३१ चैत्र २०८१ आइतबार
image/svg+xml २२:२० अपराह्न
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा दक्षिण सुडानमाथि भिसा प्रतिबन्ध, फिर्ता पठाएका नागरिक लिन नमानेको आरोप

अमेरिकाले दक्षिण सुडानका राहदानी धारकहरूको सबै भिसा रद्द गर्ने र नयाँ पनि जारी नगर्ने निर्णय गरेको छ। अफ्रिकी मुलुक दक्षिण सुडानको संक्रमणकालीन सरकारले अमेरिकाले फिर्ता पठाइएका आफ्ना नागरिकलाई समयमै लिन नमानेको भन्दै अमेरिकाले यस्तो कारबाही गरेको हो।  

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘दक्षिण सुडानको संक्रमणकालीन सरकारले समयमै स्वदेश फर्काइएका आफ्ना नागरिकहरूको फिर्ता स्वीकार गर्न असफल भएको कारणले गर्दा, म दक्षिण सुडानी राहदानी धारकहरूका सबै भिसाहरू रद्द गर्न र संयुक्त राज्य अमेरिकामा प्रवेश रोक्नको लागि थप भिसा जारी गर्न प्रतिबन्ध लगाउने कारबाही तत्काल प्रभावबाट गर्दैछु।’  

रुबियोले दक्षिण सुडानले आफ्ना नागरिकहरूलाई फिर्ता लिने प्रक्रियामा पूर्ण सहयोग गरेपछि मात्र यो निर्णयमा पुनरावलोकन गरिने पनि स्पष्ट पारेका छन्। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासन नीतिलाई कडाइ गर्ने रणनीतिको एक हिस्सा मानिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार गृहयुद्धका कारण दक्षिण सुडानमा करिब ४० लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघले ७० लाखभन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको चपेटामा रहेको बताएको छ। यस्तो अवस्थामा अमेरिकाको यो निर्णयले दक्षिण सुडानी नागरिकहरूलाई थप संकटमा पार्ने आशंका व्यक्त गरिएको छ।

प्रकाशित: २४ चैत्र २०८१ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App