२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सार्वजनिक यातायातमा देखिए दुबईका शासक, भिडियो भाइरल

दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुम हालै सर्वसाधारण यात्रुहरूसँगै सार्वजनिक ट्राममा यात्रा गर्दै गरेको अवस्थामा देखिएका छन्।

भिडले खचाखच भरिएको डिब्बामा उनी बसिरहेको क्षणको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा उनको सादगीको चर्चा भइरहेको छ।

दुबईको सडक तथा यातायात प्राधिकरणले आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा शेख मोहम्मद ट्राम स्टेशनमा उभिरहेको भिडियो सेयर गरेको छ।

यसैगरी, टिकटकमा पोस्ट भएर पछि इन्स्टाग्राममा सेयर गरिएको अर्को क्लिपमा उनी भिडले भरिएको डिब्बामा बसिरहेको देखिन्छ। भिडियोमा केही यात्रुहरूले उनलाई हेरिरहेको देखिए पनि कसैले पनि उनलाई बाधा पुऱ्याएको देखिदैन।

एक इन्स्टाग्राम प्रयोगकर्ताले भिडियो सेयर गर्दै दुबईका एक निवासीले उक्त भिडियो खिचेको र शेख मोहम्मद कामबाट घर फर्कने क्रममा सार्वजनिक यातायात प्रयोग गरेको दाबी गरेका छन्।

उनी पहिलो पटक सार्वजनिक यातायातमा देखिएका भने होइनन्। यसअघि २०२३ मा पनि आरएटीले ‘दुबईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा शासक शेख मोहम्मद बिन राशिद दुबई मेट्रो प्रयोग गर्दै’ भन्दै एउटा भिडियो सेयर गरेको थियो। जसमा उनी मेट्रोभित्र बसेर बाहिरको दृश्य हेरिरहेको देखिन्थ्यो।

सन् १९४९ मा जन्मिएका शेख मोहम्मदले सन् १९६८ मा दुबई पुलिस र सार्वजनिक सुरक्षा प्रमुखको रूपमा पहिलो नेतृत्वदायी भूमिका सम्हालेका थिए। त्यसको केही वर्षपछि, सन् १९७१ मा उनी रक्षामन्त्री नियुक्त भएका थिए।

सन् १९९५ देखि २००६ सम्म दुबईको युवराज भएर सेवा गरेपछि, उनी सन् २००६ मा दुबईको शासक नियुक्त भए। सोही वर्ष उनले संयुक्त अरब इमिरेट्सको उपराष्ट्रपति तथा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।

प्रकाशित: ६ श्रावण २०८२ २०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App