क्यानडाको ४५औँ संघीय निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टीले सरकार बनाउने पक्का भएको छ। सीबीसी न्यूजका अनुसार लिबरल पार्टीले ३४३ सिटको संसदमा १६०-१६२ सिटमा अग्रता लिएको छ।
तर पूर्ण बहुमत (१७२ सिट) अनिश्चित छ। कन्जर्भेटिभ पार्टीले १४९-१५१, एनडीपीले ८, ब्लक केबेक्वाले २३ र ग्रीन पार्टीले १ सिटमा अग्रता लिएका छन्।
निर्वाचनमा देखिएको नतिजाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई '५१औँ राज्य बनाउने' र '२५ प्रतिशत कर लगाउने' धम्कीले क्यानडाली मतदाताहरूलाई एकजुट बनाएको देखिन्छ।
ट्रम्पको क्यानडाविाेधी नीतिले लिबरल पार्टीलाई फाइदा पुगेकाे बीबीसीले लेखेकाे छ। कार्नीले ट्रम्पको व्यापार युद्धलाई क्यानडाको सम्प्रभुतामाथिको आक्रमणको रूपमा प्रस्तुत गरेर मत मागेका थिए।
जनवरी २०२५ मा जस्टिन ट्रुडोले राजीनामा दिएपछि संकटमा रहेको लिबरल पार्टीले मार्चमा कार्नीको नेतृत्व पायो। बैंक अफ क्यानडा र इंग्ल्याण्डका पूर्व गभर्नर समेत रहेका कार्नीले आर्थिक स्थायित्व र राष्ट्रिय हितको एजेन्डामा जोड दिएका थिए।
कार्नीको जितले ट्रम्पको क्षेत्रीय प्रभावलाई चुनौती दिएको छ। कार्नीले भनेका छन्, ‘हामी लडाइँ चाहँदैनौँ, तर हाम्रो सम्प्रभुता र अर्थतन्त्रको रक्षा गर्छौँ।’
व्यापार युद्धले दुवै देशको अर्थतन्त्रमा असर परेको छ। पूर्ण बहुमत नभएमा कार्नीले एनडीपीसँग गठबन्धन गर्न सक्छन्। यो जितले लिबरल पार्टीको चौथो कार्यकाल सुनिश्चित गरेको छ। एजेन्सी
प्रकाशित: १६ वैशाख २०८२ ११:१५ मंगलबार





