११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमाथि ट्रम्पको ५० प्रतिशत कर : एसियाली बजारमा छैन असर, गल्ती नदोहोर्‍याउन बेइजिङको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि विश्व बजारमा मिश्रित प्रभाव देखिएको छ। सोमबार ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नलिए मंगलबारदेखि चीनमाथि ५० प्रतिशतको नयाँ कर लगाउने घोषणा गरेका थिए।

यसको असर सोमबार विश्वभरका शेयर बजारमा देखिएको थियो। एसिया र युरोपका बजारहरूमा ठूलो गिरावट पनि देखियो। तर, मंगलबार बिहान जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी सूचकांकमा करिब २ प्रतिशतको वृद्धि देखिएको छ। अष्ट्रेलियाको बजार पनि सकारात्मक संकेतका साथ खुल्यो।

ट्रम्पको उक्त धम्कीले भारतीय बजार पनि प्रभावित भएको छ। सोमबार सेन्सेक्स करिब ३ प्रतिशतले घट्यो। यता, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत आफ्नो नीतिको बचाउ गर्दै लेखेका छन्, ‘विश्वभरका देशहरूसँग हाम्रो वार्ता चलिरहेको छ। यो वार्तामा कठिन तर निष्पक्ष मापदण्ड तय गरिएको छ।’ उनले जापान र चीनजस्ता देशहरूले अमेरिकासँग व्यापारमा असन्तुलन कायम राखेको उनको आरोप छ। ‘उनीहरूले हाम्रा कार किन्दैनन्, तर हामी उनीहरूका लाखौं कार किन्छौँ। यो परिवर्तन हुनुपर्छ,’ ट्रम्पले भनेका छन्।

यसैबीच, चीनले ट्रम्पको नयाँ धम्कीलाई ‘गल्ती माथिको गल्ती’ भन्दै कडा जवाफ फर्काएको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाको ‘ब्ल्याकमेल प्रकृति’ स्वीकार्य नभएको भन्दै अन्तिमसम्म यसविरुद्ध लड्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले ट्रम्पलाई ५० प्रतिशत करको धम्की फिर्ता लिएर वार्ताबाट मतभेद समाधान गर्न आह्वान पनि गरेको छ। एजेन्सी  

प्रकाशित: २६ चैत्र २०८१ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App