१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

त्रिशुली किनारमा भेटिएको बसको उत्खनन् धमाधम

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसको उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको उपस्थितिमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्राविधिक जनशक्तिको सहभागितामा बिहीबार बसेको बैठकले उद्धार कार्यमा संलग्न प्राविधिकको मागअनुसार थप उद्धार सामग्री प्रयोग गरी केही समयसम्म बस उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले दोस्रो विकल्पका रूपमा सबै प्रयास गर्दा पनि बस उत्खनन गर्न नसकिएमा सवारी साधनका छुट्टाछुट्टै पार्टपुर्जा निकालेर उत्खनन तथा राफसाफ गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए ।

बैठकमा तेस्रो विकल्पका रूपमा हेभी उपकरणहरू हेलिकप्टरमार्फत नदीपारि लगेर उत्खनन गर्ने तथा सडकमार्गको पहुँच पु¥याई उत्खनन गर्ने विषयमा पनि छलफल भएको थियो । तर प्राविधिक जनशक्ति (इन्जिनियर)हरूबाट प्राप्त रायअनुसार थप स्रोतसाधन, जनशक्ति र समय आवश्यक पर्ने भएकाले उक्त विकल्प तत्काल सम्भव नदेखिएको प्रजिअ अर्यालले बताए। उनका अनुसार हाल प्रयोगमा रहेको प्रविधिबाटै उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय गरिएको हो ।

बैठकले हालसम्म सवारी उत्खननका लागि गरिएका प्रयास र उपलब्ध विकल्पहरूको जानकारी नेपाल सरकारको गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई गराउने निर्णय पनि गरेको छ । साथै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, प्राविधिक जनशक्ति तथा आँबुखैरेनी गाउँपालिकालाई धन्यवाद ज्ञापन गरिएको छ ।

गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा सवारी साधनको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेल्चाको प्रयोग गरी बालुवा उत्खनन गर्दै अवशेष निकाल्ने प्रयास थालेका थिए । त्यसबाट सम्भव नभएपछि दुर्घटनाग्रस्त सवारी साधन निकाल्ने कार्य गर्दै आएको तनहुँको ‘मिलन चेनपुली’ कम्पनीले चेनपुलीको सहायतामा उत्खनन कार्य सुरु गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा गरिएको उत्खननका क्रममा उक्त बस २०८१ असार २८ गते चितवनको भरतपुर–२९ सिमलतालबाट त्रिशुली नदीमा खसेका दुई वटा बसमध्ये गणपति डिलक्सको बस भएको पुष्टि भएको छ । यद्यपि निरन्तर प्रयासका बाबजुद १२ दिनसम्म आइपुग्दा पनि बस पूर्ण रूपमा निकाल्न सकिएको छैन भने अर्को बस अझै फेला परेको छैन ।

 

प्रकाशित: ८ माघ २०८२ २१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App