२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

बाँके-२ मा एमालेको हार स्वीकार कि राजनीतिक संकट!

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको गतिविधि र निर्णयले गहिरो राजनीतिक बहस जन्माएको छ । उम्मेदवार चयनदेखि संगठन परिचालनसम्मका विषयले एमालेभित्र असहज अवस्था सिर्जना गरिरहेको छ । खासगरी आफ्नै संगठनबाट सिफारिस भएका नेताहरूलाई पन्छाउँदै पार्टीभन्दा बाहिरको व्यक्तिलाई चुनाव चिन्ह सूर्यबाट उम्मेदवार बनाउने केन्द्रको निर्णयपछि यहाँ एमाले राजनीतिक संकटमा फसेको हो कि उसले सम्भावित हारलाई स्वीकार गर्दै नयाँ प्रयोग गरेको हो भन्ने प्रश्न उठ्न थालेको छ ।

बाँके क्षेत्र नम्बर २ मा एमालेको संगठनिक उपस्थिति त्यतिधेरै कमजोर मानिँदैन । वडास्तरदेखि क्षेत्रीय तहसम्म पार्टी संरचना क्रियाशील छ, यद्यपि संगठित सदस्य संख्या सीमित छ । विगतका निर्वाचनमा यहाँ एमालेले जित हासिल गर्न नसके पनि मत प्रतिशतका हिसाबले उपस्थिति देखाउँदै आएको छ । यही आधारमा यसपटक स्थानीय नेतृत्व र कार्यकर्ता चुनावी परिणाम बदलिने आशामा थिए । जिल्ला र क्षेत्रीय कमिटीबाट सिफारिस भएका नेताहरूले पार्टीको संगठन, मतदाता र स्थानीय मुद्दामा पकड रहेको दाबी गर्दै आएका थिए ।

तर केन्द्रको अन्तिम निर्णयले स्थानीय अपेक्षालाई एकै झट्कामा निराशामा बदलिदिएको छ । एमाले बाँके क्षेत्र नम्बर २ बाट सिफारिस भएका नेताहरूलाई बेवास्ता गर्दै जसपाका महासचिवलाई सूर्य चिन्हबाट उम्मेदवार बनाउने निर्णयपछि पार्टीभित्र असन्तोष सतहमा आएको छ । उनले सूर्य चिन्हबाट उम्मेदवारीसमेत दर्ता गराइसकेका छन् । वर्षौँदेखि पार्टी संगठन निर्माणमा लागेका नेता तथा कार्यकर्ताले यो निर्णयलाई अपमानका रूपमा लिएका छन् । उनीहरूको बुझाइमा यसले संगठनको मूल्य र निष्ठालाई कमजोर बनाएको छ ।

राजनीतिक दलभित्र उम्मेदवार चयन सधैं संवेदनशील विषय हो । तर बाँके क्षेत्र नम्बर २ मा एमालेले लिएको निर्णय सामान्य असहमतिको सीमाभन्दा पर गएको देखिन्छ । स्थानीय नेता र कार्यकर्ताको गुनासो टिकट नपाएकोमा सीमित छैन, उनीहरू निर्णय प्रक्रियामै प्रश्न उठाइरहेका छन् । केन्द्रले स्थानीय अवस्था, मतदाता भावना र संगठनिक योगदानलाई गम्भीर रूपमा नबुझेको आरोप लागिरहेको छ ।

यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजारभन्दा बढी मतदाता छन् । यस्तो ठूलो मतदाता संख्या भएको क्षेत्रमा चुनाव जित्न उम्मेदवारको व्यक्तिगत प्रभाव निर्णायक हुन्छ । समाजमा गरेको काम, विभिन्न समुदायसँगको सम्बन्ध र पहुँचले मतदाताको निर्णय प्रभावित गर्छ । केन्द्रले यही गणितका आधारमा बाहिरको उम्मेदवार रोजेको हुन सक्ने अनुमान गरिएको छ । वातावरणीयरूपमा प्रभावशाली व्यक्तिलाई अघि सारेर एमालेले विगतको चुनावी कमजोरी तोड्ने प्रयास गरेको तर्क पनि सुनिन्छ ।

तर राजनीति केवल अंकगणित मात्र होइन, भावनाको खेल पनि हो । कार्यकर्ताको मनोबल कमजोर हुँदा बलियो उम्मेदवारले पनि अपेक्षित परिणाम दिन नसक्ने उदाहरणहरू प्रशस्त छन् । बाँके क्षेत्र नम्बर २ मा अहिले देखिएको असन्तोष चुनावी अभियानमा प्रत्यक्ष असर पार्ने चिन्ता स्वयम् एमालेभित्र व्यक्त हुन थालेको छ । संगठन सक्रिय नभए उम्मेदवार एक्लैले चुनाव जित्न सक्दैन भन्ने यथार्थलाई बेवास्ता गर्न सकिँदैन । यहाँ एउटा ऐतिहासिक पृष्ठभूमि पनि महŒवपूर्ण छ । बाँके क्षेत्र नम्बर २ मा अहिलेसम्म एमालेले सूर्य उदाउन सकेको छैन । पटकपटकको हारले पार्टीलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ । यसपटक केन्द्रले ‘फरक प्रयोग’ नगरे पुनः हार दोहोरिने निष्कर्ष निकालेको हुन सक्छ । तर फरक प्रयोगको नाममा आफ्नै संगठनलाई कमजोर बनाउनु दीर्घकालीन रूपमा घातक हुन सक्छ भन्ने चेतावनी स्थानीय नेताहरू दिइरहेका छन् ।

एमालेको यो निर्णयलाई कसैले राजनीतिक संकटको संकेत मानेका छन् भने कसैले हार स्वीकारको मनोविज्ञानको परिणाम ठानेका छन् । आफ्नै संगठनप्रति भरोसा नगरी बाहिरियालाई उम्मेदवार बनाउनु आत्मविश्वासको कमी हो कि बाध्यताजन्य रणनीति, यो बहस अहिले बाँके क्षेत्र नम्बर २ को राजनीतिक वृत्तमा केन्द्रमा छ । यदि केन्द्रले स्थानीय नेताहरूसँग पर्याप्त संवाद गरेर सहमति बनाएको भए विवाद यति चर्को हुने थिएन भन्ने बुझाइ बलियो बन्दै गएको छ ।

आसन्न निर्वाचन एमालेका लागि केवल एउटा सिटको लडाइँ मात्र होइन, संगठनिक एकता र नेतृत्व क्षमताको पनि परीक्षा हो । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा देखिएको असन्तोष समयमै व्यवस्थापन गर्न नसकिए पार्टीभित्रको दूरी अझ बढ्ने खतरा छ । अन्ततः मतदाताले उम्मेदवार, दलको निर्णय र चुनावी अभियानमा देखिने एकतालाई मूल्यांकन गरेर मत दिनेछन् । एमालेको यो कदम राजनीतिक संकटको सुरुवात सावित हुन्छ कि हार स्वीकारपछि गरिएको अन्तिम दाउ, यसको उत्तर चुनावी परिणामले नै दिनेछ ।

 

प्रकाशित: ८ माघ २०८२ २१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App