अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जि-७ शिखर सम्मेलनबाट समयअघि वाशिंगटन फर्कनुको कारण इजरायल र इरानबिचको युद्धविराम प्रयास नभएको स्पष्ट पारेका छन्। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो प्रस्थानलाई युद्धविरामसँग जोडेर गलत दावी गरेको आरोप लगाए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखे, 'गलत! म्याक्रोंलाई थाहा छैन म किन वाशिंगटन फर्किंदैछु। यसको युद्धविरामसँग कुनै सम्बन्धमा छैन। यो त्योभन्दा धेरै ठूलो कुरा हो। जानाजानी होस् वा नहोस्, म्याक्रों सधैं गलत हुन्छन्। सम्पर्कमा रहनुहोस्।' उनले प्रस्थानको वास्तविक कारण भने खुलाएनन्।
सोमबार राति क्यानडाबाट फर्कने क्रममा ट्रम्पले म्याक्रोंप्रति आक्रोश व्यक्त गरेका हुन्। म्याक्रोंले ट्रम्पले इजरायल र इरानबिच युद्धविरामको प्रस्ताव राखेको बताउँदै साेहीकारण सम्मेलन छोडेको दावी गरेका थिए। क्यानडाको कानानस्किसमा भएको जि-७ शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोंले भने, 'ट्रम्पले युद्धविरामको प्रस्ताव राखेका छन्। यदि संयुक्त राज्य अमेरिकाले युद्धविराम हासिल गर्न सक्यो भने, यो निकै राम्रो हुन्छ। फ्रान्सले यसलाई समर्थन गर्छ।'
तर ट्रम्पले म्याक्रोंको दावीलाई खण्डन गरेका छन्। उनले म्याक्रोंलाई 'चर्चामा आउँन खोज्ने' नेता भन्दै आफ्नो प्रस्थानको कारण युद्धविरामसँग सम्बन्धित नरहेको स्पष्ट पारेका हुन्। जि-७ शिखर सम्मेलनमा इजरायल–इरान द्वन्द्व मुख्य छलफलको विषय थियो। सम्मेलनले मध्यपूर्वमा तनाव कम गर्न र गाजामा युद्धविरामको आह्वान गर्दै संयुक्त वक्तव्य जारी भयाे। तर ट्रम्पले उक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरे, जसले उनको प्राथमिकता र रणनीतिमाथि प्रश्न उठेको छ।
ट्रम्पले सोमबार ट्रुथ सोशलमा तेहरानका बासिन्दालाई चेतावनी दिँदै लेखेका थिए, 'सबैले तुरुन्त तेहरान खाली गर!' यो चेतावनी इजरायलले तेहरानमा गरेको हवाई हमलाको सन्दर्भमा आएको थियो, जसले क्षेत्रीय तनावलाई थप बढाएको छ। ह्वाइट हाउसले ट्रम्पको प्रस्थान मध्यपूर्वको द्वन्द्वसँग सम्बन्धित रहेको बताए पनि वास्तविक उद्देश्य स्पष्ट पारेो छैन। इजरायल–इरान द्वन्द्व तीव्र बन्दै जाँदा ट्रम्पको यो कदम र रहस्यमयी बयानले विश्वभर चासो र अनिश्चितता बढाएको छ। एजेन्सी
प्रकाशित: ३ असार २०८२ १२:१२ मंगलबार





