अमेरिका मध्य टेक्सासमा आएको बाढीमा मृत्यु हुनेको संख्या कम्तिमा एक सय ४ पुगेको छ। घटनामा धेरै जना बेपत्ता छन्।
टेक्सास हिल कन्ट्रीमा शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। अधिकारीहरूका अनुसार केर काउन्टीको क्याम्प मिस्टिक, ग्रीष्मकालीन शिविरबाट धेरै जना अझै बेपत्ता छन्।
मृतकमध्ये ८४ जना केर काउन्टीका रहेको अधिकारीहरूले जानकारी दिएका छन्। टेक्सासको हन्टमा नदी किनारमा अवस्थित क्याम्प मिस्टिकले बाढीमा कम्तिमा २७ जना क्याम्पर र सल्लाहकारको मृत्यु भएको उल्लेख गरेको छ।
सयौं स्वयंसेवकहरू र २० भन्दा बढी राज्य एजेन्सीहरू संलग्न रहेको व्यापक खोजी कार्य जारी छ। एक स्वयंसेवकले सीएनएनलाई भने, ‘हामी कहिल्यै पनि तिनीहरू मरेका छन् भनेर अनुमान गर्दैनौं।’ वर्षा र जारी बाढीको जोखिमपछि मध्य टेक्सासमा मौसम धेरै सुख्खा हुने अपेक्षा गरिएको छ।
दिउँसो केही वर्षा र आँधीबेहरीले यो क्षेत्रमा ठूलो बाढीको खतरा निम्त्याउन सक्छ। तर यसले बाढीको सम्भावना भने कम रहने अनुमान छ। हप्ताको अन्त्यसम्म मौसम सुख्खा रहने पूर्वानुमान गरिएको छ।
‘यो अकल्पनीय त्रासदी सहन बाध्य हाम्रा परिवारहरूसँग हाम्रो हृदय टुटेको छ। हामी उनीहरूको लागि निरन्तर प्रार्थना गर्छौं,’ शिविरले एक विज्ञप्तिमा भनेको छ, ‘हामी स्थानीय र राज्य अधिकारीहरूसँग सम्पर्कमा छौं जसले खोजी गर्न व्यापक स्रोतहरू अथक रूपमा परिचालन गरेका छन्।’
केर काउन्टीका शेरिफ ल्यारी लेइथाले भने, ‘एक जना सल्लाहकारसहित कम्तिमा दश जना क्याम्प मिस्टिक क्याम्परहरू अझै बेपत्ता छन्।’ बेपत्ता रहेका क्याम्परहरूको बारेमा अधिकारीहरूले दिएको यो पहिलो ठोस संख्या हो। शेरिफका अनुसार बाढी आउँदा क्याम्प मिस्टिकमा लगभग ७ सय ५० बालबालिका थिए। एजेन्सी
प्रकाशित: २४ असार २०८२ १३:०८ मंगलबार





