१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युएईमा कोरोना नियन्त्रणका लागि कडा नियम, उल्लंघन गरे ठूलो जरिवाना र सजाय

संयुक्त अरब ईमिरेट्स (युएई) मा कोरोना नियन्त्रणका लागि विगतमा लागू गरिएका नियमहरु हेरफेर गर्दै ठूलो जरिवाना र सजाय सहितको नयाँ नियम लागू भएको छ।   युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले राष्ट्रिय निर्मलिकरण अभियानको समयतालिका परिवर्तन गर्दै आज (बुधबार) देखी बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म आवातजावतमा कडाई गरेको छ। यसअघि बेलुका १० बजे देखि बिहान ६ बजेसम्म कडाई गरिएको थियो। यस अवधिमा अत्यावश्यक काममा बाहेक बाहिर निस्किए ३ हजार दिराम जरिवाना हुनेछ।

सपिङ सेन्टर तथा मलहरुलाई बिहान ९ बजेबाट बेलुकी ७ बजेसम्म मात्रै खुल्ने अनुमती दिईएको छ। तर १२ वर्ष मुनिका बच्चा , ६० बर्ष माथिका वृद्ध र गर्भवतीलाई भने मलमा जान अनुमति छैन।  

मास्कको प्रयोग गर्दा नाक र मुख राम्ररी ढाक्नुपर्ने छ। त्यसो नगरेको पाईए १ हजार दिराम जरिवाना  लाग्नेछ। भेला गरेर पार्टी आयोजना गरेमा आयोजकलाई १० हजार र हरेक सहभागीलाई ५ हजार दिराम जरिवाना हुनेछ। कारमा ३ जना भन्दा बढी चढाए र प्रतिबन्धित समयको उल्लंघन गरेर हिँडडुल गरेमा ३/३ हजार दिराम जरिवाना हुने बताईएको छ। रेष्टुरेन्ट तथा मलहरुमा २ मीटर दुरी कायम नगरेमा ३ हजार दिराम जरिवाना हुनेछ। त्यस्तै कार्यालयमा मास्क नलगाएमा कामदारलाई ५ सय र कम्पनीलाई ५ हजार दिराम जरिवाना हुने नियम लागू गरिएको छ।

यसैगरी होम क्वारेन्टाईनमा रहेको बखत नियम उल्लंघन गरे ५० हजार दिराम जरिवाना हुनेछ। संक्रमित व्यक्तिले स्मार्ट ट्रयाकिङ मोबाईल एप्लिकेसन डाउनलोड नगरी ट्रयाकिङ सिस्टममा नबसे वा मोबाईल बोक्न भुले १० हजार दिराम जरिवाना हुनेछ। साथै यो एप्लिकेसन ह्याक गरे वा सफ्टवेयर सम्पादन गरे २० हजार दिराम जरिवाना हुनेछ। यस्तै कोरोना परीक्षण गर्न नमान्नेलाई ५ हजार दिराम जरिवाना हुने छ। साथै कोरोना संक्रमित बिरामीको गोपनियता सार्वजनिक गरे २० हजार दिराम जरिवाना हुने नयाँ नियममा उल्लेख गरिएको छ।

यी सबै नियमहरु दोस्रो पटक उल्लंघन गर्नेलाई न्युनतम १ लाख दिराम जरिवाना र ६ महीनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ।  

नजिकिदै गरेको ईद पर्वलाई लक्षित गर्दै माछा , मासु , तरकारी  , फलफूल , चकलेट र मिठाई पसलहरुलाई भने बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने अनुमति दिईएको छ। पशु बधशाला र कफी सप पनि यस अवधिमा खुला रहनेछन।

उच्च स्तरीय वैज्ञानिक पद्धति प्रयोग गरेर कोरोना विरुद्ध लडिरहेको युएईका विभिन्न स्थानमा निशुल्क कोरोना परीक्षण केन्द्रहरु संचालन गरिएका छन्। अहिलेसम्म यहाँ १६ लाखको कोरोना परीक्षण भईसकेको छ भने यसबाट संक्रमित हुने २५ हजार ६३ पुगेको छ। त्यस्तै १० हजार ७ सय ९१ जनाले स्वास्थ लाभ गरेका छन् भने मृत्यु हुनेको संख्या २ सय २७ पुगेको छ।

 

प्रकाशित: ७ जेष्ठ २०७७ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App