२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अब कुकुरलाई सार्वजनिक स्थलमा डुलाउन नपाइने

इरानका अधिकारीले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थानमा कुकुर हिँडाउन प्रतिबन्धलाई थप विस्तार गरेका छन्।

सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स्थानमा हिँडाउन रोक लगाउने प्रहरी निर्देशनलाई पछ्याउँदै आइतबारदेखि पश्चिमको इलाम सहरमा यो प्रतिबन्ध लागू भएको छ।

हालैका दिनमा कम्तीमा १७ अन्य सहरले पनि यस्तै प्रतिबन्ध लागू गरेका छन्, जसमा इस्फाहान र केर्मान सहर पनि समावेश छन्।सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै इरानमा कुकुर पाल्नु र सार्वजनिक स्थानमा हिँडाउनु विवादास्पद छ। यद्यपि, कुकुर पाल्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने कानून भने बनेको छैन।

कतिपय इस्लामिक विद्वानले कुकुर पाल्नु वा तिनको थुकको सम्पर्कमा आउनुलाई ‘नाजी’ अर्थात् धार्मिक रूपमा अशुद्ध मान्छन्। केही अधिकारीले भने कुकुरलाई पश्चिमी संस्कृतिको प्रतीक ठान्छन्।

कुकुर पाल्न निरुत्साहित गर्ने अभियानअन्तर्गत स्थानीय अधिकारीले समय–समयमा सार्वजनिक स्थानमा हिँडाउन वा सवारी साधनमा बोक्न प्रतिबन्ध लगाउँदै आएका छन्।

तेहरानलगायत इरानका विभिन्न स्थानमा धेरै कुकुर मालिकले प्रतिबन्धको बेवास्ता गर्दै कुकुर हिँडाइरहेकाले यो नियम पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।

सुधारवादी पत्रिका इतेमादले आइतबार इलामका एक अधिकारीलाई उद्धृत गर्दै ‘उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही हुने’ बताएको छ। इरानको सरकारी अखबारले शनिबार भनेको छ, ‘सार्वजनिक सुव्यवस्था कायम राख्न, सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको हो।’

पश्चिमी सहर हमेदानका अभियोजक अब्बास नजाफीले भने, ‘कुकुरको हिँडडुल जनस्वास्थ्य, शान्ति र आरामका लागि खतरा हो।’

सन् २०२१ मा इरानका करिब ७५ सांसदले कुकुर पाल्नुलाई ‘विनाशकारी सामाजिक समस्या’ भन्दै निन्दा गरेका थिए। सन् २०१७ मा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले ‘सिकार गर्ने र पहरा दिने बाहेक अन्य कारणले कुकुर पाल्नु निन्दनीय’ भएको बताएका थिए।

‘यदि यो अभ्यास गैर–मुस्लिमसँग मिल्दोजुल्दो छ, उनीहरूको संस्कृतिलाई बढावा दिन्छ वा छिमेकीलाई हानि र अशान्ति निम्त्याउँछ भने यसलाई वर्जित मानिन्छ,’ तस्नीम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गरेको छ। एएफपी

प्रकाशित: २५ जेष्ठ २०८२ १७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App