुलो हो। प्रतिगामी कुरा भए हामी समर्थन गर्दैनौं। संघीयताका लागि थप अधिकार कसरी हासिल गर्ने, अधिकार बाँडफाँडमा देखिएका समस्या कसरी हटाउने वा लुम्बिनी प्रदेशको सीमांकन कसरी सच्याउने, थप समावेशी कसरी बनाउने, भ्रष्टाचारविरोधी संरचना कसरी खडा गर्ने, स्थिर सरकारका लागि के गर्ने। यी सकारात्मक पक्षमा हामी पनि सहयोग गर्छौं।

पछिल्ला दिनमा राजावादीको प्रदर्शनलाई कसरी हेरिरहनुभएको छ?

संघीय गणतन्त्रप्रति गौरव गर्छु। यो व्यवस्थालाई धन्यवाद पनि दिन्छु। यो कस्तो व्यवस्था हो भने संसदमै बसेर राजतन्त्र माग्न सक्नुहुन्छ। र, हामी त्यहाँ ताली पनि बजाउन दिन्छौं। राजतन्त्रमा गर्न सकिन्थ्यो? सकिँदैनथ्यो। राजतन्त्रमा रामराजा सिंहले गणतन्त्र माग्नेबित्तिकै शपथ पनि गर्न दिइएन निर्वाचित भएर पनि। यसकारण गणतन्त्र गर्व गर्नलायक व्यवस्था हो।

गणतान्त्रिक व्यवस्थाले मधेसीको छोरालाई सर्वोच्च पदमा बस्न दियो। एकल महिलालाई सर्वोच्च पदमा आसीन हुन दियो। भोलि कोही, दलित, आदिवासी र मुस्लिमका छोराछोरी त्यो पदमा आसीन हुन्छन्। यति राम्रो सुन्दर व्यवस्था गणतान्त्रिक व्यवस्था हो। यसका बाबजुद उहाँहरू आफ्नो माग राख्न स्वतन्त्र हुनुहुन्छ। कुनै रोकटोक छैन। आन्दोलनचाहिँ शान्तिपूर्ण होस्। तीनकुनेको जस्तो घटना नहोस्।

हिजो राजाका बेला राम्रो भएको थियो। अहिले धेरै राजा भए भन्ने प्रश्न उठाइएको छ। त्यसकारण एकजना कुलिन राजा चाहिएको छ भन्ने उहाँहरूको माग होला?

दुई सय वर्षमा मेरो गाउँमा विकासका नाममा एउटा इँटा पनि झरेन। त्यहाँ शून्य मतदान भयो। यो सात वर्षमा घरघरमा बाटो पुग्यो। हरेक टोलटोल र गल्लीगल्लीमा ढलान बाटो बनेको छ। खेत–खेतमा बिजुलीका पोल गाडिँदै छ। गाउँगाउँमा विद्यालय पुगेका छन्। स्वास्थ्य चौकी बनेका छन्। यसकारण आँकडामा कुरा गर्नुपर्छ। खालि पहिला राम्रो थियो भनेर हुँदैन।  

धेरै राजा भए? म त भन्छु– नेपालका तीन करोड जनता राजा होऊन्। कसलाई के आपत्ति छ? गरिब, दलितका छोरा राजा बनून्। तीन करोड जनता विलासिताको जीवन जिऊन्। तीन करोडले कोट टाई लगाऊन्, किन आपत्ति? धनी हुँदा केको आपत्ति?

आज जनताका छोराले वडाअध्यक्ष हुन पाएका छन्। जनताका छोराले वडा चलाइरहेका छन्। अधिकार उनीहरूसँग छ सिफारिस दिने। यो त धेरै ठुलो कुरा हो। पालिकामा दलितलाई पनि राख्नैपर्ने कति राम्रो प्रावधान बनाइएको छ। महिलालाई राख्नैपर्ने प्रावधान बनाइएको छ। यो थियो पहिला? अहिले संसदमा ३३ प्रतिशत महिला राख्नैपर्छ। दलित राख्नैपर्छ। आदिवासी जनजाति राख्नैपर्छ। यो धेरै सकारात्मक व्यवस्था हो।

केही कमीकमजोरी नभएको होइन। जस्तो– अस्थिर सरकार भयो, तर त्यसको पनि समाधान छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति गरौं। जनता आफैं चुन्छन्। उसले राम्रो काम गर्न सकेन भने पाँच वर्षमा फलिन्छ। अहिलेको गणतान्त्रिक व्यवस्थामा भएका त्रुटिहरू सच्याऊँ। मन्त्री धेरै भए भनेर चर्चा भएको छ। मन्त्री नराखौं। विज्ञहरू राखेर मन्त्रालय चलाऊँ। त्यो बढी उपयुक्त हुन्छ।

शिक्षकहरूको आन्दोलन भइरहेको छ, यसलाई कसरी हेरिरहनुभएको छ? यसको समाधानका उपाय के हो?

यो आन्दोलन देखेर म आफैं विस्मित छु। यति दिनसम्म यत्रो मास लिएर उहाँहरू आन्दोलित हुनुहुन्छ। त्यो आफैंमा धेरै ठुलो कुरा हो। यसबाट हामी आफैं पनि केही कुरा सिक्दै छौं। माग अगाडि सार्ने समय गलत भयो। उहाँहरूको आन्दोलन विधेयक पारित गर्ने समयमा हुनुपथ्र्यो। त्यो अधिवेशनमा हुनुपथ्र्यो। अब त बजेट अधिवेशन छ। चाहेर पनि अहिले त सम्बोधन गर्न सकिँदैन। यो कुरा त बुझ्नुपर्छ। शिक्षा विधेयकमा पनि धेरै संशोधन आएको छ। छलफलकै क्रममा थियो। आत्तिइहाल्नुपर्ने कुराचाहिँ थिएन। छलफल चलिरहेकै छ। कति सम्बोधन गर्न सकिन्छ त्यो पनि बुझिदिनुपर्छ।

हामीले हाम्रा पाहुनालाई सोध्ने गरेका छौं– के नेपाल बन्छ? तपाईंलाई के लाग्छ?

नेपाल बन्छ। नेपाल एकदम सुन्दर देश हो। म धेरै देश घुमेको छु। नेपाल प्राकृतिक रूपमा धेरै सुन्दर छ। अर्को कुरा हाम्रा मान्छे पनि मलाई साह्रै उदार लाग्छन्। नेपालीले माया गर्न जानेका छन्। नचिनेका ठाउँमा पनि चिने झैं व्यवहार गर्दछन्। त्यसकारण यहाँ विकास गर्न धेरै गाह्रो छैन। अलिकति प्रतिबद्धता र स्थिर सरकार हुने हो भने सातदेखि १० वर्षमा बनाउन सकिन्छ तर प्रतिबद्धता एकदम फितलो छ।

प्रकाशित: १२ वैशाख २०८२ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App